Comments Add Comment

बैंकहरुमा चर्कियो सञ्चालक विवाद, खेतानको प्रतिनिधित्व भएन हिमालयन बैंकमा


२६ कात्तिक, काठमाडौं । गत बैशाखबाट जारी भएको बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ (बाफिया)ले एक संस्थामा कम्तिमा ५ देखि बढिमा ७ जना सञ्चालक मात्र रहन सक्ने व्यवस्था गरेपछि पछिल्लो समय बैंकहरुमा विवाद बढ्दै गएको छ ।

ऐनअनुसार सञ्चालकको संख्या घटाउनुपर्ने भएपछि बैंकका लगानीकर्ताहरुवीच सञ्चालक समितिमा प्रतिनिधित्वका बिषयमा विवाद बल्झिएको छ ।
सुरुमा नेपाल क्रेडिट एण्ड कमर्स बैंक, बैंक अफ काठमाण्डुमा विवाद  देखिएको थियो । अहिले त्यस्तै समस्या हिमालयन बैंकमा देखिएको छ ।
बैंकमा ११.८५ प्रतिशत सेयर स्वामित्व रहेको खेतान समूहलाई सञ्चालक समितिमा प्रतिनिधिबिहीन बनाइएपछि यतिबेला सञ्चालकहरुवीच बिबाद सुरु भएको छ ।

खेतान समूहको म्युचुअल ट्रेडिङ कम्पनी प्रालीले आफ्नो प्रतिनीधिका रुपमा भदौ पहिलो साता प्रसाद ज्ञवालीलाई पठाएको भए पनि बैंकका अन्य लगानीकर्ता समूहले नियुक्ति दिन आनाकानी गरेको खेतान समूहले जनाएको छ ।

नयाँ बाफिया जारीसँगै राष्ट्र बैंकको पनि सोही अनुसार निर्देशन आएकोले तत्काल थप सञ्चालक नियुक्त गर्न नसकिने भन्दै हिमालयन बैंकको सञ्चालक समितिले असोज पहिलो साता उत्तर पठाएको थियो ।

बैंकमा झण्डै १२ प्रतिशतको सेयर स्वामित्व भएको आफ्नो समूहको प्रतिनिधित्व बोर्डमा नभएको भन्दै खेतान समूहले आपत्ति जनाएको छ । ‘सञ्चालक समितिमा लगानीकर्ताको प्रतिनिधित्व नगराई मनोमानी गर्ने नियत अन्य पक्षको देखियो’ खेतान समूह स्रोतले अनलाइनखबरसँग भन्यो ।

तर, बैंक ब्यबस्थापनले भने बाफियाको ब्यबस्थाका कारण सञ्चालक नियुक्त गर्न नसकिएको भन्दै आगामी साधारणसभाबाट खेतान समूहलाई सहभागी बनाउन पहल गर्ने बताएको छ ।

‘उहाँहरुले प्रतिनीधि पठाउँदा बैंकमा पहिले नै सात जनाभन्दा बढि सञ्चालक थिए, त्यसैले अहिले सदस्य थप्न सकिदैन र आगामी साधारण सभामा प्रबन्ध पत्र तथा विनियमावली संशोधन समेत गर्ने र सञ्चालक मिलान गर्ने सोँच हो,’ बैंकका प्रमूख कार्यकारी अधिकृत अशोक राणाले भने । राणा बैंक संस्थापक हिमालय शमसेर जबराका छोरा हुन् । यसअघिको बाफियामा बैंक तथा वित्तीय संस्थामा अधिकत्तम ९ जनासम्म सञ्चालक नियुक्त हुन सक्ने व्यवस्था रहेको थियो ।

हाल बैंकमा ८ जना सञ्चालक रहेका छन् । बाफिया २०७४ ले बैंकको सञ्चालक समितिमा एक जना सवतन्त्र सञ्चालक हुनै पर्ने व्यवस्था गरेको छ । बढिमा सात जना सञ्चालक रहँदा पनि १ जना स्वतन्त्रबाट रहने व्यवस्था छ ।

यसरी स्वतन्त्र सञ्चालक हुने व्यक्ति वा उसको परिवारको बैंकमा ०.१ प्रतिशतभन्दा बढि सेयर हुन हुँदैन् । त्यसबाहेक सर्वसाधारण सेयर धनीको पनि बैंकको सञ्चालक समितिमा उपस्थिती रहने गर्छ । हिमालयन बैंकमा भने सर्वसाधारण समूहको १५ प्रतिशत मात्र सेयर स्वामित्व रहेको छ र यो समूहबाट १ जना सञ्चालक छन् ।

साधारण सभापछि प्रबन्धपत्र संशोधन सँगै ७ जना सञ्चालक रहने व्यवस्था गरिने र त्यस क्रममा खेतान समूहबाट समेत कसरी प्रतिनिधित्व गराउने प्रयास रहने बैंकले उल्लेख गरेको छ ।

हाल बैंकको समितिमा संस्थापक सेयर लगानीकर्ताबाट ५ जना सदस्य रहेका छन् । पाकिस्तानको हबिब बैंकको सबैभन्दा धेरै २० प्रतिशत सेयर स्वामित्व रहेको छ । त्यसपछि कर्मचारी सञ्चय कोष लगायतको लगानी छ ।

सर्वसाधारण समूहबाट प्रतिनिधित्व घटाउँदै बैंक

नेपालका धेरैजसो बैंकहरुमा सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व रहेको छ । राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरुले हालसम्म १५ प्रतिशतको दरमा सर्वसाधारणबाट १/१ जना सञ्चालक राख्ने गरेका छन् ।

तर, अहिले बैंकहरुले सर्वसाधारणबाट प्रतिनिधित्व हुने सञ्चालकको संख्यामा भने कटौती गर्न लागेका छन् । हाल ३० प्रतिशत सेयर सर्वसाधारणको रहेको नेपाल एसबीआई बैंकले यो वर्गबाट सञ्चालक समितिमा १ जना मात्र प्रतिनिधित्व गराउने निर्णय गरेको छ । राष्ट्र बैंकले हालसम्म यसमा कुनै निर्णय सुनाएको छैन् ।

‘सेयर स्वामित्व अनुसार संस्थाहरु आफैले समानुपातिक रुपमा सञ्चालकहरु नियुक्त गर्दै आएका छन्, अहिले सुनिएका विवादहरु पनि बैंककै तहमा रहेको छ, हामीकहाँ आए लगत्तै यसमा प्रक्रियाहरु थाल्न सकिनेछ,’ राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले भने ।
यो पनि पढौं:  करिब २ सय ३० बैंक सञ्चालकहरुको जागिर गुम्ने, सभा बोलाउन राष्ट्र बैंकको निर्देशन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment