१६ कात्तिक, झापा । नेपाली सेनाको कालीबहादुर कण, चारआलीले झापाको पर्यटकीय स्थल सताक्षीधाममा पदमार्ग निर्माण गर्न थालेको छ ।
गणको नियमित जनहित कार्य अन्तरगत शिवसताक्षी–११ मा रहेको धामको कार्यालय परिसरदेखि मन्दिरसम्म २ किलोमिटर बाटो निर्माण थालिएको हो ।
बाला चतुर्दशीमा सतबिज छर्न आउने भक्तजन तथा आन्तरिक पर्यटकलाई लक्षित गर्दै उक्त पदमार्ग निर्माण गरिएको सेनाले जनाएको छ ।
सेनाको टोलीले खोला छेऊमा रहेको चट्टानलाई फुटाएर पदमार्ग निर्माण गर्नुका साथै विभिन्न स्थानहरुमा काठको भर्याङ, सिडीँ र फड्के निर्माण गरिरहेको गणका प्रमुख सेनानी सरोज अधिकारीले बताए ।
सताक्षी धाम महाभारतकालिन इतिहाससँग जोडिएको धार्मिक तथा पर्यटकीय क्षेत्र हो ।