Comments Add Comment

केपी ओलीलाई ‘भावी प्रधानमन्त्री’ भन्दै हेरिसन होटलमा रात्रिभोज !

भ्रष्टाचारीलाई नयाँ सरकारले चीनमा जस्तै कडा कारवाही गर्ने

१८ कात्तिक, बिराटनगर । एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार राति बिराटनगरस्थित होटल हेरिसनमा बास बसे । यो होटलका मालिक एवं उद्योगपति मोतिलाल दुगड एमालेको समानुपातिक सूचीको ८९ औं नम्बरमा परेका उम्मदेवार हुन् ।

समानुपातिक सूची सार्वजनिक भएकै साँझ दुगडले ओलीलाई आफ्नो होटलमा भोज दिएका हुन् । दुगडले ओलीलाई बासमात्रै दिएनन्, शुक्रबार साँझ बिराटनगरमा प्रतिष्ठित व्यापारीहरुसँग भेटघाट समेत गराए ।

शुक्रबार साँझ सोही होटलमा उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको संयुक्त आयोजनामा केपी ओलीसँग भेटघाट एवं छलफल कार्यक्रम आयोजना गरियो ।

एमालेका उम्मेदवार एवं केन्द्रीय सल्लाहकारसमेत रहेका दुगडको होटलमा आयोजित सो कार्यक्रममा उद्योगी, व्यापारीहरु दिनेश गोल्छा, अविनाश बोहोरा, पवन सारडा, किशोर प्रधानलगायतको सहभागिता थियो ।

कार्यक्रममा बिराटनगरका उद्योगी व्यापारीहरुले एमाले अध्यक्ष ओलीलाई ‘भावी प्रधानमन्त्री’ भनेर सम्वोधन गर्न समेत भ्याए । बिराटनगरका प्रतिष्ठित उद्योगी व्यवसायीहरुको सहभागिता रहेको कार्यक्रममा मुलुकको राजनीतिक अवस्थाका साथै औद्योगिक विकासका बारेमा करिव डेढ घण्टा कुराकानी भएको थियो ।

कार्यक्रममा उद्योगी व्यवसायीले केपी ओलीलाई प्रधानमन्त्री बन्नका लागि शुभकामना दिए । ओलीसँगको भेटमा उद्योगी व्यवसायीहरुले बिराटनगरको औद्योगिक विकासका लागि आवश्यक पूर्वाधार निर्माणलाई गति प्रदान गर्नका लागि पहल गरिदिन आग्रह गरे ।

कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले बिराटनगरको औद्योगिक विकासका लागि आवश्यक पूर्वाधार निर्माणसम्बन्धी कार्यपत्रसमेत प्रस्तुत गरेका थिए ।

भ्रष्टाचारीलाई चीनमा जस्तै ठेगान लगाइने

पूर्वाञ्चलका धनाढ्य उद्योगपछिसँगको भेटघाटमा एमाले अध्यक्ष केपी ओली भ्रष्टाचारको विरोधमा खरोरुपमा प्रस्तुत भए । चीनमा भ्रष्टाचारीलाई मृत्युदण्ड दिइने गरेको स्मरण गर्दै ओलीले अब बन्ने सरकारले भ्रष्टाचार अन्त्य गर्ने र त्यसपछि देशमा विकासले गति लिने बताए ।

ओलीले व्यवसायीहरुसँग भने– ‘तपाईहरु सप्पैलाई थाहा छ, को को भ्रष्ट छन्, को आफैं खान्छन्, को श्रीमतीमार्फत खान्छन् र को सालोमार्फत खान्छन् ।’

ओलीले थपे– ‘तपाईहरुलाई थाहा छैन ? तपाईहरुलाई थाहा छ । तर, केही पनि हुँदैन, त्यसकारण्का तपाईहरु पनि भन्नुहुन्न ।’

भावी सरकारले भ्रष्टाचारको अन्त्य गर्ने आश्वासन दिँदै ओलीले व्यवसायीहरुसँग भने– ‘अब निर्वाचनपछि आउने सरकारले यो अवस्था राख्दैन । हामीले देश बनाउनुछ, त्यसकारण भ्रष्टाचार नियन्त्रणमा दृढ भएर लाग्छौं ।’

व्यापारीलाई प्रश्नः एमालेले अधिनायकवाद ल्याउँछ ?

वामपन्थीको नेतृत्वमा सरकार बन्यो भने अधिनायकवाद आउँछ भन्ने कांग्रेस नेताहरुको आरोपलाई ओलीले खिल्ली उडाए ।

ओलीले उद्योगपतिहरुलाई सोधे– ‘एमालेको नेतृत्वमा सरकार बन्यो भने अधिनायकवाद आउँछ भन्ने तपाईहरु कसैलाई शंका छ ? विश्वास छ ? अधिनायकवाद आउला कि भन्ने कतै कसैलाई शंका छ ?’

एमाले अध्यक्ष ओलीले भने– मलाई लाग्छ, कसैलाई पनि शंका छैन । एमालेले त लोकतन्त्रका लागि कुरामात्रै गरेको छैन, वलिदानपूर्ण संघर्ष गरेको छ ।’

बागी कार्यकर्तासँग भेटघाट

दुगडको होटलमा बास बसेका ओलीले शुक्रबार साँझ केही बागी उम्मदेवारहरुसँग भेटघाटसमेत गरे ।

कार्यक्रममा एमालेले टिकट वितरणमा असन्तुष्टि राख्दै उम्मेदवारविरुद्ध वागी दिएका डीपी राई भेषनाथ रिजाल, उदयपुरबाट कुशलबाबु बस्नेतलगायत आएका थिए । उनीहरुलाई अध्यक्ष ओलीले छुट्टै भेटेको स्रोतले बतायो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment