Comments Add Comment

आचारसंहिता उल्लघंन गर्दै उम्मेदवार बजगाईंद्वारा चुनावी प्रचारका लागि हेलिकोप्टर प्रयोग

एमाले र माओवादी केन्द्रको उजुरी

२० कात्तिक, गोरखा । निर्वाचन आचारसंहिता बिपरित गोरखा निर्वाचन क्षेत्र नम्वर १ को प्रदेश ख का उमेदवार राजेन्द्र बजगाईं चुनावी प्रचारका लागि हेलिकोप्टर चढेर उत्तरी गोरखाको सामागाउँ पुगेका छन् ।

नेपाली कांग्रेसबाट उमेदवार बनेका बजगाईंले निर्वाचन आयोगको स्वीकृति बिना नै आचार संहिता उल्लंघन गरी हेलिकोप्टरको प्रयोग गरेका हुन् ।

चुनावी प्रचार प्रसारका लागी हेलिकोप्टर प्रयोग गर्न निर्वाचन आयोगसँग अनुमति लिनुपर्ने प्रावधान छ । तर बजगाईंले आयोगको अनुमति बेगर आफूखुशी हेलिकप्टर प्रयोग गरेका छन् ।

‘हेलिकोप्टर प्रयोग बारे हामीलाइ केही जानकारी गराइएको छैन,’ निर्वाचन आयोगका उपसचिव भविसर पाण्डेले भने, ‘जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कुनै उजुरी परेको भए हामीकहाँ आएसँगै छानविन गरी कारवाही प्रक्रिया अगाडी बढाउछौं ।’

हेलिकप्टर प्रयोग बारे बजगाईंले जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पनि जानकारी गराएनन् । सुरक्षा निकाय पनि यस बारे बेखवर रह्यो । ‘हेलिकोप्टर प्रयोग गर्छु भनेर हामी सँग अनुमति पनि मागेनन् जानकारी पनि गराएनन्,’ जिल्लाको मुख्य निर्वाचन अधिृकत बसन्तराज पौडेलले भने ।

बजगाईंले सोमवार चुनावी प्रचार प्रसारका लागी दुइ वटा हेलिकोप्टर प्रयोग गरेका थिए । उनीसहित प्रदेश सभाका समानुपातिक उमेदवार एवं नेपाली कांग्रेस गोरखाका सभापति हरि बहादुर घले दुइ वटा हेलिकप्टर लिएर उत्तरी गोरखा सामागाउँ पुगे ।

उनीहरुले त्यहा स्थानीयसँग भेटघाट गरी चुनाव प्रचार प्रसार गरेर अन्य केही ठाउँमा पनि पुगेको स्थानीयहरुको भनाइ छ ।

काठमाडौको संागि्रला क्यासिनोका संचालक समेत रहेका बजगाईं राजनितिज्ञ भन्दा बढी व्यापारी हुन् ।

यसबारे बजगाईंसँग प्रतिक्रिया लिँदा उनले आफू हेलिकोप्टरमा सामागाउँ नगएको दावी गरे । उनले भने, ‘बिरोधीहरुले पहिलेको तस्वीर राखेर हल्ला फिाजाएछन्, म अहिले शिक्षण अस्पतालमा भीमसेन गाउँपालिकाका घाइते कार्यकर्तासँग छु ।’

तर, कांग्रेस जिल्ला सभापति हरि घलेले भने आफू हेलिकप्टर चढेर सामागाउँ हुँदै बारपाक पुगेर बिरामी आमालाई उपचारका लागि काठमाडौं ल्याएको बताए । उनले यात्रामा राजेन्द्र बजगाईं आफूसँग नरहेको दावी गरे ।

आचारसंहिता उल्लघंन विपरित चुनावी प्रचारमा हेलिकप्टर प्रयोग गरेको भन्दै बजगाइ र घले बिरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमवार उजुरी परेको छ ।

माओवादी केन्द्र र एमालेले छुट्टा/छुट्टै उजुरी दिएको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले बताए । उजुरी परेसँगै अनुमति लिएर हेलिकप्टर प्रयोग भए नभएको बारे उमेदवार सँग लिखित जवाफ मागेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment