Comments Add Comment

यामाहाका एमडी भन्छन्-नेपालमा स्कुटर र प्रिमियम बाइकमा ठूलो सम्भावना


२० कात्तिक, काठमाडौं । विश्वकै उत्कृष्ट अटोमोबाइल कम्पनीमध्येको एक यामाहाले अब नेपाली बजारमा स्कुटर र प्रिमियम तथा प्रिमियम प्लस बाइकमा विशेष ‘फोकस’ गर्ने योजना बनाएको छ ।

नेपाल भ्रमणमा आएका यामाहा इन्डियाका प्रवन्ध निर्देशक (एमडी) तथा सिर्इअो मासाकी असानोले नेपाालमा स्कुटरको बजार विस्तारको सम्भावना राम्रो देखिएको बताए ।

यामहाले आफ्ना ग्राहकलाई उत्कृष्ट सेवासँगै उत्पादनहरु प्रदान गर्ने बताउँदै असानोले नेपाली मार्केटको ‘पोटेन्सियल’लाई ध्यान राखेको जनाए ।

‘म काठमाडौं घुमेँ । यहाँ स्कुटरमा विशेष आकर्षण बढेको छ । अझै पनि स्कुटरमा हामी केन्द्रित भएर काम गर्न सक्यौं भने बजार अझै फराकिलो बन्छ’ असानोले भने, ‘यहाँ स्कुटरमा मात्रै हैन, प्रिमियम र प्रिमियम प्लस सेगमेन्टका बाइकमा पनि उत्तिकै सम्भावना छ ।’

उनले नेपाली युवा पुस्ताले प्रिमियम र प्रिमियम प्लस सेगमेन्टका बाइकलाई मन पराएको देखिएको बताए ।

नेपालमा मोटरसाइकल र बाइकको बजार अझै पनि विस्तारकै क्रममा रहेकाले यहाँ यामाहाले विशेष प्रकारको रणनीति बनाएर मार्केटिङ गर्ने प्रवन्ध निर्देशक असानोको भनाइ छ ।

असानोले भारतले म्याद नै तोकेर विद्युतीय सवारीमा गइसक्ने बताएको स्मरण गराउँदै यामाहाले पनि विद्युतीय सवारीका लागि अनुसन्धान गरिरहेको बताए । अबको १०वर्षभित्र कम्पनीले पनि विद्युतीय सवारीलाई परिचित गराउने बताए ।


नेपालमा एसेम्बल प्लान्ट राख्नेबारे पनि ध्यानपूर्वक हेरिरहेको गरिरहेको उनको भनाइ थियो । ‘हामी हेरिररहेका छौं । आवश्यक पर्‍यो भने नेपालमै पनि यामाहाको प्लान्ट ल्याउन सकिन्छ,’ असानोले भने,’तर, यो मार्केट साइजमा निर्भर हुन्छ । हामी सोच्छौं ।’

उनले भारतले सन् २०२०सम्म युरो ५ मापदण्डका सवारी उत्पादन गर्ने योजना बनाएकाले केही समयपछि नेपालमा लागि छुट्टै सवारी उत्पादन गर्न सक्ने अवस्था आउन सक्ने उनको अनुमान छ ।

‘नेपाल सरकारको नीतिमा आधारित भएर हामी भारत र नेपालका लागि फरक-फरक बाइक उत्पादन गर्न सक्छौं,’ प्रवन्ध निर्देशक असानोले भने ।

उनले डिजाइन र परफर्मेन्सका आधारमा यामाहा निकै उत्कृट बाइक भएको दावी गर्दै त्यसैका कारण नेपालका उपभोक्ताले निकै रुचाएको पनि बताए । असानोले यामाहाको वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले बनाएको योजनाअनुसार नै कम्पनीले नेपालमा बजार हिस्सा बढाउने बताए ।

एमएडब्ल्युमा प्रवन्ध निर्देशक विष्णुकुमार अग्रवालले अहिले १५ प्रतिशत रहेको यामाहाको बजार हिस्सा अबको २ देखि ३ वर्षमा २० प्रतिशतमा पुर्‍याउने बताए ।


‘हामी सकेसम्म उपभोक्तालाई हाम्रो बाइकमा गुड बेनिफिट दिन चाहान्छौं । सेल्स र आफ्टर सेल्स सर्भिसलाई सहज गराउनेमा पनि हामी केन्दि्रत छौं,’ अग्रवालले भने,’हामी सबै किसिमबाट बलियो र ग्राहकमैत्री रणनीति लिनेछौं ।’

उनले अब स्कुटर र १५० सिसीभन्दा माथिका रेञ्जका प्रिमियम क्लासका बाइकको प्रवर्द्धनमा कम्पनीले ध्यान दिने बताए ।
यामाहा प्रवन्ध निर्देशक असानोले नेपाली ग्राहकको आवश्यकताअनुसार नै आफूहरुले उत्पादनहरु ल्याउने बताउँदै सबै वर्गका लागि यामाहाले उत्पादन ल्याउने पनि उल्लेख गरे ।

यामाहाले पछिल्लो समयमा एफजी-२५’स्ट्रिट फाइटर’ नेपालमा ल्याएको छ । यसलाई नेपाली युवाले निकै रुचाएका छन् । छोटै समयमा २ हजार भन्दा धेरै एफजी२५ बिकिसकेको कम्पनीले जनाएको छ ।

एमएडब्ल्यु इन्टरप्राइजेजका प्रवनध निर्देशक अग्रवाल यामहा बाइकले ‘युथ एण्ड टेक्नोलोजी’लाई प्रतिनिधित्व गर्ने बताउँछन् । त्यसैका अधारमा आफूहरुले स्तरीय सेवा पनि प्रत्याभूत गर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment