Comments Add Comment

कर्णाली प्रदेश समृद्धिका ‘पाँच ब’: जीवनबहादुर शाही

सुर्खेतलाई प्रदेशको राजधानी बनाइन्छ

२० कात्तिक काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता जीवनवहादुर शाही कांग्रेसका तर्फबाट छ नम्बर प्रदेशको मुख्यमन्त्रीका दाबेदार हुन् । उनी हुम्ला (ख) बाट प्रदेशसभाको उम्मेदवार छन् ।

प्रदेश नम्बर ६ मा वाम गठबन्धन भन्दा नेपाली कांग्रेस नै अघि आउने दाबी गर्दै शाहीले आफू मुख्यमन्त्री भएपछि ६ नम्बर प्रदेशको नाम फेरेर कर्णाली प्रदेश बनाउने बताए ।

मुख्यमन्त्रीको दाबेदारका रुपमा यो प्रदेशलाई अगाडि बढाउन के योजना छन् ? अनलाइनखबरको प्रश्नमा शाहीले कर्णाली प्रदेशको समृद्धिका लागि ‘पाँच ब’ लाई अगाडि सारेको बताए ।

कांग्रेस नेता शाहीसँग अनलाइनखबरले गरेको कुराकानी

मन्त्री भइसकेको नेता प्रदेशतिर र्झनुभयो । प्रतिनिधिसभामा टिकट नपाएर हो कि ? आफ्नै चाहनाले हो ?

होइन । प्रदेश र केन्द्र दुबैमा मेरो एकल नाम गएको हो । टिकट नपाउने भएर होइन । अब देश संघीयतामा गइसकेपछि विकास त प्रदेशबाटै सुरु गर्ने हो । हाम्रा केही सिनियर नेता प्रदेशमा आउन चाहनुभएन । त्यसो हुँदा म सांसद र मन्त्री जे भएपनि यहाँको विकासको जिम्मेवारी मेरै हो भन्ने सोचेर आएको हुँ । पार्टीले पनि मलाई नै नै पठायो ।

त्यसोभए मुख्यमन्त्री बन्ने चाहनाले नै तपाई प्रदेशमा र्झनुभएको हो ?

एकदमै । मुख्यमन्त्रीकै लागि आएको हुँ । अब त प्रदेशको विकास प्रदेश सरकारले गर्ने हो । केन्द्रीकृत शासन प्रणालीले विकास गर्न नसकेपछि हामी संघमा गएका हौं । अब प्रदेशको विकास गर्नुपर्छ भनेरै म प्रदेशमा आएँ । पार्टीले पनि त्यही भनेर पठाएको हो । टिकट लिन त म काठमाडौं समेत जान परेन । मेरो टिकट पार्टीले घरमै पठाइदिएको हो । मलाई टिकटको समस्या थिएन ।

मुख्यमन्त्री बन्नलाई त प्रदेशमा पार्टीलाई जिताउनुपर्ने होला । वाम गठबन्धनको चुनौति पनि छ । के छन् रणनीतिहरु ?

छुट्टै एजेण्डा त केही पनि छैनन् । एजेण्डा तिनै हुन् । भौगोलिक विकटताका कारण म आफ्नै क्षेत्रमा पनि पुग्न सकेको छैन ।

पार्टीलाई जिताउनका लागि यो प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने पूर्णबहादुर खड्काको नेतत्वमा चुनाव अभियान सञ्चालन भएको छ । उहाँले सुर्खेतबाट नेतृत्व गरिरहनुभएको छ । अरु साथीहरु पनि आफ्नो जिल्लाबाट आफ्ना उम्मेदवारहरुलाई जिताउन लागिपर्नुभएको छ ।

हामीलाई होइन, वाम गठबन्धलाई सजिलो छैन । वाम गठबन्धनभित्रै आफैंमा मारामार छ । हुम्लाको कुरा गर्ने हो भने त मेरो पक्षमा नै जनमत छ । वाम गठबन्धनले हामीलाई त्यस्तो कुनै समस्या हुँदैन ।

पाई प्रदेशको मुख्यमन्त्रीको दाबेदार हुँदै गर्दा केके एजेण्डा अगाडि सार्नुभएको छ ?

अहिले ६ नं. प्रदेश भनिएको छ । हामीले यसको नाम कर्णाली प्रदेश राख्छाैं । राजधानी सुर्खेत बनाउँछौं । हाम्रो मुख्य एजेण्डा भनेको इन्फाइस्टक्चर निर्माण गर्ने हो । सबै १० जिल्लामा सडक सञ्जाल जोड्ने हो ।

कर्णाली प्रदेशको समृद्धिका लागि मैले ‘पाँच ब’ लाई अगाडि सारेको छु । १) बाटो, २) वन र जडीबुटी, ३) विद्युतीकरण, ४) बिचार र, ५) बजारीकरण ।

बाटो निर्माण हुन सक्यो भने मात्रै अन्य बिकास गर्न सकिन्छ । त्यसैले मैले बाटो निर्माण गर्ने कुरालाई प्राथमिकतामा राखेको छु ।

कर्णाली अन्धकार छ, त्यसका लागि विद्युत उत्पादन र विद्युतिकरण गर्ने योजना छ । यहाँ वन जंगल र जडिबुटिको खानी छ । यहाँका यिनै स्रोतहरुलाई प्रयोग गर्ने योजना अगाडि सारेको छु ।

अर्काे मैले अघि सारेको ‘ब’ बिचार हो । यो भनेको यहाँको विकास गर्नलाई एउटा विचार निर्माण गर्ने हो । सोच्नु हो । यसअन्तर्गत यो प्रदेशलाई चीन र भारतसँग जोड्न सकिन्छ । हामीले त्यो सोच बनाउनु पर्छ । यहाँ सञ्चार छैन । त्यसको सोच बनेको छैन । अब समृद्धिको सोच बन्छ ।

अर्काे सबैभन्दा महत्वपूर्ण भनेको बजार हो । हाम्रो प्रदेश भारतसँग त जोडिएका छैन, तर चीनसँग जोडिएको छ । यसर्थ हामी भाग्यमानि पनि छौं । यो प्रदेशमा कृषि र जडीबुटीको धेरै सम्भावना छ । पर्यटनको त्यस्तै सम्भावना छ । मार्केटिङ गर्ने सकिएको छैन । यहाँका नदीनालाबाट मात्रै २१ हजार मेगावाट विद्युत उत्पादन हुन सक्छ । यसको विकास त गर्ने नै हो । तर, बजारीकरण गरेर मात्रै पनि त हुँदैन नि त्यसको बजारीकरण त गर्नैपर्छ ।

अहिले मैले तिव्वत र नेपालको सीमानाबाट कुरा गरिरहेको छु । हामी त भाग्यमानी छौं । चीनसँग जोडिएका छौं । यहाँ सीमानामा मानसरोवर छ । भारतबाट मात्रै वर्षमा साढे २ लाख बढी पर्यटक आउँछन् । यो बुद्धिस्ट र हिन्दू धर्मालम्बीहरुको आस्थाको केन्द्र समेत हो । यहाँ आउन हामीले पर्यटकहरुलाई अझ प्रेरित गर्न त बजारीकरण गर्नैपर्छ ।

प्रदेशका सबै ठाउँहरुमा केवलकार निर्माण गर्न सकिन्छ । इन्धनको अभाव भइरहने हाम्रो देशमा केवलकार निर्माण गरेर यहाँका जनतालाई आवागमनमा सहज बनाउन सकिन्छ । पर्यटकहरुलाई आकषिर्त गर्न सकिन्छ । तर,, यसका लागि पनि पहिले त इन्फास्टक्चर निर्माण अनिवार्य छ । मुख्य जोड मैले त्यसमै दिएको छु ।

अथाह सम्भावना भएर पनि हामीले चीनतर्फ बजार बनाउन सकेका छैनौं । अब त्यो काम गर्छु । यहाँको उत्पादन चीन र भारत पठाउन सकिन्छ । बजार बनाउन सकियो भने मात्रै यहाँको उत्पादनले मूल्य पाउँछ । हाम्रो यहाँ थोरै उत्पादन हुने तर धेरै मूल्यमा बिक्री हुने वस्तु छन् । त्यसका लागि बजार बलियो बनाउन जरुरी छ । मुख्यतः यी ‘पाँच ब’ लाई मैले आत्मसाथ गरेको छु ।

तपाईंले परिकल्पना गरेको ६ नं. प्रदेश कस्तो हो ?

मैले चाहेको कर्णाली प्रदेश जडिबुटी र पर्यटन को हब हो । त्यसमा पनि धार्मिक पर्यटनको हब बन्ने छ । त्यसका लागि सुरुमा दश जिल्लालाई जोडिन्छ । सबै जिल्ला सडक सञ्जालले जोडिनेवित्तिकै जसरी अहिले यो प्रदेशलाई हेपाहा दृष्टिले हेरिएको छ त्यो रहँदैन । यो प्रदेश रोग, भोक र शोकको प्रदेश हो भन्ने सोचाइ छ । तर, भविष्यमा कर्णाली प्रदेश मुलुककै सबैभन्दा नमूना र समृद्धशाली प्रदेश बनाउने मेरो चाहना छ । यो अवश्य बन्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment