Comments Add Comment

मानवतस्करको नयाँ रुटः युरोप छिर्न समुद्री डुंगामा जोखिमपूर्ण यात्रा

फाइल तस्वीर

१४ नोभेम्बर, स्पेन । अफ्रिकी मूलका आप्रवासीहरुले जोखिम मोल्दै अवैध रुपमा युरोप छिर्न प्रयोग गर्ने समुद्री मार्गलाई नेपाली मानव तस्करले पनि प्रयोग गर्न थालेको खुलासा भएको छ ।

लिबियादेखि समुद्री बाटो हुँदै डुंगामा जोखिम मोलेर १२ नेपाली नागरिक दुई साताअघि इटाली पुगेपछि उक्त तथ्य सार्वजनिक भएको हो ।

हवाई र स्थल मार्ग हुँदै यसअघि युरोप प्रवेश गर्ने गरेको भेटिएको थियो । जलमार्गको जोखिम पनि नेपालीले उठाउन थालेको पछिल्लो घटनाबाट पुष्टी भएको छ ।

‘ट्युबको डुंगामा एक सय २० जनालाई राख्दा ओभरलोड भएर पानी पस्यो । हामीले बाँच्ने आशा गुमाइसकेका थियौं,’ म्याग्दी स्थायी घर बताउने नेपाली युवकले भने, ‘ठूलो जहाज चढाएर युरोप पुग्ने आश्वासन पाएका थियौं तर अफ्रिकी आप्रवासीहरुसँगै जोखिमपूर्ण यात्रा गर्‍यौं । गुहार मागेपछि उद्दारमा खटिएका डुंगाहरुले बचाए ।’

सोही डुंगामा अचेत भेटिएका करिब ३६ वर्षीय नेपाली युवकको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

इटालीसमेत कार्यक्षेत्र रहेका स्विट्जरल्यान्डस्थित नेपाली राजदूत दीपक धितालले युवकको मृत्युबारे खबर प्राप्त भए पनि पुष्टि भइनसकेको बताए । ‘इटालीस्थित नेपाली कन्सुलरबाट खबर आएको छ । थप जानकारीका लागि प्रयास गरिरहेका छौं,’ धितालले भने ।

१२ नेपालीमध्ये दुई जना अझै इटालीस्थित शरणार्थी शिविरमा छन् । यात्राका क्रममा खुट्टामा चोटग्रस्त एक युवकले भने, ‘एक सातासम्म घिस्रेरै ट्वाइलेट पुग्यौं ।’ उनका अनुसार दुई नेपालीसहित शिविरमा अहिले २३ जना छन् । अन्य नेपाली युवाको अवस्थाबारे जानकारी नभएको उनले बताए ।

उनीहरुलाई युरोप प्रवेश गराउन दुबई, लिबिया हुँदै इटालीको रुट प्रयोग गरिएको थियो । त्यसका लागि जनही १३ लाख रुपैयाँ नेपालमै बुझाएका थिए । ‘इटाली पुगेर महिनामै १५ देखि १७ सय युरोसम्म कमाइन्छ, कार्ड बन्छ भन्ने प्रलोभनमा पारेर नेपालीले नै झुक्याए, कमाउनु त परको कुरा, मुश्किलले बाँचियो,’ पीडितले भने ।

नेपालका कन्सुलर पालुयो नुगारीलाई सम्पर्क गरेर प्रहरीले घटनाबारे जानकारी गराइसकेको एनआरएनए इटालीका अध्यक्ष दिपेश रेग्मीले बताए । ‘आधिकारिक जानकारी प्राप्त हुन ढिलो भयो, शव व्यवस्थापनका लागि छलफल भइरहेको छ,’ उनले भने । उनका अनुसार मृतकको शव इटालीस्थित रेजोकालाब्रिया राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment