+
+

रोगी बन्दैछ शहरी जीवनः पेटमा विष, फोक्सोमा शिशा

काठमाडौंको घाम पनि छैन स्वस्थ

सुदर्शन बस्नेत सुदर्शन बस्नेत
२०७४ कात्तिक १७ गते १३:१३

काठमाडौं । केही समयअघि एउटा कहालीलाग्दो खबर आयो, काभ्रेको एउटा गाउँका पूरै किसानमा क्यान्सर भेटियो ।

किसानमा क्यान्सर देखिनुको कारण खोज्दै जाँदा डरलाग्दो तथ्यको खुलासा भयो । ती किसान तरकारी खेती गर्दा रहेछन् । तरकारीमा कीटनाशक औषधि छर्ने क्रममा उनीहरुले माक्स नलगाउने गरेको पाइयो । त्यसकै असरले उनीहरुलाई क्यान्सर भएको रहेछ ।

सावधान, विषादी छर्किएका त्यस्तै तरकारी हामी खाइरहेका छौं र हामी पनि क्यान्सरको जोखिममा छौं !

बजारका सागसब्जीमा निर्भर काठमाडौंलगायत मुख्य शहरका बासिन्दा दिनहुँ विष सेवन गरिरहेका छन् । हाम्रो भान्सामा आइपुग्ने अधिकांश सागसब्जीमा किटनाशक औषधीलगायत अनेक हानीकारक विषादी प्रयोग गरिएको हुन्छ ।

हलक्क बढेको लौका होस् या सर्लक्क परेको काँक्रो । तिनलाई छिट्टै ठूलो बनाउन र धेरै फलाउन अनेक रसायनको प्रयोग गरिएको हुन्छ । सागसब्जीलाई छिट्टै फलाउन, पकाउन, ठूलो बनाउन, किरा लाग्नबाट बचाउन अहिले जे जति कृत्रिम विधि अपनाइन्छ, ती सबै मानव स्वास्थ्यको प्रतिकुल छन् ।

हरियो विषपान

हामी हरेक दिन भान्सामा तरकारीको भेषमा हरियो विष भित्र्याइरहेका छौं ।

काठमाडौंका बासिन्दाले खाने तरकारीको त कुनै भरै छैन । काठमाडौंमा काँठ र आसपासका जिल्लामा उत्पादित सागसब्जी नै खपत हुन्छ । ती तरकारीमा अत्यधिक विषादी प्रयोग हुने गरेको विभिन्न परीक्षणबाट पुष्टी भइसकेको छ ।

धादिङको कुरा बेग्लैछ । धादिङले काठमाडौंका लागि अधिक सागसब्जी निर्यात गर्छ । धादिङमा बिक्रीका लागि भनेर छुट्टै खेती गरिँदो रहेछ । त्यसरी उत्पादित सागसब्जी उनीहरु आफू पनि खाँदैनन् र आफ्ना गाईवस्तुलाई समेत दिँदैनन् । कुनै आफन्त वा चिनेजानेका ग्राहक सब्जी किन्न गएमा उनीहरु भन्ने गर्छन्, ‘यो खाने सब्जी होइन, काठमाडौं पठाउने हो ।’

यसबाट स्पष्ट हुन्छ, ‘खाने होइन, काठमाडौं पठाउने’ तरकारीमा अत्यधिक विषादी र घातक रसायन प्रयोग भइरहेको छ । अनि, हामी त्यही सब्जी खाइरहेका छौं । अर्थात्, मल्टि-भिटामिन, मिनरल्स र पौष्टिक पदार्थका लागि चिकित्सकले बारम्बार खान सल्लाह दिने हरिया सागसब्जी नै यसरी हरियो विषमा परिणत भइरहेका छन् ।

यो तरकारीको मात्र सवाल होइन, हाम्रो समग्र जीवनशैली विषाक्त बन्दै गएको छ । हामीले खाने खाना, बाँच्ने परिवेश, हाम्रो मनोदशा र जीवनशैली रोगी बन्दै गएको छ ।

हामी भन्छौं, स्वस्थ जीवनका लागि सन्तुलित खाना खानुपर्छ । त्यही खानालाई सन्तुलित भनिन्छ, जसमा शरीरलाई आवश्यक सबै पोषक तत्वको यथोचित मात्रा पाइन्छ । विडम्बना, हाम्रो भोजनमा पोषकतत्व नभई विषको मात्रा बढ्दै गएको छ ।

अभाव अक्सिजनको

डरलाग्दो तथ्य के हो भने काठमाडौं खाल्डोमा अब हामीलाई सास फेर्नका लागि शुद्ध र पर्याप्त अक्सिजनको अभाव हुन थालेको छ । काठमाडौंको वायुमण्डलमा पुग्दो अक्सिजन नै छैन ।

नागढुंगाबाट कलंकीतिर लाग्नासाथ हामीलाई उकुसमुकुस हुन थाल्छ । हावामा धुवाँ, धुलो र अनेक घातक रसायन मिसिएकाले हामीले पलपल फेर्ने सास पनि विषाक्त बन्दै गएको छ । जनघनत्व जुन अनुपातमा बढ्दो छ, त्यसअनुरुप काठमाडौंमा रुखपात वा अक्सिजनका स्रोत छैनन् । त्यसमाथि मानव निर्मित फोहोर मैला, धूवाँ, धूलो आदिले वायुमण्डललाई दुषित बनाएको छ ।

हालैको एक अध्ययनबाट काठमाडौंको वायुमण्डलमा लिडको मात्रा अधिक रहेको देखिएको छ । अर्थात्, शिशाको मात्रा धेरै छ । कतिपय घातक कणहरु यति सुक्षम हुन्छन्, जुन सोझै रगतमा मिसिन्छन् । यसबाट दम मात्र होइन, फोक्सोको क्यान्सरको सम्भावना एकदमै बढेको छ ।

भिटामिन डीको कमि

केही समयअघि अनलाइनखबरकै एक आलेखमा कुलमान घिसिङले आफूमा भिटामिन डीको कमि भएको बताएका थिए ।

वास्तवमा उनी मात्र होइन, अधिकांश काठमाडौंवासीलाई भिटामिन डीको कमि छ । यद्यपि, यसबारे सबैले खास चासो देखाएको पाइँदैन । भिटामिन डी हामी खानेकुरा र घामको किरणबाट प्राप्त गर्छौं । तर, न हामीले खाने खानेकुरा स्वस्थ छ, न त घाम नै । बिहानको घाम ताप्नुपर्छ, भिटामिन डीका लागि । यद्यपि, हामीसँग घाम ताप्ने समय नै छैन ।

जंकफुडको जहर

शहरी जिन्दगी व्यस्त छ । कामकाजी मानिस हुन् या केटाकेटी, भान्सामा अडिलो चिज बनाएर खाने जाँगर र फुर्सदसमेत हामीसँग हुँदैन । भोक लाग्यो ? लौ बजारबाट चाउचाउ मगाएर सके काँचै, नसके दुई मिनटमा उमालेर खाइहाल्यो । केही खाउँखाउँ लाग्यो, लेज या कुरकुरे पेटमा हुल्यो । हुँदाहुँदा डिपार्टमेन्ट स्टोरबाट रेडिमेड खाना ल्यायो र ओभनमा तताएर खायो ।

रेस्टुराँमा डिप-फ्रिजमा लामो समयसम्म राखिएका चिजहरु खानमै हामी शान ठान्छौं । अनि, घरमा फापर, कोदो या गहुँको रोटी, मकै-भटमास बनाएर खान अल्छि गर्छौं । बजारमा पाइने चिल्ला प्याकेटभित्रका चिजहरुको गुणस्तर जेसुकै होस्, तिनमा सुक्ष्म पोषकतत्व होस् कि नहोस्, मानिसहरु बजारकै खानामा भर पर्छन् ।

पि्रजर्भेटिभ्स हालिएका ती प्याकेटका खानेकुराकै कारण पनि हाम्रो आन्द्रा विस्तारै विषाक्त बन्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?