Comments Add Comment

साउदी राजपरिवारको नालीबेली: यस्तो छ युवराजको दाउपेच

युबराज मोहम्मद विन सलमान, जो आफ्ना प्रतिस्पर्धीलाई तह लगाएर शक्तिशाली बनेका छन् ।

साउदी अरबमा भ्रष्टाचारको आरोपमा हालै त्यहाँका ११ जना राजकुमार, चारजना मन्त्री तथा दर्जनौँ पूर्वमन्त्रीहरु पक्राउ परेका छन् ।

राजाको आदेशमा भ्रष्टाचार निरोधक समिति गठन भएको चार घण्टाभित्रै गत शनिवार यस्तो व्यापक धरपकड भएको हो ।

उक्त भ्रष्टाचार विरोधी समितिको अध्यक्षता युवराज मोहम्मद बिन सलमानले गरिरहेका छन् । उनलाई भ्रष्टाचारको अभियोगमा जोकोहीलाई पनि पक्राउ पुर्जी जारी गर्ने र यात्रा प्रतिबन्ध लगाउने अधिकार छ ।

पक्राउ गरिएकामध्ये अर्बपछि राजकुमार तलाल र अर्का राजकुमार आदेल फाकिह लगायतका भएको बताइएको छ ।

फाकिह गत अपि्रलदेखि अर्थमन्त्री थिए । त्यस्तै रियादका पूर्व गभर्नर राजकुमार तुर्की बिन अबदुल्लाह पनि पक्राउ परेका छन् ।

त्यस्तै पूर्व अर्थमन्त्ती इब्राहिम अल असाफका साथै रोयल कोर्टका पूर्व प्रमुख खालिद अल तुवाजिरी पनि पक्राउ परेका छन् ।

शासन व्यवस्थामा भुइँचालो

विश्लेषकहरुका अनुसार गत शनिवारको घटना साउदी अरबमा कुनै भुइँचालो भन्दा कम शक्तिशाली रहेन । यो घटनाले साउदी जनता आश्चर्यचकित बनेका छन् । किनकी साउदीहरुलाई यस्तो हठात् परिवर्तन हेर्ने बानी परेको छैन ।

३२ वर्षीय युवराज सलमानले निकै सुझबुझपूर्ण ढंगले मुलुक तथा राजसिंहासनमा आफ्नो पकड मजबुत पार्नका लागि आफ्नो अगाडि खडा रहेको अन्तिम तगारो पन्छाइदिएको टिप्पणी गरिएको छ ।

राजकुमार तलाल लगायतका अन्य राजकुमार, पूर्वमन्त्री तथा अरबपति व्यापारीहरुको एकसाथ गिरफ्तारीलाई भलै दुनियासामु भ्रष्टाचार विरोधी एक अभियानको रुपमा देखाउने कोसिस गरिएको छ । तर यसको लक्ष्य भ्रष्टाचार नियन्त्रण नभै राजगद्दीको सुदृढिकरण भएको बताइन्छ ।

वर्तमान साउदी राजा सलमान बिन अब्दुलअजिज अल साउद । उनले गद्दीका स्वभाविक दावेदार आफ्ना भाई र भतिजलाई हटाउादै आफ्नै छोरालाई गद्दी जिम्मा लगाउन खोज्दैछन्

साउदी राजाको आदेशमा गठन भएको भ्रष्टाचार विरोधी समिति गठन गर्दाको शाही आदेशमा भनिएको छ, ‘यदि भ्रष्टाचारलाई जरैदेखि उखेलेर फ्याँकिएन र भ्रष्टाचार गर्नेलाई सजायँ दिइएन भने यो देशको अस्तित्व नै रहनेछैन ।’

साउदी प्रेस एजेन्सीका अनुसार पक्राउ गरिएका व्यक्तिहरुमाथिको अभियोग खास के हो ? भन्ने चाहीँ अहिलेसम्म खुलाइएको छैन ।

तथापि साउदी सञ्चार माध्यम अल अरेबियाले भने सन् २००९ मा जेद्दामा आएको बाढी तथा सन् २०१२ को मर्स भाइरस महामारी फैलिएको घटनाको जाँच नयाँ शिराबाट सुरु गरिएको जनाएको छ ।

कस-कसलाई पन्छाइयो ?

युबराज मोहम्मद बिन सलमानका सवैभन्दा निकट प्रतिस्पर्धी मानिएका मितेब बिन अब्दुल्लाह जो पूर्व राजा अब्दुल्लाह बिन अब्दुलअजिजका छोरा हुन् ।

साउदी राजाले नेशनल गार्डस्का प्रमुख राजकुमार मितब बिन अब्दुल्लालाई बर्खास्त गरेका छन् । पूर्वमन्त्री तथा राजकुमार मितब साउदीका पूर्वराजा शाह अब्दुल्लाका छोरा हुन् र उनी कुनैबेला देशको भावी राजाको दाबेदार थिए । उनी साउदी सरकारको उच्च पदमा रहेका अब्दुल्ला परिवारको अन्तिम सदस्य पनि हुन् ।

युवराज सलमानले मितेब बिन अब्दुल्लाहलाई अहिले पनि आफ्नो प्रतिस्पर्धी र भविष्यमा राजाको रुपमा दाबी गर्नसक्ने व्यक्तिको रुपमा ठान्दै आएको बताइएको छ । पछिल्ला वर्षहरुमा मितेबले साउदी अरबको सैन्य, परराष्ट्र, आर्थिक तथा सामाजिक नीतिहरुमा निर्णायक भूमिका खेल्दै आएका थिए । जसले राजघरानाको एक तप्कामा र स्वयं युवराज सलमानमा समेत असन्तुष्टि बढिरहेको थियो । सोही कारण साउदीको निकै शक्तिशाली मानिने नेशनल गार्डस्लाई मितेबको पकडबाट बाहिर ल्याउन उनलाई बर्खास्त गरिएको छ । उनीमाथि ठगी, नक्कली कर्मचारीको नियुक्तिका साथै वाकिटकी र सेनाको बुलेटप्रुफ गाडी सम्बन्धी अर्बौ डलरको ठेक्का आफ्नो कम्पनीलाई पारेको अभियोग लगाइएको छ । त्यसका साथै जलसेना प्रमुखलाई पनि बर्खास्त गरिएको छ ।

बेलायतको लण्डन स्कुल अफ इकोनोमिक्सस्थित मध्यपूर्व अध्ययन केन्द्रका प्राध्यापक मदावी अल राशीदले बिबिसीसँग भनेका छन् । देशलाई भ्रष्टाचारमुक्त गर्ने भनी चालिएको कदमबाट युवराज सलमानले देशका सुरक्षा निकायलाई पूर्ण रुपमा आफ्नो नियन्त्रणमा ल्याउन सफल भएका छन् । उनको कदमलाई भ्रष्टाचार निर्मूल गर्नका लागि लिइएको कदम मात्र भन्न नसकिने प्राध्यापक राशीदको भनाइ छ ।

उनी भन्छन् ,यस कारणले युवराज मोहम्म्द बिन सलमानको शक्ति झनै बढेको छ । उनी ती अन्तिम नातेदारलाई पनि आफ्नो बाटोबाट हटाउन चाहन्थे जो एक अत्याधुनिक अर्धसैनिक बलको प्रमुख थिए र उनको सत्तालाई चुनौति दिने हैसियत राख्दथे । यसबाट अरु कुनै राजकुमार बाँकी रहेनन् जसको सेना तथा सुरक्षा बलमा कुनै अधिकार छ र गद्दीमा कुनै चुनौति दिन सक्छन् ।

अर्बपति युवराज किन समातिए ?

युवराजको अध्यक्षतामा गठित भ्रष्टाचार विरोधी समितिले हिरासतमा लिएका ११ जना राजकुमारमध्ये एकजना हुन्, अर्वपति राजकुमार अलवालीद बिन तलाल ।

उनीमाथि मुद्रा निर्मलीकरण, घुसखोरी तथा सरकारी अधिकारीहरुलाई धम्की दिने गरेको अभियोग लगाइएको छ ।

अर्वपति राजकुमार अलवालीद बिन तलाल जो पूर्व राजा तलाल बिन अब्दुलअजिजका छोरा हुन् । उनी बिश्वकै धनी ब्यापारी र साउदी अरबका आर्थिक अनुहार मानिन्थे ।

फोब्र्स पत्रिकाका अनुसार बेलायतको सावोए होटेलका मालिक राजकुमार तलालको सम्पत्ति १७ अर्ब डलर छ । साथै उनी किंगडम होल्डिंग्स इन्भेस्टमेन्ट कम्पनीका एकजना मालिक पनि हुन् जुन साउदीको ठूलो लगानी कम्पनी मध्येको एक हो । उनको कम्पनीले टि्वटर, एप्पलका अलावा सिटी ग्रुप बैंक, फोर सिजन्स होटल लगायतमा लगानी गरेको छ ।

राजकुमार तलाल आफ्नो कम्पनीमा महिलालाई जागिर दिने मामिलामा चर्चित छन् र उनका कम्पनीमा दुई तिहाइ महिला कर्मचारी हुने गरेका छन् ।

केही वर्ष पहिले उनले डोनाल्ड ट्रम्पसँग एक विलासी पानी जहाज तथा होटल खरीद गरेका थिए, जतिबेला ट्रम्प राजनीतिमा आएका थिएनन् । तर ट्रम्प राष्ट्रपति चुनावमा उम्मेदवार बन्ने बेलासम्म यी दुईको सम्बन्ध आपसी गालीगलौजसम्म पुगेको थियो । पछि ट्रम्पले राष्ट्रपतिमा जितेसँगै तलालले टि्वटरमार्फत बधाई दिएर सम्बन्ध सुधार्ने कोसिस गरे ।

परिवर्तन अभियानको ‘सफाया’

हालै एक सम्मेलनका क्रममा युवराज सलमानले भनेका थिए की देशलाई आधुनिक बनाउने योजनाको रुपमा उनी उदार इस्लामको फिर्ति चाहन्छन् । रियादमा आयोजित एक आर्थिक सम्मेलनमा उनले कट्टरपन्थीका अन्तिम झण्डाबाललाई हटाइदिने कसम खाएका थिए ।

गत वर्ष उनले तेलमाथिको देशको निर्भरता हटाउने र देशमा आर्थिक तथा सामाजिक परिवर्तन ल्याउनका लागि ठूलो स्तरमा सुधारको घोषणा गरेका थिए । उनले देशको उदार सहुलियत व्यवस्था कम गर्न सुरु गर्नुका साथै सरकारी तेल कम्पनीको निजिकरणको प्रस्ताव अघि बढाए ।

साउदी नागरिक, खासगरी युवाहरुबीच युवराज सलमान निकै लोकपि्रय छन् । तर बुढापुराना मान्छे तथा कट्टर मुस्लिमहरुले उनलाई मन पराउँदैनन् । कम समयमा देशमा धेरै परिवर्तन ल्याउन खोजेको रुढिवादीहरुको आरोप छ । युवराज सलमानकै योजनामा साउदीले यमनमा कहिल्यै नजित्ने युद्ध सुरु गरेको छ भने आइएस विरुद्ध पनि उनी लडिरहेका छन् । साथै कतार बहिष्कारको पनि समर्थन गरेका छन्, जसबाट देशलाई नोक्सान हुनसक्छ । यी यावत् कारणले गर्दा उनलाई राजघरानाका एउटा पक्षले आलोचना गर्ने तथा संसय व्यक्त गर्ने गरेको थियो । यसबाट महत्वकांक्षी युवराजले आफ्नो भावी गद्दी तथा मुलुक हाँक्ने र परिवर्तन ल्याउने योजना कुनै बाधा नआओस् भन्ने चाहे । सोही कारण युवराज सलमानको पछिल्लो कदमलाई देश कब्जा गर्ने मार्गमा रहेका अन्तिम तगारा हटाउने एक पूर्वनियोजित तथा साहसिक कदमको रुपमा विश्लेषण गरिएको छ । साथै यसलाई मुलुकमा आफ्नो परिवर्तनको अभियानमा अवरोधको रुपमा रहेका र रहनसक्ने तत्वलाई सफाया गर्ने कदमको रुपमा पनि विश्लेषण गरिएको छ ।

को हुन् युवराज सलमान ?

३१ अगष्ट १९८५ मा जन्मिएका सलमान साउदीका राजा सलमान बिन अब्दुल अजीज अल सउदीकी तेश्री पत्नी फहदाह बिन फलह बिन सुल्तानबाट जन्मिएका जेठा छोरा हुन् । सन् २०१५ को जनवरीमा राजा अब्दुल्लाह बिन अब्दुल अजिजको मृत्यु भयो र सलमान बिन अब्दुल अजीज अल सउदी ७९ वर्षको उमेरमा साउदीको राजा बने । सोही वर्ष राजाले आफ्ना भतिजा मोहम्म्द बिन नायेफलाई युवराज र मोहम्मद बिन सलमानलाई नायब युवराज घोषित गरेे । साथै राजाले आफ्ना छोरा नायब युवराज सलमानलाई रक्षा मन्त्री बनाए । यो सँगै सलमान विश्वका सबैभन्दा कान्छा रक्षामन्त्री पनि हुनपुगे । अन्ततः गत जून महिनामा नायेफलाई मूख्य युवराजको पदबाट हटाउँदै राजाले नायब युवराज मोहम्मद बिन सलमानलाई मुख्य युवराज घोषित गरे । नायेफलाई गृहमन्त्रीको पदबाट पनि हटाइयो । त्योसँगै युवराज मोहम्मद बिन सलमान साउदीका सर्वाधिक शक्तिशाली व्यक्ति र उपप्रधानमन्त्री बन्नुका साथै आफ्ना बुवापछिको राजगद्दीको उत्तराधिकारी बनेका हुन् ।

कसरी हुँदै आएको छ गद्दी हस्तान्तरण ?

साउदी अरबमा सबैभन्दा जेठो राजकुमार अर्थात् युवराजले राजाको शेषपछि राजगद्दी सम्हृाल्ने परम्परा छ । साउदी अरेबियाका संस्थापक राजा अब्दुल अजिजका ६ जना छोराहरु अहिलेसम्म राजा भैसकेका छन् । आफ्ना छोराहरुमा दाजूले भाईलाई तथा अर्को पुस्तामा राजगद्दी हस्तान्त्रणमा विवाद नआओस् भन्नका भावी राजा अर्थात् युवराज छनोट गर्नका लागि संस्थापक राजा अब्दुल अजिजले एक राज परिषदको गठन गरेका थिए आफ्नो शासनकालको उत्तरार्धमा ।

यस्तो साउदी राजपरिवारको बंशावली । संस्थापक राजा अब्दुल अजिजका ६ जना छोराहरु अहिलेसम्म राजा भैसकेका छन् ।  

तर अब्दुल अजिजको मृत्युपछि साउदी राजगद्दी हत्याउनका लागि उनका छोराहरुबीच बेला बेलामा जायज-नाजायज संघर्ष भएको पाइन्छ । आफ्ना बुवा संस्थापक राजा अब्दुल अजिजले बसाएको परम्परा मुताविक सहज रुपमा सत्ता हस्तान्तरण नगरी उनका छोराहरुबीचमा विवाद उत्पन्न हुने र शासन हडप्ने गरिएका घटना पनि भएका छन् । यसक्रममा दरबारमा गुटबन्दी समेत हुने गरेको थियो । राजा अब्दुल अजिज पछिका ६ जना राजाहरु उनकै एकदर्जन छोराहरुबाट बनेका छन् । तर सबै बाह्र जना छोरा चाहीँ राजा बन्न पाएनन् । राजा अब्दुल अजिजकी सबैभन्दा मनपर्ने रानी हासा अल सुदाइरीका छोराहरु राजा बन्ने क्रममा हावी भएको इतिहास छ । वर्तमान राजा पनि उनै रानीका छोरा हुन् ।

नाति पुस्ताका पहिलो राजा

आफ्ना दाजु राजा अब्दुल्लाको मृत्युपछि तत्कालिन युवराज सलमानले गद्दी सम्हाले । आफुले गद्दी सम्हालेसँगै उनले आफ्ना कान्छा भाई राजकुमार मकरिनलाई भावी राजा घोषित गरे । संस्थापक राजा अब्दुल अजिजका कान्छा छोरा हुनुका कारणले स्वभाविक रुपमा मकरिन भावी राजाका दाबेदार थिए ।

तर त्यसको तिन महिनापछि उनले मकरिनलाई हटाउँदै आफ्ना भतिजा मोहम्मद बिन नायफलाई युवराज तथा आफ्नो छोरा मोहम्म्द सलमानलाई नायब युवराज घोषित गरे । मोहमम्द बिन नायफ साउदी राजवंशमा युवराज घोषित हुने नाति पुस्ताका पहिलो व्यक्ति हुन् । उक्त निर्णयलाई पनि उल्टाउँदै राजाले गत जूनमा आफ्नो छोरा मोहम्म्द सलमानलाई युवराज घोषणा गरी नायफलाई बर्खास्त गरेका छन् । यो सँगै युवराज सलमान साउदी अरबमा वर्तमान राजवंशको तेश्रो पुस्ता अर्थात् संस्थापक राजा अब्दुल अजिजको नातिपुस्ताको पहिलो राजा बन्ने लाइनमा परेका छन् । साउदी अरबमा राजगद्दीको उत्तराधिकारी तोक्नका लागि राज परिषद नामक निकाय पनि छ ।

तर, यो निकाय राजाको मुठ्ठीमा रहन्छ । यसको उदाहरणको रुपमा आफ्ना छोरालाई युवराज घोषित गर्ने क्रममा तत्कालीन युवराज नायफलाई परिषदमै उपस्थित गराइएन र उनी लागु औषधका कारण दिमाग बिगि्रएको र परिषदको निर्णय मान्न बाध्य रहेको व्यहोरा परिषदका सदस्यहरुलाई सुनाएर निर्णय गराइयो ।

-विभिन्न एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment