Comments Add Comment

देउवाले बोलाउँदा किरण कोइराला गइनन् !

२८ कात्तिक, नेपालगञ्ज । आसन्न प्रदेश र प्रतिनिधिसभा चुनावको प्रत्यक्ष र समानुपातिक उम्मेदवार छनोटलाई लिएर बाँके कांग्रेसमा देखिएको असन्तुष्टि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासामू छताछुल्ल भएको छ ।

सुरक्षा गोष्ठीमा सहभागी हुन गृह मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका प्रधानमन्त्री एवं कागंग्रेस सभापति देउवा नेपालगञ्ज पुगेका थिए ।

तर, देउवाले विमानस्थलदेखि पार्टी कार्यालय भएको कार्यक्रमाम समेत विरोधको सामना गर्नुपर्‍यो । देउवालाई स्वागत गर्न जिल्ला सभापति किरण कोइराला विमानस्थल त पुगिन् । तर, कुराकानी गर्न मानिनन् ।

देउवाले बोलाउँदा समेत उनी विशिष्ट कक्षतर्फ नगई फर्किएकी थिइन् । प्रधानमन्त्री देउवाले उनलाई बोलाउन पार्टी नेता, बर्तमान सरकारका मन्त्रीसमेत समेत पठाए तर, उनी अति बिशिष्ट कक्षमा जान मानिनन् ।

स्व.सुशील कोइरालाकी भाइबुहारी किरण समानुपातिक उम्मेदवारको दाबेदार थिइन् । तर, आफ्नो नाम काटिएपछि उनी देउवासँग रुष्ट छिन् । कोइरालाले अनलाइनखबरसँग भनिन्, ‘पार्टी कार्यालयमा कार्यक्रम रहेको र उहाँ -देउवा) मंगलबार नेपालगन्जमा नै बस्ने भएकाले एक्लै भेट्ने योजना बनाएर अति विशिष्ट कक्षमा नगएकी हुँ ।’

पार्टी कार्यालयमै बबण्डर

देउवा बाँके कांग्रेसको कार्यलयमा निर्धारित समय भन्दा करिव सवा घण्टा ढिलो पुगेका थिए । उनी पुगे लगत्तै टिकटमा आफुहरुमाथि अन्याय भएको भन्दै सहभागी नेता कार्यकर्ताले ठूलो आक्रेश पोखेका छन् ।

बाँके निर्वाचन क्षेत्र नं ३ ख बाट प्रदेशसभा उम्मेदवारका लागि सिफारिसमा परेका हरिभक्त उप्रतीले पार्टीका केन्द्रीय सदस्य किशोर सिंह राठौरले पैसाको चलखेल गरेर टिकट दिएको आरोप लगाए उनले भने-‘पार्टी सभापति ज्यू Û सिफारिसमा नपरेको व्यक्ति कसरी टिकट पाउन सफल भए ?’

पार्टीले जित्ने ठाँउमा पनि पैसाको चलखेल गरेर टिकट दिएको भन्दै उनले आक्रोस पोखे ।

बाँके निर्वाचन क्षेत्र नं. २ क बाट सिफारिसमा परेका सोमबहादुर थापाले आफु २०३४ सालदेखि कांग्रेसमा लागेपनि सँधै एउटै व्यक्तिले मात्र टिकट दिएको भन्दै ‘हाम्रो पालो कहिले आउने हो’ भन्ने प्रश्न तेस्र्याए ।

निवर्तमान सांसद अब्दुल हमिद सिद्दिकी भोलाले स्वं सभापति कोइरालाको निर्वाचन क्षेत्रसँगै राजनीतिक इतिहास मेटाउन खोजिएको आरोप लगाए । उनले भने-‘पार्टी सभापति ज्यू किन यति किन पूर्वाग्रही हुनु भएको ?’

उनी बोल्दै गर्दा पार्टी केन्द्रीय सदस्य किशोर सिंह राठौरले रोकेर प्रधानमन्त्री देउवालाई बोल्न लगाएका थिए । उनले केही कमजोरी भएको भए पछि छलफल गर्ने आश्वासस दिए । देउवाले भने-‘ टिकट वितरणमा अन्याय भयो होला तर, अव जसरी पनि जित्नु पर्छ । पहिला जिताऔं, अनि बसेर तपाईहरुमाथि भएको अन्यायबारे छलफल गरौंला ।’

लोकतन्त्रको रक्षाको लागि कांग्रेसले जित्नै पर्ने भन्दै टिकट वितरणमा असन्तुष्टि आएको भएपनि पार्टीको लागि सबै एक भएर लग्न आग्रह गरेका थिए । उनले भने, ‘यहाँ माहोल बन्यो भने मध्य र सुदूरपश्चिममा पनि माहोल बन्ने भएकोले तपाईहरु सबै कांग्रेसलाई जिताउनुहोस ।’

बाँके सभापति किरण कोइरालाको नाम समानुपातिकको सूचीबाट कसरी काटियो भन्ने आफूलाई जानकारी नभएको भन्दै उनले भने-‘टिकट बाँड्ने कार्यमा म मात्रै छैन तर, किरणजीको नाम कसरी काटियो मै अनविज्ञ छु । जे भयो भयो, बाँकी कुरा मंसिर २१ पछि गराैंला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment