Comments Add Comment

कथाः रिलेसनसीप

बिहानको ९ बजे इको रिसोर्ट पुग्दा उनीहरु टेबलमा गफिदैं थिए । केटोको तुलनामा केटी निकै बढी गफी देखिएकी थिई । गफसँगै उनीहरु दूध चिया पिउँदै रहेछन् । म त्यहाँ पुगेपछि उनीहरुले छिटोछिटो चिया सकाए । अनुहारले केटो चाइनीज देखिन्थ्यो भने केटी इन्डियनजस्ती । तर, उनीहरु दुवै औपचारिक रुपले क्यानडाका नागरिक रहेछन् ।

रिसोर्ट छाड्नुअघि केटा र केटी पालैपालो रेस्टरुम गए । केटी रेस्टरुममा छिरेपछि केटोले आफ्नोबारे थोरै कुरा भन्न भ्याइहाल्यो, ‘मेरो नाम इडवार्ड् पास्कल हो । मेरा बाबुआमा फिलिपिन्सबाट क्यानडा सिफ्ट भएपछि म त्यहीँ जन्मेको हुँ । तर, पछिल्लो सात बर्षदेखि हामी इंग्ल्यान्डमा छौं यद्यपि मैले क्यानडाको नागरिकता त्यागिसकेको छैन ।’

त्यति भन्दाभन्दै केटी रेस्टरुमबाट निस्की र पास्कल रेस्टरुम गयो । केटो इडवार्ड्ले रेस्टरुममा समयको सदुपयोग गर्दैगर्दा केटीले पनि समयलाई खेर नफाली भन्न भ्याई, ‘म अनिशा चक्रवर्ती । मेरा बाबुआमा इन्डियाबाट क्यानडा सिफ्ट भएपछि म त्यहाँ जन्मेको हुँ । र, म अहिले क्यानडेली हुँ र क्यानडामै बस्छु ।’

अनिशा र इडवार्ड् हङकङ एयरपोर्ट्मा भेटिएर संगै नेपाल आइपुगेका रहेछन् । अनिशा क्यानडाबाट नेपालका लागि उडेकी थिई भने इडवार्ड् इंग्ल्यान्डबाट ।

त्यसपछि मेरो पालो आयो । भ्यानमा चढिसकेपछि भन्न थालें, ‘छालाको रंग, अनुहारको बनावट, उचाई र अरु थुप्रै कारणले फिलिपिनोहरु मलाई नेपाली जस्तै लाग्छ । त्यसैगरी नेपाल र इन्डियाको खुला सीमाना, समान संस्कृति र अरु थुपै्र कारणले इन्डियनहरु पनि मलाई परको लाग्दैन । त्यसैले आज मलाई तिमीहरु आफ्नै परिवशेका मान्छे झैं लागिरहेको छ । गाइड–गेस्ट नभई यसै साथीभाई घुम्न निस्के झैं भइरहेको छ ।’

अरु थुप्रै कुरा गर्दै पाटन दरबार क्षेत्र पुग्यौं । अनिशा र इडवार्ड्ले आ–आफ्नो टिकटको पैसा आ–आफ्ले खुरुक्क तिरे । दम्पति होलान् भन्ने सुरुदेखिको मेरो अनुमानबारे मैले मनमनै आशंका गरें, ‘यिनीहरु अरु जेसुकै भए पनि दम्पतिचाहिं होइनन् ।’

असाध्यै नम्र स्वाभावको इडवार्ड् मात्र होइन, ऊभन्दा अलि कडाजस्ती देखिने अनिशाको घाँटीमा पनि प्राफेसनल क्यामरा थियो । क्यामराले सुख पाएनन् । तिनीहरु चलिरहे । निकै सानो स्वरमा बोल्ने इडवार्ड् ‘जसो जसो बाहुन बाजे उसो उसो स्वाहा’ भने झैं अनिशाको इशारामा चलिरहेको थियो । पाइला–पाइलामा ऊ अनिशाको इशारा पर्खिरहेको हुन्थ्यो । मुसुक्क हाँसेर अनिशा उसलाई इशारा गर्थी । ऊ पनि बुझिहाथ्यो ।

‘तिमीहरुलाई मैले धेरै बषैपछि सम्झें भनें पक्कै पनि त्यो पहिलो क्षण सम्झन्छु । म त्यो टेबल सम्झन्छु । तिमीहरुले दुध चिया पिइरहेको सम्झन्छु । त्यस्तै तिमीहरु पनि तिमीहरुको भेटको पहिलो क्षण सम्झन सक्छौ ?’, मैले उनीहरुलाइै खोतल्न खोजें ।

‘१३ बर्षअघि हाम्रो भेट भएको हो । हामी एउटै भवन तर फरक फ्ल्याटमा बस्थ्यौं । त्यो केही समयको कुरा हो’, सुरुमै अनिशाले भनिहाली ।

‘होइन, हामी एउटै फ्ल्याटमा बस्थ्यौं’, इडवार्ड्ले सच्यायो ।

‘तर, फरक कोठामा बस्थ्यौं’, अनिशाले थपी ।

निकै रोमाञ्चित भए झैं एक–अर्कालाई हेर्दै उनीहरु मुस्काए ।

‘होइन, हामीले पहिलो पटक लाइनमा भेटेका हौं’, सम्झे झैं गरी मुस्कानसहितको अनुहार नबिगारी इडवार्ड्ले भन्यो ।

‘हो, हो । हामी फ्रेन्च क्लास ज्वाइन गर्दै थियौं । त्यसको लागि फर्म भर्नुपर्ने थियो । त्यसैको लागि हामी लाइनमा थियौं । हाम्रो पहिलो भेट त्यहीँ भएको हो । म अगाडि थिएँ र मेरो ठिक पछाडि इडवार्ड् रहेछ । त्यति बेला एउटा दुर संचार कम्पनीले एउटा विद्यार्थीले अर्को विद्यार्थीसँग सेलफोनमा कुरा गर्ने निशुल्क सुविधा दिएको थियो । लाइनमा उभिएरै हामीले एक–अर्कोको नम्बर लियौं–दियौं । त्यसरी हामी नजिकिएका हौं’, अनिशाले उनीहरुको सम्बन्धको प्रारम्भिक इतिहास बताई ।

अरु न उनीहरुले भने, न मैले सोधें ।

अतिरिक्त भाषा सिक्ने संस्कृतिलाई पछ्याउँदै उनीहरु फ्रेन्च स्कुलका विद्यार्थी भएका थिए । जीवनमा त्यो भाषालाई उनीहरुले कति उपयोग गरे ? यो प्रश्न पनि मैले उनीहरुलाई गरिनँ । सुन्दरीचोकमा पुगेपछि त्यहाँको ढुँगा, काठ र धातुमा कुदिँएका अनुपम चित्रविचित्र कलालाई उनीहरुले मनदैखि नियालुन् भनेर एउटा कुनामा चुपचाप बसें । तर, त्यति नै बेला त्यहाँ निकै हल्लाखल्ला सुरु भइहाल्यो । एउटा बुढो गाइड मैले नबुझ्ने भाषामा कड्कीकड्की व्याख्या गर्न थाल्यो । उसका गेस्टहरु जोडजोडले हाँसे । सँगसँगै मेरो गेस्टहरु पनि हाँसे ।

बुढो गाइड त फ्रेन्च भाषाको नेपाली गाइड पो रहेछ । फ्रेन्च भाषा राम्ररी जानेका अनिशा र इडवार्ड्ले हाँस्नुको कारण बताए । त्यसपछि म पनि हाँसे ।

हिन्दी र स्पेनिसमा कामचलाउ अनिशा अंग्रेजी र फ्रेन्च मात्र होइन, बंगालीमा पनि फरर रहिछ । उसैले भनेर थाहा पाएँ ।

‘तिमी निकै धनी रहिछौ’, मैले भनें ।

‘कसरी ?’, नबुझेरै उसले सोधी ।

‘भाषा भन्नु धन होइन र ?’, मैले प्रश्नलाई नै उत्तर बनाइदिएँ ।

‘तर, म ऊ जस्तो धनी छैन । मलाई बंगाली आउँदैन । हिन्दी झनै आउने कुरै भएन । स्पेनिस पनि उसले जति बुझ्न सक्दिन । मसँग दुईटा भाषा छन्, अंग्रेजी र फ्रेन्चमात्र’, अघिदेखि अनिशा र मेरो कुरा सुनिरहेको इडवार्ड्ले भन्यो ।

हामी सुन्दरी चोकबाट केशवनारायण चोकतिर हिड्यौं । अनिशा क्यानडाबाट चार पटक इन्डिया हिंडेकी रहिछ ।

‘पहिलो पटक, जब म निकै सानो थिएँ । तीन महिना म कलकत्ता बसेको थिएँ । तर, म त्यो तीन महिनाको सानोभन्दा सानो क्षण पनि सम्झन सक्दिन । टिनएजमा म दोस्रो र तेस्रो पटक इन्डिया गएँ । विश्वविद्यालयको पढाई सकेपछि चौथो पटक । जब–जब म इन्डिया पुगें, मलाई मेरो माटोमा पुगेजस्तो भयो । मैले इन्डियालाई सुँघें । त्यो आफ्नो देशको सुगन्ध हो भन्ने लाग्यो । मैले इन्डियाको रंग देखें । त्यो मेरो आफ्नो रंग हो भन्ने लाग्यो । मलाई लाग्यो, म इन्डियाकी हुँ । म क्यानडाको नागरिक भए पनि त्यहाँ मैले त्यस्तो अनुभव कहिल्यै गरिनँ । तर, मेरा अभिभावक क्यानडामा निकै खुशी छन् र उनीहरुले इन्डियालाई मीस गर्देनन् । गर्थे भने किन इन्डिया छाड्थे ?’, रिसाएको स्वरमा अनिशाले आफ्नो भनाई टुँग्याई ।

अब फिलिपिनो इडवार्ड्को बोल्ने पालो आयो ।

‘मेरो कथा बेग्लै छ । मैले आफुलाई कहिल्यै फिलिपिनो हुँ भनेर सोचिनँ । मेरी आमाले मलाई कहिल्यै फिलिपिन्सको कथा सुनाइनन् । पछिल्लो केही बर्षदेखि हामी इंग्ल्यान्डमा बस्दै छौं । सायद हामी स्थायी रुपमा इंग्ल्यान्डमै बस्छौं । तर, म क्यानडालाई आफ्नो देश सम्झन्छु । म क्यानडालाई निकै मीस गर्ने गर्छु । किनकी मैले जे देखें, जे सिकें, क्यानडामै सिकें । मेरो सुन्दर बाल्य र किशोरकालका प्रत्येक स्मृतिहरु क्यानडासँग जोडिएका छन् । म क्यानडको एउटा अंश हुँ । कहिलेकाहीँ आफैलाई सुँघ्छु, क्यानडाको बास्ना आउँछ’, भावुक भएर उसल भन्यो ।

उनीहरुले त्यसरी मसँग थुप्रै कुरा गरे । तर, उनीहरु एक–अर्कामा त्यो भन्दा बढी कुरा गर्न खोज्दै थिए । उनीहरुलाई मैले भ्यानको पछाडि सीटमा बस भनें । आज्ञाकारी बालबालिका झैं खुरुक्क त्यहाँ गए । बीचको लहरमा सीट खाली बनाएर म ड्राइभरसँगैको सीटमा आएँ । भ्यान धेरै किलोमिटर अगाडि बढिरहँदासम्म भ्यानकै स्पीकरमा ड्राइभरको इच्छा अनुसार बजेका मीठामीठा गीतहरु सुनिरहें । उनीहरु पनि मीठा मीठा गफ गर्दै थिए होलान् ।

उनीहरु निकै नजिक–नजिक भइरहेको थिए । तर, जब–जब अन्य सम्पदा प्रवेशको बेला आउँथ्यो, टिकट काट्दा एक्लाएक्लै यात्रा गरे झै देखिने गरी फटाफट आफ्नो भागको पैसा हतारिएर तिर्थे । त्यसपछि फेरि तत्कालै जोडीजस्ता भइहाल्थे ।

जहाँ–जहाँ घुमियो, त्यहाँ उनीहरुले असँख्य फोटो खिचे । अन्तिममा रेस्टुरेन्टमा खाजा खाइसकेपछि एक छिन है भनेर दुवैजना ओझेल परे । फर्कंदा उनीहरु दुवै स्कुले साथीहरु जसरी बरफ चुस्दै थिए ।

‘तिमी पनि खाने हो ?’, इडवाडैले सोध्यो ।

‘नो थ्याङ्क्यु’, मैले भनें ।

त्यही बेलुका मैले इडवार्ड्लाई फेसबुकमा खोजें । भेट्टाएँ पनि । तर, मैले उसको अर्को पक्ष पनि भेट्टाएँ । हल्का दाह्री पालेको इडवार्ड् त्यस्तै हल्का दाह्री पालेको पियस कोर्नेलसँग रिलेसनसीपमा रहेछ । उसको फेसबुकमा लेखिएको छ, ‘इन रिलेसलसीप विथ् पियर्स कोर्नेल ।’

त्यो कस्तो खालको सम्बन्ध हो ? तर, फेसबुक एकाउन्टको ‘एबाउट’ भन्ने सेक्सनमा उल्लेख गरिए अनुसार बुझ्ने हो भने त्यो लैंगिक सम्बन्ध नै हो ।

दिनभरको उनीहरुको तौरतरिका सम्झन थालें ।

इडवार्ड निकै सानो स्वरले बोल्थ्यो । थोरै बोल्थ्यो । लच्की लच्की हिंड्थ्यो । अनिशा पनि त्यति धेरै बोलक्कड त थिइन् तर अलि कमान्डिङ देखिन्थी । अनिशा शरीरले आकर्षक र उत्तेजक स्त्री थिई । इडवार्ड् दाह्री र अनुहारले पुरुष नै थियो ।

अलमलमा पर्दापर्दै म निदाएँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment