+
+
काठमाडौं ४ को चुनाव :

श्रीमतीसहित दलबल लिएर मतदाताको दैलोमा राजन भट्टराई

भट्टराईको नारा- अघिल्लोपटक गगनलाई, यसपालि राजनलाई

गौरव पोखरेल गौरव पोखरेल
२०७४ कात्तिक २४ गते १७:२८

२४ कात्तिक, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा निर्वाचनमा दुई युवाको रोचक प्रतिस्पर्धा हुँदैछ । लोकतान्त्रिक गठवन्धनका तर्फबाट कांग्रेस नेता गगन थापा र वाम गठवन्धनका तर्फबाट एमाले नेता डा. राजन भट्टराई यहाँका प्रतिस्पर्धी हुन् ।

कांग्रेसका युवा नेता यसअघि पनि चुनाव जितेका र राष्ट्रिय राजनीतिमा चर्चामा आएका व्यक्ति हुन् भने एमालेका युवा नेता डा. राजन भट्टराई चाहिँ अन्तर्राष्ट्रिय सम्बन्धका जानकार एवं नेपाल भारत प्रवुद्ध समूहमा आवद्ध पूर्वसांसद हुन् ।

दुवै उम्मेदवार मतदाता रिझाउन घरदैलोमा हिँडिरहेका छन् । यसअघि हामीले जसरी गगनको घरदैलोलाई पछ्याएका थियौं, शुक्रबार त्यसरी नै पछ्यायौं राजनको घरदैलो ।

०००

चाबहिलको चुच्चेपाटीमा शुक्रबार बिहानै एक हुल मानिस सूर्य चिन्ह अंकित झण्डा बोकेर लुईंलुईं हिँड्दै थिए । न त्यहाँ नारावाजी थियो, न त बाजागाजा नै । जुलुसको अग्र भागमा माला लगाएका दुई पुरुष भने निकै उत्साहित मुद्रामा थिए ।

उनीहरुमध्ये एक थिए, काठमाडौं क्षेत्र नंं. ४ मा वाम गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार डा. राजन भट्टराई । अर्का थिए, प्रदेशसभातर्फका उम्मेदवार निर्मल कुइँकेल ।

‘भोट माग्दै आयौं है…’ सानो कम्पाउन्ड भएको एक घरको गेट अगाडिबाट कार्यकर्ता चिच्याए ।

‘यति भनेसी कानमा पर्‍यो होला नि’, हाँसो मिश्रति स्वरमा थपियो ।

तर, घरबाट कोही निस्किएनन् । ‘बाजा घन्काउनुपर्थ्यो कि ?’, एक युवकले भने । केही चालचुलै देखिएन ।

यसैबीच, कार्यकर्ताको हुलबाट एक महिलाले यता ५ घर छन् भन्दै टोलीलाई सानो गल्लीतिर डोहोर्‍याइन् ।

त्यहाँ किराना पसल थियो । भित्र थिए, एक वृद्ध । उनलाई भट्टराईसहित अन्यले झुकेर नमस्कार गरे ।

‘उहाँ त हाम्रै मान्छे हो नि’, छेऊमा उभिएका एक व्यक्तिले भने, ‘उहाँलाई त भेटे मात्रै पुग्छ, केही भन्नै पर्दैन ।’

वृद्ध मुसुक्क हाँसे । टोली अघि बढ्यो ।

हरेक पसलहरुमा हेर्दै हात हल्लाउँदै, नमस्कार गर्दै, दाँत देखाउँदै भट्टराई अघि बढ्थे ।

‘जाडो महिना आएको छ, घाम हेर्नु होला है’, टोलीका एक सदस्यले बाटोमा भेटे जति मानिसलाई भन्दै हिड्थे ।

०००

डा. भट्टराई हिँड्दै गर्दा मोटरसाइकलमा एकजना भलादमी आइपुगे । र, गर्लम्म अंगालो हाले ।

‘ओ..हो.. राजनजी के छ खबर ?’

‘एकदम ठीक छ । सहयोग गर्नुपर्‍यो है.. अरुलाई नि विज्ञापन गर्दिनुपर्‍यो ।’

‘भन्नै पर्दैन नि । अग्रिम शुमकामना’ भन्दै उनी अघि बढे ।

टोली कालो गेट भएको घर अगाडि पुग्यो ।

‘कोही मान्छे छैनन् त ! ‘भित्रै छिर्नु र ? राजनले छेउमै उभिएका एक कार्यकर्तालाई खुसुक्क भने ।

तर, भित्र कोही बोलेको जस्तो आवाज आयो । र, उनीहरु भित्रै छिरे । एकजना युवक निस्किए । ‘खोई, बुबा हुनुहुन्न ?’, राजनले भने, ‘उहाँसँगको सम्बन्ध त धेरै पहिलेदेखिको हो नि !’

केही कार्यकर्ताले युवकलाई एमालेको चुनावी पर्चा थमाए । र, एमालेलाई भोट हालेर जिताइदिन आग्रह गरे । युवकले मुन्टो मात्र हल्लाए । केही बोलेनन् ।

त्यहाँदेखि माथिल्लो पटि्ट रहेको घरमा टोली छिर्‍यो । ‘अस्ति पनि हामीलाई मतदान गर्नु भो, फेरि सहयोग गर्नुपर्‍यो है’, सायद उनी एमालेबाट विजयी स्थानीय जनप्रतिधि थिए ।

उनले राजनको टिमलाई भोट माग्दै भने, ‘उहाँहरुलाई जिताउनु भयो भने हामीलाई काम गर्न अझै सहज हुन्छ । एमालेलाई जिताउनुभयो भने यो देशले काँचुली फेर्छ ।’

०००

शान्तिनगर टोलतर्फ समूह अघि बढ्दै थियो । एक युवक हाँस्दै भट्टराई छेऊ आइपुगे र हात मिलाए ।

‘म रामेश्वर फुयाँलको नाति !’ युवकले जोशिँदै भने ।

‘ए..ए.. हाम्रै केटो पो रहेछ’, राजनले ढाडमा धाप मार्दै भने ।

अलि पर एक वृद्धा घाम तापेर बसिरहेकी थिइन् । ‘तपाईहरुलाई वृद्ध भत्ता दिने पार्टीबाट भोट माग्न आएका छौं’, राजनले भने, ‘भोट सूर्य चिन्हमा दिनु पर्‍यो है ।’

ती वृद्धा मुसुक्क हाँसिन् । र, राजनको कुरामा समर्थन जनाइन् ।

‘यहाँ त मेरा ससुराली खलक छन्’, घरदैलोमा हिँडेका एकजना व्यक्ति अघि सरे । ‘भोट दिएर जिताउनुपर्‍यो है हामीलाई’, भट्टराईले भने, ‘छरछिमेकमा पनि भोट हाल्न भनिदिनुपर्‍यो ।’

अर्काे घरमा बालबालिका मात्र थिए ।

‘बाबा खोई, नानी ?’

‘अफिस जानुभएको छ ।’

‘बुबालाई यो दिनु है..’, कार्यकर्ताले पर्चा थमाए ।

अलिपर ‘शिवगुरु परिचर्चा स्थल’ लेखिएको बोर्ड भएको घर थियो । ‘यहाँ चाहिँ म नै जानु पर्ने छ रे’, कार्यकर्तासँग खासखुस गर्दै एमाले उम्मेदवार राजन अघि सरे ।

घरबाट एकजना वृद्ध निस्किए । उनी थिए, नगेन्द्र महरठ्ठा । ‘म पहिल्यैदेखि यही बसेको हो । म हुर्किएको ठाऊँ’, राजनले उनलाई भने, ‘मलाई जिताउनुपर्‍यो ।’

वृद्धले मुसुक्क हाँस्दै राजनलाई चिनेको जनाउ दिए । घरदैलो टोली गएपछि अनलाइनखबरकर्मीसँग कुरा गर्दै महरठ्ठाले पार्टीलाई भन्दा पनि व्यक्तिलाई हेरेर मत दिने सुनाए ।

स्थानीय निर्वाचनमा पनि आफूले व्यक्तिलाई हेरेर मतदान गरेको उनले स्मरण गरे । ‘यो टोलमा प्रायः कांग्रेस छन्’ उनले भने, ‘तर, मचाहिँ व्यक्तिलाई हेरेर भोट हाल्ने हो ।’

‘यसपालि कसलाई भोट हाल्नुहुन्छ त ?’, यो प्रश्नमा उनले भने, ‘विद्वान पनि छन् । यतैतिर हाल्नुपर्ला ।’

०००

एमालेको घरदैलो टोली सडक छेउकै घरमा छिर्न खोज्दै थियो, एक महिला फुत्त बाहिर निस्किइन् ।

ती घरबेटीलाई एक महिलाले लेघ्रो तान्दै भनिन्, ‘मेरा श्रीमानलाई स्याप्प लगाएर भोट हाल्नुपर्‍यो ।’

यसो भन्ने राजनकी श्रीमती रहिछिन् । उनले डा. भट्टराईलाई उनी आफ्नो साथी भएको चिनाइन् । ‘उसलाई त भन्नै परेन नि’, उनले भनिन्, ‘मेरै साथी हो क्यारे !’

ती महिलाले पनि ‘पर्दैन, पर्दैन’ भनिन् ।

०००

‘हाम्रो घर छेऊको बाटो पुर्दिनुपर्‍यो’, एकजना वृद्धाले आक्रोशित हुँदै भनिन्, ‘पहिले जिताएर पठाएको खोई के भयो ?’

कार्यकर्ताको भिडबाट एकजना महिलाले राजनतिर देखाउँदै भनिन्, ‘यसपालि उहाँलाई जिताउनुपर्‍यो । सबै काम हुन्छ ।’

छेऊमा वडाध्यक्ष पनि थिए । उनले वृद्धालाई थुम्थुम्याउँदै भने, ‘मित्रपार्कमा वडा कार्यालय छ, त्यहाँ आएर भन्नुपर्छ नि आमा । जे समस्या भए नि तत्काल काम भइहाल्छ ।’

भट्टराई ‘तलको सहयोग प्रदेशसभा सदस्यहरुबाट र माथिको सहयोग हामीबाट’ भन्दै अघि बढे ।

०००

अलि पर दुई युवती उभिइरहेका थिए । अघिल्लो चुनावमा कांग्रेसमा भोट हालेका थिए रे !’ युवतीहरुलाई देखाउँदै एक कार्यकर्ताले भने । राजन मुसुक्क हाँसे ।

र, भने, ‘अघिल्लो पटक कांग्रेसलाई हाल्नुभो । यसपालि हामीलाई हाल्नुपर्छ है ।’

टोली गोपीकृष्ण हल छेऊ पुग्यो । जहाँ एमाले क्षेत्र नं. ४ को निर्वाचन प्रचार प्रसार कार्यालय उद्घाटन कार्यक्रम राखिएको थियो । अगाडि सडकमा कार्यकर्ताले सूर्य चिन्ह अंकित रंगोली बनाइएको थियो, जहाँ तस्वीर खिच्नेको पनि भीड लागेको थियो ।

कार्यालय उद्घाटन भएको घोषणा गर्दै डा. भट्टराईले आफूलाई जिताउन कार्यकर्तालाई पुनः आग्रह गरे ।

भट्टराईले शुक्रबार विहान झण्डै साढे ३ घन्टा घरदैलो गरे । काठमाडौं-४ एमालेको राम्रो संगठन भएको क्षेत्र हो, स्थानीय तहको मत परीणामले पनि त्यही देखाउँछ ।

तर, राजनको दुःख भनेको आफूलाई परिचय गराउँदै हिड्नुपर्ने बाध्यता रहेछ । अधिकांश मतदातासँग भेट गर्दा उनी ‘म डा. राजन भट्टराई’ भन्दै परिचय दिन्थे ।

बेलाबेला कार्यकर्ताले परिचय गराइदिन्थे । जब कि भट्टराई अघिल्लो संविधानसभामा अहिलेका प्रतिस्पर्धी गगनसँगै संसदमा थिए ।

घरदैलो सकिएपछि डा. भट्टराईसँग अनलाइनखबरले छोटो कुराकानी गर्‍यो । प्रस्तुत छ, सम्पादित अंशः-

सहजै जित्नेमा विश्वस्त छुः भट्टराई

कस्तो हुँदैछ त घरदैलो अभियान ?

यो अभियानका क्रममा हामीले जुन किसिमको माहोल र आम मतदाताबाट प्रतिक्रिया पाएका छौं, त्यो अत्यन्त सकारात्मक छ । र, उत्साहपूर्ण छ ।

तपाईंको जितका आधारहरु के-के हुन् ?

वाम गठबन्धनले मुलुकको समृद्धि, संविधानको स्थायित्व र राजनीतिक स्थितरताका लागि लागि हामीलाई अघि सारेको हो । यो नै मेरो जितको प्रमुख आधार हो ।

दोस्रो आधार, निर्वाचन क्षेत्र नं. ४ मेरो लागि नौलो ठाउँ होइन । मैले कक्षा १ देखि कक्षा १० सम्म पढ्दा होस् वा अखिलको पहिलो प्रारम्भिक कमिटी बनाउँदा होस् वा ०३९/०४० सालमा यो क्षेत्रका विद्यालयहरुमा मैले अरेरास्ववियूको कमिटी बनाउँदै हिँड्दा होस्, ती प्रत्येक क्षण र त्यसवेलाका व्यक्तिहरुले मेरा बारेमा जान्नु हुन्छ । बुझ्नु हुन्छ ।

मलाई कसैले प्रत्यक्षरुपमा अनुहार देखेर चिन्नु भएको छैन भने पनि अहिले जब म उहाँहरु समक्ष पुगेको छु, उहाँहरुले ‘एँ तँ होस् !’ भन्दै मलाई ‘घरकै मकै भटमास खाएको भाइ हो, तँलाई त हामी मत दिइहाल्छौं नि’ भन्नेखालको प्रतिक्रिया दिइरहनुभएको छ । त्यसो हुँदा मेरो जितको बलियो आधार यिनै हुन् ।

तपाईंका चुनावी एजेण्डा के-के हुन् ?

राष्ट्रिय राजनीतिका एजेण्डा नै मेरा चुनावी एजेण्डा हुन् । यो मुलुकको राष्ट्रियताका निमित्त संविधानलाई स्थायित्व दिएर कार्यान्वयन गर्ने मूल विषय हो ।

स्थानीय तहमा यो क्षेत्रमा जे भयावह स्थिति छ, यहाँ तिलगंगादेखि गौशाला, चाबहिल-चुच्चेपाटी-गोपीकृष्ण क्षेत्रमा मानिसहरुलाई कहिल्यै आउनु नपरे हुन्थ्यो भन्ने भइरहेको छ । धुलोको त्यस्तै समस्या छ । गोपीकृष्ण हलबाट तपाईं माथि लाग्नुभयो भने कुनै एउटै बाटो सद्दे छैन । हरेक वर्ष वर्षायाममा कपन नाकाबन्दीमा पर्छ ।

खानेपानीको समस्या भयावह छ । अहिले भर्खर यहाँ माथि टोलमा जाँदा तपाईंहरुले खानेपानीको पहल गर्नुपर्‍यो भन्नुभयो । त्यहाँ दुई/तीन महिना अघिदेखि पानी आइरहेको छैन ।

महानगरभित्रका वडाहरुमा जनताले पाउनुपर्ने न्यूनतम आश्वयकताहरु म पूरा गर्छु । यति पनि परिवर्तन गर्न सकिन्न भने मुलुक परिवर्तन गर्ने ठूलठूला कुरा गरेर हुँदैन ।

प्रतिस्पर्धी गगन थापालाई कसरी हेर्नुभएको छ ?

उहाँ लोकतान्त्रिक गठवन्धनको उम्मेदवार हुनुहुन्छ । यस क्षेत्रमा वाम र लोकतान्त्रिक गठबन्धनबीच प्रतिस्पर्धा हुँदैछ । म वाम गठबन्धनको उम्मेदवार छु । तर, अहिले जनता माझ जाँदा मैले जे पाइरहेको छु, त्यसलाई हेर्दा सहजरुपमा परिणाम मेरो पक्षमा पर्नेमा विश्वस्त छु ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?