Comments Add Comment

पोखरीयाबासी भन्छन्– विकास गर्नेलाई भोट


२८ कात्तिक, वीरगञ्ज । देश संघीयतामा गएपछि ‘गाउँ गाउँमा सिंहदरबार आउँछ’ भन्ने सुनेका पर्साको पोखरीया नगरपालिकाका बासिन्दाहरु नगरमा इलाकास्तरीय कार्यालयहरु खोजिरहेका छन् । स्थानीय तहको निर्वाचन भइसकेको भएपनि नगरमा खासै परिवर्तनको अनुभूति नगरेको बताउने उनीहरु स–साना कामका लागि सदरमुकाम वीरगञ्ज धाउनुपर्दा हैरान छन् । जिल्लाको दोस्रो सदरमुकाम भनेर परिचय दिएपनि पोखरीयाको विकासका लागि कसैले केहि नगरेको गुनासो स्थानीय बासिन्दाको छ ।

स्थानीय तहको निर्वाचनबाट पोखरीया नगरपालिकाको मेयरमा २९ वर्षीय ठिटो दिपनारायण रौनियारलाई जिताएका पोखरीयाबासी विगतमा जितेर गएका राजनीतिक नेतृत्वले नगरको विकासमा भन्दा पनि व्यक्तिगत स्वार्थपूर्तिमा समय बिताएको बताउँछन् । दुईजना पूर्वसभासदलाई नरोजेर पोखरीयाबासीले नेपाल संघिय समाजवादी पार्टीका रौनियारलाई प्रमुख र ३० वर्षीया सल्मा खातुनलाई उपप्रमुखमा जिताएका थिए ।

जिल्लाको मध्य भागमा पर्ने भएकाले सदरमुकाम नै पोखरीया हुनुपर्ने तर्क राख्नेहरु पनि पोखरीयामा थुप्रै भेटिन्छन् । उनीहरु भन्छन्– जिल्लाको पूर्वमा बाराको सिमानासँग जोडिएको वीरगञ्ज सदरमुकाम छ, जिल्लाको सिमाना पश्चिममा ठोरीसम्म फैलिएको छ । सबैतिर मध्य भागमा पर्ने पोखरीया नै जिल्लाको सदरमुकाम हुनुपर्ने हो ।

विकासको नाममा धेरै वर्षपछि बल्ल–बल्ल पोखरीया नगरपालिकामा पीच सडक पुगेको छ । त्यस बाहेक उल्लेख्य विकासका कामहरु केहि पनि नभएकोे पोखरीया नगरपालिका ४ पोखरीयाका २३ वर्षीय दिनानाथ साह तेली गुनासो गर्छन् । ‘पोखरीया अस्पतालको भवन मात्रै स्तरीय छ, नगरमा बनेको खानेपानी ट्याङ्की प्रयोगमा आउन सकेको छैन,’ दिनानाथले भने ।

पोखरीया नगरपालिका वडा नम्बर १ का किसान ४५ वर्षीय प्रमोद गिरी पनि पोखरीयाको विकासका लागि कसैको ध्यान नगएको गुनासो गर्छन् । ‘अस्पताल छ, डाक्टर छैन, नगरपालिकामा एउटा क्याम्पस पनि खुल्न सकेको छैन । धनीका छोराछोरी त जहाँ गएर पनि पढ्छन् । शहरमा गएर पढ्न नसक्ने अवस्थामा रहेका जिल्लाको पश्चिमी क्षेत्रका गरिब परिवारका छोराछोरी उच्च शिक्षाबाट वञ्चित छन्,’ उनी भन्छन्, ‘यसमा खै कसैको ध्यान पुगेको छैन । चुनावको बेला आएर अनेक आश्वासन दिएर जान्छन्, पछि विर्सन्छन् ।’


सँगै बनेका शहरहरुमा विकासले फड्को मारेको बताउने उनी पोखरीयाको विकास नभएकोमा राजनीतिक नेतृत्वलाई नै दोषी ठान्छन् । दक्षिणमा पोखरीयादेखि सीमावर्ती भारतीय शहर भेलाहीसम्म र उत्तरमा पोखरीयादेखि भाथा धामसम्म सडक निर्माण गरी कालोपत्रे गर्न सके पोखरीयाको मुहार फेरिने दावी उनको छ । ‘पोखरीयाको विकास भएपछि मात्रै जिल्लाको विकास हुन्छ । यसमा नेतृत्वको ध्यान पुग्न सकेको छैन,’ गिरी भन्छन्, ‘नगरमा एउटा बहुमुखी क्याम्पस भए ग्रामिण क्षेत्रका किसानका छोराछोरीहरुले पनि उच्च शिक्षा सजिलै पाउँछन् ।’

पोखरीयाकै ४० वर्षीय राजकुमार राम पोखरीयाबाट विस्थापित भएका बैंकहरुको पुनःस्थापना हुन नसक्दा सास्ती भोग्नुपरेको सुनाउँछन् । ‘तत्कालिन माओवादीको सशस्त्र द्वन्द्वकालमा विस्थापित भएका सरकारी बैंकहरु अझै पुनःस्थापित हुन सकेका छैनन् । कृषि विकास बैंकको शाखा आएपनि राम्रोसँग सेवा दिइरहेको छैन । ऋण लिनका लागि किसानहरु अझै सदरमुकाम नै धाउनुपर्छ । वाणिज्य बैंकको अत्तोपत्तो छैन,’ उनी भन्छन्, ‘मालपोत, नापी, जिल्ला प्रशासन कार्यालयको इलाकास्तरीय कार्यालयहरु स्थापना भइदिए सहज हुन्थ्यो ।’

पोखरीया अस्पतालमा जिल्ला अस्पताल सरहको सेवा सुविधा र दक्ष चिकित्सकबाट सेवा प्रदान हुनुपर्ने माग राजकुमारको छ ।

पोखरीयाको मुख्य बजारमै भेटिएका ४५ वर्षीय प्रयाग गिरीको चाहाना नगरपालिकालाई कर तिरे अनुसारको सेवा पाइयोस् भन्ने छ । नगरमा नाला, सडक र बत्तीको व्यवस्था प्रभावकारी हुनुपर्ने र विकास गर्नेलाई चुनावमा जिताउने उनको योजना छ । ‘नगरमा इलाका कार्यालयहरु स्थापना हुनुपर्‍यो, बजारलाई व्यवस्थित बनाउनुपर्‍यो, अस्पतालमा चौबिसै घण्टा चिकित्सकीय सेवा हुनुपर्‍यो, विद्यालयमा राम्रो शिक्षक चाहियो,’ उनी भन्छन्, ‘यसपटकको चुनावमा यस्तै काम गर्न सक्ने नेतालाई चुन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment