Comments Add Comment

पत्रपत्रिका समाचारः ओलीले देखेनन् चुनावी प्रतिष्पर्धी !


राजधानीबाट प्रकाशित नयाँ पत्रिका दैनिकबाहेकले पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधनको विषयलाई आज पहिलो पृष्ठमा स्थान दिएर छापेका छन् । पत्रपत्रिकाहरुले उनको व्यक्तित्व र कीर्तित्व केलाउँदै नैतिकताको धरोहर ढलेको लेखेका छन् ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनको विषयलाई पनि आजका पत्रपत्रिकाहरुले उत्तिकै महत्त्व दिएर छापेका छन् । यसका अलावा पत्रपत्रिकाहरुले एमाले-माओवादी एकता चुनावअघि नै हुन लागेको, दलको प्राथमिकतामा भूकम्पपछिको पुनर्निर्माण नपरेको, प्रदेश राजधानी तोक्न सरकार अलमलिएकोलगायत विषयलाई पनि ‘कभरेज’ गरेका छन् ।

चुनावअघि नै एमाले-माओवादीबीच पार्टी एकता

पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ कीर्तिनिधि विष्टको निधनको विषयलाई प्रमुखताका साथ पहिलो पृष्ठमा छापेको राजधानी दैनिकले एमाले-माओवादीबीच चुनावअघि नै पार्टी एकता हुन लागेको लेखेको छ । वाम गठबन्धन बनाएर निर्वाचनमा होमिएका एमाले-माओवादीले चुनावपछि पार्टी एकता गर्ने सहमति गरेका भए पनि त्यसअगावै ९ मंसिरमा एकता घोषणाको तयारी गर्न लागेका हुन् ।

समाचार अनुसार, निर्वाचनमा गठबन्धन गरी देशैभर उम्मेदवारी दिएका दुई पार्टीबीच भावनात्मक रुपमा एकताको भावना मजवुद बन्दै गएको निष्कर्षसहित शीर्ष नेताहरु चुनाव अगावै पार्टी एकीकरण गर्न तयार भएका हुन् ।

निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा बाहेक अन्य स्थानमा पहिलो चरण निर्वाचनको मौन अवधिमा पनि सभासमारोह गर्न, दलहरुबीच एकता या गठबन्धन गर्न आचारसंहिताले नरोक्ने जवाफ दिएपछि दुई पार्टी पहिलो चरण अगावै एकता घोषणाको तयारीमा जुटेको समाचारमा उल्लेख छ ।

दुई पार्टीबीच बहुदलीय जनवादमा कुरा मिलिसकेको छ भने जनयुद्ध स्वीकारेर जाने कि आन्दोलनका रुपमा व्याख्या गर्ने भन्नेमा बहस जारी छ ।

चुनावी मुद्दा बनेन हुम्लीको चामल

दलहरुले मतदाता आकषिर्त गर्न विभिन्न चुनावी एजेन्डा उठाए पनि हुम्लीको चामल दुःखलाई यसपटक उठाएका छैनन् । कान्तिपुर दैनिकले हुम्ली जनताले खाद्यान्नको चर्को अभाव झेल्दै आइरहेका भए पनि दलहरुले यो मुद्दा छाडेर अन्य विषयलाई चुनावी एजेन्डा बनाएको लेखेको छ ।

‘मुख्य प्रतिस्पर्धी दल र उम्मेदवारले यसपटकको चुनावमा चामलको कोटा वृद्धिलाई मुख्य नारा नबनाएर चामलको राजनीति अन्त्य गर्न खोजेका छन् । उनीहरुले मोटरबाटो , पर्यटन तथा रोजगारीलाई मुख्य मुद्दा बनाएका छन् । तर हुम्ली सर्वसाधारणको चामल दुःख भने ज्यूँका त्यु छ’ कान्तिपुरले समाचारमा लेखेको छ ।

ओलीले देखेनन् प्रतिष्पर्धी

‘सादगीपूर्ण प्रस्थान’ शीर्षक दिएर पूर्व प्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधनको विषयलाई छापेको कान्तिपुर दैनिकले एमाले अध्यक्ष केपी शर्मा ओलीको चुनावी प्रतिष्पर्धालाई पहिलो पृष्ठमा छापेको छ ।

आलीलेले देखेनन् प्रतिस्पर्धी’ शीर्षक दिएर कान्तिपुर लेखेको छ- प्रतिनिधिसभाको मंसिर २१ मा हुने निर्वाचनमा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी अेालीको प्रतिस्पर्धीका रुपमा उभिएका छन्- वन्यजन्तु विषयमा विद्यावारिधि गरेका डा. खगेन्द्र अधिकारी । अधिकारी १७ वर्षे अध्यापन पेसा छाडेर झापा ५ मा ओलीसँग प्रतिष्पर्धामा उत्रिएका हुन् । अधिकारी राजनीतिमा धेरै गर्न सकिने भएकाले उम्मेदवार बनेको बताउँछन् । तर, ओलीले आफूले कुनै प्रतिस्पर्धी आफ्नो चुनावी क्षेत्रमा नरहेको बताएका छन् ।

‘चुनावमा सहभागी हुँदैमा कोही प्रतिष्पर्धी हुँदैन’, ओलीले कान्तिपुरसँग भनेका छन्, ‘चुनावमा सहभागी हुनुभयो स्वागत छ, तर मेरो प्रतिस्पर्धी कोही छैन ।’ उनले कांग्रेस उम्मेदवारलाई नचिनेको भन्दै एकजना माडसाप चुनावमा आएको आफूले सुनेको बताए ।

सधैं अनिश्चित काठमाडौं

काठमाडौंको चुनावी परिणाम अक्सर अनपेक्षित आउने गरेको छ । काठमाडौंको मतदाताको मनोविज्ञान बयान गर्ने सबैभन्दा पुरानो तर सटिक उदाहरण हो आम निर्वाचन – २०३८ । पञ्चायतका धुरन्धर जोगमेहर श्रेष्ठले २९ हजार मत ल्याउँदा त्यसअगाडि नामै नसुनिएकी नानीमैया दाहालले ६५ हजार ७ सय मत ल्याएर विजयी भएकी थिइन् ।

आज नयाँ पत्रिका दैनिकले काठमाडौंको चुनावी परिणामको ट्रेन्डलाई केलाएको छ ।

पेट्रोल पाइपलाइन निर्माण अर्को महिनाबाट

बहुप्रतीक्षित रक्सौल-अमलेखगन्ज पेट्रोल पाइपलाइन परियोजना निर्माण कार्य अर्को महिना -डिसेम्बर) देखि सुरु हुने भएको छ । भारतबाट पेट्रोलियम पदार्थ ल्याउने यो परियोजना निर्माण कार्य अर्को महिनादेखि अघि बढाउन नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनका अधिकारी सहमत भएको खबर नागरिक दैनिकमा छ ।

नागरिक दैनिकका अनुसार परियोजना निर्माण कार्य थाल्ने सहमति भएपछि नेपाली अधिकारी उत्साहित बनेका छन् । पाइपलाइन बिछ्याउने रुटको स्थलगत अध्ययनपछि भएको दुईपक्षीय छलफलमा इन्डियन आयल कर्पोरेसनले नोभेम्बरबाट पाइप ल्याउन सुरु गर्ने सहमति जनाएको छ ।

३७ किलोमिटर लामो पाइपलाइन ४ अर्ब २० करोड रुपैयाँ लागतमा निर्माण गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment