Comments Add Comment

मिहिनेतको फल पायौं, अफगानिस्तानविरुद्ध तयार छौंः विनोद दास

२८ कात्तिक, काठमाडौं । नेपाल पहिलो पटक यू-१९ एसिया कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेपछि प्रशिक्षक विनोद दास सन्तुष्ट देखिएका छन् ।

सेमिफाइनलको यात्रा टिमले गरेको कडा मिहिनतको प्रतिफल भएको उनको प्रतिक्रिया छ । प्रशिक्षक दासले भने, ‘उत्कृष्ट प्रदर्शनसँगै हामी सेमिफाइनलमा पुगेका छौं । यो प्रतियोगिताभर हाम्रो प्रदर्शन उत्कृष्ट रह्यो । हामीले गरेको मिहिनेतको फल हो यो ।’

समूह चरणको खेलमा नेपालले बलियो प्रतिस्पर्धी भारतमाथि ऐतिहासिक जित निकालेको थियो भने बंगलादेशलाई कडा टक्कर दिएको थियो । मंगलबार अन्तिम खेलमा नेपालले मलेसियाविरुद्ध ५.२ ओभरमा नै जित हासिल गर्‍यो । अर्कोतर्फ भारतले बंगलादेशसँग हार व्यहारेपछि नेपाल समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको छ ।

प्रशिक्षक दास भन्छन्, ‘मलेसियाविरुद्धको म्याचमा हाम्रो लागि अफ्ठ्यारो स्थिति थियो । तर, हामीले आफ्नो योजना बमोजिम खेल्यौं । उनीहरुले ब्याटिङमा राम्रो सुरुवात गर्न खोजेका थिए, तर स्पिनरहरु आएपछि खेल पूर्णरुपमा हाम्रो अधिनमा आयो । ब्याटिङमा सुरुबाटै आक्रमण गर्ने योजना थियो र अनिलले राम्रो ब्याटिङ गरे ।’

सेमिफानलमा नेपालको भिडन्त अर्को समूहको विजेता अफगानिस्तानसँग हुनेछ । पाकिस्तान र श्रीलंकालाई पन्छाउँदै अफगानिस्तान समूह बीको विजेता बनेको थियो ।

नेपालका पूर्व कप्तान समेत रहेका दासले अफगानिस्तान विरुद्धको सेमिफाइनल नेपालका लागि निकै चुनौतिपूर्ण हुने बताए । उनले भने, ‘उनीहरुले शानदार प्रदर्शनसहित ठूला टिमहरुलाई घुँडा टेकाइरहेका छन् । हाम्रो टिमलाई उनीहरुले राम्रोसँग बुझेका छन् र हामी अन्तिम बलसम्म संघर्ष गर्छौं भन्ने पनि उनीहरुलाई थाहा छ । हामी प्रतिस्पर्धाका लागि तयार छौं र सक्दो प्रयास गर्नेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment