Comments Add Comment

चुनावी प्रतिस्पर्धा कि राजनीतिक दरिद्रता ?

“फलानो यस्तो व्यक्ति हो, त्योसँग राजनीतिक चरित्र नै छैन, चोर हो, फटाहा हो, भ्रष्ट हो । फलानो पार्टी पार्टी नै होइन, त्यो पार्टीको बिचार नै छैन, सिद्धान्त नै छैन ।’ यस्ता यस्तै कुरा सुनिन्छन् अहिले चुनावी बजारमा ।

गाउँगाउँमा राजनीतिक दलका झण्डा, ब्यानर, पोष्टर, पम्पलेटसहित नेता कार्यकर्ताहरु भोट माग्नका लागि गएका छन् । राजनीतिक दलहरु र नेता कार्यकर्ताहरुका लागि चुनाव विद्यार्थीहरुको परीक्षाजस्तै हो । जसरी एक अभिभावकले आफ्नो सन्तान परीक्षामा उत्तीर्ण भए पनि लगानी साकार भएकोमा खुशी व्यक्त गर्छ, त्यसरी नै राजनीतिक दलले चुनावी परीक्षामा आफ्नो उम्मेद्वार बिजयी भएमा आफ्नो लगानी साकार भएको महसुस गर्छ, खुशी मनाउँछ ।

यहाँ लगानी भन्नाले कार्यकर्ताहरुलाई दिइएको प्रशिक्षण, दलगत नेतृत्वलगायतका विषयहरु आउँछन् । त्यसकारण कुनै पनि राजनीतिक दलले जनमत आफ्नो पक्षमा पार्नका लागि राजनीतिक लडाई लड्नु अन्यथा हुँदैन । प्रजातान्त्रिक मूल्य मान्यता र कानुन अनुसार राजनीतिक दलहरुले जनताका वीचमा जाने आफ्ना धारणाहरु राख्ने, आफ्ना योजनाहरु राख्ने र प्रतिस्पर्धी राजनीतिक दलभन्दा आफ्ना योजना, आफ्नो विचार यो यो कारणले राम्रा हुन भन्ने तर्क दिने कुरा प्रजातान्त्रिक अभ्यासभित्रको कुरा हो । यो गर्दा कुनै आपत्ति हुँदैन र हुनु पनि हुँदैन ।

संसदीय व्यवस्थालाई अन्तिम बिन्दु बनाउने वा संसदीय व्यवस्थालाई रणनीतिक रुपमा उपयोग गर्ने जुनसुकै दलले पनि जनताबाट आफू अनुमोदित हुन चाहान्छ । यो समग्रमा प्रजातान्त्रिक चरित्र हो ।

जनताका बीचमा आफ्ना धारणा राख्ने र जनताको फैसलालाई स्वीकार गर्न सक्ने हिम्मत भएका दल र व्यक्तिलेनै निर्वाचनमा सालिनता प्रकट गर्न सक्छ । दरिद्र राजनीतिक अभ्यास गर्दै आएकाहरुले फेरि पनि दरिद्रता नै प्रकट गर्दै जानेछन् । तिनीहरुलाई राजनीतिक अपराधीबाहेक अरु केही भन्न सकिँदैन ।

जनताका वीचमा आफ्नो विचार र आफ्ना योजना भन्दा पनि विरोधी पार्टीले बिगतमा गरेका कामहरु र विरोधी पार्टीको उम्मेद्वारका कमीकमजोरीहरुलाई चुनावको मुख्य मुद्दा बनाइनुलाई राजनीतिक दरिद्रता भन्दा अरु के भन्न सकिएला र ?

म कुन कारणले जनप्रतिनिधि हुन योग्य छु भन्ने कुरा जनताका वीचमा राख्न नसक्ने तर अर्को व्यक्तिको अनावश्यक चरित्र हत्या गर्ने, यो कहाँको राजनीतिक संस्कार हो ? के जनताले अर्कालाई धेरै गाली गर्न सक्ने व्यक्तिलाई चयन गर्ने हो त ?

प्रजातन्त्र राज्य सञ्चालनको शासन पद्दति मात्रै होइन, स्व-शासन पद्दति पनि हो अर्थात व्यक्तिले आफूमाथि गर्ने शासन पद्दति पनि प्रजातान्त्रिक हुनु जरुरी छ । भनाइको अर्थ जीवनशैली प्रजातान्त्रिक हुनु जरुरी छ । प्रजातन्त्रमा भन्न पाउने, बोल्न पाउने अधिकार त छ । तर, त्यसको सीमा पनि छ र नैतिक आचरणको कुरा पनि छ ।

अरुलाई धारे हात लाउनेहरुले आफू कति पानीमा छु भन्ने कुरा थाहा पाउने कि नपाउने ? जनताले तिरेको करबाट सेवा सुविधा लिनेहरुले जनतालाई कोरा भाषण दिनुभन्दा एकपटक आफ्नै छातीमा हात राखेर मैले के-के गरे भन्ने सोच्नुपर्ने हो कि होइन ?

आफूले गरेका कमीकमजोरीहरु ढाकछोप गर्नका लागि विरोधी पार्टीलाई चर्को स्वरमा गाली गरेर कार्यकर्तालाई उस्काउने अनि कार्यकर्ताहरुलाई आपसमा लडाएर आफू फाइदा लुट्नेहरुले कुनै दिन आफूले गरेको भाषणबाट सामाजिक सम्वन्धमा के असर परेको छ भन्ने कुरा बुझेका छन् ?

मेरै कारण भाइ-भाइ आपसमा काटाकाट गर्दैछन, पानी पँधेरो, बाटोघाटो छुट्टिँदैछ, पालो पर्म, मेलापात सबै छुट्टिँदैछ भन्ने कुराको स्मरण भएको छ कुनै दिन ? पक्कै पनि छैन, यदि त्यसो सोच हुने थियो भने तपाईहरुको ईच्छा पूरा हुने थिएन । तपाईहरुले त अर्कोलाई निच देखाएर सोझा जनताको भावनामाथि खेलवाड गर्नु छ । आफ्ना कमीकमजोरी लुकाउनका लागि बिरोधीको तिललाई पहाड बनाउनु पर्नेछ । त्यही गरेर मात्रै तपाईको स्वार्थ पूरा हुन्छ, अन्यथा तपाईको स्वार्थ पूरा हुँदैन । किनकि तपाईले जनताले सोझो तरिकाले विश्वास गर्ने त कुनै आधार नै राख्नुभएको छैन । यसैलाई भन्छन् राजनीतिक दरिद्रता ।

पाँच वर्ष आफुलाई शासक ठान्ने अनि चुनावको बेला सेवक हुँ भन्दै जनताका वीचमा गएर बिरोधी पार्टीलाई गाली गर्ने ।

विगत फर्केर एक पटक समिक्षा गर्ने हिम्मत त नहोला नेता ज्यूहरु, तपाईहरुले आफ्नो पार्टीको मान्छे जिताउनका लागि वा आफू जित्नका लागि के के गरेर आउनु भएको हो ? चुनावमा जनतालाई शान्तिपूर्ण रुपमा मतदान स्थलसम्म पुग्न नदिनु, मतदान केन्द्र कब्जा गरेर राख्नु, मतदातालाई भेडा-बाख्राझै खरीद बिक्री गर्नु, गुण्डाहरुको नेतृत्व गर्दै मतदाताहरुमाथि खुकुरी बर्षाउनु तपाईको प्रमुख काम होइन र ? अनि आफूलाई सच्चा प्रजातन्त्रवादी भनेर अरुमाथि धारे हात लगाउन लाज लाग्दैन है !

हुन त ‘लाज’ भन्ने शव्दले तपाईहरुका लागि कुनै महत्व राख्दैन किनकि लाज शव्द नैतिकतासंग सम्वन्धित हुन्छ । तपाईहरु त नेपाली राजनीतिज्ञ हो । चाकरी, गुण्डागर्दी, खुरापाती, लुटपाटमा आफ्नो लामो अनुभव बनाएकाहरुका लागि ‘लाज’ र ‘नैतिकता’ ले छुन्न होला ।

कति दिनसम्म यो फोहोरी खेलमा लागिरहने ? जनतालाई कति दिनसम्म गुमराहमा राख्ने ? कति दिनसम्म अरुले गरेको राम्रो काम आफुले गरेको र आफूले गरेको नराम्रो काम अरुले गरेको भन्दै माच्चिदै हिड्ने ? भाषण जति चिल्ला र क्रान्तिकारी गर्न सजिलो छ, त्यसो कुरालाई व्यवहारमा उतार्न कति गार्‍हो छ ।

बिरोधी बाजे-बराज्यूका कमीकमजोरी खोज्नका लागि इतिहास खोतल्नु भन्दा आफुले गरेका सम्पूर्ण क्रियाकलापहरुको आत्मसमिक्षा गरौं, त्यसपछि आफुलाई आफुलाई अंकन गरौं । त्यसपछि आफू जनताको बीचमा जान योग्य हुँ कि होईन भन्ने कुराको पुष्टि हुन्छ । छ त्यो हिम्मत ?

छैन, यदि यो हिम्मत हुन्थ्यो भने कि त जनताको प्रगति भइसक्थ्यो कि त तपाईको राजनीतिक यात्रा समाप्त भइसक्थ्यो । तर, दुर्भाग्य Û यहाँ त न दरिद्र मानसिकता भएकाहरुको राजनीतिक यात्रा समाप्त भयो न जनताको जीवनस्तर माथी उठ्यो ।

आज पैसामा भोट किन्यो भनेर एकले अर्कोलाई आरोप-प्रत्यारोप गर्ने अवस्था कहाँबाट सिर्जना भएको हो ? को हो यसको दोषी ? जनता आफैं आफ्नो भोट बिक्री गर्न आएको हो नेताहरुकोमा ? होईन । न त जनतालाई पैसासंग भोट साट्ने बनाउन कुनै बिदेशी आएर सिकाएको हो । त्यो सिकाउने यिनै नेताहरु हुन, यिनका हनुमानहरु हुन, चाकरहरु हुन । अहिले आएर फलानोले भोट किन्यो, फलानोले भोट बेच्यो भनेर आरोप प्रत्यारोप गर्नु भन्दा यो गलत कामको अन्त्य गर्ने गरि लाग्ने कि नलाग्ने ? त्यसका लागि आफुबाटै सुरुवात गर्ने कि नगर्ने ?

धेरै भएको छैन, स्थानीय तहको निर्वाचन सम्पन्न भएको । के भएको थियो त्यतिबेला ? यिनै अनुहारहरु होइनन् जनतालाई अनेकन प्रलोभन दिने ? यिनै नेताहरु होईनन् पैसा बाँड्ने । ६ महिना अघि आफुले गर्दा त्यो कुरा जायज हुने, ६ महिना पछि अरुले गर्दा अपराध हुने ? अपराध त सधैं अपराध होईन र ?

आज राष्ट्रियता र अधिनायकबाद शव्दको दोहोरी चलेको छ ? राष्ट्रियता भन्नेहरु कति राष्ट्रवादी हुन भन्ने कुरा बिगतको इतिहासले देखाएको होइन र ? अनि अधिनायकवाद भन्नेहरु आफैं पटक पटक अधिनायकबादी भएका प्रमाणहरु के बाग्मतीले वगाएको छ र ? न राष्ट्रियता न अधिनायकवाद, केवल व्यक्तिवाद त्यो भन्दा माथि उठेछन् भने दलबाद र नाताबाद । अरु केही हुँदैन यस्ता दरिद्रताको राजनीति गर्नेहरुबाट । दास मनसिकताको शासकले सधैं अरुलाई दाष मात्रै बनाउन चाहान्छ । दास मानसिकताकाहरुलाई न त जनताको बिचमा भोट माग्ने कुनै अधिकार छ, न एकले अर्कोलाई आरोप लगाउने कुनै अधिकार छ ।

राजनीतिक नीतिहरुको राजा हो, अर्थात माउ हो । अन्य नीतिहरु राजनीतिले जन्माउँछ अर्थात राजनीतिक व्यवस्था कस्तो छ सोही अनुसारका नीतिहरु निर्माण हुन्छन् । हामीकहाँ राजनीति नै दुर्गन्धित छ भने यसबाट जन्मिने नीतिहरु कसरी उत्कृष्ठ होलान् ? कसरी हामीले प्रजातान्त्रिक शासन पद्धतिमा प्रजातान्त्रिक जीवन शैली बिताउन सक्छौं भन्ने कुरा अहम् छ ।

यो राजनीतिक दरिद्रताबाट माथि उठ्नुहोस् नेता ज्यूहरु, लोकतान्त्रिक मुल्य मान्यताको जीवनशैली अपनाउनुहोस् । बिरोधीको खोईरो खनेर चुनाव जित्ने दरिद्र मानसिकता त्याग्नुहोस् । कार्यकर्ताहरुलाई पनि प्रजातान्त्रक बनाउनुहोस् । कार्यकर्ताहरुका बीचमा हुन सक्ने सम्भावित भिडन्तहरु कम गर्ने योजना बनाउनुहोस् । आफू पनि संयमित हुनुहोस्, कार्यकर्ताहरुलाई पनि संयमित बनाउनुहोस् । दरिद्र राजनीति होईन चरित्रवान राजनीति गर्नुहोस् । बिगतमा आफूले गरेका गल्तीहरुको समीक्षा गर्नुहोस्, जनतासंग माफी माग्नुहोस् । बाचा गर्नुहोस् कि आगामी दिनमा यस्ता गल्तीहरु दोहोरिने छैनन् । सायद जनताले बिश्वास गरी पो हाल्छन् कि !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment