Comments Add Comment

डोल्पामा चुनावी माहोल: गाउँ पसे उम्मेदवार

कांग्रेस र वामगठबन्धनबीच प्रतिस्पर्धा

२३ कात्तिक, डोल्पा । दुर्गम जिल्ला डोल्पामा मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि आ-आफ्नो पक्षमा मत माग्दै उम्मेदवार गाउँगाउँमा पसेका छन् ।

चुनाव नजिकिँदै गर्दा नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्र लगायतका अन्य साना दलका उम्मेदवारहरू प्रचारप्रचारमा जुटेका हुन् ।

के गर्दैछ एमाले ? 

चुनावका लागि एमाले र माओवादी केन्द्रको गठबन्धन संयुक्तरुपमा चुनावी प्रचारप्रचारका लागि खटिएका छन् ।

गठबन्धनको तर्फबाट प्रदेश ‘क’ बाट उम्मेदवार बनेका एमालेका नन्दसिंह बुढा आफ्नै क्षेत्रमा प्रचारप्रचारमा सक्रिय छन् । पहिलो पटक सांसदको टिकट पाएका बुढा एमाले जिल्ला कमिटी सचिव समेत हुन् ।

बुढाले अहिले आफ्ना कार्यकर्तासहित उपल्लो डोल्पामा भोट माग्दै घरदैलो गरिरहेका छन् । उनकै क्षेत्रमा पर्ने दुनै, जुफाल, रह, तिप्लालगायतका गाउँमा समेत घरदैलो अभियान तीव्र पारिएको डोल्पा एमालेले जनाएको छ ।

प्रदेश ‘क’ मा पर्ने उपल्लो डोल्पा एमालेको प्रभाव क्षेत्रका रुपमा रहेकाले पनि उक्त क्षेत्रबाट एमाले जित सुनिश्चित रहेको डोल्पा एमालेको दाबी छ ।

उक्त क्षेत्रको उपल्लो डोल्पामा पर्ने छार्का ताङसोङ गाउँपालिका, डोल्पो बुद्ध गाउँपालिका र ठूलीभेरी नगरपालिकामा एमालेकै जनमत धेरै रहेकाले यस क्षेत्रबाट जित सुनिश्चित रहेको वाम गठबन्धनबाट एमालेबाट उम्मेदवार बनेका नन्दसिंह बुढाले दाबी गरे ।

प्रचारका क्रममा डोल्पाली जनताको घरदैलोमा पुग्दा जनताले एमालेबाहेक अरु कसैलाई नचिन्ने भएकाले यसपटक गठबन्धनका तीनैजना उम्मेदवारको जित सुनिश्चित भएको उनको भनाइ छ ।

उक्त क्षेत्रमा कांग्रेस पनि बलियो प्रतिष्पर्धीको रुपमा रहेको छ, उक्त क्षेत्रबाटै उम्मेदवार बनेका बेगमसिंह ठकुरी पनि कार्यकर्तासहित चुनावी प्रचारप्रचारमा उपल्लो डोल्पातिरै छन् ।

स्थानीय चुनावमा ठूलीभेरी नगरपालिकाको प्रमुख पदमा थोरै मतले हार व्यहोरेको कांग्रेस यस कारण पनि बलियो प्रतिपक्षको रुपमा रहेको हो । कांग्रेसबाट प्रदेशमा उठेका ठकुरी पनि नयाँ अनुहार नै हुन् ।

ठकुरीलाई जिताउन कांग्रेस जिल्ला पार्टी सभापतिसहित सयौँ कार्यकर्ता चुनावी प्रचारप्रचारमा होमिएका छन् ।

त्यस्तै, गठबन्धनबाट प्रतिनिधि सभाको उम्मेदवार बनेका पूर्व सांसद धनबहादुर बुढा तीव्ररुपमा चुनावी प्रचारप्रचारमा जुटेका छन् ।

प्रतिनिधिसभाका उम्मेदवार बनेका बुढाले आसन्न निर्वाचनका लागि दशैँ अगावै पहिलो चरणको प्रचारप्रचार गरिसकेको एमालेको भनाइ छ । अहिले दोस्रो चरणको प्रचारप्रचारमा एमाले जुटेको हो ।

दोस्रो संविधानसभाको चुनावमा डोल्पाबाट माओवादी केन्द्र र कांग्रेसलाई हराउँदै भारी मतले विजयी भएका बुढा अहिले तल्लो डोल्पामा मत माग्दै जनताको घरदैलो गरिरहेका छन् ।

डोल्पा एमालेमा अभिभावकको भूमिकामा रहेका बुढा सरल स्वभाव भएकै कारण धेरै जनताको मन जित्न सफल भएको स्थानीय नेता लक्ष्मी सार्कीले बताइन् ।

प्रतिनिधिसभाका उम्मेदवार बुढा धन, मन, असल स्वभावका धनी नेताका रुपमा जिल्लामा परिचित छन् । डोल्पाबाट एक पटक सांसद भइसकेका बुढा यसपटक पनि भारी मतले विजयी हुने एमालेको दाबी छ ।

यसै पनि डोल्पामा पहिलो पार्टीका रुपमा रहेको एमाले माओवादी केन्द्रको समेत साथ पाउने भएपछि ढुक्क भएर चुनावी प्रचारप्रचारमा जुटेको छ ।

के गर्दैछ कांग्रेस ?

डोल्पामा आन्तरिक विवादमा फस्दै आएको डोल्पा कांग्रेस आसन्न चुनावका लागि भने एकजुट भएर चुनावी प्रचारप्रचार कार्यलाई तीव्र पारेको छ ।

कांग्रेसबाट प्रतिनिधिसभाको टिकट पाएका अंगतकुमार बुढा र प्रदेश ‘क’ का बेगमसिंह ठकुरी चुनावी प्रचारप्रचारको क्रममा उपल्लो डोल्पामा पुगेका छन् ।

कांग्रेसबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका बुढाले डोल्पालाई विकास, सुशासनको बाटोतर्फ डो¥याउनका लागि अमूल्य मत दिई सहयोग गर्न डोल्पालीलाई आग्रह गर्दै भोट मागिरहेका छन् ।

जिल्ला पार्टी सभापतिसमेत रहेका प्रतिनिधिसभाका उम्मेदवार बुढा विकासवादी, भ्रष्टाचारमुक्त समाज निर्माणमा अभियन्ताको रुपमा डोल्पामा परिचित छन् ।

एमालेका धनबहादुर बुढा र कांग्रेसका अंगतकुमार बुढा काइके गाउँपालिकाअन्तर्गत एउटै गाउँका भएपनि राजनीतिक हिसाबमा भने वर्षौंदेखि प्रतिस्पर्धा कायमै छ ।

प्रदेश ‘ख’ का कांग्रेसका उम्मेदवार सुरेश शाही नौलो अनुहार होइनन् । दोस्रो संविधानसभाको चुनावमा कांग्रेसबाट प्रत्यक्ष उम्मेदवार बनेका शाही एमालेसँग पराजित भएका थिए ।

यसपटक शाही धुमधामका साथ चुनावी प्रचारप्रचारमा जुटेका छन् । यसपटक  प्रदेश ‘ख’ बाट कांग्रेसको जित सुनिश्चत भन्दै स्थानीय नेता कार्यकर्ता भोट मागिरहेका छन् ।

उक्त क्षेत्रबाट गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार वीरबहादुर शाही छन् । तर, संकटकालमा माओवादीले जनतालाई दुःख दिनेदेखि आस्थाका धरोहर मन्दिरसमेत तोडफोड गरेकाले कतिपय क्षेत्रका जनताले यसकै आधारमा भोट नदिने कांग्रेसको दाबी छ ।

प्रदेश ‘ख’ मा स्थानीय चुनावमा र आसन्न प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव नजिकिँदै गर्दा पटकपटक माओवादी केन्द्र र एमालेका स्थानीय कार्यकर्ताबीच हुने गरेको विवादका कारण पनि कांग्रेसलाई फाइदा हुने नेपाली कांग्रेस डोल्पाका सचिव जयनन्द उपाध्यायले दाबी गरे ।

स्थानीय चुनावमा त्रिपुरासुन्दरी नगरपालिकाको प्रमुख पदमा झिनो मतले पराजय भोग्नु भएका दिलबहादुर विष्ट काँग्रेसलाई भोट माग्दै तल्लो डोल्पामा घरदैलो अभियानमा जुटेका छन् ।

डोल्पामा उदारवादी नेताको रुपमा परिचित विष्ट, पूर्व पार्टी सभापति टंकप्रसाद उपाध्यायसहितको टोली शाहीको पक्षमा मत माग्न तल्लो डोल्पामा प्रचारप्रचारमा खटाइएको कांग्रेसले जनाएको छ ।

त्यस्तै, संघ र प्रदेशमा उठेका साना दलहरु नयाँ शक्ति पार्टीका पुष्प बुढा, नेकपा (माले)का हर्कबहादुर रोकायलगायतका विभिन्न पार्टीका उम्मेदवार पनि चुनावी प्रचारप्रचारमा अभियानमा जुटेका छन् ।

नेता कार्यकर्ता सबै गाउँघरतिर चुनावी प्रचारप्रचारमा जुटेपछि सदरमुकाम दुनै, त्रिपुराकोट, जुफाललगायतका स्थानीय बजार सुनसान भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment