Comments Add Comment

पत्रपत्रिका समाचारः सय सिट जित्ने कांग्रेसको दावी, रिपोर्ट पर्खंदै माओवादी

चुनाव खर्च दोब्बरले महँगियो


२३ कात्तिक, काठमाडौं । राजधानीबाट बिहीबार प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई नै प्राथमिकतामा राखेका छन् । पत्रपत्रिकाहरुले निर्वाचनका विविध पाटा–पक्ष आज पनि केलाएका छन् । निर्वाचनका अलावा प्रतिबन्धित भारतीय नोट नसाटिएको, त्रिभुवन विमानस्थल प्रमुखलाई नै प्रहरीले निगरानीमा राखेको, कर्मचारीले मताधिकार माग्दै आन्दोलनको चेतावनी दिएको लगायतका समाचारलाई पनि पत्रपत्रिकाहरुले उत्तिकै स्थान दिएर  छापेका छन् ।

यस्तो छ दलको हिसाब

आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आ–आफ्नो शक्तिको अनुमान गर्दै दलहरु थप निर्वाचन क्षेत्र जित्ने रणनीतिमा लागेका छन् ।

आजको नयाँ पत्रिका दैनिकका अनुसार, कांग्रेसको आन्तरिक सर्वेक्षणले प्रतिनिधिसभातर्फ १ सयभन्दा बढी सिटमा जित हुने देखाएको छ । ६० स्थानमा जित सुनिश्चित रहेको र मिहिनेत गर्दा थप ५० स्थानमा पनि जितिने सर्वेक्षणले देखाएको छ ।

संघीय प्रतिनिधिसभाको १ सय ६५ क्षेत्रमध्ये कांग्रेसले राप्रपा र राप्रपा प्रजातान्त्रिकसँग चार–चार तथा नयाँ शक्ति र संघीय समाजवादी फोरमसँग एक–एक स्थानमा तालमेल गरेको छ ।

८७ सिट जित्ने एमाले दाबी, रिपोर्ट पर्खंदै माओवादी

समाचार अनुसार, एमालेले उम्मेदवारी दिएका मध्ये ९० प्रतिशत स्थानमा जित्ने बताएको छ । ९६ स्थानमा उम्मेदवारी दिएको एमालेको दाबी सही भएमा उसले ८७ सिट जित्नेछ । यता माओवादी केन्द्रले प्रतिनिधिसभा निर्वाचनमा पार्टीले कति स्थान जित्छ भन्ने आँकलन गर्न भ्याएको छैन । प्रतिनिधिसभाका ६२ स्थानमा उम्मेदवारी दिएको माओवादी आन्तरिक रिपोर्ट पर्खेर बसेको छ ।

कमल थापा नेतृत्वको राप्रपा स्थानीय तह चुनावको भन्दा राम्रो परिणाम आउने विश्वासमा छ ।  उम्मेदवारी दिएका सबै अर्थात् ४ सिट जित्ने राप्रपा प्रजातान्त्रिकको दाबी छ भने प्रदेश २ मा बहुमत ल्याउने दाउमा संघीय समाजवादी फोरम छ ।

छोटो मतपत्र, चुनाव महँगो

अन्नपूर्ण पोस्ट दैनिकका अनुसार निर्वाचन आयोगले उम्मेदवारी दिएका दल तथा स्वतन्त्र उम्मेदवारको चुनाव चिह्न मात्रै समेटेर आगामी प्रतिनिधिसभाको मतपत्र बनाएको छ । आयोगको यो कार्यले प्रतिनिधिसभातर्फको मतपत्र निकै छोटो र छरितो बनेको छ ।

मनाङ र मुस्ताङको प्रतिनिधिसभामा कांग्रेस र एमालेबाट मात्रै उम्मेदवारी परेपछि त्यहाँ दुई पार्टीको मात्र चुनाव चिह्न राखिएको समाचारमा उल्लेख छ ।
अन्नपूर्णमै ‘महँगो निर्वाचन’ शीर्षकको खबर पनि आज छापिएको छ । समाचार अनुसार, १० वर्षमा प्रतिमतदाता खर्च दोब्बर भएको छ ।

‘खर्च जुटाउन नसकेर दलका कार्यकर्ता निर्वाचन लड्न डराइरहेको अवस्थामा सरकारलाई समेत निर्वाचन गराउने काम महँगो हुँदै गएको छ । पछिल्ला १० वर्षमा प्रतिमतदाता निर्वाचन खर्च दोब्बर भएको छ’, समाचारमा लेखिएको छ ।

स्थानीय तह अझै अधुरो

केन्द्रको वेवास्ताका कारण स्थानीय तहबाट उपलब्ध हुने सेवा लिन अझै नागरिक बञ्चित छन् । एकतिहाइ यस्ता सेवा विकेन्द्रित भइसकेका छैनन् ।

अन्नपूर्ण पोस्ट दैनिकका अनुसार स्थानीय तहमा जनप्रतिनिधिले जिम्मेवारी लिइसके पनि शिक्षा, स्वास्थ्य, कृषि, मालपोत, भूमिसुधार, खानेपानी, विद्युत्त, यातायात, बजार अनुगमन तथा व्यवस्थापनलगायत सेवा अझै केन्द्र मातहत नै छन् ।

संघीय शासन प्रणालीमा केन्द्र सरकारले दिने सबै सेवासुविधा स्थानीय तहबाट प्रदान गर्नुपर्ने हुन्छ । संविधानको अनुसूची ८ मा २२ वटा अधिकार प्रदान गर्ने उल्लेख छ । तर, यसतर्फ ध्यान जान नसक्दा स्थानीय तह अधुरो बनेको छ ।

धनगढीमा ३ करोडको घर किन्दै आरजू

मुसहर वस्तीमा चुनावी उत्साह नदेखिएको विषयलाई मुख्य समाचार बनाएको नागरिक दैनिकले प्रधानमन्त्री पत्नी तथा कैलाली क्षेत्र नं. ५ की कांग्रेस उम्मेदवार आरजू राणाले धनगढीमा ३ करोडको घर किन्न लागेको विषयलाई एंकर बनाएर छापेको छ । टुरिस्ट उम्मेदवारको आरोप खेपेपछि आरजू आफ्नो निर्वाचन क्षेत्रमा घर किन्ने निष्कर्षमा पुगेकी हुन् ।

समाचार अनुसार, बैना रकम दिएर किन्न लागेको घरमा उनी बस्नसमेत सुरु गरिसकेकी छन् । उनले धनगढी–४ उत्तरबेहडीमा रहेको शारदा हमालको नाममा रहेको दुईतले सुविधासम्पन्न घर किन्न लागेकी हुन् ।

त्रिभुवन विमानस्थल प्रमुख प्रहरी निगरानीमा

नागरिकमै त्रिभुवन विमानस्थल प्रमुख प्रहरी निगरानीमा रहेको समाचार छ । अवैध विदेशी मुद्रा ओसारपसारमा संलग्न रहेको भरपर्दो सूचनाका आधारमा उनीमाथि प्रहरीले निगरानी बढाएको हो ।

नागरिक दैनिकले आज सरकारी उच्च स्रोतका हवाला दिँदै समाचारमा लेखेको छ– गत वर्षदेखि नै उपाध्याय विदेशी मुद्राको अवैध ओसारपसारमा शंकाको घेरामा परेका थिए । तर उच्च तहको अधिकारी भएका कारण प्रहरीले छड्के जाँच गर्न सकेको थिएन ।

साटिएन भारु

कर्णाली दोहोर्याउँदै कर्णाली शीर्षक दिएर मुख्य समाचार लेखेको कान्तिपुर दैनिकले भारतीय नोट नसाटिएको समाचारलाई महत्त्वका साथ पहिलो पृष्ठमा छापेको छ ।

‘भारत सरकारले पाँच सय र हजार दरका भारु नोटमा प्रतिबन्ध लगाएको एक वर्ष बित्दासमेत नेपाल सरकारसँग् रहेको करिब १३ करोड रुपैयाँ बराबरको भारु साटिदिएको छैन । नेपाली सर्वसाधारणसँग पनि सटही गर्न नपाएको भारु निकै हुन सक्ने अनुमान गरिए पनि यकिन तथ्यांक छैन । भारतले आफ्ना नागरिकका र भुटानमा रहेका सबै प्रतिबन्धित भारु भने साटिसकेको छ’, समाचारमा कान्तिपुरले लखेको छ ।

पटक पटक पहल दर्गा पनि भारतीय पक्षले चासो नदिएपछि सटही हुन नसकेका करोडौं भारु नोट कागज पल्टिने हुन् कि भन्ने चिन्दा सरोकारवालाले व्यक्त गर्न थालेका छन् ।

बयान दिन चूडामणिले मानेनन्, घरमै पुग्यो अख्तियारको टोली

कर छली प्रकरणमा मुद्दा खेपिरहेका कर आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मामाथि अख्तियारले स्रोत नखुलेको अकुत सम्पत्ति आर्जन अभियोगमा अनुसन्धान अघि बढाएको छ ।

राजधानी दैनिकका अनुसार, शर्माले अख्तियारमा पेश गरेको सम्पत्ति विवरणसहितको १३ पाने फाराम र अख्तियारले गरेको अनुसन्धानमा उनको २० करोड रुपैयाँभन्दा बढी स्रोत नखुलेको सम्पत्ति देखिएपछि उनीमाथि अनुसन्धान थालेको हो । अख्तियारले अनुसन्धानका शिलशिलामा बयानका लागि पटक पटक ताकेदा गर्दा समेत अटेरी गरेपछि बुधबार शर्माको घरमा सात दिने म्याद टाँस गरेको छ ।

अख्तियारले वडा सचिवको रोहवरमा बुढानीलकण्ठ नगरपालिका ३ रुद्रेश्वर मार्गस्थित उनको घरमा सात दिनभित्र उपस्थित हुने सूचना टाँसेको हो ।

हेर्नुहाेस् पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment