Comments Add Comment

जनकपुरमा बुध्द एयरको एटिआर–७२ मार्फत सेवा

१७ कात्तिक, जनकपुर ।  धार्मिक नगरी जनकपुरधामका यात्रुलाई आधुनिक सुविधायुक्त यात्राको अबसर दिलाई पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन बुध्द एयरले एटिआर–७२ विमानबाट सेवा सुरु गरेको छ ।

सन् २००८ देखि जनकपुरधाम उडान भर्दै आएको बुध्द एयरले कात्तिक १५ गते बुधबारदेखि एटिआर–७२ विमानबाट आफ्नो सेवा विस्तार गरेको हो । यसअघि बीचएयर क्राफ्ट १९०० डी र एटीआर–४२ बाट उडान भरिदैं आएको थियो ।

बुधबार जनकपुरधाममा आयोजित एक समारोहमा बुध्द एयरका स्टेशन प्रमुख विजय सिंहले एटीआरको आवागमनसँगै विमानस्थलका पूर्वाधारहरुमा सुधार तथा विस्तार हुनुपर्ने बताए । ‘साथै रात्रिकालिन अवतरण तथा उडानका लागि पनि आवश्यक तयारी गर्नुपर्छ’, उनले भने ।

जनकपुर नागरिक उड्डयन प्राधिकरणका प्रमुख मुरारीप्रसाद पौडेलले पनि यात्रु संख्यामा वृद्धि भएकाले यात्रुकक्ष, सुरक्षा जाँचका लागि एक्सरे मेशिन, दमकल तथा नियमित विजुलीका लागि जेनरेटर लगायत सुविधा पनि विस्तार हुनुपर्नेमा जोड दिए ।

धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप चापागाई तथा जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले बुध्द एयरले एटीआर ७२ जहाजबाट सेवा विस्तार गरेकामा खुशी तथा शुभकामना व्यक्त गरे । यसैगरि नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले जनकपुरलाई उच्च प्राथमिकतामा राखेको बताए ।

‘आगामी वर्षसम्म जनकपुरमा रात्रिकालिन समयमा पनि जहाज उडान तथा अवतरण गर्न मिल्ने, एक्सरे मेशिन तथा बिजुलीको लागि जेनरेटरलगायत अन्य भौतिक पूर्वाधार विस्तार गर्नेछौं’, उनले भने ‘नयाँ टर्मिनल भवनको आवश्यक कार्य पनि सम्पन्न भई सञ्चालनमा आउने छ ।’

कार्यक्रममा मन्तव्य राख्ने क्रममा अख्तियार दुरुपयोग निवारणका आयुक्त राजनारायण पाठकले आवश्यक पूर्वाधारहरुको विस्तारसँगै बुध्द एयरले सर्वसाधारणका लागि भाडा घटाउन सुझाव दिए ।

समापन मन्तव्य दिंदै बुध्द एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले तत्काल बिहानको उडान एटीआर ७२ र दिउँसो बीचएयरक्राफ्टबाट हुने जानकारी गराए ।

बुध्दले यहि आउँदो जनवरीमा थप एटीआर–७२ जहाज भित्र्याउन लागेको र यसको सञ्चालन मार्च महिनादेखि हुने उनले बताए । ‘त्यसपछि जनकपुरमा दुवै उडान एटीआर जहाजबाट हुनेछ’, उनले भने, ‘यसबाट जनकपुरधामको पर्यटनमा थप टेवा पुग्ने आशा गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment