Comments Add Comment

यी हुन् प्रबिधि जगतका नयाँ अर्बपतिहरु

मार्क जुकरबर्ग, जेफ बेजोस र एलोन मस्कको बारेमा तपाईंले पक्कै पनि सुन्नभएको होला । तर, के तपाईंले ऋषि साह, प्याट्रिक कोलिसन, डेभिड जालिक वा लुसी पेङको विषयमा सुन्नुभएको छ ?

सम्भवतः छैन होला । तर, जानिराख्नुस पछिल्लो समुहका व्यक्तिहरु पनि प्रविधि क्षेत्रका अर्बपतिहरुको क्लवमा समावेश भइसकेका छन् ।

यहाँ हामी अरबपति क्लवका यीनै सदस्यहरु तपाईंलाई चिनाउँदैछौं । फोब्र्स पत्रिकाको वर्गिकरण र ब्ल्मुबर्ग अर्बपति परिसूचकमा यो रिपोर्ट आधारित छ । सुचीलाई साँघुरो बनाउनका लागि विगत तीन वर्षमा सबैभन्दा धेरै धन कमाउनेलाई छनोट गरिएको छ ।

१. ऋषि शाह

उमेर- ३१ वर्ष
खुद सम्पत्ति- ३.६ अर्ब डलर
कम्पनी- हेल्थ टेक्नोलोजी र्फम ‘आउटकम हेल्थ’
पद- सिइओ

एक चिकित्सकका छोरा हुन् ऋषि साह । नर्थवेस्टर्न बिश्वबिद्यालयका ‘ड्रपआउट’ साहले कलेज बिचमै छाडेर श्रद्धा अग्रवालसँग मिलेर आउटकम हेल्थ स्थापना गरे । आउटकम हेल्थले डाक्टरहरुको कार्यालय र अन्य स्वास्थ्य सेवा प्रदायकहरुमा ट्याब्लेट र ठूला टचस्क्रिन उपकरणहरु बिक्रि गरी ती उपकरणमार्फत् बिरामीलाई बिभिन्न रोगबारे जानकारी दिने गर्छ । ५.६ अर्ब डलरको यो कम्पनीमा साहको ८० प्रतिशत सेयर छ । भारतबाट बसाई सरेका चिकित्सक उपेन्द्र साहका छोरा ऋषिले १० बर्षमै झण्डै साढे ३ अर्ब डलर सम्पत्ति जोड्न सफल भएका छन् ।

२. फ्रान्क वाङ

उमेर- ३७ वर्ष
खुद सम्पत्ति- ३.२ अर्ब डलर
कम्पनी- चाइनिज ड्रोन उत्पादक ‘डिजेआई टेक्नोलोजी’
पोजिसन- संस्थापक, सिइओ

वाङको कम्पनी डिजेआई टेक्नोलोजीले ड्रोनहरु उत्पादन गरेर बेच्दै आएको छ । अहिले यो निकै ठूलो व्यवसाय भइसकेको छ । सन् २०१६ र २०२० का बीचमा कम्पनीले रोबोटिक एयरक्राफ्टमा १ अर्ब डलर खर्च गर्नेछ । गत वर्ष डिजेआइले ड्रोन बजारको ७० प्रतिशत हिस्सा कब्जा गरेको थियो ।

याङले २००६ मा हङकङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजिमा रहेको आफ्नो डोर्मबाट डिजेआई सुरु गरेका थिए । उनी सन् २०१७ मा एशियाकै सबैभन्दा कान्छा प्रविधि क्षेत्रका अर्बपति बनेका छन् ।

३. जान कोउम

उमेर- ४१ वर्ष
खुद सम्पत्ति- ९.७ अर्ब डलर
कम्पनी- म्यासेजिङ एप ‘ह्वाट्सएप’
पद- सिइओ, संस्थापक

गरिब परिवारमा जन्मिएका कोउम १६ वर्षको हुँदा आमासँगै युक्रेनबाट क्यालिफोर्नियामा बसाई सरेका थिए । त्यहाँ उनले हाइस्कुलमा कम्प्युटर टेक्नोलोजिको अध्ययन गरे । निकै संघर्ष गरेर हुर्किएका उनले एउटा कम्प्युटर इन्जिनीयरका रुपमा याहुमा जागिर पाए । याहु छोडेपछि उनले दक्षिण अमेरिकामा समय बिताए र जागिरका लागि फेसबुकमा आवेदन दिए, तर छनोट भएनन् । त्यसपछि उनले ब्रायन अक्टोनसँग मिलेर ह्वाट्सएप लन्च गरे ।

सन् २०१४ मा ह्वाट्सएपले फेसबुकका सिइओ मार्क जुकरबर्गको ध्यान आकृष्ट गर्‍यो । जुकरबर्गले नगद र स्टकको रुपमा २२ अर्ब डलरमा ह्वाट्सएप खरिद गरे । फेसबुकको स्टक मूल्य बढ्यो भने कोउमको पनि खुद सम्पत्ति आकाशियो ।

४. ब्रायन एक्टोन

उमेर- ४५ वर्ष
खुद सम्पत्ति- ५.७ अर्ब डलर
कम्पनी- ह्वाट्सएप
पद- सहसंस्थापक

एक्टोनको करिअरको ठूलो हिस्सा कोउमसँग जोडिएको छ । याहुमा उनले लामो समय कोउमसँगै काम गरे । त्यसपछि उनीहरु दुवैले याहू छोडेर एक वर्षका लागि दक्षिण अमेरिका भ्रमणमा गए ।

दक्षिण अमेरिकाबाट फर्केपछि एक्टोनले फेसबुकमा जागिरका लागि आवेदन दिए तर सफल भएनन् । त्यसपछि उनले कोउमसँग मिलेर ह्वाट्सएपको स्थापना गरे । फेसबुकले सो कम्पनी खरिद गर्दा पनि उनी सँगै गए । तर, गत सेप्टेम्बरमा उनले फेसबुक र ह्वाट्सएप छोडेका छन् र एउटा गैरनाफामुलक संस्था स्थापनामा अघि बढेका छन् ।

५. एडम नेउमान

उमेर- ३८ वर्ष
खुद मूल्य- २.६ अर्ब डलर
कम्पनी- कार्यस्थल उपलब्ध गराउने ‘वी वर्क’
पद- सिइओ, सह संस्थापक

नेउमान सन् २००१ मा इजरायलबाट अमेरिकामा गएका थिए । उनले त्यही बेला लिएको विचारले कालान्तरमा ‘वी वर्क’ को रुप लिन पुग्यो । सुरुमा उनले एउटा घर भाडामा लिएर को-वर्किङ कम्पनी गि्रन डेस्क स्थापना गरे । पछि नोउमान र सह संस्थापक मिगुयल म्याकेलभेइले गि्रन डेस्कको स्वामित्व बेचे र सन् २०१० मा वी वर्क स्थापना गरे । हाल वी वर्कको अमेरिकाभरी ४० शहरमा कार्यालय रहेका छन् । हालै यसको २१ अर्ब डलर मूल्यांकन गरिएको छ ।

६. डेभिड जालिक

उमेर- ४३ वर्ष
खुद सम्पत्ति- २ अर्ब डलर
कम्पनी- वित्तीय प्रविधि प्रदायक ‘ग्रिनस्काई’
पद- सिइओ, सह संस्थापक

अर्का इजरायली नागरिक जालिक ४ वर्षको हुँदा आफ्नो परिवारसँग अलाबमामा सरे । उनी तेज छात्र थिए । १३ वर्षको उमेरमा स्याट कलेजको प्रवेश परिक्षामा सर्वोत्कृष्ट भएका थिए । हाइस्कुल जानुको साटो उनी अउबर्न युनिभर्सिटीमा भर्ना भए ।

तर, ग्राजुयट नगरीकन जालिकले अउबर्न छोडे र आफ्नो व्यवसायीक यात्रा सुरु गरे । उनले माइक्रोटेक नामक एउटा कम्प्युटर एसेम्बल गर्ने कम्पनी स्थापना गरे । उनले १९९६ मा माइक्रोटेक विक्री गरे । केही असफल प्रयासहरुपछि उनले ग्रिनस्काई स्थापना गरे जसले घर निर्माण ठेकेदार, स्वास्थ्यसेवा प्रदायक र अन्य साना व्यवसायहरुलाई उनीहरुका ग्राहकको रकम तिर्न सघाउँछ ।

७. जोन र प्याट्रिक कोलिसन

उमेरः २७ र २९ वर्ष
कुल सम्पत्ति- प्रत्येकको १.१ अर्ब
कम्पनी- अनलाइन पेमेन्ट प्रोसेसर ‘स्ट्राइप’
पद- जोन अध्यक्ष र सह संस्थापक, प्याट्रिक सिइओ र सहसंस्थापक

कोलिसन दाजुभाई आयरल्याण्डको एउटा सानो गाउँमा जन्मिए । प्याट्रिकले १७ वर्षको उमेरमा सेकेन्डरी स्कुलबाट ग्राजुयसन गरे र एमआइटीमा भर्ना भए । केही वर्षपछि जोनले उनलाई अमेरिकामा पछ्याए र हार्वर्डमा भर्ना भए । सन् २००९ मा उनीहरु दुवैले कलेज छाडे र व्यवसाय सुरु गरे, जसले पछि ‘स्ट्राइप’ को रुप लियो ।

आज स्ट्राइपका लिफ्ट, बेस्ट बाई र गुगल जस्ता ग्राहकहरु छन् । सन् २०१६ मा कम्पनीले ९.२ अर्बको मूल्यांकनमा १५ करोड डलर उठायो जसबाट तत्कालै कोलिसन दाजुभाई अर्बपति बन्न पुगे ।

८. लुसी पेङ

उमेर- ४४ वर्ष
खुद सम्पत्ति- १.१४ अर्ब डलर
कम्पनी- मोबाइल भुक्तानी प्रदायक ‘एन्ट फाइनान्सीयल’
पद- कार्यकारी अध्यक्ष

अलीबाबाका १८ जना कोफाउन्डरमध्ये एक थिइन् पेङ । कम्पनीमा उनी धेरै पदहरुमा आसिन थिइन्, जसमध्ये यसको मोबाइल भुक्तानी सेवा ‘अली पे’की सिइओ पनि । जब अली पे अलिबाबाबाट अलग्गियो र एन्ट फाइनान्सीयलमा रुपान्तरण भयो, पेङ यसको प्रमुख बनिरहिन् ।

हालै एन्टको ७४ अर्ब ५० करोड डलर मूल्यांकन गरिएको थियो । पेङ अहिले यसको कार्यकारी अध्यक्ष छिन् । उनी २०१७ को मार्चमा फोब्र्सको अरबपति सुचीमा सामेल भएकी थिइन् ।

९. सातोसी नाकामोतो

उमेर- अज्ञात
खुद सम्पत्ति- अज्ञात
कम्पनी- अज्ञात
पद- अज्ञात

नाकामोतो उनको नक्कली नाम हुन सक्छ । उनी हुन् बिटक्वाइनका रहस्यमय रचनाकार । उनको वास्तविक पहिचानका बारेमा अनेक अड्कलबाजी भएका छन्, तर, कुनै पनि पुष्टी हुन सकेका छैनन् ।

सन् २०१४ मा बिटक्वाइन डेभलपर सर्जियो लर्नरले नाकामोतासँग १० करोड डलर जतिको बिटक्वाइन रहेको अनुमान गरेको थियो । त्यसयता बिटक्वाइनको मूल्य ह्वात्तै बढेकाले नाकामोतोसँग अरबौं डलर बराबरको सम्पत्ति रहेको हुनसक्ने ठानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment