Comments Add Comment

घरदैलोमा सुरेन्द्र पाण्डेको प्रश्नः आमा वृद्धभत्ता लिनुभयो ?

मतदाता- खेती गर्न सकिएन, पाण्डे- वृद्धभत्ता ५ हजार पुग्छ

२८ कात्तिक, चितवन । एमाले नेता सुरेन्द्र पाण्डेले दोस्रो संविधानसभा निर्वाचनपछि भनेका थिए, ‘हरेक जनताको घरदैलोमा पुगेर मत माग्नु असाध्यैं गार्‍हो काम हो ।’ तर, सबै उम्मेदवारहरुले यही शैली अपनाएपछि नेता पाण्डेले पनि पुरानै तरिकाको घरदैलोलाई निरन्तता दिएका छन् यसपटक ।

अहिले नेता पाण्डे भन्छन्- ‘जनताले आफ्नो नेता घरदैलोसम्म आइदियोस् भन्नु स्वाभाविक हो । जनताका लागि नेता एकजना हो, तर नेताका लागि सबै ठाउँमा पुग्नु चानेचुने कुरा पक्कै पनि होइन् ।’

दोस्रो संविधानसभा निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं १ को घरदैलोमा ‘लोत’ परेका नेता पाण्डेलाई यसपटक थपिएको क्षेत्रमा समेत घरदैलो गर्नुपर्ने थप वाध्यता आइलागेको छ ।

भर्खरै मात्र घरदैलो शुरु गरेकाले जोश र जाँगर भने नेता पाण्डेमा निकै देखिन्छ । निर्वाचन क्षेत्रभरिका वडा कार्यालयको उद्घाटनदेखि घरदैलो, सभा र भेटघाटले उनको दैनिकी निकै व्यस्त छ ।

कात्तिक १६ गते उम्मेदवारी दर्तापछि चितवनमा नै बसेर निर्वाचन प्रचार प्रसारमा खटिएका पाण्डेले उम्मेदवारी दर्ताअघि वाम गठवन्धनको उम्मेदवार छनौट कार्यदलका सदस्य भएर निकै नै चुनौतीपूर्ण काम फत्ते गरे । एमाले र माओवादी पार्टीका शीर्ष नेताले दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेका उनी सन्तुष्ट छन् ।

चितवनको निर्वाचन क्षेत्र नं १ विस्तार भएकाले सकभर सबै ठाउँमा र हरेक जनताको घरघरमा यसपटक पनि पुग्ने लक्ष्य पाण्डेको छ ।

विकट पहाडी ४ वटा वडाहरुमा भने घरदैलो गरेर जनताको मत माग्न नसकिने र समयसमेत उपलब्ध नहुने नेता पाण्डे बताउँछन् । ‘एक घरबाट अर्कोघरसम्म जाँदा नै दिन बित्छ, जनतालाई एकै ठाउँमा बोलाएर सभा गर्ने सोच बनाएको छु’ नेता पाण्डेले भने ।

अनलाइनखबरको टोलीले पछ्याउँदा पाण्डे खैरहनी नगरपालिका वडा नं ५ को वडा कार्यालय उद्घाटन कार्यक्रममा भाषण गरिरहेका थिए । सडक वारि र पारि जम्मा भएर बसेका स्थानीयलाई विकास र समृद्धिका योजना सुनाउँदै थिए नेता पाण्डे ।

खैरहनी नगरपालिकामा १ सय बेडको वाल अस्पताल सञ्चालन गर्ने, तटवन्ध र बाढी नियन्त्रणका जस्ता मुद्दालाई उनले त्यहाँको चुनावी एजेण्डा बनाएका रहेछन् ।

पाण्डेको सम्वोधनपछि प्रदेश क्षेत्र (ख) का उम्मेदवार कृष्ण खनाल र निर्वाचन परिचालन समितिका संयोजक जेएन थपलियालाई कार्यक्रमस्थलमा नै छाडेर पाण्डे रत्ननगर नगरपालिकाको उत्तरी क्षेत्रतर्फ लागे ।

झण्डै १५ मिनेटभन्दा बढी कतै कच्ची त कतै पीच गरिएको सडकमा हामीले पाण्डेलाई पछ्यायौं । उनको गाडीले उडाएको धुलोले अनुहार र लुगा नै ढाक्यो । रत्ननगर नगरपालिकाको वडा नं १६ मा संयुक्त वामगठवन्धनका कार्यकर्ताहरु पाण्डेलाई कुरेर बसिरहेका थिए ।

गाडीबाट झरेर स्थानीय कार्यकर्तासँग केही सल्लाहपछि नेता पाण्डे एक कार्यकर्ताको मोटरसाइकल चढेर घरदैलोमा निस्किए ।

पाण्डेले यो क्षेत्रमा पुरानै प्रतिस्पर्धी राजेन्द्र बुर्लाकोटीलाई लोकतान्त्रिक गठवन्धनबाट उम्मेदवार पाएका छन् । गोलाकारभित्रको हँसिया हथौडा र सूर्यको झण्डा बोेकेका झण्डै ४० जनाजति कार्यकर्ता पाण्डेका साथमा थिए । माओवादी र एमालेका कार्यकर्ताको बराबरी जस्तो सहभागिता पाण्डेको घरदैलोमा देखिन्थ्यो ।

बुङबुङ धूलो उडेको समयमा चर्किएको घामले पाण्डे असीन पसीन देखिन्थे । तर, घरदैलोको उनको गति भने कम थिएन ।

घरदैलोकै क्रममा सोही क्षेत्रको प्रदेश -ख)का उम्मेदवार कृष्ण खनाल पनि आइपुगे । वडा नं १७ को मिलीजुली चोकनजिक एक सानो छाप्रोभित्र नमस्कार गर्दै पाण्डे भित्र पसे । एक वृद्धा आमासहित केही महिलाहरु त्यहाँ जम्मा थिए । मुडामा बसेर पाण्डेले भलाकुसारी शुरु गरे । वृद्धा आमा मनु सारुमगरलाई नेता पाण्डेले भने ‘आमा वृद्धभत्ता लिनुभयो ?’ उनले ‘अँ’ भनेर मुन्टो हल्लाइन् । नेता पाण्डेले अगाडि थपे ‘कुन पार्टीले दिएको थाहा छ ?’ उनले भनिन्- ‘एमालेले ।’

मनुकुमारीले आफ्नो घर अगाडिको धुलाम्य सडक देखाउँदै भनिन् ‘यो सडक पिच गर्दिनेलाई भोट दिने हो । असाध्यै धुलो छ, हिँडीसाध्य छैन ।’ नेता पाण्डेले निर्वाचनपछि सडक निर्माण अघि बढाउने आश्वासन दिए ।

०००

अलि अगाडि चोक नजिकै दुई जना वृद्धवृद्धा भएको ठाउँमा पुग्यो नेता पाण्डेसहितको भोट माग्ने टोली । उनीहरुलाई नमस्कार गर्दै पाण्डेले परिचय दिए र भोट मागे ।

सँगै रहेका एमालेका स्थानीय नेता चन्द्रकान्त न्यौपानले पाण्डेका बारेमा केही बखान गरे । ‘अब उहाँ मन्त्री भएपछि वृद्धभत्ता ५ हजार पुग्छ’ न्यौपानेले थपे ।

वृद्ध मध्येका एक भूवनेश्वर न्यौपानले आफ्ना गुनासा पाण्डेसँग पोखे । ६५ वर्षीय न्यौपानले भने ‘जितेर गएपछि पनि अनुहार देख्न पाइयोस् ।’ नेताका लागि यो भन्दा ठूलो व्यंग्य अरु केही हुँदैन । पाण्डेले जवाफ दिए, ‘म यस्तो नेता हुँ, हरेक हप्ताजस्तो आफ्नो निर्वाचन क्षेत्रमा आउँछु । पहिला मेरो यो निर्वाचन क्षेत्र थिएन, अहिले मेरो क्षेत्र भयो, अब देख्नुहुन्छ ।’

भुवनेश्वरका अरु पनि गुनासा थिए ‘महंगीले आकाश छोयो, गरेर खान सकिँदैन, के गर्ने ? भएको १ विगाहा खेत पनि यसै बर्षदेखि गर्न सकिएन ।’
पाँच हजार वृद्धभत्ता बनाएपछि केही राहत हुने नेता पाण्डेले जवाफ फर्काए ।

पाण्डेको टोली अघि बढेपछि हामीले सुकुक्कै न्यौपानेलाई सोध्यौं- ‘यसपटक भोट कता दिने विचार गर्नुभएको छ बुबा ?’ उनले हातको चोर औंला आकाशतिर देखाए । पहिलादेखि नै हो कि यसपटक मात्रै ? दोस्रो प्रश्न सोध्न नपाउँदै न्यौपानेले भने ‘पुराना कुरा किन चाहियो ?’

मिलीजुलीचोकबाट केही अघि एक पसलमा पुगे एमाले नेता पाण्डे । नमस्कार गर्दै पुगेका पाण्डेलाई देखेपछि पसलमा बसेका एक अधवैंशे पुरुषले भने- ‘उहाँलाई त टीभीमा देखेकै, चिनिराखेेकै मान्छे हो । मेरो भोट फरक पर्दैन ।’

सटिक जवाफ पाएपछि खुसी बनेका पाण्डे अझै अगाडि बढे ।

चितवनको निर्वाचन क्षेत्र नं १ को दुवै प्रदेशसभा क्षेत्रमा एमालेकै उम्मेदवार छन् । माओवादी केन्द्रको तर्फबाट प्रतिनिधिसभा र प्रदेश क्षेत्रबाट उम्मेदवार छैनन् । आफ्नो पार्टीका उम्मेदवार नभए पनि पाण्डेको प्रचार प्रसार र परिचालनमा कुनै कमी हुन नदिएको माओवादी केन्द्रका केन्द्रीय महाधिवेशन आयोजक कमिटिका सदस्य हुतराज पन्तले अनलाइनखबरसँग बताए । पन्त सोही वडाका स्थानीय हुन् ।

पन्तले भने- ‘हाम्रो उम्मेदवार नहुँदा खुम्चिएर बसेका छैनौं । कतै उम्मेदवारहरुलाई यस्तो अनुभूति हुन्छ कि भनेर हामी त झनै लागेका छौं । अब पार्टी नै एउटै भएपछि उहाँहरु नै हाम्रो उम्मेदवार हो ।’

०००

मिश्र चोकमा पुगेपछि पाण्डेसँग भलाकुसारी गर्ने मौका मिल्यो । सानो सानो कोणसभा जस्तै त्यहीँ नै भयो । वरपर मानिसहरु झुम्मिए । र, ध्यानपूर्वक नेता पाण्डेका कुरा सुने ।

यसपटकको घरदैलो कार्यक्रममा साविक निर्वाचन क्षेत्र नं १ मा भन्दा थपिएको २ नम्बर क्षेत्रमा केन्दि्रत गर्ने सोच उनले बनाएका रहेछन् । पाण्डेले भने- ‘म पहिला विजयी भएको क्षेत्रमा मेरो खास समस्या छैन । त्यहाँका जनतासँग त मेरो हप्तैपिच्छे भेटघाट हुन्छ ।’

एमाले नेता पाण्डेले अगाडि भने- ‘उहाँहरुका ठूला गुनासा पनि छैनन्, कारण के हो भने मैले जनताको काम गरेको छु । सुखदुःखमा साथ दिएको छु । त्यसैले यो थपिएको नयाँ क्षेत्रमा नै यसपटक बढी केन्दि्रत बन्नु छ ।’

नेता पाण्डेले अनलाइनखबरसँग भने- ‘मेरो निर्वाचनक्षेत्रको विकास त म गरिहाल्छु, तर देशका लागि नै कस्तो आर्थिक विकास र समृद्धिको योजना बनाउने भन्नेमा मेरो विषेश ध्यान छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment