Comments Add Comment

कविताः सपनाको बजार

फेरि एकपटक खुलेको छ सपनाको बजार
आउनुस् भोट हाल्नुस्
देख्नुस् राम्रो सपना
र लेखिदिनुस् उनीहरुको नाउँमा
तपाईंको कमसे कम
अर्को पाँच वर्षको जिन्दगी
अहिले
फेरि एकपटक खुलेको छ
सपनाको बजार ।

तपाईं चामलजस्तो
केलाएर हेर्न सक्नुहुन्न
लुगाजस्तो छामेर
अनुभव गर्न सक्नुहुन्न
सबै भनाइहरु
शत प्रतिशत विश्वास गर्ने हो
भनेका सबै
तपाईंले सुन्दै जाने हो
आँखा चिम्लिने हो
सपना देख्ने हो
आउनुस्
तपाईंलाई कुन सपना मन पर्छ
रोज्नुस् एक सपना
फेरि एकपटक खुलेको छ,
सपनाको बजार ।

आफैं बाँचेर गरिबीको रेखामुनि
पाल्नुस् नयाँ पुराना शासकहरू
भोग्दै अनियमितता
चुनिदिनुस्
केही आजीवन
केही खरिद सभासदहरू
सरकार बनाउन सहयोग गर्नुस्
र, गर्नुस् सरकार नभएको अनुभूति
राष्ट्रको गफमा
गर्नुस् मुलुक नभएको अनुभूति
रोज्नुस् उनीहरुले कोटामा दिएको
एक असम्भव सपना
फेरि एकपटक खुलेको छ
सपनाको बजार ।
छाप्रो उधारेर गर्नुस् मद्दत
बनाउन लथालिंग पार्टीका
आलिशान भवनहरु
छाक काटेर गर्नुस् सहयोग
निर्माण गर्न
गरिब कार्यकर्ताका धनी नेताहरू
लेखिदिनुस् उनीहरुका नाउँमा
तपाईंका उर्वर जवानीका पाँचवर्ष
फेरि एकपटक खुलेको छ,
सपनाको बजार ।

रिक्सा चलाउँनुहुन्छ त के भो र रु
निजी गाडीमा सयर गरेको सपना देख्नुस्
निजी गाडीमा हिँड्नुहुन्छ भने
हवाईजहाज किनेको सपना देख्नुस्
सपनै न हो किन देख्नु स–साना सपनाहरु
सबै पिडा बिर्सेर एक छिन
उसले बाँडेको सपना देख्नुस्
फेरि एकपटक खुलेको छ
सपनाको बजार ।
छन् थरीथरीका सपना
छन् प्रत्येक वर्गका सपना
उनीहरु सपनाको कारखाना नै हुन्
अहिल्यै निकालेर दिन्छन्
भिन्न ‘मोडेल’ र ‘ब्रान्ड’का सपना
मात्र लेखिदिनूस्
तपाईंका अमूल्य जीवनका
अर्को पाँच वर्ष
फेरि एकपटक खुलेको छ,
सपनाको बजार ।
अँध्यारो गाउँमा
अर्को महिनादेखि
बिजुली बत्ती बाल्न पाइने सपना
सुक्खा जमिन
पानीले भिजाएर
राम्रो बाली भित्र्याउने सपना
सपनाको बजारमा
यो पनि केही सपना हो र रु
देख्नुस् तपाईं दुईसय तल्लामाथिको
गगनचुम्बी घरमा आरामसँग बसेको सपना
देख्नुस् तपाईं इन्द्रेणीको धागोबाट
संसार भ्रमण गरेको सपना
मात्र लेखिदिनुस्
तपाईंका अमूल्य जीवनका अर्को पाँच वर्ष
फेरि एकपटक खुलेको छ सपनाको बजार ।
उनीहरु बाँडीरहेछन
जमिनदारलाई
जमिन अझै थपिदिने सपना
पुँजीपतिलाई
अझै पुँजी जोहो गर्ने सपना
कालोबजारीलाई
मनपरी भाउ बढाउने सपना
अर्कोतिर,
सुशासन र समानताका सपना
पहिचान र संघीयताका सपना
क्रान्तिकारी परिवर्तनका सपना
ठाउँ र स्रोताको उपस्थिति हेरी
सूदुर साम्यवादका पनि सपना
मनचिन्ते झोलाबाट निकालेर
बाँडिरहेका छन् सपना
मात्र छाप लगाइ दिनुस्
उनीहरुको नाममा
तपार्इंको उर्बर जीवनको
अर्को पाँच वर्ष
फेरि एकपटक खुलेको छ
सपनाको बजार ।

नयाँ घरको सपना
देख्दा देख्दै बेघर भएका
सहर पानीले पखालिने सपनामा
आफैं काकाकुल भएका
किनेर सपना आफैँ बेचिएका

धेरै ठगिएका,
झुक्किएका छन् मानिसहरू
फेरि पनि सपनाको बजारमा
सपना किन्नेहरू छन्

झुक्किएका
दशकहरू बिर्सेर
नयाँ सपनामा आश गर्नेहरू छन्
किन्नुस् तपाईं पनि
एक थान वा अनगिन्ती सपनाहरू
फेरि एकपटक खुलेको छ,
सपनाको बजार ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment