Comments Add Comment

म्यानपावरबाट घुस बटुल्ने डीजी सा’ब अष्ट्रेलिया भाग्न पाएनन्

काठमाडौंको घर बेचेर स-परिवार अष्ट्रेलिया सर्ने तयारी

२९ कात्तिक, काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेले एसआरएस म्यानपावरकी सञ्चालिका शुभद्रादेवी बराललाई फोन गरे र भने- ‘तपाईंको काम भयो, मेरा मान्छेलाई बेलुकी भेट्नू ।’

मंगलबार राति ८ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले विभागका शाखा अधिकृत कृतिबल्लभ पौडेललाई १० लाख रुपैयाँ घुससहित नयाँबानेश्वरको इन्द्रेणी फुडल्याण्डबाट रंगेहात समात्यो । पौडेलका साथमा थिए विभागकै नायब सुब्बा खड्गबहादुर केसी ।

इन्द्रेणीबाट पक्राउ परेका पौडेलले टिप्पणी उठाएको एसआरएस म्यानपावरको फाइल सहसचिव पाण्डेले स्वीकृत गरेका थिए । तर, अवकाश लिएर अष्ट्रेलिया जाने योजनामा रहेका पाण्डे घुस प्रकरणमा समातिने डरले बिरामी छु भन्दै बुधबार कार्यालय नै गएनन् ।

नभन्दै विदा बसेकै दिन बुधबार मध्यान्ह पाण्डेलाई अख्तियारले चाबहिलबाट च्याप्पै समात्यो । पाण्डेलाई कालोसूचीमा रहेको कम्पनीको कारोबार फुकुवा गर्न एसआरएस म्यानपावर सञ्चालकसँग घुस लिएको आरोप छ ।

महानिर्देशक पाण्डे नै पक्राउ परेपछि वैदेशिक रोजगार विभागका अरु कर्मचारी त्रसित छन् ।

अख्तियारको फन्दामा परेका महानिर्देशक पाण्डे आगामी मंसिर ५ गते अवकाश लिने तयारीमा थिए । त्यसैकारण पछिल्लो समयमा उनले विभिन्न अनियमित कामहरु गर्दै घुस संकलन गर्ने कार्य तीव्र पार्दै लगेका अख्तियारका अधिकारीको भनाइ छ ।

१५ लाखको ‘डिल’

बुधबार पाण्डेले घुस लिन खटाएका दुई कर्मचारीले म्यानपावर सञ्चालकलाई सीसी टीभी नजोडिएको होटलमा भेट्न चाहे । तर, विभिन्न होटलमा चाहार्दा पनि कतै उपयुक्त ठाउँ नभेटिएपछि उनीहरुले विदाका बेलामा समेत सरकारी कर्मचारीहरुको बाक्लो उठबस भइरहने नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा रकम बुझ्ने निधो गरे ।

तर, पाण्डेले घुस मागेको भन्दै अख्तियारमा उजुरी परिसकेको थियो । त्यसैले कर्मचारीहरुले एसआरएसका प्रतिनिधिलाई रकम दिएर पठाउँदा शंका हुने बताए । त्यसपछि अर्कै म्यानपावरका प्रतिनिधिलाई घुस बुझाउन पठाइएको अनुसन्धानमा खटिएका अख्तियारका अधिकारी बताउँछन् । यही क्रममा रकम बुझेर ‘खाजा’ खाँदा-खाँदै मंगलबार राति इन्द्रेणी फुडल्याण्डबाट पौडेल र केसी समातिएका हुन् ।

अख्तियार स्रोतका अनुसार एसआरएसलाई कारोबार खुला गर्न महानिर्देशक पाण्डेले सुरुमा १५ लाख रुपैयाँ मागेका थिए । म्यानपावर सञ्चालकले यसमा असहमति जनाएपछि १० लाख दिने गरी डिल फाइनल भएको थियो ।

एसआरएस म्यानपावर ठगीको आरोपमा कालोसूचीमा छ । एक वर्षअघि उक्त कम्पनीले युएईको अबुधावीमा स्थानीय सेक्युरिटी गार्डका रोजगारीका लागि ५० युवालाई पठाएको थियो ।

तर, ६ महिनापछि कम्पनी बन्द भयो र उनीहरु फर्किए । विभागमा उनीहरुले एसआरएसविरुद्ध उजुरी गरे । पटक-पटक ठगीको उजुरी परेको भन्दै त्यसै समयमा विभागले एसआरएसलाई कालोसूचीमा राखेर कामदार विदेश पठाउन नपाउने गरी कारोबार रोक्का गर्‍यो ।

म्यानपावरले त्यसपछि आफूले ठगी गरेर विभागमा उजुरी परेका सबै कामदारलाई क्षतिपूर्ति दियो ।

तर, विभागले उसको कारोबार खोल्न मानेन । त्यसविरुद्ध एसआरएस सर्बोच्च अदालत गयो । गएको जेठ २ गते सर्बोच्च अदालतले म्यानपावरलाई कालोसूचीबाट हटाउनू भन्दै परमादेश जारी गर्‍यो ।

तर, विभागका महानिर्देशक पाण्डेले म्यानपावरको कारोबार खोल्न अटेरी गरे । तर, ६ महिनापछि उनले आफ्नो अवकासको समय नजिकिँदै गर्दा १५ लाख दिए कालोसूचीबाट हटाउने भन्दै डिल थाले । यही पछिल्लो डिलले उनलाई अष्ट्रेलियाको साटो अख्तियारको खोरमा पुर्‍यायो ।

म्यानपावरसँग लाखौं असुली !

पाण्डेले पछिल्लो समयमा म्यानपावर सञ्चालकलाई नै आफ्नो कमाइको माध्यम बनाउँदै आएका थिए । पछिल्लो चार महिनामा १३४ वटा म्यानपावर कम्पनीले वैदेशिक रोजगार विभागबाट नयाँ लाइसेन्स लिए । सरकारले नयाँ म्यानपावरको दर्ता बन्द गरे पनि वैदेशिक रोजगार विभागले भटाभट नयाँ म्यानपावर दर्ता गरिरह्यो ।

विभाग स्रोतका अनुसार पाण्डेले म्यानपावर दर्ताका लागि २५ लाखसम्म घुस माग्ने गरेका थिए ।

गत वर्ष १० लाखसम्म घुस लिएर नयाँ म्यानपावर खोल्ने अनुमति दिएका पाण्डेले अवकासको दिन नजिकिँदै गर्दा ‘जति भए पनि हुने’ भन्दै दर्ता तीव्र पारेका थिए ।

गत वर्ष म्यानपावर दर्ताका लागि भन्दै १० लाख घुस लिँदै गर्दा विभागका शाखा अधिकृत रमेश लामिछाने पक्राउ परेका थिए । त्यसअघि विभागका कर्मचारी प्रकाश आचार्य र उत्तम पोखरेल पनि घुस लिँदा-लिँदै पक्राउ परेका थिए ।

पाण्डेले अदालतबाट व्यवसायीले ल्याएको आदेशका आडमा म्यानपावर दर्ता गरिरहेका थिए । विभागमा व्यवसायीले दर्ताका लागि आवदेन गरेपछि विभागबाट पाण्डेले अस्वीकार गरेको पत्र थमाउने गरेका थिए । कतिपय व्यवसायीले अदालतबाट ‘दर्ता गर्नू’ भन्ने आदेशका ल्याउने गरेका थिए ।

पैसा नबुझाएका धेरै म्यानपावर दर्ता नगरेकाले विभागविरुद्ध अदालतको मानहानी गरेको मुद्दासमेत परेको छ । तर, घुस बुझाउनेहरुको म्यानपावर कम्पनी पछिल्लो समयमा भटाभट दर्ता भइरहेको थियो ।

गत वर्षको कात्तिकबाट विभागको महानिर्देशक सम्हालेका पाण्डेले पहिलो ९ महिनामा नै झण्डै सयवटा नयाँ म्यानपावरलाई लाइसेन्स दिएका थिए । गत वर्ष १८० वटा नयाँ म्यानपावर दर्ता भएका थिए ।

पाण्डेले पछिल्लो समयमा वैदेशिक रोजगारीका लागि स्वास्थ्य परीक्षण हुने संस्था, वैदेशिक रोजगार अभिमुखीकरण केन्द्र र म्यानपावरहरुमा अनुगमन बढाएर अनियमित असुली पनि बढाएको दावी विभाग स्रोतको छ ।

‘विदेश भाग्ने तयारी’

पाण्डे विगत १० दिनदेखि अख्तियारको विशेष निगरानीमा थिए । अवकाशको समय आउँदै गर्दा उनको अवैध असुली बढेको भन्दै उजुरीहरु परेपछि अख्तियारले उनीबारे अनुसन्धान सुरु गरेको थियो ।

उनले खुलमखुला म्यानपावर सञ्चालकसँग नै रकम माग्दै फोन गरेको कल रेकर्ड पनि अख्तियारससँग छ ।

पाण्डे अवकासलगत्तै देश छोड्ने तयारीमा रहेको सूचना पनि अख्तियारसम्म पुगेको थियो । पाण्डेका छोरीहरु अष्ट्रेलियामै रहेको र अवकास लगत्तै उनी उतै जाने तयारीमा रहेको अख्तियारको भनाइ छ ।

‘विभिन्न आरोपमा मुछिएकाले विदेश गइहाल्ने सम्भावना देखेपछि अनुसन्धान तीव्र पारेका थियौं, यसैक्रममा पाण्डे बुधबार पक्राउ परेका हुन्,’ अख्तियार स्रोतले भन्यो ।
अष्ट्रेलिया जानका लागि कपनमा रहेको आफ्नो घरसमेत बेचेर पाण्डे अपार्टमेन्टमा बस्दै आएका थिए ।

विभाग स्रोतका अनुसार पाण्डेलाई श्रम तथा रोजगारमन्त्रालयका सचिव लक्ष्मण मैनालीको विशेष साथ थियो ।

विभिन्न विवादमा तानिएका पाण्डेलाई विभागबाटै अवकाश दिनुपर्ने भन्दै मैनालीले मन्त्रालय तान्ने अन्य सह-सचिवको प्रस्ताव अस्वीकार गर्दै आएको स्रोतको दावी छ ।
अख्तियारको तथ्यांक अनुसार वैदेशिक रोजगार विभाग सबैभन्दा बढी भ्रष्टाचार हुने काठमाडौंको सरकारी निकाय हो ।

यो पनि पढ्नुस्

अख्तियारद्वारा वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment