Comments Add Comment

बाबुराम भन्छन्- माओवादी रहिनँ, नारायणकाजी भन्छन्- माओवादी थिइनँ

दुवै नेता जनयुद्धबाट जोगिँदै, बीपीको गुणगान गाउँदै !


२६ कात्तिक, पालुङटार (गोरखा) । माओवादी जनयुद्धको उद्गमस्थल मानिने गोरखा जिल्लाको चुनावमा केही रोचक परिघटनाहरु देखिन थालेका छन् ।

गोरखा-२ को चुनाव आफैंमा किन रोचक छ भने माओवादी आन्दोलनका दुई हस्ती डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ चुनावी मैदानमा छन् । तर, दुवैलाई माओवादीले मात्रै नपुगेर साथ चाहिएको छ- कांग्रेस-एमालेको ।

विगतमा गोरखा जिल्लामा कांग्रेस र एमालेसँग माओवादीको सम्बन्ध सुमधुर थिएन । गोरखाका ग्रामीण इलाकामा कांग्रेस र एमाले समर्थकले माओवादी सशस्त्र द्वन्द्वमा हदैसम्म दुःख पाएको गुनासो पोख्ने गरेका छन्, दुवै नेतालाई ।

तर, बाबुराम र नारायणकाजी दुवै नेताहरु द्वन्द्वकालीन घटनाका जिम्मेवारीबाट व्यक्तिगत रुपमा तर्किने प्रयासमा देखिन्छन् ।

‘म माओवादी थिइनँ, म माओवादी रहिनँ !

जनयुद्धकालीन घटनाबारे द्वन्द्वपीडितहरुले गुनासो पोख्दा माओवादी नेता श्रेष्ठको जवाफ हुन्छ- ‘म त माओवादी सशस्त्र द्वन्द्वमा सहभागी नै थिइनँ, त्यसैले त्यसको भागिदार म होइन ।’

सही नै हो, माओवादी जनयुद्ध चलिरहँदा श्रेष्ठ नेकपा एकताकेन्द्रका नेता थिए । जनयुद्ध सकिएर शान्ति प्रक्रिया सुरु भएपछि मात्रै उनको पार्टी माओवादीमा समाहित भएको हो ।

त्यसैगरी द्वन्द्वपीडितहरुलाई डा. भट्टराईको जवाफ हुने गरेको छ, ‘माओवाद मात्रै होइन, कम्युनिस्ट दर्शन नै अब असान्दर्भिक भइसक्यो, म त्यहाँबाट बाहिर निस्किइसकें ।’

सशस्त्र द्वन्द्वका क्रममा गोरखामा कांग्रेसका १८ जना कार्यकर्ता मारिएका थिए, माओवादीबाट । माओवादीको ‘सेकेन्ड इन कमान्ड’ का रुपमा त्यसको जस अपसज  डा. भट्टराईलाई जानु स्वाभाविकै हो । शायद त्यस्तै घटनालाई सम्झेर हुनुपर्छ, पूर्वजिविस सभापति चन्द्रप्रसाद न्यौपानेसहितका नेता/कार्यकर्ताले डा. भट्टराईलाई भोट नदिने सार्वजनिक घोषणा नै गरेका छन् ।

र, यही जोखिम देखेर हुन सक्छ, डा. भट्टराईले गोरखा-२ मा प्रतिनिधिसभाका उम्मेदवारका आकांक्षी सुरेन्द्र पाण्डे, गोरखा नगरपालिकाका मेयर राजनराज पन्तलगायतका कांग्रेस नेतालाई आफ्नो चुनावी अभियानमा सँगै लैजान छुटाएका छैनन् । मेयर पन्त आफैं द्वन्द्वपीडित हुन् ।

कांग्रेसलाई फकाउन बीपीको गुणगान

डा. भट्टराई र श्रेष्ठबीच अर्को एउटा अनौठो संयोग छ । उनीहरु दुवै कांग्रेसलाई फकाउने अभियानमा लागेका छन् । डा. भट्टराईले कांग्रेससँगै तालमेल गरेकाले त्यहाँका मतदातालाई फकाउनुपर्ने बाध्यता छ । एमालेसँग तालमेल गरेका श्रेष्ठले पनि बाबुरामलाई हराउन कांग्रेसका मतदातालाई आफूतिर तान्नुपर्ने बाध्यता  छ ।

आफूलाई कांग्रेस नजिक देखाउन दुवैले बीपी कोइरालाको मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् । दुवैले राजनीतिको शुरुवात कम्युनिस्टबाट नभई बीपी कोइरालाको विचारका अनुयायीका रुपमा भएको बताइरहेका छन् ।

नारायणकाजी श्रेष्ठका अनुसार तरुण पत्रिकामा छापिने बीपी कोइरालाका लेखहरुबाट उनमा पञ्चायती व्यवस्थाविरुद्धको मनोविज्ञान प्राप्त भएको थियो ।

अनलाइनखबरसँगको कुराकानीमा श्रेष्ठ भन्दै थिए, ‘बीपीले लेख्ने गर्नुहुन्थ्यो, तरुण र विद्यार्थीहरु सक्रिय नहुन्जेल निरंकुशतन्त्रविरोधी आन्दोलन सफल हुँदैन । तरुण र विद्यार्थीहरु चुप लागेर बस्नुहुँदैन । त्यसैले म पनि निरंकुशतन्त्रविरोधी आन्दोलनमा सहभागी भएँ ।’

बीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर भारत प्रवासबाट स्वदेश फर्किनुअघिसम्म डा. भट्टराई पनि उनका विचारबाट प्रभावित थिए ।

अहिले गाउँघरमा चुनावी कार्यक्रममा सहभागी हुने क्रममा दुवै नेताले आफ्नो उक्त पृष्ठभूमि बताउन छुटाएका छैनन्, मतदातामाझ ।

कांग्रेसका कार्यकर्तालाई आफूतिर तान्ने रणनीतिमा दुवै नेताहरु केन्द्रित देखिएका छन् । गोरखा-२ मा चुनाव जित्न कांग्रेसको मत निर्णायक देखिन्छ । एक ढिक्का भएर कांग्रेसले डा. भट्टराईलाई मत दियो भने श्रेष्ठका लागि चुनाव जित्न हम्मेहम्मे पर्न सक्छ । किनभने, त्यसका साथमा डा. भट्टराईलाई लोकप्रिय मत पनि थपिन सक्छ ।

कांग्रेसको मत एकमुष्ठ भट्टराईले प्राप्त गरेनन् भने नि ? श्रेष्ठको प्रयत्न त्यतै केँन्द्रित हुने देखिन्छ । गोरखा-२ मा कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार नभएकाले आफू नै रुखमा भोट दिने मतदाताका पनि उम्मेदवार भएको श्रेष्ठले बताउने गरेका छन् ।

र, यही कारण उनीहरु बीपी कोइरालाका अनुयायीका रुपमा आफूलाई चिनाउने प्रयासमा देखिन्छन् ।

कसलाई मत दिने स्पष्ट निर्णय लिन नसकेका कांग्रेस समर्थकहरुमा पनि यसपटक द्विविधा झल्किन्छ । जस्तोः डा. भट्टराईकै प्रभाव क्षेत्र पालुङटारका लोकबहादुर रानाभाट भन्छन्, ‘यसपटक रुख चिन्हमा उम्मेदवार छैनन्, अन्तिममा जो राम्रो लाग्छ, उसैलाई मत दिने हो ।’

यस कोणबाट विश्लेषण गर्दा डा. भट्टराई र कांग्रेसलाई आफ्नो मत जोगाउने चुनौती देखिन्छ भने श्रेष्ठ उक्त मत हत्याउने दाउमा देखिन्छन् । दुवै नेताको कसरत कांग्रेसको मत कसरी आफ्नो पोल्टामा पार्ने भन्नेमा नै केन्द्रित देखिन थालेको छ ।

जस्तो- बारपाकको चुनावीसभा सकेर ओरालो लाग्ने क्रममा श्रेष्ठले कांग्रेसका गाउँ सभापति मनबहादुर घलेको घरमा पसेर भलाकुसारी गर्न छुटाएनन् । आफ्ना बाबु र दाजुहरुसँग घलेको सम्बन्ध स्मरण गराउँदै यसपटक आफूलाई सघाउन आग्रह गरे ।

कांग्रेसप्रति समर्पितहरुको प्रवृत्ति नै मानिन्छ, रुखबाहेकका चिन्हमा भोट नहाल्ने । त्यस्ता धेरै मतदाताको गुनासो प्रष्टै सुनिन्छ, ‘भट्टराई रुख चिन्हमै चुनाव लड्नुभएको भए एकमुष्ठ भोट दिन सकिन्थ्यो ।’

र, यही गुनासोमा खेलेर त्यस्तो मत आफ्नो पोल्टामा पार्ने कसरतमा छन्, श्रेष्ठ । उनलाई आफ्नो पार्टी र एमालेको त साथ छँदैछ, तर ‘ग्रे एरिया’ पार गरेर कांग्रेसलाई फकाउने र भट्टराईको घेरा साँघुरो पार्ने रणनीतिमा लागेका छन्, उनी ।

वडाको चुनावमा जस्तै दौडधूप

माओवादी नेता नारायणकाजी श्रेष्ठ लडेर घाइते भई बारपाकबाट ओरालो लागेकै भोलिपल्ट नयाँशक्तिका संयोजक बाबुराम भट्टराई नारायणकाजी जन्मेको गाउँ जौबारी आसपासमा घरदैलो गर्न उकालो चड्दै थिए ।

श्रेष्ठ लडेको ठाउँ सौरपानी पुगेका डा. भट्टराईले उनीप्रति कटाक्ष गर्दै थिए, ‘सयौं ताराभन्दा एउटै चन्द्रमाको उज्यालो काफी छ ।’

तत्कालीन एमाओवादीका उपाध्यक्ष रहेका दुवै नेता अहिले चुनावी प्रतिस्पर्धामा आमने-सामने छन् । र, घरदैलो अभियानमा गाउँबेंसी ओहोर-दोहोर गरिरहेका छन् ।

गोरखा-२ का गाउँहरुमा घुम्दै गर्दा अनुभूति हुन्छ, डा. भट्टराई प्रतिनिधिसभाका लागि नभई वडाध्यक्षको चुनावी मैदानमा छन् । र, श्रेष्ठ उनलाई जसरी पनि रोक्ने प्रयासमा छन् ।

डा. भट्टराई घर-घरमा पुगेर त्यस क्षेत्रमा पुगेको सडकलगायत विकास पूर्वाधार आफ्नो पहलमा सम्भव भएको बुझाउन प्रयासरत छन् । र, श्रेष्ठ नेतृत्वको टोली गोरखा-२ का विकास परियोजना डा. भट्टराईले नभई माओवादी पार्टीका कारण सम्भव भएको बुझाउने कसरतमा छन् ।

अधिकांश मतदाताहरु भने सडक, बिजुलीलगायत सुविधा भट्टराईले ल्याएको ठान्छन् । अजिरकोट गाउँपालिकाको बालुवाका कांग्रेस समर्थक पदमबहादुर गुरुङ भन्दै थिए, ‘म मरेपछि मात्रै गाउँमा सडक आउँछजस्तो लागेको थियो । बाबुरामले त मेरो गाउँ मात्र होइन, लाप्राकसम्मै पुर्‍याइदिए ।’

बलियो सांगठनिक आधार रहेको माओवादीका उम्मेदवार श्रेष्ठका सामु मतदाताको यही बुझाइ नै चुनौतीको पहाड बनेर खडा छ । तर, आफ्नै पार्टी नयाँशक्ति पार्टीको सांगठनिक आधार निर्वाचन क्षेत्रमा नहुनुको डा. भट्टराईसामु चुनौतीको अर्को पहाड देखिन्छ ।

दुवै नेतालाई मतदाताका प्रश्न

चुनावी गतिविधिमा केन्द्रित रहँदै गर्दा दुवै नेताहरु मतदाताका प्रश्नको घेरामा देखिन्छन् । डा. भट्टराईलाई तेस्र्याइने प्रश्न उनको राजनीतिक अस्थिरतासँग सम्बन्धित छ भने श्रेष्ठलाई जिल्लामा नझुल्किएको आरोप लाग्ने गरेको छ ।

महिनामा एकपटक जिल्ला र निर्वाचन क्षेत्रमा पुग्ने गरेको फाइदामा भट्टराई देखिन्छन् । तर, माओवादी छाडेपछि कहिले मधेस केन्द्रित दल, कहिले वाम गठबन्धन त कहिले कांग्रेसको निकट पुगेकामा बाबुरामप्रति अविश्वास सिर्जना भएको आरोप मतदाताको रहने गरेको पाइन्छ ।

यस्तै, राष्ट्रिय/अन्तर्राष्ट्रिय व्यक्तित्व बनाएर पनि जिल्ला र गाउँघरमा केही नगरेको आरोपबाट मुक्त छैनन्, श्रेष्ठ । समानुपातिक कोटाबाट संविधानसभा सभासद बनेको तर सांसद विकास कोषको रकम जिल्लामा खर्च नगरेको आरोप श्रेष्ठले खेपिरहेका छन् ।

तर, डा. भट्टराईले नै आफूलाई जिल्लामा ढिम्किन नदिएको बताउँदै श्रेष्ठले मतदाताको चित्त बुझाउने प्रयास गरिरहेका छन् ।

उस्तै एजेन्डा र रणनीति

भट्टराई र श्रेष्ठका चुनावी एजेन्डा लगभग उस्तै देखिन्छन् । दुवैले अगाडि सारेका छन्, विकास र समृद्धि । गाउँ-गाउँमा पुगेका सडक स्तरोन्नति गर्दै बाह्रैमास मोटरयोग्य बनाउने, कृषि विकास, औद्योगीकरण, जलविद्युत आयोजनाहरुको तीव्रतर विकास र टारैटारको जिल्ला गोरखामा सिँचाइ सुविधा उपलब्ध गराएर खाद्यान्नमा आत्मनिर्भरताका लागि मुलुकलाई योगदान दिने ।

बूढीगण्डकी जलविद्युत आयोजनासहित साना विद्युतगृहको निर्माण गर्दै मुलुकलाई अँध्यारोबाट मुक्ति दिन योगदान दिने दुवैका चुनावी एजेन्डा छन् ।

भट्टराईको प्रतिवद्धतापत्रमा ‘गोरखाको आर्थिक विकास र समृद्धि’ उल्लेख छ । श्रेष्ठले नारा नै बनाएका छन्, ‘समृद्ध गोरखा खुशी गोरखाली ।’

भट्टराईले नभई पार्टीले सडक पुर्‍याएको दाबी श्रेष्ठले गर्दै गर्दा उनीसँगै चुनावी अभियानमा रहेका माओवादीबाट प्रदेश सभातर्फ २ -क) का उम्मेदवार अमर तमुले आफैंले विकास ल्याएको अभिव्यक्ति दिने गरेका छन् ।

बाबुरामलाई भोट दिने तर हँसिया हथौडामा हाल्ने सम्भावना पनि प्रबल छ । तथापि, जो घरमा पुगेको थियो, उसैलाई भोट हाल्छन्, गुरुङ र घले जातिले । त्यही बुझेर हुनुपर्छ, घर-घर पुग्न छुटाएका छैनन् भट्टराईले ।

जस्तो-बाबुराम बारपाक पुग्दा तीनजनाको काजक्रिया चलिरहेको थियो । गाउँभरिका मानिस त्यतै जम्मा भएका थिए । बाबुरामले तिनै ठाउँमा गएर भोट माग्न पाए । नारायणकाजीले त्यस्तो अवसर पाएनन् । उनी बारपाक पुगेको दिन नै स्थानीय बासिन्दा निगालो काट्न वन पसेका थिए ।

सशस्त्र द्वन्द्वकालमा प्रचण्डभन्दा बाबुराम राम्रो नेता भएको छाप पनि थियो । पार्टी छाडेर गएपछि माओवादीका नेताले बाबुरामलाई गाली गर्न थाले । पार्टीमा रहँदा राम्रो र छाडेर गएपछि नराम्रो भन्न नमिल्ने केही मतदाताको मनोविज्ञान देखिन्छ ।
तर, माओवादी नेता/कार्यकर्ताको मनोविज्ञान देखिन्छ, बाबुरामलाई जसरी पनि हराउने । गोरखा-२ मा माओवादीको पूरै शक्ति लाग्ने शंकाका कारण कांग्रेस र नयाँशक्तिका स्थानीय नेता/कार्यकर्ता सतर्क देखिन्छन् ।

कांग्रेस नेता/कार्यकर्ताले नारायणकाजीले जित्दा कम्युनिस्ट अधिनायकवाद आउने र सशस्त्र द्वन्द्वका बेलाजस्तै दुःख पाइने बताउँदै आफ्ना समर्थकलाई थुमथुम्याउने प्रयास गरिरहेको देखिन्छ ।

गोरखा नगरपालिका-३ हरमटारीका पदमबहादुर गुरुङ मतदातामा नारायणकाजीप्रति आशा रहेकाले उनले राम्रै भोट प्राप्त गर्ने बताउँछन् ।

सिरानचोक गाउँपालिका छोप्राकका पण्डित श्रीधर घिमिरे भने बाबुरामले पालुङटार क्षेत्रमा राम्रो गरेकाले त्यताको मत उनकै पक्षमा खस्ने बताउँछन् । ‘तल्लो भेगबाट पार्टी होइन, व्यक्ति हेरिनेछ,’ उनी भन्छन्, ‘चिरपरिचित भएकाले बाबुरामकै पल्ला भारी देखिन्छ ।’

पालुङटारकै चन्द्रबहादुर बस्नेत जसले काम गर्न सक्छ, उसैलाई भोट हाल्ने मनस्थितिमा छन् । भन्छन्, ‘व्यक्तित्व हेर्ने हो ।’

यसपटक निर्वाचन क्षेत्रकै बासिन्दा

गोरखा-२ सँग अर्को रमाइलो संयोग पनि छ । त्यो हो, स्थानीय जनश्रुति ।

तत्कालीन गोरखाका राजा मानसिंहलाई ‘रुन्चे साँप्रो’ बुझाउँदा-बुझाउँदा हैरान भएका प्रजाले लिगलिगकोटको दौड जित्ने उपाय लमजुङको राइनासकोटका गाईपालक द्रव्य शाहलाई सिकाए । उनले दौड जितेपछि मानसिंह गद्दीच्युत भए । र, प्रजाले द्रव्य शाहलाई राजा स्वीकारे ।

२०४६ सालयताका संसदीय निर्वाचनमा जिल्ला र निर्वाचन क्षेत्र बाहिरका नेताले पटक-पटक निर्वाचित हुने मौका पाएका थिए । ०४८ सालको आम निर्वाचनमा गोरखा-२ का बासिन्दाले चितवनकी कांग्रेस नेतृ मैयादेवी श्रेष्ठलाई जिताएर पठाए । ०५१ र ०५६ सालमा कमला पन्तलाई जिताए । उनी गोरखा-१ की स्थायी बासिन्दा हुन् ।

‘अहिले साँच्चै आफ्नै क्षेत्रका उम्मेदवारलाई जिताउँदैछौं । नारायणकाजी या बाबुराम जसले जिते पनि यही क्षेत्रका उम्मेदवारबीच प्रतिस्पर्धा छ,’ पालुङटार-५ ठाँटीपोखरी बजारका कांग्रेस नेता धनप्रसाद श्रेष्ठ भन्छन्, ‘प्रभुत्व बाबुरामकै देखिन्छ । तर, गठबन्धनका कारण नारायणकाजी कमजोर उम्मेदवार होइनन् ।’

बाबुरामका भाइ शिव भट्टराई दाइको माहोल राम्रै देख्छन् । विकास निर्माणमा बढी रुचिका कारण पनि बाबुरामको पल्ला भारी रहेको उनको दाबी छ । नयाँशक्ति पार्टीबाट समानुपातिक उम्मेदवार तथा बाबुरामकी भाइबुहारी दुर्गा न्यौपाने उनको जित सुनिश्चित रहेको दाबी गर्छिन् । भन्छिन्, ‘कांग्रेसबाट अन्तरमनदेखिकै सहयोग पाएका छौं, जित सुनिश्चित छ ।’

माओवादीका स्थानीय नेता मदन देवकोटा भने बाबुरामको नयाँशक्तिले वामपन्थीको माहोल बिगारेकाले अहिले सुधार्ने प्रयासमा रहेको बताउँछन् । माओवादीको मत सुरक्षित रहेको उनको भनाइ छ । नयाँशक्तिका मत तान्ने रणनीति अख्तियार गरिएको देवकोटा बताउँछन् ।

‘यहाँको सबै विकास आफैंले गरेको बाबुरामको भनाइ रहने गरेको छ । मतदातामा पनि त्यही बुझाइ बलियो पाइन्छ,’ देवकोटा भन्छन्, ‘त्यो बुझाइ हटाउने प्रयासमा छौं ।’

२०६४ सालमा भट्टराईलाई माओवादी नेता भएका कारणले मतदाताले जिताएको र अहिले पनि माओवादी उम्मेदवारलाई नै भोट खस्ने देवकोटाको दाबी छ ।

एमाले नेता जुद्धविलास भण्डारी एमाले र माओवादीको मत जोड्दा नारायणकाजीको बहुमत रहेको दाबी गर्छन् । सशस्त्र द्वन्द्वका एक हस्तिका रुपमा बाबुराम त्यतिबेलाका घटनाबाट भाग्न नपाउने उनको भनाइ छ ।

पञ्चायतकालमा राजेश्वर देवकोटाले ४२ हजार मत ल्याएर जितेका थिए । ०४८ सालको निर्वाचनमा उनले जम्मा २५ सय मत ल्याएका थिए ।

‘कांग्रेसमा निर्भर रहेकाले यसपटक बाबुरामजीको अवस्था राजेश्वर देवकोटाकै जस्तो हुने सम्भावना छ,’ भण्डारीको दाबी छ । स्थानीय तहमा नयाँशक्तिले ल्याएको मत क्रमशः घट्दो क्रममा रहेको उनी दाबी गर्छन् ।

डा. भट्टराईका स्कुले सहपाठी डा. उपेन्द्र देवकोटा बाबुराम हराउ अभियानमा सामेल छन् । दुवै कक्षा ३ देखि एसएलसीसम्म लुइँटेलको अमरज्योति जनता माविमा पढेका थिए । सबै कक्षामा बाबुराम पहिलो र देवकोटा दोस्रो हुन्थे । एसएलसी बोर्डमा बाबुराम प्रथम भए भने देवकोटा दशौं ।

कक्षा ६ मा मनिटरको चुनावमा बाबुरामले देवकोटालाई पराजित गरेका थिए । एसएलसीपछि बाबुरामले इन्जिनियरिङ पढे भने देवकोटा नसा रोग विशेषज्ञ बने । डा. भट्टराई र डा. देवकोटा एउटै कार्यक्रममा पनि सँगै देखिँदैनथे । त्यसैले लामो समयदेखि यी दुईबीच मेलमिलाप छैन ।

बाबुरामको राजनीतिक भविश्य जोखिममा

सबै पक्षलाई विश्लेषण गर्दा डा. भट्टराई र श्रेष्ठबीच ठूलो मतान्तरमा हारजित हुने देखिँदैन । जौबारी इलाकामा श्रेष्ठ बलियो देखिँदा पालुङटार क्षेत्रमा भट्टराईको पकड मजबुत रहेको पाइन्छ ।

भट्टराईप्रति असन्तुष्ट मत श्रेष्ठले प्राप्त गर्दा उनलाई नचिन्ने मतदाताले भट्टराईलाई भोट हाल्ने अवस्था छ । लोकतान्त्रिक तालमेलमा सामेल राप्रपाको झिनो मत पनि भट्टराईलाई नै जाने देखिन्छ ।

बलियो सांगठनिक आधारका कारण श्रेष्ठ कमजोर पक्कै छैनन् । तथापि, चुनावी तराजु श्रेष्ठतिर ढल्किए भट्टराई राजनीतिक धरापमा पर्ने भने निश्चित छ । आगामी पाँच वर्षका लागि उनी असान्दर्भिक हुने जोखिममा देखिन्छन् ।

श्रेष्ठले पराजय बेहोर्नु पर्दा पनि उनी भट्टराईजस्तो धरापमा पर्ने छैनन् । किनभने, उनीसँग पार्टी, त्यसको संगठन र प्रचण्डपछिको ‘सेकेन्ड इन्ड कमान्ड’ हातमा रहनेछ ।

भट्टराई ‘सेटब्याक’ सहन गर्न नसक्ने बौद्धिक मानिन्छन् । गोरखा-२ मा पराजय बेहोर्नु परे उनी सांसद रहने छैनन् । जित हात पार्दा पनि तीन प्रतिशत ‘थ्रेसहोल्ड’ पार गर्नै पर्ने चुनौतीबीच भट्टराईको राजनीतिक करिअर खुकुरीको धारमा रहेको सहजै अनुमान गर्न सकिन्छ । गोरखा-२ जिते या नजिते पनि यसपटक भट्टराईले ‘सेटब्याक’ को सामना गर्न तयार रहनुपर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment