Comments Add Comment

लालबाबु पण्डितको दाबीः शेखर कोइरालालाई ४५ सय मतान्तरले हराउँछु

इटहरी र बिराटनगरलाई जोड्ने पण्डितको एजेण्डा

२७ कात्तिक, विराटनगर । पूर्वसामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मोरङको निर्वाचन नम्बर ६ मा आफ्ना प्रतिद्वन्दी कांग्रेस नेता डा. शेखर कोइरालाई ४५ सय मतान्तरले हराउने दाबी गरेका छन् ।

विराटनगर-१२ मा घरदैलोमा भेटिएका एमाले नेता पण्डितले । अनलाइनखबरसँग कुरा गर्दै आफ्नो जित सुनिश्चित भएको दाबी गरे ।

सधैंझैं पाइजामा, सुरुवाल र स्टकोटको सामान्य ‘गेट अप’मा थिए उनी । मन्त्री बन्दा चर्चा बटुलेका नेतालाई घरदैलोमै भेट्दा मतदाताले पण्डितलाई जिज्ञासु नजरले हेरे र उनका कुरा सुने ।

सांसद र मन्त्री हुँदा पण्डितले निर्वाचन क्षेत्रमा सकारात्मक भूमिका निर्वाह गरेको कतिपय मतदाताको प्रतिक्रिया थियो ।

पण्डितले बाटामा स्थानीय ओमप्रकाश मण्डललाई भेटे । मण्डलले उनलाई सोधे, ‘तपाईं नै हो लालबाबु पण्डित ?’ पण्डिले ‘हो’ भने । र, गाउँमा उनीसँग भेट भएको सुनाउने बताउँदै मण्डल बाटो लागे ।

विराटनगर-१२ मलगुवाका किराना पसले देवनारायण मण्डलसँग भोट मागेपछि पण्डितको टोली खेततिर मोडियो । सय मिटरजति उत्तरतर्फ एक अधबैंसे पुरुष खेत जोतिरहेका थिए । पण्डित उनैतिर अगाडि बढे ।

आफ्नो सामुन्ने मानिसको हुल देखेर उनले गोरु उभ्याए । उनीसँग एक भोटको अपेक्षा गरे, पण्डितले । ती पुरुषले ‘हुन्छ’को इशारामा टाउको हल्लाए । त्यहाँबाट पण्डितको टोली गाउँतिरै मोडियो । खाना खाएर उनी फेरि बा ९ च १२७२ नम्बरको गाडी चढेर सहयोगीसहित बुढीगंगाको कार्यक्रममा सहभागी हुन हुइँकियो ।

बाटोमा एक महिलाले एकाएक उनको गाडी रोकिन् । उनी रहिछन्, इटहरी-३ की गीता खनाल, एमालेको संगठित सदस्य । र, नजिक आएर पण्डितलाई शुभकामना दिइन् । साथमा रहेकी सुन्दर हरैंचा-३ की शकुन्तला गुरागाईंलाई पनि पण्डितसँग परिचय गराइन् ।

उनी कार्यक्रमस्थल पुग्दा कार्यकर्ताहरु रुखमा माइक बाँध्दै थिए । माओवादी कार्यकर्ता कपिल सुनुवारले उनलाई आफ्नो घर लिएर गए ।

छिमेकी श्रीप्रसाद भट्टराई उनलाई भेट्न सुनुवारकै घरमा आए । र, आफू एमाले नेता विशाल भट्टराईको काका भएको बताए ।

पुनः कार्यक्रमस्थल आएर उनले मैथिली भाषामा स्थानीय ऋषिदेव समुदायको उत्थानमा सधैं कटिबद्ध हुने बताए । उक्त कार्यक्रममा कांग्रेस उम्मेदवार डा. शेखर कोइरालालाई पनि निम्त्याइएको रहेछ । उनी आइनपुगेपछि पण्डित सुन्दर हरैंचा-६ को संयुक्त वडा भेलामा भाग लिन उतै लागे ।

वडा भेला सकिएपछि उनको गाडी सुन्दर हरैंचा-३ गछियाको कार्यक्रममा सहभागी हुन त्यतै मोडियो । त्यहाँ ज्येष्ठ नागरिक कुलकुमार खनालले पण्डितसँग कांग्रेस पार्टीको प्रवृत्तिबाट बिरक्तिएको बताउँदै उनलाई भोट दिने आश्वासन दिए । र, छिट्टै एमालेमा प्रवेश गर्ने बताए ।

हालै मृत्यु भएका एमाले कार्यकर्ता दीनानाथ ढकालको घरमा पुगेर पण्डितले उनका छोरा-बुहारीसँग केहीबेर कुराकानी गरे अनि समवेदना पत्र हातमा थमाए । यति गरिसकेपछि उनको गाडी विराटनगरतिर हुइँकियो ।

वाम गठबन्धनका उम्मेदवार लालबावु पण्डितसँग घरदैलो कार्यक्रममा अनलाइखबरले गरेको कुराकानीको छोटो अंश-

कस्तो भइरहेको छ, घरदैलो अभियान ?

समय थोरै भएकाले व्यवस्थापन गर्न गाह्रै छ । अन्तक्रिर्या र छलफलका लागि समय मिलाउन गाह्रो भइरहेको छ । राम्रो समर्थन पाइरहेको छु र उत्साह जागेको छ ।

सबै मतदातासमक्ष पुग्न भ्याइन्छ त ?

सकेसम्म धेरै मतदातामाझ पुग्छौं । प्रदेशका पनि उम्मेदवार हुनु भएकाले कतिपय ठाउँमा बाँडिन्छौं पनि । घरदैलो र भेटघाट एकसाथ अगाडि बढाएको छु ।

मतदाताको मनस्थिति कस्तो पाउनुभएको छ ?

धेरै वर्षपछि चुनावी मैदानमा उत्रिएको छु । विगतमा उम्मेदवार बनेकाहरुले केही काम नगरेकाले मतदातामा अविश्वास पाएको छु । केही मतदाता आशावादी पनि पाएको छु ।

मन्त्री हुँदा मैले गरेको कामबाट मतदाताको सकारात्मक दृष्टिकोण र सद्भाव पाएको छु ।

यो क्षेत्रका लागि तपाईंका एजेन्डाहरु के हुन् ?

राष्ट्रको समृद्धि र सुखी नेपाली । विराटनगरलाई प्रादेशिक राजधानी बनाउने । र, समृद्ध विराटनगर बनाउने मेरो योजना छ । विराटनगर र इटहरीलाई जोडेर बृहत्तर नगर बनाउने योजना पनि छ । औद्योगिक नगर भएकाले विराटनगरमा उद्योगको विकासमा पनि जोड दिने मेरो योजना छ ।

जित्नेमा कत्तिको आशावादी हुनुहुन्छ ?

चुनाव जित्नेमा पूर्ण आशावादी छु । मेरो क्षेत्रमा चुनावी प्रतिस्पर्धामा उत्रिएका कांग्रेस नेता डा. शेखर कोइरालालाई म ४५ सय मतान्तरले पराजित गर्छु भन्ने लागेको छ । सामान्य प्रशासन मन्त्री हुँदा मैले गरेका काम नै मेरो जितका आधार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment