Comments Add Comment

कम्युनिष्टलाई किन ‘त्रास’का रुपमा प्रस्तुत गर्दैछ कांग्रेस ?

पार्टीको भोट बढाउन 'कम्युनिष्ट'को निन्दा

१५ कात्तिक, काठमाडौं । आसन्न आम चुनावको घोषणापत्र सार्वजनिक गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले भने, ‘कम्युनिष्ट शासनमा आयो भने रुन पाइन्न ।’

देउवाले मात्र होइन, सिंगो कांग्रेसले यो चुनावमा कम्युनिष्टलाई ‘त्रास’को रुपमा प्रस्तुत गर्दैछ । चुनावी घोषणापत्रमा नै कम्युनिष्टहरु शान्तिका पक्षधर हुँदैनन् । हिंसा, व्यक्ति हत्या र राज्य आतंक सिर्जना गर्ने गर्छन् भनिएको छ ।

कांग्रेसले सचेततापूर्वक वाम गठबन्धन भनेको छैन, सबै ठाउँमा कम्युनिष्ट मात्रै भनिएको छ ।

घोषणापत्र मस्यौदा समितिका संयोजक महेश आचार्य, जसलाई कांग्रेसभित्र कम्युनिस्टसँग वैचारिक टक्कर दिने एजेन्डाका हिमायतीका रुपमा लिइन्छ । आचार्य भन्छन्, ‘कम्युनिष्ट गठबन्धनले कठोर साम्यवादको प्रयोग गर्न खोजेका छन्, यो बाटो गलत छ ।’

०६२/०६३ को परिर्वतनपछि दुई कम्युनिष्ट एमाले र माओवादीले मिलेर पटक पटक सरकार बनाए ।

पहिलो संविधानसभालगत्तै प्रचण्डको नेतृत्वमा गठित सरकारमा पनि वाम गठबन्धन थियो । संविधान जारी भएपछि बनेको केपी ओली सरकार पनि वाम गठबन्धनबाटै गठन भएको थियो । त्यतिबेला कांग्रेसले कम्युनिस्ट त्रास देखेन ।

तर, दुई पार्टी मिलेर चुनावमा जाँदै गर्दा कांग्रेसले कम्युनिस्ट त्रास देखाउन थालेको छ । उसले ‘हामी हार्‍यौं भने प्रजातन्त्र धरापमा पर्छ, कम्युनिष्टको बहुमत भए नाम मात्रको लोकतन्त्र हुन्छ, भेनेजुएला चिली जस्तो हुन्छ’ भन्दैछ ।

कम्युनिष्टसँग सहकार्य गरेर पहिलो जनआन्दोलन सफल पारेको कांग्रेसले ०४८ को चुनावमा पनि त्यस्तै नारा दिएको थियो । त्यसबेला कांग्रेसले ‘कम्युनिष्टहरुले जिते ६० वर्षमाथिका बुढाबुढीलाई मार्छन्’ भन्दै भोट मागेको थियो ।

झण्डै २६ वर्षपछि कांग्रेसले फेरि कम्युनिष्टलाई किन त्रासका रुपमा चित्रण गर्दैछ त ? एक नेता भन्छन्, यो चुनावी नारा हो । र, यस्तो नारा अघि सार्नुका दुई कारण छन्ः

पहिलोः स्थानीय चुनावमा कांग्रेसका धेरै परम्परागत मतदाताले उसलाई छाडे । कांग्रेस नेतृत्वको कार्यशैली, राजनीतिक निर्णयहरु र स्थानीय नेतृत्वको टकराव त्यसको कारण थियो । अहिले वाम गठबन्धनविरुद्ध कम्युनिष्ट विरोधी नारा दिएर उनीहरु फर्कन्छन् कि भन्ने कांग्रेसको अपेक्षा छ ।

दोस्रोः एमाले मतदाताको एउटा पंक्ति छ, जसले लोकतन्त्रमा विश्वास गर्छ । उनीहरु एमाले नाम मात्रको कम्युनिष्ट हो तर, कांग्रेस जस्तै लोकतान्त्रिक शक्ति नै हो भन्ने मान्छन् । तर, एमाले र माओवादी केन्द्रको चुनावी तालेमलसँगै पार्टी एकता गर्ने सहमतिका कारण उनीहरु सन्तुष्ट छैनन् । र, कम्युनिष्टको विरोध गरेर उनीहरुलाई तान्ने प्रयास पनि कांग्रेसको छ ।

यसलाई यसो पनि भन्न सकिन्छ कि कम्युनिष्टको त्रास देखाएर एमालेमा रहेका उच्च मध्यम वर्गलाई आफूतिर तान्न सकिन्छ कि भन्ने कांग्रेसले सोचेको हुन सक्छ ।

कांग्रेसले भोट तान्ने प्रयास गर्नु अन्यथा होइन । तर, मुख्य प्रश्न कति सम्भव छ भन्ने हो ।

आम चुनावमा जाँदै गर्दा कांग्रेसले भावी प्रधानमन्त्री र मुख्यमन्त्रीहरुको उम्मेदवार समेत अघि सार्न सकेको छैन । पार्टी सभापति शेरबहादुर देउवा आफैं प्रधानमन्त्री हुन चाहन्छन् । तर, यो नारा दिँदा भोट तान्नुको सट्टा घट्ने खतरा छ । वरिष्ठ नेता रामचन्द्र पौडेललाई भावी प्रधानमन्त्रीको रुपमा अघि सार्नुपर्छ भन्ने मत पनि कांग्रेसमा नभएको होइन । तर, न पौडेलले मुख खोलेका छन्, न देउवाले त्यो स्तरको उदार मन नै देखाएका छन् ।

तर, स्थानीय चुनावमा कांग्रेसका मतदाताहरुले जे कारणले मन फेरेका थिए, त्यसको अझै चित्त बुझ्दो जवाफ पाउन सकेको छैनन् । प्रजातान्त्रिक पार्टी भएर प्रधानन्यायाधीशमाथि महाभियोग अगाडि सार्नु गल्ती थियो भन्ने आवाज पार्टीभित्रै उठेको पनि हो । तर, उसले मतदातालाई कुनै जवाफ दिएको छैन । आईपीजी प्रकरणदेखि जम्बो मन्त्रीमण्डल गठनसम्मका स्क्याण्डलको जवाफ पनि कांग्रेसले दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment