Comments Add Comment

आजका पत्रिकाः घोषणापत्र नयाँ, नारा पुरानै

२२ कात्तिक, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले राजनीतिक स्थिरता र आर्थिक समृद्धिलाई केन्द्रबिन्दुमा राखेर साझा चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । राजधानीबाट प्रकाशित भएका अधिकांश दैनिक पत्रिकाहरुले वामगठबन्धनले मंगलबार सार्वजनिक गरेको घोषणापत्रको समाचारलाई प्राथमिकताका साथ पहिलो पृष्ठमा लेखेका छन् । मेलम्ची खानेपानीको सुरुङ अन्तिम चरणमा पुगेको, नियतवश खरिद प्रक्रिया लम्ब्याएपछि बजारमा मल अभाव भएको, चिनियाँ टाेलीले रेलको सम्भाव्यता अध्ययन थालेकाेलगायत खबरलाई पनि आजका पत्रपत्रिकाहरुले उत्तिकै महत्त्व दिएर छापेका छन् ।

घोषणापत्र नयाँ, नारा पुरानै

दलहरुले मतदातालाई आकर्षित गर्न चुनावमा घोषणापत्र सार्वजनिक गर्ने गरेका छन् । तर, दलहरुले बनाउने घोषणापत्र कागजमै सीमित हुने गरेको छ । जसका कारण दलीय घोषणापत्रको विश्वसनीयतामाथि नै प्रश्न चिह्न उठाउन थालिएको छ ।

नयाँ पत्रिका दैनिकले दलहरुले चुनावमा घोषणापत्र ल्याए पनि पुरानै एजेन्डा घुसाउने गरेको लेखेको छ । समाचार अनुसार, १० वर्षमा १० हजार मेगावाट बिजुली निकाल्ने घोषणा दलहरुले ०६४ कै चुनावमा राखेका थिए । घोषणा अनुसार काम गर्न चुकेका दलहरुले १० वर्षपछि पनि यस्तै आश्वासनका पुलिन्दा बुनेर घोषणापत्र तयार पारेका छन् ।

कांग्रेस र एमालेले ०५६ र ०६४ को चुनावी घोषणापत्रमा काठमाडौं उपत्यकामा बाहिरी चक्रपथ निर्माण गर्ने घोषणा गरेका थिए । माओवादीले पनि ०६४ यता यो नारा दोहोर्याउँदै आएको छ । तर, अहिलेसम्म पनि यो सडकको निर्माण सुरु भएको छैन ।

कांग्रेस र एमालेले ०४८ सालमै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बिजुलीबाट चल्ने रेल र ट्रली बस चलाउने नारा बनाएका थिए । तर हालसम्म पनि पूर्व–पश्चिम रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार नभएको समाचारमा उल्लेख छ ।

सांसद् बन्ने दाउमा ठेकेदारदेखि  व्यापारीसम्म

सुस्तावासीको कथाव्यथालाई मुख्य समाचार बनाएर छापेको कान्तिपुर दैनिकले दुई दर्जन ठेकेदार चुनावी मैदानमा रहेको लेखेको छ ।

‘चुनावी मैदानमा दुई दर्जन ठेकेदार’ शीर्षक समाचार दिएर कान्तिपुरले लेखेको छ– निर्माण क्षेत्रका ठेकेदारीमा संलग्न कम्तीमा दुई दर्जन व्यवसायीलाई दलहरुले चुनावी मैदानमा उतारेका छन् । निर्माण व्यवसायी महासंघको सूचीअनुसार प्रतिनिधिसभा र प्रदेशसभा गरी २३ व्यवसायी उम्मेदवार बनेका छन् । महासंघका अनुसार ११ व्यवसायी प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् ।
संविधानसभाबाट संसद्मा परिणत भएको यसअघिको सदनमा १७ निर्माण व्यवसायी सदस्य थिए ।

त्यस्तै अन्नपूर्ण पोस्ट दैनिकले ‘व्यापारीको सांसद् बन्ने सोख’लाई आर्थिक पृष्ठको मुख्य समाचार बनाएर छापेको छ । समाचारअनुसार विगतमा जस्तै यसपटक पनि साना ठूला व्यापारी चुनावी प्रतिष्पर्धामा छन् ।

चिनियाँ टोलीले थाल्यो रेलको अध्ययन

नेपालमा रेलमार्गको सम्भाव्यताबारे अध्ययन गर्न आएको चिनियाँ टोलीले स्थलगत अध्ययन सुरु गरेको छ । कारोबार दैनिकका अनुसार, काठमाडौं आइपुगेको उपमन्त्री झेङ नेतृत्वको नेशनल रेलवे एडमिनिस्ट्रेसनको २३ सदस्यीय टोलीले मंगलबारदेखि स्थलगत अध्ययन सुरु गरेको हो ।

जिङ र रेल विभागका प्रतिनिधिहरुको टोलीले रसुवागढीदेखि अध्ययन सुरु गरेको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाशभक्त उपाध्यायलाई उद्धृत गर्दै कारोबार दैनिकले समाचार लेखेको छ ।

केरुङ–काठमाडौं र काठमाडौं–पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेलमार्गको सम्भाव्यताबारे अध्यन गर्न आएको टोलीले सोमबार भैतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागका प्रतिनिधिसँग छलफल गरेको थियो । छलफलका क्रममा चिनियाँ पक्षले प्रस्तावित रेलमार्गको आर्थिक र प्राविधिक पक्षबारे जानकारी गराएको थियो भने विभागले नेपालमा रेलमार्ग निर्माणको योजना र भविष्यबारे चिनियाँ पक्षलाई जानकारी दिएको थियो ।

मलको कृत्रिम अभाव

अन्नपूर्ण पोष्ट दैनिकले कृषि सामग्री कम्पनीले नियतबश खरिद प्रक्रिया लम्ब्याएपछि देशभर मल अभाव भएको समाचार छापेको छ । समाचारमा कम्पनीले गत वर्ष खरिद गरेको मलसमेत भित्राउन नसकेको उल्लेख छ ।

अन्नपूर्ण लेख्छ– कम्पनीले चालू आर्थिक वर्षको स्वीकृत कार्ययोजनाअनुसार पहिलो चौमासिक (साउन–कात्तिक)को माग धान्न एक लाख १२ हजार दुई सय टन कम परिमाणमा रासायनिक मल खरिद गरी भित्राएको छ । यो बेलाको माग धान्न युरिया मल कम्तीमा ३० हजार टन आवश्यक पर्छ । कोटाभन्दा कम परिणाममा मल खरिद गरी आपूर्ति भएकाले अहिले किसान गहुँ, तोरी, मुसुरोलगायत बाली लगाउनका लागि मलको चरम अभाव बेहोर्न बाध्य छन् ।

आफ्ना मान्छे राख्न वन मन्त्रीको दबाव

नागरिक दैनिकले पहिलो पृष्ठमा वनमन्त्री विक्रम पाण्डेले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति गठन आदेश परिमार्जन गर्न लगाएर समितिमा दुई जना आफू निकट सदस्य थप्न दबाव दिइरहेको समाचार छापेको छ । वनमन्त्रालय स्रोतका अनुसार मन्त्री पाण्डेको निर्देशनमा प्रशासन महाशाखा प्रमुख ज्ञानेन्द्र पौडेलले समिति बोर्डमा दुई जना थप्न मिल्नेगरी गठन आदेश परिमार्जनका लागि टिप्पणी उठाएका छन् ।

नागरिकमै सरकारले अनलाइनमार्फत घरजग्गा किनबेच कारोबारलाई निगरानी गरेपछि विगतमा अर्बौं रुपैयाँ राजस्व छली हुने गरेको खुलेको समाचार लेखेको छ ।

भूमिसुधार तथा व्यवस्थापन विभागले गत वर्षदेखि मुलुकका मुख्य १९ मालपोत कार्यालयको घरजग्गा कारोबारलाई अनलाइनमार्फत् निगरानी गरिएपछि एकै वर्षमा आठ अर्बै रुपैयाँ राजस्व बढेको छ ।

नजिकिँदै मेलम्ची सपना, सकियाे ९६ प्रतिशत काम 

बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाकाे निर्माण कार्य  अन्तिम चरणमा पुगेको समाचार आज नयाँ पत्रिका दैनिकले लेखेको छ । समाचार अनुसार, आयोजनाको सुरुङ खन्ने काम अबको दुई महिनाभित्रै पूरा हुने भएको छ ।

हाल दैनिक १८ मिटरका दरले खन्ने काम भइरहेकाले ६२ दिनभित्रै सुरुङ तयार हुने भइसक्नेछ । आगामी १५ पुसभित्र सुरुङको ‘ब्रेक थ्रु’ हुने आयोजनाले जनाएको छ ।

हेर्नुहाेस् अाजका पत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment