Comments Add Comment

ठोरीलाई प्रदेश ३ मा समायोजन गर्न गाउँपालिकाको सिफारिस

१५ कात्तिक, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकाको पहिलो बोर्ड बैठकले प्रदेश ३ मा समायोजनका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

हाल उक्त गाउँपालिका प्रदेश २ अन्तर्गत। स्थानीय बासिन्दाको भावनाअनुसार ठोरीलाई प्रदेश ३ मै राख्नु उपयुक्त हुने गाउँपालिका अध्यक्ष पीएल श्रेष्ठले बताए ।

‘उतैको क्लस्टर हो भन्नेमा गाउँवासीको दबाब छ, जनभावनाअनुसार यस्तो निर्णय लिएका हौं,’ श्रेष्ठले भने, ‘ठोरी, निर्मलबस्ती गाविस हुँदादेखि नै स्थानीय बासिन्दाले प्रदेश ३ मा रहने चाहना राखेका थिए ।’

वडाध्यक्ष रामप्रकाश कुँवरका अनुसार राज्य पुनर्संरचनाको खाका तयार पार्दा पनि ठोरीलाई प्रदेश ३ मै राखिएको थियो । ‘त्यसको नक्सा हामीसँग सुरक्षित छ,’ कुँवरले भने ।

ठोरीवासीले सुरुदेखि नै आफ्नो गाउँपालिका चितवनमा गाभ्नुपर्ने माग गर्दै आएका छन् । संघर्ष समिति नै गठन भएको थियो, त्यसका लागि ।

साविकको ठोरी, निर्मलबस्ती र सुवर्णपुर मिलाएर उक्त गाउँपालिका बनाइएको हो । संविधान घोषणाअघि भदौ ०७२ मा पनि यसबारे विवाद भएको थियो ।

ठोरी ०३४ सालसम्म चितवनमै थियो । भाषा, संस्कृती, रीतिरिवाज, रहनसहन, सडक सुगमता, प्रशासनिक सहजता चितवनतर्फ रहेकाले उतै समायोजन गर्दा सहज हुने तर्क स्थानीयवासीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment