Comments Add Comment

प्रेस रिभ्यूः समानुपातिकमा बढीमा ६ दलको सम्भावना

आक्रामक प्रचारमा ठूला दल

३० कात्तिक, काठमाडौं । राजधानीबाट बिहीबार प्रकाशित भएका राष्ट्रिय दैनिक पत्रिकाहरुले फरक-फरक विषयबस्तुलाई पहिलो पृष्ठमा समाचार बनाएर छापेका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका विविध पाटा-पक्ष केलाएका पत्रपत्रिकाहरुले अवैध बिटक्वाइनबाट नेपालका मोबाइल रिचार्ज हुने गरेकोदेखि वैदेशिक रोजगार विभागका महानिर्देशक घुसकाण्डमा पक्राउ परेकोसम्मका खबरहरुलाई महत्व दिएर छापेका छन् ।

पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचन आउन १० दिन बाँकी हुँदा ठूला दलले आक्रामक प्रचार थालेका छन् । नयाँ पत्रिका दैनिकले यो विषयलाई आज मुख्य समाचार बनाएको छ । समानुपातिक सिट बढीमा ६ दलले पाउने अर्को समाचार पनि नयाँ पत्रिकामा छ । अवैध बिटक्याइनबाट नेपालका मोबाइल रिचार्ज हुने गरेको खबर पनि नयाँ पत्रिकाको पहिलो पृष्ठमा पढ्न सकिन्छ ।

आक्रामक प्रचारमा ठूला दल

नयाँ पत्रिका दैनिकका अनुसार, नेपाली कांग्रेसले परिणाम पक्षमा पार्न प्रदेशैपिच्छे मिडिया सेन्टर खोलेकोदेखि सामाजिक सञ्जालसम्मको उपयोग गरिरहेको छ ।

नेकपा एमालेले प्रविधिको भरपुर उपयोग गर्दे चुनावी प्रचारलाई तीव्रता दिएको छ । समाचार अनुसार संयुक्त वाम गठबन्धनका साथै पार्टी र उम्मेदवारका तर्फबाट छुट्टाछुट्टै तरिकाले एमालेले प्रचार अघि बढाइरहेको छ । एमालेले संस्थागतभन्दा पनि उम्मेदवार केन्द्रित प्रचारलाई बढी जोड दिएको छ ।

चुनावी नतिजा आफ्नो पक्षमा पार्न माओवादीले यसपटक अलि फरक शैली अपनाएको छ । उसले पार्टीको आमसभामा एमाले नेतालाई प्रमुख अतिथि बनाउने गरेको छ । एमालेको मत पाएमा मात्रे प्रदेश र प्रतिनिधिसभामा आफ्ना उम्मेदवार विजयी हुने भएकाले माओवादीले यस्तो रणनीति बनाएको हो ।

कान्तिपुर दैनिकले पनि वाम गठबन्धनको देशव्यापी चुनावी अभियान सुरुलाई मुख्य समाचार बनाएको छ ।

‘वाम गठबन्धनः देशव्यापी चुनावी सभा सुरु’ शीर्षक दिएर कान्तिपुरले लेखेको छ- एमाले-माओवादी केन्द्रको वामपन्थी गठबन्धनले बहुमतसहितको स्थिर सरकार निर्माणका लागि मत दिन आग्रह गर्दै बुधबारदेखि देशव्यापी चुनावी आमसभा सुरु गरेको छ । दुवै दलका अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड ती सभाहरु सम्बोधन गर्दै हिँड्न थालेका छन् ।

समानुपातिकको सिट बढीमा ६ दलले पाउने सम्भावना

नयाँ पत्रिकामै आगामी प्रतिनिधिसभा निर्वाचनबाट बढीमा ६ दल मात्रै संसदमा पुग्ने सम्भावना रहेको खबर छ ।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार राष्ट्रिय दलको मान्यता पाउन र समानुपातिकको बाँडफाँटमा सहभागी हुन प्रत्यक्षमा कम्तीमा एक सिट र समानुपातिकमा ३ प्रतिशत कटाउनै पर्छ ।

स्थानीय तह निर्वाचनमा कुल १ करोड ४१ लाख मतमध्ये ९१ लाख २६ हजार ७०४ मत खसेको थियो । यसको ३ प्रतिशत मत २ लाख ७३ हजार ८ सय १ हो । निर्वाचनमा कांग्रेस, एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राप्रपाले मात्रै ३ प्रतिशत मत कटाएका छन् ।

समाचार अनुसार राप्रपाले २ लाख ९० हजार मत पाएको थियो । त्यस्तै राजपाले २ लाख ५१ हजार मत ल्याएको थियो । स्थानीय तह निर्वाचनको भन्दा अहिले मतदाताको संख्या पनि बढेर १ करोड ५४ लाख पुगेको छ ।

राजधानी सपनाले मतदाता रनभुल्ल

प्रदेश नम्बर १ मा पर्ने मोरङ, सुनसरी र धनकुटाका सबैजसो उम्मेदवारले आ-आफ्ना जिल्लाका सहरलाई प्रदेश राजधानी बनाउने भन्दै मत माग्न थालेपछि मतदाता रनभुल्लमा परेका छन् ।

नागरिक दैनिकले राजधानी सपनाले प्रदेश १ का मतदाता रनभुल्लमा परेको विषयलाई आज मुख्य समाचार बनाएर छापेको छ ।

शीर्ष नेता देश दौडाहामा

प्रदेश र प्रतिनिधिसभा निर्वाचनको परिणाम पक्षमा पार्न शीर्ष नेताहरु देश दौडाहमा निस्केका छन् । ठूला पार्टीका सबैजसो शीर्ष नेता चुनावी सभाहरुमा सहभागी बनेर सक्रिय बनेका हुन् ।

‘प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन आउन १० दिन बाँकी रहँदा प्रमुख राजनीतिक दलका शीर्ष नेता एकैपटक काठमाडौं छाडेर चुनावी सभामा केन्द्रित हुन थालेका छन्’, नागरिक दैनिकले समाचारमा लेखेको छ, ‘शीर्ष नेता मंसिर १० गते हिमाली र पहाडीसहित ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा हुने निर्वाचनलाई लक्षित गरी काठमाडौं छाडेर चुनावी सभामा केन्द्रित हुन थालेका हुन् ।

कम्तीमा ७ दिनको कार्यक्रम बनाएर शीर्ष नेता काठमाडौं बाहिर पुगेका हुन् ।

यी हुन् सरकारलाई कर नतिर्नेहरु

 

कारोबार दैनिकले कर नतिर्ने २७ ठूला करदाताको नामावली सरकारले सार्वजनिक गरेको समाचारलाई मुख्य समाचार बनाएको छ ।

आन्तरिक राजस्व विभाग अन्तर्गतको ठूला करदाता कार्यालयले पटक-पटक ताकेता गर्दा पनि मूल्य अभिवृद्धि कर र आयकर तिर्न अटेर गर्ने २७ व्यवसायिक फर्म र तिनका सञ्चालकको नाम सार्वजनिक गरेको हो ।

कार्यालयले सार्वजनिक सूचना नै जारी गरी १५ दिनभित्र बक्यौता रहेको कर तिर्न आग्रह गर्दै कारबाहीको चेतावनी दिएको छ । कर नतिर्नेहरूको सूचीमा सुधिर बस्नेतको अग्नि एयर, ज्ञानेश्वर सिंहको शुभश्री पशुपति ट्रेडर्स लगायत छन् ।

अवैध बिटक्वाइनबाट नेपालका मोबाइल रिचार्ज

नेपालमा अवैध बिटक्वाइनबाट टेलिकम कम्पनीका मोबाइल फोनमा रिचार्ज हुने गरेको तथ्य खुलेको छ ।

नयाँ पत्रिका दैनिकका अनुसार, बिटक्वाइनका सबैजसो वालेटबाट नेपाल टेलिकम, एनसेल, स्मार्टसेल, युटिएललगायत कम्पनीका मोबाइल नम्बर रिचार्ज हुने गरेको छ । राष्ट्र बैंकले भने बिटक्वाइनलाई अवैध मानेको छ ।

बिटक्वाइको वालेटबाट मोबाइल नम्बरहरु रिचार्ज हुने गरेको तर यो कसरी भइरहेको छ भनेर नेपाल दूरसञ्चार प्राधिकरण नै बेखबर रहेको छ ।

शान्ति मिसन दोब्बर बनाउन औपचारिक प्रस्ताव

राजधानी दैनिकले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा खटिने नेपाली सेनाको संख्या दोब्बर बनाउन नेपालले औपचारिक प्रस्ताव राखेको समाचारलाई प्रमुख प्राथमिकताका साथ छापेको छ । राष्ट्रसंघले शान्ति मिसनको आयोजनामा ८५ देशका रक्षामन्त्रीहरुको सम्मेलनमा नेपालका तर्फबाट सहभागी रक्षामन्त्री भीमसेनदास प्रधानले सो प्रस्ताव औपचारिक रुपमा राखेको समाचारमा उल्लेख छ ।

रक्षामन्त्री प्रधानले क्यानडामा आयोजित सो सम्मेलनमा भाग लिँदै राष्ट्रसंघीय शान्ति मिसनले आवश्यकता महसुस गरे नेपालले अहिले भइरहेका भन्दा दोब्बर संख्यमा सेना पठाउन तयार रहेको प्रतिवद्धता व्यक्त गरेका छन् । तर, राष्ट्रसंघले नेपालको प्रस्तावबारे केही पनि बताएको छैन ।

नेपालको सो प्रस्ताव राष्ट्रसंघले स्वीकारेमा १० हजार फौज शान्ति मिसनका लागि तैनाथ हुनेछन् । हाल द्वन्द्वग्रस्त १३ देशमा नेपाली सेना तथा प्रहरी शान्ति मिसनका लागि खटिएका छन् ।

र, यो पनि खबर

मतदाता तान्न नेताहरु गाउँगाउँ पुगिरहेका छन्, यतिबेला । तर, सुदूरपश्चिमका उच्च पहाडी भेग रित्तिन थालेका छन् ।

चिसो छल्न मतदाता न्यानो खोज्दै बेंसीतर्फ झरेपछि उम्मेदवारहरुलाई उनीहरुको मत आफ्नो पक्षमा ल्याउन चुनौती थपिएको समाचारलाई आज राजधानी दैनिकले एंकर बनाएर छापेको छ ।

समाचार अनुसार, पहाडी जिल्ला बाजुरा र दार्चुलाका उच्च भेगका बासिन्दा अत्यधिक चिसोका कारण मतदानभन्दा ज्यान प्यारो भन्दै बासस्थान छाडेर अन्यत्रै सरेका छन् ।

हेर्नुहाेस् पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment