Comments Add Comment

चुनावपछि मधेस सरकार घोषणा गर्छाैं- उपेन्द्र यादव

२८ कात्तिक, सप्तरी । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले फोरम नेपाल र राजपाको मधेस गठबन्धनले दुई नम्बर प्रदेशमा दुई तिहाई बहुमत ल्याउने दाबी गरेका छन् ।

अध्यक्ष यादवले आफूहरुको गठबन्धन विजयी भएलगतै प्रदेश दुईलाई मधेस प्रदेश घोषणा गर्ने बताए ।
स्थानीय चुनावको उत्साहजनक नतिजालाई आधार मान्दै आगामी चुनावमा फोरम नेपाल र राजपाको प्यानल भारी बहुमतले जित्ने यादवले दाबी गरे ।

सप्तरी २ को आफ्नो निर्वाचन क्षेत्र अन्तरगत महदेवा गाउँपालिकामा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यादवले पर्सादेखि सप्तरीसम्मको ८ जिल्लालाई समेटेर प्रदेश दुईमा मधेस सरकार निर्माण गर्ने बताए ।

यादवले चुनावपछि बन्ने प्रदेशसभाबाट मधेस प्रदेश घोषणा गर्ने भनेका हुन्े या कुन प्रक्रियाबाट मधेस सरकार बनाउने भन्ने स्पष्ट खुलाएनन् ।

प्रदेशसभामा बुहमत ल्याउने दलले प्रदेशसभाबाट प्रादेशिक सरकार बनाउन पाउँछ भने प्रदेशको नाम पनि प्रदेशसभाले नै राख्न पाउने संवैधानिक व्यवस्था छ ।

फोरम नेपालका अध्यक्ष यादवले मधेस विरोधी शक्तिलाई भोट नहाल्न मतदातालाई आह्वान गरेका छन् । कांग्रेस, माओवादी र एमालेलाई लक्षित गर्दै यादवले मधेस आन्दोलनका क्रममा निहत्था जनतामाथि गोलीहान्न लगाउने तीनै दल भएको बताए । उनले भने- ‘कांग्रेस, माओवादी र एमाले मधेस विरोधी हुन् ।’

अध्यक्ष यादवले औपचारिक रुपमा आइतबारदेखि आफ्नो क्षेत्रमा चुनावी प्रचार-प्रसार सुरु गरेका छन् ।

मंगलबारको कार्यक्रममा अध्यक्ष यादवका साथै राजपाका नेता मनिषकुमार सुमनले पनि बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment