Comments Add Comment

कमलादीबाट पक्राउ परेका भारतीय नागरिकको साथबाट पञ्जाब प्रहरीको परिचयपत्र बरामद

१६ कात्तिक, काठमाडौं । काठमाडौंको कमलादीबाट पक्राउ परेकामध्ये एकजनाको साथबाट पञ्जाब प्रहरीको परिचय पत्र बरामद भएको छ । यससँगै प्रहरीको अनुसन्धानले पनि नयाँ मोड लिएको छ ।

बुधबार कमलादीको एक रेष्टुरेन्टमा विवाद भएपछि गोली चलेको थियो । गोली चलाउनेमध्येका २ जनालाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो । शुरुमा उनीहरु भारतीय सार्प सुटर रहेको प्रहरीले जानकारी दिएको थियो ।

खानतलासीको क्रममा जसविर सिंह भन्ने व्यक्तिको साथबाट भारत पञ्जाब प्रहरीको परिचयपत्र बरामद भएको छ जसमा नाम ‘यूपी एसएस सिंह’ र पद ‘कन्सटेबल’ लेखिएको छ ।

अनुसन्धानमा संलग्न एक अधिकारीले अनलाइनखबरसँग भने, ‘एकजनाको साथबाट पञ्जाब प्रहरीको आईडी कार्ड बरामद भएको छ, हामी वास्तविकता पत्ता लगाउने कोशिस गरिरहेका छौं ।’

त्यसलगत्तै केन्द्रीय अनुसन्धान व्यूरोले हेर्दै आएको यो केस अहिले अन्तरदेशीय अपराध हेर्ने विशेष व्यूरोले हेर्न थालेको छ । स्रोतका अनुसार नेपाल प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरेर थप अनुसन्धान अघि बढाएको छ ।

कमलादीको एक रेष्टुरेन्टमा खाजा खाने क्रममा धेरै बिल आएको भन्दै विवाद गरेपछि भारतीय युवाले गोली चलाएका थिए । त्यसको केही मिनेटभित्रै कमलादी प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुको साथबाट एक थान अत्याधुनिक पेस्तोल र करिब ५० राउण्ड गोली बरामद भएको थियो । बरामद पेस्तोल भारतीय रक्षा मन्त्रालयअन्तर्गतको राइफल फ्याक्ट्रीमा बनेको खुलेको छ ।

उनीहरु मंगलबार रुपन्देहीको भैरहवा नाकाबाट नेपाल प्रवेश गरेको अनुसन्धानबाट पत्ता लागेको छ । कमलादीको हेरिटेज प्लाजास्थित कोठा खानतलासी गर्दा उनीहरुका २५ जोर कपडा बरामद भएका छन् । यसबाट उनीहरु लामो बसाइको तयारी सहित नेपाल आएको सहज अनुमान लगाउन सकिन्छ ।

तर नेपाल आउनुको उद्देश्य भने खुलिसकेको छैन । यद्यपी निर्वाचनको क्रममा ठूलै घटना गराउन उनीहरु आएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment