Comments Add Comment

एमाले-माओवादीप्रति राजमोको टिप्पणी- तेल दिँदा नखानी, कोल चाट्नी !

'वाम तालमेलबाट कसैले कपाल दुखाउनु पर्दैन'

२८ कात्तिक, दाङ। वाम गठबन्धनले बाग्लुङ र प्यूठान बाहेकका जिल्लामा पनि सघाइदिन आफूलाई आग्रह गरेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले खुलासा गरेका छन् । थोरै भोटले हार्ने देखेर जनमोर्चालाई उम्मेदवारी फिर्ता लिएर सघाइदिन एमाले र माओवादीले आग्रह गरेको अध्यक्ष केसीको भनाइ छ ।

मंगलबार दाङको घोराहीमा आयोजित पत्रकार भेटघाटमा केसीले अहिले एमाले र माओवादीले ‘तेल दिँदा नखाने, कोल चाट्ने’ भन्ने नेपाली उखान जस्तै व्यवहार देखाएको टिप्पणी गरे ।

उनले भने, ‘प्रचण्डले र केपी ओलीले तपाईंहरुको खाँचो बाग्लुङमा मात्रै हो अन्त सजिलै जित्छौं, अन्तको कुरा अहिले नगरौं भन्नुभयो । त्यसको केही दिनपछि त मलाई फोन गर्न थाल्नुभयो- डडेलधुरा यस्तो हुनेभयो, डोटी यस्तो हुनेभयो, कैलाली यस्तो हुनेभयो, अर्को ठाउँ यस्तो हुनेभयो । तेल दिँदा नखानी, कोल चाट्नी भनेको त्यही हो हेर्नुस् ।’

राष्ट्रिय जनमोर्चासँग बाग्लुङ र प्युठान बाहेक अन्य जिल्लामा तालमेल नगरेर अहिले एमाले र माओवादी पछुताएको केसीको टिप्पणी थियो ।

पत्रकार सम्मेलनमा उनले भने, ‘एमाले र माओवादीलाई राष्ट्रिय जनमोर्चालाई मद्दत गरेर, संसदमा पुर्‍याएर, प्रदेशमा पुर्‍याएर बास्तवमा बेफाइदा हुने थिएन । उहाँहरुले नेकपा संयुक्त केही नगरी माओवादीमा बिलाइहाल्यो, मालेका एमालेमा भटाभट गए, कोही कांग्रेसमा गए । राष्ट्रिय जनमोर्चा पनि साटसुट्टै गइहाल्छ यता र उता भनेर हिसाब गर्नुभयो कि कस्तो हिसाब गर्नुभयो, उहाँहरुको र मेरो कुरा मिलेन ।’

वाम तालमेलको  स्वागत

चुनावी तालमेल र एमाले-माओवादीको पार्टी एकता गर्ने तयारीलाई आफूले स्वागत गरेको पनि केसीले बताए । ‘अहिले चुनावी एकता र पछि पार्टी एकताको जुन कुरा गरेका छन् एमाले र माओवादीले, त्यसलाई हामीले समर्थन गरेका छौं, स्वागत गरेका छौं,’ केसीले भने ।

वाम तालमेलबाट नतर्सिन उनले कांग्रेसलाई सुझाव दिए । केसीले भने, ‘यसमा कसैले त्यतिका कपाल दुखाउनुपर्छ जस्तो लाग्दैन । जसको नीति मिल्छ, सिद्धान्त मिल्छ, व्यवहार मिल्छ, रहनसहन मिल्छ, भान्साकुन्सा मिल्छ भने बेग्लाबेग्लै बस्नुको आवश्यकता पनि छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment