Comments Add Comment

कांग्रेसले टिकटसँगै एक लाख दियो, एमाले पैसा जोहो गर्दै

माधव नेपालले सम्झिए मुग्लिनको मासुभात !


१८ कात्तिक, काठमाडौं । उम्मेदवारहरुले खर्च गर्न पाउने रकमबारे निर्वाचन आयोगले सीमा तोके पनि संसदीय चुनाव जित्न करोडभन्दा तलको हिसाबै हुन छाडेको छ ।

गाउँपालिका अध्यक्ष चुनाव लड्नेले पाँच करोडसम्म खर्च गरेको हिसाब सामान्य भइसकेको अवस्थामा प्रतिनिधिसभाको चुनाव लड्नेको खर्च कति होला ? अनुमान लगाउन गाह्रो छ ।

आम चुनावमा होमिएका विभिन्न दलका उम्मेदवारहरुले आफ्नो पार्टीको हेड क्वार्टरबाट चुनाव खर्च पाउँछन् कि पाउँदैनन् ? पाउँछन् भने के कति पाउँछन् ?

यसबारे हामीले एमाले, नेपाली कांग्रेस र माओवादी पार्टीको आन्तरिक तयारीबारे बुझ्ने प्रयास गर्‍याैं

एमालेको कोषमा एक रुपैयाँ पनि उठेको छैनः नेपाल

चुनावी खर्चको कुरा गर्दा एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुग्लिनमा मासुभात खाएको रोचक स्मरण सुनाए । एमालेले चुनावको आर्थिक संकलनका लागि गठन गरेको समितिका संयोजकसमेत रहेका नेता नेपालले ०४८ मा प्रत्येक उम्मेदवारलाई पार्टीले ५ हजार रुपैयाँ चुनाव खर्च दिएको स्मरण गरे ।

त्योबेला आफू पनि चुनाव परिचालन अभियानमा ५ हजार रुपैयाँ लिएर हिँडेकोमा चुनाव सकिँदा ४ सय रुपैयाँ बचाएर पार्टीलाई फिर्ता गरेको समेत नेपालले सम्झिए । ‘मुग्लिनमा मासु भात खाएको समेत हिसाब गर्दा ४ सय फिर्ता भएछ’ नेता नेपालले अनलाइनखबरसँग भने ।

एकजना उम्मेदवारलाई चुनाव खर्चवापत ०४८ सालमा ५ हजार रुपैयाँ दिएको एमालेको चुनाव खर्च ०७० सालसम्म आउँदा प्रतिउम्मेदवार २ लाख रुपैयाँ पुगेको पनि नेपालले सुनाए ।

पार्टीहरुले टिकटसँगै उम्मेदवारलाई चुनाव खर्चस्वरुप नगद पनि दिने प्रचलन छ । यसपालि एमालेले कति चुनाव खर्च दिन्छ त उम्मेदवारलाई ? यो प्रश्नको जवाफ आर्थिक परिचालन समितिका संयोजक नेपालसँगै छैन ।

नेता नेपालले भने– दुई लाख रुपैयाँले एउटा मञ्चसमेत बनाउन सकिन्न । तर, पार्टीले प्रति उम्मेदवार त्यति रकम दिने अवस्था पनि छैन । साँच्चै भन्ने हो भने सामान्य राजनीतिक नेता कार्यकर्ताले चुनाव लड्न नसकिने अवस्था आइसक्यो ।

०४८ मा ५ हजार, ०५१ मा २५ हजार र ०५६ सालमा ५० हजार रुपैयाँ उम्मेदवार खर्च दिएको एमाले कोषमा रकम नभएपछि अन्योलमा परेको छ

प्रदेशसभा र प्रतिनिधिसभाका उम्मेदवारलाई अलग–अलग चुनाव खर्च दिने हो भने पार्टीको कोषबाट ४ वर्षअघिकै झैँ २ लाख रुपैयाँ दिँदा पनि २० करोड चाहिने हिसाब उनले निकालेका छन् ।

तर, अहिलेसम्म परिचालन समितिको बैठक नै नबसेकाले यसपालि उम्मेदवारले पैसा पाउने सम्भावना कम रहेको समितिका सदस्य एवं आर्थिक विभाग प्रमुख विष्णु रिमालले बताए ।

एमालेले उम्मेदवारहरुलाई ०४८ मा ५ हजार, ०५१ मा २५ हजार र ०५६ सालमा ५० हजार रुपैयाँ दिएको नेपालले बताए । त्यस्तै ०६४ सालमा एक लाख दिएको एमालेले ०७० मा २ लाख रुपैयाँ दिएको उनले बताए ।

नेता नेपालका अनुसार यसपपटक भने एमालेको कोषमा एक रुपैयाँ पनि चुनावी खर्चका नाममा उठेको छैन ।

कांग्रेसले टिकटसँगै दियो एक लाख चुनाव खर्च

नेपाली कांग्रेसले प्रतिनिधिसभाका उम्मेदवारहरुलाई टिकटसँगै एक लाख रुपैयाँको एक/एकवटा पेटी थमाएको छ । त्यस्तै प्रदेशसभाका उम्मदेवारलाई टिकट सँगै ५० हजार रुपैयाँ दिइएको छ ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारबाटै प्रतिनिधिसभा सदस्यका उम्मेदवारलाई एक लाख र प्रदेशसभाका उम्मेदवारलाई ५० हजार रुपैयाँ दिएर पठाएका हुन् ।

प्रतिनिधिसभाका उम्मेदवारहरुलाई टिकटसँगै एक लाख रुपैयाँको पेटी थमाएको कांग्रेसले प्रदेशसभाका उम्मदवारलाई ५० हजार
रुपैयाँ दिएर मैदानमा खरो उत्रिन निर्देशन दिएको छ

कांग्रेसले ०७० को संविधानसभामा ५० हजारका दरले चुनाव खर्च दिइएको जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार अहिलेसम्म पार्टीमा आर्थिक समिति गठन भएको छैन । तर, चुनावमा ठूलो खर्च हुने भएकाले आइतबारसम्म समिति बनाइने उनले बताए ।

माओवादीमा प्रचण्डकै आश

माओवादी केन्द्रले पनि उम्मेदवारहरुलाई एमालेले जस्तै यसपालि एक रुपैयाँ पनि नदिई चुनावी मैदानमा पठाएको छ ।

माओवादी नेता वर्षमान पुनका अनुसार ०७० सालको चुनावमा पार्टी हेडक्वार्टरबाट उम्मेवारहरुले ५ लाखका दरले चुनाव खर्च पाएका थिए ।

रित्तो हात टिकट लिएर निर्वाचन क्षेत्र पुगेका माओवादी उम्मेदवारहरू अध्यक्ष प्रचण्डले मुठ्ठी फुकाएर सहयोग गर्ने आशमा छन्

रोल्पाबाट प्रत्यक्ष निर्वाचन लडिरहेका वर्षमानले अनलाइनखबरसँग भने–‘यसपालि वाम तालमेल पनि भएको छ र उम्मेदवारको संख्या पनि घटेको छ, त्यसैले गर्दा यसपटक अध्यक्षज्युले पहिलेको भन्दा मुठ्ठी फुकाएर खर्च दिनुहुनेछ भन्ने हामीलाई आशा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment