Comments Add Comment

महन्थलाई गुन लाउँदा बजरंगमाथि बज्रपात

रामचन्द्रले फोन गरे, शेरवहादुरले उम्मेदवारी खारेज गरिदिए

२० कात्तिक, जलेश्वर । प्रतिनिधिसभा सदस्यका लागि महोत्तरी क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका कांग्रेस नेता बजरंग नेपाली आइतबार चुनावी अभियान शुरु गर्दै थिए । आन्तरिक चुनावी गृहकार्यपछि पार्टी सहकर्मीहरु आ-आफ्नो क्षेत्रमा लागे । नेपालीलाई बरिष्ठ नेता रामचन्द्र पौडेलको फोन आयो ।

पौडेलले निर्देशनात्मक आग्रह गर्दै भने-राष्ट्रिय राजनीति मिलाउन पार्टीले मधेसवादी दलसँग सहमति गर्नुपर्‍यो । महन्थ ठाकुरका लागि तपाईले त्याग गर्नुपर्ने भयो ।’

पौडेलको निर्देशन सुनेर उनी अबाक बने । चुनाव जित्ने आँकलन गर्दै साथीहरु आआफ्नो क्षेत्रमा खटिए लगतै उम्मेदवारी फिर्ता लिने आदेश आएपछि उनले साथीहरुसँग सल्लाह गर्छु भन्ने जवाफ दिए । उनले पार्टीका सहकर्मीलाई फोन गरे ।

जिल्ला सभापतिसहित कसैले पनि पार्टीको निर्देशन स्वीकार नगर्ने अडान लिए । तर, केन्द्रको निर्देशन अगाडि केही लागेन । बिमलेन्द्र निधिले पनि उम्मेदवारी फिर्ता लिइदिन आग्रह गरे । अन्ततः उनको उम्मेदवारी पत्रमा शेरवहादुर देउवाको हस्ताक्षरमा केन्द्रबाटै खोसियो ।

राजपा अध्यक्ष महन्थ ठाकुरका लागि सादगी नेता नेपालीको उम्मेदवारी फिर्तापछि महोत्तरी कांग्रेसका कार्यकर्ता निराश मात्र छैनन्, आक्रोशित पनि छन् ।

सोमबार बिहान जलेश्वर नगरपालिका वडा नम्बर २ स्थित घरमा पुग्दा खाली कुर्सीहरु छरिएका थिए । कार्यकर्ता बस्न घर कम्पाउण्डमै त्रिपालको छानोको व्यवस्था गरेका रहेछन् । उनी खाली कुर्सीलाई साक्षी राखेर युद्ध लड्न नपाउँदै नजरबन्दमा परेको फौजी कमाण्डर जस्तो निराश मुद्रामा बसिरहेका थिए ।

उनले पार्टीको निर्णयप्रति केही बोल्न चाहेनन्, सबै कुरा उनको भावभंगीबाट बुझ्न सकिन्थ्यो ।

बजरंग नेपालीको उम्मेदवारी फिर्ताबाट उनीभन्दा बढी जिल्लाका कार्यकर्ता निराश छन् । कांग्रेसका टिकटका लागि सामदाम सबै प्रयोग हुन्छ । तर बजरंग नेपाली पृथक पात्र हुन् ।

उनको सादगी जीवशैली र समर्पणबाट कांग्रेसजनमात्र होइन, विपक्षीहरु पनि नतमस्तक हुन्छन् ।

राजनीतिक जीवनमा पटकपटक जेलनेल भोगेका बजरंग नेपालीले लाभको पदका लागि कहिल्यै मरिहत्ते गरेनन् । यसपाली पाएको टिकट पनि अन्तिम समयमा पार्टीले नै खोसिदियो ।

के भन्छन् बजरंग ?

कांग्रेसमा टिकट पाउन सहज छैन । लामो संघर्ष र योगदानपछि पनि केहिले मात्र टिकट पाउँछन् । शौभाग्यबस यसपाली मलाई पार्टीले उम्मेदवारका रुपमा छान्यो ।

तर, महन्थ ठाकुरको लागि केन्द्रबाटै मलाई बली चढाइयो । यसले मलाई त केही भएको छैन, म पार्टी निर्णय मान्न बाध्य छु । तर, जनता र कार्यकर्तामा ठूलो असन्तुष्टि र नैराश्य छाएको छ । महोत्तरी कांग्रेसलाई अपमान गर्ने यो निर्णयले कांग्रेसलाई ठूलो क्षति पुग्दैछ ।

म चुनाव जित्ने पोजिशनमा थिएँ तर, पार्टीले टिकट खोस्यो । अब के गर्ने भन्ने कुरा टुंगो छैन । किनकी मतदाताको चाहना विपरित पार्टी केन्द्रले निर्णय गरेको छ ।

समर्थन कसलाई अझै अन्यौल

केन्द्रले दिएको निर्देशन अनुसार उम्मेदवारी फिर्ता भएपनि महन्थ ठाकुरलाई नै समर्थन गर्ने नगर्ने अझैसम्म आधिकारिक पत्र नआएको उनले बताए । अब बस्ने पार्टीको बैठकले कसलाई समर्थन गर्ने भन्ने निर्णय जिल्लाबाटै हुने कांग्रेस नेताहरुले बताएका छन् ।

उनले भने, ‘मेरो उम्मेदवारी खारेज भइसकेको छ तर, कसलाई समर्थन गर्ने ? केन्द्रीय समितिलाई असहयोग गर्ने वा आदेश अनुसार चल्ने हो अहिले केहि बोल्न सक्दिन ।’

बजरंग नेपालीको राजनितिक यात्रा

राजनिति शास्त्रमा स्नातक र समाज शास्त्रमा स्नातकोत्तर गरेका ५२ वषर्ीय वजरंग २०३४ सालदेखि कांग्रेसमा निरन्तर क्रियाशील छन् । राजनीतिमा लागेको ४० वर्षपछि पाएको एउटा टिकट पनि खोसिदा उनीमाथि बज्रपात हुने नै भयो ।

तर, पनि उनले बाहिर कुनै गुनासो गरेका छैनन् । २०४१ सालदेखि नेविसंघको नेतृत्वमा रहेका उनी मधेसका सबैभन्दा ठूलो क्याम्पस रारा बहुमुखुी जनकपुरको स्ववियु सभापति भएका थिए । उनी नेविसंघको केन्द्रीय नेतृत्व पार्टी नेतृत्वमा पुगेका हुन् ।

वि.सं. २०६२ देखि २०६५ सम्म सात दलिय संयन्त्रको सदस्य र सोहि अवधीमा कांग्रेसको जिल्ला सचिव भएका बजरंग नेपालीले जनआन्दोलनको बेला नेतृत्व गरेका थिए । उनी कांग्रेसको जिल्ला सभापति पनि भइसकेका छन् ।

कांग्रेसद्वारा संचालित सशस्त्र क्रान्ति र भिठामोड भन्सार वमकाण्ड पश्चात नेपाली निर्वासनमा गएका थिए । उनी १० वर्षकै उमेरका भारतीय जेलमा परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment