Comments Add Comment

उपेन्द्र यादवको चुनावः राजपाका बागी पछि हटेनन्, कांग्रेसको समय मिलेन

फोरमका सबै बागी पछि हटे

१९ कात्तिक, सप्तरी । राजपाको अडा निर्देशनका बाबजुद संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्धको बागी फिर्ता भएन ।

प्रतिनिधिसभा सदस्यका लागि यादवले फोरम-राजपा गठबन्धनबाट सप्तरी २ मा उम्मेदवारी दिएका छन् । उनीविरुद्ध राजपा सहमहामन्त्री जयप्रकाश ठाकुरले उम्मेदवारी दिएका छन् । कारबाही गर्ने पार्टीको चेतावनीका बाबजुद ठाकुरले उम्मेदवारी फिर्ता लिएनन् ।

क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि १८ जनाले चुनावी मैदानमा छन् ।

कांग्रेसले समर्थन गर्न खोज्यो, समयले भ्याएन

आफ्नै गठबन्धनका नेताले बागी उम्मेदवारी दिएपनि कांग्रेसले यादवलाई समर्थन गर्ने भएको छ । उम्मेदवारी फिर्ता लिने कांग्रेसको प्रयास भने असफल रह्यो ।

कांग्रेसको तर्फबाट सप्तरी क्षेत्र नम्बर २ मा प्रतिनिधीसभाका लागि उम्मेदबारी दिएका सकलदेव सुतिहारले उम्मेदबारी फिर्ता लिने सुरसार गरेपनि समयमा ध्यान नदिँदा फिर्ताका लागि आएको आवेदनलाई मान्य नदिएको मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुंगानाले बताए ।

‘कांग्रेसका उम्मेदवारले निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा उम्मेदवारी फिर्ताका लागि आवेदन दिनुभयो’ मुख्य निर्वाचन अधिकृत ढुँगानाले भने, ‘पहिलो १ बजेर २८ मिनेटमा निवेदन दिनु र अर्काे कुरा निवेदनसँग पार्टीका आधिकारिक पत्र समावेश नगरिएकाले उम्मेदबारी फिर्ता गर्न मिलेन ।’

फोरम नेपालका सबै बागीले लिए फिर्ता

गठबन्धनबिरुद्व फोरम नेपालबाट बागी उम्मेदवारी दिएकाहरुले भने आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रतिनिधीसभा क्षेत्र नम्बर ३ बाट बागी उम्मेदवारी दिएका फोरम नेपालका जिल्ला इन्चार्ज अनिरुद्वसिंह यादवले उम्मेदवारी फिर्ता लिएका छन् । यस क्षेत्रमा गठबन्धनबाट राजपाका नेता मृगेन्द्रकुमार सिंह यादवको उम्मेदवारी परेको छ ।

यस्तै प्रदेश सभा क्षेत्र नम्बर २ को २ बाट राजपा महासचिव मनिष सुमनबिरुद्व उम्मेदबारी दिएका फोरम नेपालका भीमराज यादवले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रदेश सभा १ को १ बाट गठबन्धनबाट बागी उम्मेदवारी दिएका फोरम नेपालका प्रदेश सचिव शम्भु झा र प्रदेश सभा ३ को २ बाट बागी उम्मेदवार बनेका फोरमका जिल्ला सचिव उपेन्द्र साहले समेत उम्मेदवारी फिर्ता लिएका छन् ।

वाम गठबन्धनको बागी कायमै

वाम गठबन्धनबाट बागी उम्मेदवारी दिएकाहरुले आफ्नो उम्मेदवारी कायमै राखेका छन् ।

एमालेका २ नम्बर प्रदेश इन्चार्ज सत्यनारायण मण्डलबिरुद्व प्रदेश सभा १ को क मा बागी उम्मेदवारी दिएका प्रकाश खतिवडाले उम्मेदबारी कायमै राखेका छन् । यस्तै प्रदेश सभा ४ को २ बाट माओवादी केन्द्रका उम्मेदवार शशी यादवबिरुद्ध बालेश्वर यादवले दिएको उम्मेदवारी पनि कायमै छ ।

पहिला उम्मेदवार भनिएका बालेश्वरलाई हटाएर एक दिन पहिला पार्टी प्रवेश गरेका शशीलाई टिकट दिएपछि बालेश्वरले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

वाम गठबन्धनबाट एक जनाले मात्रै फिर्ता लिएका छन् । ३ को १ बाट उम्मेदवारी दिएका एमालेका महेन्द्र चौधरीले उम्मेदवारी फिर्ता लिएका हुन् ।

अरु क-कसले लिए उम्मेदबारी फिर्ता ?

प्रतिनिधीसभातर्फ क्षेत्र नम्बर ४ बाट अनिरुद्रकुमार सिंह र संजीवकुमार चौधरीले उम्मेदवारी फिर्ता लिएका छन् ।

क्षेत्र नम्बर १ को प्रतिनिधीसभाबाट स्वतन्त्र उम्मेदवार बनेका बेचन खड्गा र बिनोद कुमारले फिर्ता लिएका छन् । क्षेत्र नम्बर ३ को प्रतिनिधीसभातर्फ मुन्नीलाल खंग खत्बे र संजयचौधरीले दिएको स्वतन्त्र उम्मेदपारी फिर्ता लिएका छन् ।

प्रदेश सभातर्फ ३ को १ बाट उमेश प्रसाद यादव र महेन्द्र प्रसाद चौधरीले उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रदेश सभातर्फ २ को २ बाट भीमराज यादव, घुरन प्रसाद साह र रेखादेवी कर्ण तथा क्षेत्र नम्बर २ को १ बाट नरेश कुमार मण्डलले दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment