Comments Add Comment

चुनावी सुरक्षाका लागि इजाजतप्राप्त हतियारको खोजी

पाँच दिनभित्र प्रहरीलाई बुझाउन निर्देशन


२८ कात्तिक, वीरगञ्ज । पर्सा प्रशासनले पाँच दिनभित्र इजाजतप्राप्त हतियार बुझाउन सर्वसाधारणलाई निर्देशन दिएको छ ।

१० र २१ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै प्रशासनले हतियार बुझाउन आग्रह गरेको हो ।

कात्तिक मसान्तभित्र सबै हतियार संकलन गरिसकिने प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले बताए ।

प्रशासनका अनुसार पर्सामा इजाजत लिएका सात सय ७२ थान हतियार सर्वसाधारणसँग छन् । तीमध्ये गत वर्ष तीन सय ९९ थान हतियारधनीले नवीकरण गराएका छैनन् ।

सर्वसाधारणसँग १२ बोरको बन्दुक पाँच सय ८२, २२ बोरको एक सय सात, भरुवा एक, एयर गन १६, पेस्तोल ११, रिभल्वर दुई र अन्य हतियार ५३ थान इजाजतप्राप्त हतियार छन् ।

तीमध्ये १२ बोरको बन्दुक तीन सय तीन, २२ बोरको एक सय सात, एयर गन १०, रिभल्बर एक र अन्य हतियार २५ गरी तीन सय ९९ थान हतियारको नवीकरण भएको छैन ।

कतिपय हतियार पूरानो भएर नष्ट भइसकेको हुनसक्ने अधिकारीहरुको अनुमान छ ।

स्थानीय तह निर्वाचन क्रममा दुई सय १५ थान हतियार संकलन गरिएको थियो । खुला सीमाका कारण भारतबाट पनि अवैध हातहतियार भित्रिने जोखिमका कारण भारतीय समकक्षी अधिकारीहरुसँग बैठकको तयारी भइरहेको प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment