Comments Add Comment

चितवनका कम्युनिष्टको अपत्यारिलो र अनौठो हर्कत


‘कम्युनिष्टहरु विचित्रका हुन्छन्, आलोचना गर्न परे भित्तामैं पुग्ने गरी गर्छन्, मिल्न परे अङ्गाल्नो हाल्न बेर लाग्दैन ।’ प्रचण्डले मञ्चबाट यसोभन्दा तालीसँगै हाँसोको फोहोरा छुट्यो ।

‘केपीजी र मेरो स्वभाव अलिअलि मिल्छ जस्तो छ ।’ प्रचण्डले अगाडि थपे, ‘अलिअलि अटेरी, अलिअलि घमण्डी । लचक हुनु परे पनि बेर नलाग्ने ।’

प्रचण्डले विहीबार मनोनयन दर्तापछि आयोजित सभालाई सम्बोधन गर्दै थिए ।

दृश्य चितवनको थियो ।

चितवन । यो त्यही चितवन हो, जहाँ एमाले र माओवादीबीच शत्रुतापूर्ण सम्बन्धको विकास भएको थियो । देश र विदेशमा यो कटुताले निकै ठूलो चर्चा पायो । यो शत्रुतापूर्ण सम्बन्धले दुई पात्रलाई विशेष चर्चामा ल्यायो । एमालेका देवी ज्ञवाली र माओवादीकी रेणु दाहाल । दुबै मेयरका प्रतिष्पर्धी थिए ।

एमाले अध्यक्ष ओलीले समेत बेलामौकामा चितवनको चर्चा निकै गरे । माओवादी अध्यक्ष प्रचण्डकी छोरी रेणु दाहाल मेयर उम्मेदवार भएकाले प्रचण्डको उछितो काढ्न चितवन एउटा नमूना नै बन्यो आलोचनाको ।

स्थानीय चुनावमा कांग्रेसको साथ पाएको थियो माओवादीले । एमाले दुश्मनजस्तै थियो चुनावी मैदानमा । यता एमालेका लागि सरकारमा भएका एमाले र कांगे्रस शत्रुजस्तै बनेका थिए । यो माहौलबीच भरतपुर महानगरपालिको निर्वाचन सम्पन्न भयो ।

त्यो दृश्य भोग्ने र देख्नेहरुका लागि चितवनमा फेरि एमाले र माओवादी एक भएर अघि बढ्लान् भन्ने कल्पनाझैं थियो । तर, अचम्म ! अहिले त्यही चितवनमा सबैभन्दा बढी आत्मिक एकता यी दुई दलबीच देखिएको छ । एउटा सौहाद्र वातावरण, आशंकारहित सम्बन्ध । प्रचण्ड र देवी ज्ञवाली एउटै मञ्चमा कुम जोडेर बस्न थालेका छन् ।

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनसम्म आइपुग्दा समय फेरियो । प्रचण्डले भने झैं भित्तैमा पुग्ने गरी आलोचना गरिरहेका माओवादी र एमालेबीच बेग्लै सम्बन्धको विकास भयो ।

‘अब इतिहासलाई थन्क्याएर राखिदिऊँ, हामी समाजवादको महान यात्रामा अघि बढ्न एकतावद्ध बनेका छौं,’ देवी ज्ञवालीले कार्यक्रम सञ्चालन गर्दै भनिरहेका थिए, ‘तीता कुरा सम्झिएर नेपाली समाजको रुपान्तरण हुँदैन । एकताको यो महान अभियानको पहिलो चरण चुनाव हो ।’

नेपाली कांग्रेससँग सत्तामा सहयात्रा गरिरहेकै बेला नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकताको निर्णय भएपछि यसले राजनीतिलाई नयाँ ढंगबाट ध्रुवीकरण गरेको छ । अहिले एकातिर वामपन्थी शक्तिहरु छन् र अर्कोतर्फ नेपाली कांग्रेसलगायतका शक्तिहरु । विगतमा वामपन्थीहरुबीचको तिक्ततापूर्ण सम्बन्ध र दुई भिन्न विचार भएका नेपाली कांग्रेस र माओवादी या नेकपा एमाले र नेपाली कांग्रेसबीचको सम्बन्ध तत्कालका लागि सहज देखिए पनि त्यो अस्वाभाविक थियो ।

एउटा निर्णाायक अवस्थामा यो सम्बन्ध भत्कियो । जेजस्तो सम्बन्ध भए पनि वापमन्थीहरु एक ठाउँ आइपुगे । भरतपुरको सभामा बिभिन्न नेताहरुको सम्बोधन सुन्दा अब यो सम्बन्धले एउटा नयाँ उर्जा र प्रेरणा थपेको देखिन्छ ।

त्यसो त नेपालमा आम कम्युनिष्ट समर्थक जनताले कम्युनिष्टहरु विभाजित भएको मन पराएका थिएनन् । सधैं एउटा प्र्र्रश्न उनीहरुको मनमा हुन्थ्यो, “सबै कम्युनिष्टहरुले गरीबदुखीका कुरा गर्छन्, तर मिलेर सरकार किन बनाउँदैनन् ? सर्वहारा र मजदूरको कुरा गर्छन्, तर मजदूरहरुकै १० वटा ट्रेड यूनियन बनाउँछन । उनीहरु न जनजीविकाका मुद्दामा मिल्न सक्छन्, न त सरकारमा नै ।”

समर्थकको यो मनोभाव भने कम्युनिष्ट नेताहरुले कहिल्यै बुझेनन् । उनीहरु सधैं विभाजित नै भइरहे । कहिले सिद्धान्तका नाममा, कहिले नेतृत्वका नाममा ।

दरभंगा प्लेनम हुँदै दोश्रो राष्ट्रिय सम्मेलनपछि नेपालका कम्युनिष्टहरु कहिल्यै एक देखिएनन् । किताबका पानामा लेखेका शब्द–शब्दमा उनीहरुले मनोगत विश्लेषण र तर्क गरेर कित्ताहरु बाँडफाँड गरे । यी कित्ताहरुमा नेपाली समाजको रुपान्तरणको मर्मभन्दा बेसी सिद्धान्तको बास्ना झल्किने गथ्र्यो ।

विगत छोडौं, कम्तिमा शान्ति प्रक्रियापछिको पहिलो संविधान सभामा यति कम्युनिष्टहरु मिलेको भए के हुन्यो ? मूलभूत राजनीतिक मुद्दामा उनीहरु एक हुन्थे भने त्यतिखेर समाजवादी संविधान नै लेख्न पनि कसैले रोक्न सक्थ्यो र ?

अहिले कांग्रेसदेखि राप्रपासम्म ‘समाजवादोन्मुख’ संविधानमा राजी भएका बेला एमाले र माओवादी त्यतिखेरै मिलेको भए उनीहरुले संविधानका शब्द–शब्द आफुखुसी परिवर्तन गर्न सक्दैनथे र ? न भूमिसुधार गर्न उनीहरुलाई बाधा पुग्थ्यो, न त सर्वहारा, किसान मजदूरका मुद्दाहरु सम्बोधन गर्न ।

तर बिडम्बना, अस्तित्वको दम्भमा कम्युनिष्टहरु एक भएनन् या उनीहरुलाई एक हुन दिइएन । एमाले बरु कांग्रेससँग मिल्यो, माओवादीले बरु कांग्रेसलाई रोज्यो तर उनीहरुले एकअर्कालाई विश्वास गरेनन् ।

यही अविश्वासमा भरतपुरको स्थानीय निर्वाचनले झनै कटुता थपेको थियो ।

यही सन्दर्भ बताउँदै भरतपुरको सभामा प्रचण्डले मदन भण्डारीको प्रसंग निकाल्दै एउटा गम्भीर कुरा गरे । इतिहासका संयोगहरुलाई छोप्न नसक्दा त्यसको परिणाम गम्भीर हुन्छ भन्ने प्रचण्डले बताए । प्रचण्डसँग जेठ ११ गते नेपालमा एउटै कम्युनिष्ट केन्द्र निर्माण गर्ने गरी बिस्तृत छलफल गर्ने कार्यक्रम तय भएको तर जेष्ठ ३ गते नै वहाँको हत्या भएपछि त्यो जेठ ११ कहिल्यै नआएको प्रचण्डले सुनाए ।

“कल्पना गर्नुस् त ? यदि त्यो जेष्ठ ११ आइदिएको भए के हुन्थ्यो होला ?’

सम्भवतः यदि अहिले ओली र प्रचण्डबीच पार्टी एकता गर्ने निर्णय भएझैं भण्डारी र प्रचण्डबीच एउटै कम्युनिष्ट केन्द्र बनाउने सहमति भएको भए ? ०५२ फागुन १ आउने थिएन । राजतन्त्रविरुद्ध निर्णायक संघर्ष हुन्थ्यो, सत्ताले दमन गथ्र्यो र मदन भण्डारीसमेत बल प्रयोगको अनिवार्य सिद्धान्त स्वीकार्न बाध्य हुन्थे या माओवादीले बल प्रयोग नभइकन पनि बहुमतबाट सुधारात्मक काम गरेर अघि बढने बाटो समात्थे । या ०६३ पछि माथि भनिएझैंको अवस्थामा पुगिन्थ्यो ।

यी इतिहासका सम्भावना थिए । जो भएनन् । तर, ढिलै भए पनि नेपालमा अहिले कम्युनिष्टहरु एक ठाउँ आएका छन् ।

चितवनको संयुक्त जनसभामा प्रचण्डदेखि सुरेन्द्र पाण्डे र देवी ज्ञवालीदेखि नवीना लामासम्मले वाम एकताको अपरिहार्यता, कम्युनिष्टहरुबीचको जीवित र हार्दिक सम्बन्धमा जोड दिए । चितवनको सभामा सबै वक्ताहरुले वाम एकताको औचित्य र त्यसले दिन खोजेको सन्देशका बारेमा बढी समय खर्च गरे ।

सुरेन्द्र पाण्डेले झापा विद्रोह र माओवादी विद्रोहका नायकको चर्चा गर्दै एउटा महान उद्देश्यका लागि आफ्ना तमाम व्यक्तिगत असहमति, विगतका तीता सम्बन्धहरुलाई अन्त्य गर्दै यी दुबै विद्रोहबाट विकास भएका दुई पार्टीबीच एकता हुने कुरा गरे ।

प्रचण्डले पार्टी एकताका लागि मदन भण्डारी छँदै र त्यसपछि ०६४ सालमा समेत प्रयास भएको चर्चा गरे । अन्य नेताहरुले समेत एकताका पक्षमा कुरा गरे । समग्र कार्यक्रमले लौ, अब हामी एक भयौं, हिजो कार्यगतरुपमा कतिपय आलोचना प्रतिआलोचना भए पनि हामी सामूहिकतामा विश्वास गर्ने शक्तिहरु अग्रगमन र रुपान्तरणका लागि एक भएको सन्देश दिए ।

विगतमा यही चितवनमा एकले अर्कोलाई सिध्याउन ज्यान फालेका दुबै शक्तिबीचको यो एकताको प्रस्तुति आश्चार्यजनक थियो ।

हो, कतिपय जिल्लाहरुमा माओवादी र एमालेभित्रै चरम अन्तरविरोध देखिएको छ । एकाअर्काको अस्तित्व स्वीकार्ने कुरामा समस्या देखिएको छ । तर, चितवनमा भने त्यो छनक देखिँदैन । जबकि चितवनमा एक अर्काप्रतिको कटुता सबैभन्दा बढी देखिनु पर्ने हो । तर त्यो चितवनमा देखिएन । बरु दुबै राजनीतिक दलहरुले संयुक्त विज्ञप्ति जारी गरेर व्यवस्थित एवं एकीकृत चुनावी अभियान सञ्चालन गर्ने निर्णय गरेको सार्वजनिक गरे ।

‘अब वडास्तरमा संयुक्त बैठक बस्नेछन्, संयुक्त चुनावी कार्यक्रम हुनेछन्, हामी कोही पनि एक अर्काप्रति नकारात्मक किसिमका टिप्पणी गर्ने छैनौं’ देवी ज्ञवाली आफैंले यो कुरा मञ्चमा बारम्बार भनिरहेका थिए ।

कतिपय जिल्लामा अहिले पनि एमाले र माओवादीबीच आशंका व्याप्त छ । चुनावको टिकट पाउन एमाले र माओवादीबीच भएको विवाद र स्थानीयस्तरमा एमाले र माओवादीकै नेताहरुले एक अर्कालाई उपयोग गरेर आफ्ना पक्षमा टिकट पार्न गरेको चलखेल र दौडधुपले यस्ता आशंका र अविश्वासलाई थप बढाएको छ ।

चितवनमा भने सहज वातावरणमा दुबैबीच सीटको बाँडफाँड भएको छ । क्षेत्र नं. १ देखि ३ र प्रदेशका उम्मेदवार सर्वस्वीकार्य भएका छन् । मन खिन्न पार्ने एक दुईजना नेताहरु समेत विहीबारको कार्यक्रमपछि एक ढिक्का भएको नेताहरुले दाबी गरेका छन् ।

हठात् एवं यान्त्रिक ढंगले गरिएको वाम एकता र गठबन्धनको निर्णय जैविकरुपमा एक अर्कासँग घनिभूत र एकाकार हुने दाबी दुबै दलका नेताहरुको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment