Comments Add Comment

ट्रकले अपांग बनाएपछिको पीडालाई जसले बदले उद्यमीको अवसरमा

एउटै हातले मोटरसाइकलमा राजधानी पुग्छन्, राजेन्द्र परियार

एउटा हातले मोटरसाइकल चलाउँदै अगरबत्ति बिक्री गर्न हिँडेका राजेन्द्र परियार ।

२८ कात्तिक, सिमरा । पर्साको रंगपुर टाँडी हो, राजेन्द्र परियारको स्थायी बसोवास । उनी एक दिन बाराको एक रेडियोमा भेटिए । विज्ञापन गर्न आएका रहेछन् । उनको एक हात थिएन तर पनि पल्सर मोटरसाइकल हाँकेर आएका थिए ।

एउटै हातले मोटरसाइकल हाँक्ने उनको क्षमता आफैंमा अनौठो थियो । संवाददाताको जिज्ञासामा परियारले आफ्नो जीवन कहानी बताए ।

३८ वर्षमा हिँडिरहेका उनी कुनै समय ट्रकमा खलासी गर्दा रहेछन् । सोही क्रममा उनलाई एक दिन करेन्ट लाग्यो, जसले उनको जीवन यात्रा नै मोडिदियो ।

घरको आर्थिक अवस्था कमजोर भएकैले उनी खलासी बनेका थिए । हरेक साँझ घर फर्किंदा उनको हातमा तीन सय रुपैयाँ हुन्थ्यो । नुन, तेल किन्दा र मदिरा सेवनमै सकिन्थ्यो, कमाएको पैसा ।

एक दिन ट्रकमा पराल लोड भयो, परालमाथि बसेर गन्तव्यतर्फ जाँदै गर्दा हाइभोल्टेज लाइनमा सर्ट भएर आगलागी भयो । उनले हाम फालेर ज्यान बचाए । तर, उनको हात बचेन ।

आगोले शरीरमा पनि डाम बस्यो । साहुले उपचार त गरिदिए तर हात गुमाउनु परेकाले जागिरबाट बाहिरिनुको विकल्प भएन ।

जसरी पनि जीवनयात्रा चलाउनै पर्थ्यो । त्यसैले ०६० सालमा वीरगञ्जमा ठेलामा राखेर फलफूल बिक्री गर्न थाले । पाँच हजार रुपैयाँमा शुरु गरेको व्यवसायबाट परिवार धान्न मुस्किल पर्‍यो ।

उनको पाँच हजार पानीमै गयो, एक हजारमा ठेला बेचिदिए । त्यसपछि गाउँमै मदिराको व्यवसाय थाले । नजिकको गाउँबाट ५० रुपैयाँमा ल्याएर पाँच बोतल घरेलु रक्सीमा सय रुपैयाँ नाफा हुन्थ्यो ।

त्यसबाट घरखर्च चल्न थालेपछि होटेल खोले । होटेलमा रक्सी र कुखुराको मासु बिक्री गर्दा दैनिक तीन सय रुपैयाँ नाफा हुन्थ्यो । तर, मदिरामा लठ्ठएिर ग्राहकले मुखबाट ओकल्ने गाली र अपशब्दका कारण पत्नी र बालबच्चालाई नजिक राखिनसक्नु हुन्थ्यो ।

त्यसैले ०६६ सालमा होटेल छाडेर वीरगञ्जबाट ल्याएको खुला अगरबत्ति घर-घर पुग्दै बिक्री गर्न थाले । अगरबत्तिबाट फाइदा हुने देखेर ऋण गर्दै मेसिन ल्याए र आफैंले उद्योग खोले ।

परियारको रोहिणी ब्रान्डको अगरबत्ति स्थानीय बजारमा पाइन्छ । उद्योगमा ६ जनालाई रोजगारी दिएका छन् । पत्नी भगवती पनि उद्योगमै काम गर्छिन् ।

जेठी छोरी कक्षा ९ र कान्छो छोरा २ मा स्थानीय बोर्डिङ स्कुलमा पढ्छन् । छोरीसँग सिकेर परियार पनि अहिले आफ्नो नाम लेख्न सक्ने भएका छन् ।

उत्पादित अगरबत्ति जनकपुरदेखि बुलवल र राजधानीसम्म पुर्‍याउँछन्, एक हातले मोटरसाइकल चलाएर ।

‘अब त एउटै हातले बाइक चलाउन बानी पारें,’ उनले भने, ‘समयले सबै कुरा सिकाउँदो रहेछ ।’

अहिले वार्षिक करिब तीन लाख आम्दानी गर्छन् । पाँच कठ्ठा जमिन पनि जोडिसकेका छन् ।

‘अहिले त राम्रो छ, धेरै दुःख गरियो,’ उनकी पत्नी भगवतीले भनिन् ।

परियारलाई अंशमा पाँच धुर जग्गा परेको थियो । अहिले आफ्नै मिहिनेतले खेत पनि जोडेका छन् ।

उनका दुई दाजुभाइ अहिले पनि गाउँमा कमाएको पैसा रक्सीमै सकिरहेका छन् । दुर्घटनामा परेपछि उनले भने रक्सी पिउन छाडिदिए । विपन्न वर्गका लागि रक्सी दुश्मन भएको ठान्छन्, उनी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment