Comments Add Comment

नाफा वृद्धि हुन नसकेपनि सबैभन्दा धेरै कमाउनेमा नेपाल बैंक


२७ कात्तिक, काठमाडौं । चालु आव २०७४/७५ को पहिलो त्रैमासमा नेपाल बैंकको नाफा करिब १७ प्रतिशतले घटेको छ । नाफा रकमको आधारमा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा पहिलो स्थानमा रहेपनि नाफामा भने सुधार हुन सकेन ।

बैंकको नाफा ९७ करोडमा सिमित भएको छ । गत आवको पहिलो त्रैमासमा बैंकले १ अर्ब १६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको सञ्चालन नाफा भने ५२ प्रतिशतले वृद्धि भएको छ । यो ७२ करोड रुपैयाँ रहेको छ । बैंकको खुद व्याज आम्दानी भने १८ प्रतिशतले बढेको छ । यो रकम १ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । त्यस्तै, फि कमिसन, अन्य आम्दानी शीर्षकबाट ३४ करोड रुपैयाँ आर्जन गरेको छ । यो रकम ८३ प्रतिशतले बढेको छ ।

बैंकले सम्भावित नोक्सान वापतको व्यवस्थामा २२ करोड ९९ लाख रुपैयाँ राखेको छ भने २९ करोड फिर्ता ल्याएको छ । बैंकको खराब कर्जाको अनुपात बढेर ३.४२ प्रतिशत रहको छ । यो दरमा भने वृद्धि भएको छ । करिब ९९ प्रतिशत प्रोभिजनिङ गरेको उल्लेख छ ।

बैंकको करिब ८ प्रतिशतले निक्षेप बढेर ९२ अर्ब रहेको छ । कर्जा ७३ प्रतिशतले वृद्धि भएर ४० अर्ब पुगेको छ । बैंकको निक्षेपको तुलनामा कर्जाको अनुपात ७९ प्रतिशत देखिन्छ । तर प्राथमिक पूँजी सहितको निक्षेपको आधारमा भने कर्जाको अनुपात ६९ प्रतिशत रहेको बैंकको वित्तीय विवरणमा उल्लेख छ । थप कर्जा लगानी गर्न बैंकसँग राम्रै स्पेस देखिन्छ ।

बैंकको कुल कर्जा लगानीमा ४८ प्रतिशत लगानी रियल इस्टेट, सेयर कर्जा र ओभरड्राफ्ट कर्जा रहेको छ । यी क्षेत्रमा ३५ अर्ब रुपैयाँ लगानी भएको छ ।

बैंकको सेयरमा प्रतिफल ७५ प्रतिशतबाट घटेर करिब ३२ प्रतिशत भएको छ । बैंकको चुक्ता पूँजी करिब डेढ अर्बले बढेपछि सेयरमा प्रतिफल घटेको छ । बैंकको चुक्ता पूँजी ८ अर्ब पुगेको छ भने सञ्चिती ४ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ४८.३२ रुपैयाँ, मूल्य आम्दानी अनुपात २८ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ५९ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment