Comments Add Comment

बदर मत घटाउन उम्मेदवार नै सक्रिय

दाङ क्षेत्र नम्बर १ (क) मा वाम गठबन्धनबाट माअोवादी उम्मेदवार इन्द्रजित चौधरी

३० कात्तिक, दाङ । निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता शिक्षा प्रभावकारी नभइरहेको बेला दाङका उम्मेदवारहरु आफै गाउँ-गाउँमा पुगेर भोट हाल्ने तरिका सिकाइरहेका छन् ।

प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर १ का वाम गठबन्धनका उम्मेदवार मेटमणी चौधरी लमही नगरपालिकाको अमेलियामा र कांग्रेस उम्मेदवार सुशीला चौधरी पिपरीमा आफ्ना मतदातालाई भोट हाल्ने तरिका सिकाउन व्यस्त भएको अवस्थामा भेटिइन् ।

दाङ क्षेत्र नम्बर १ (क) मा वाम गठबन्धनबाट प्रदेशसभा उम्मेदवार बनेका माओवादी नेता इन्द्रजित चौधरी पनि नमूना मतपत्र सार्वजनिक स्थानहरुमा झुण्ड्याउँदै भोट हाल्ने तरिका सिकाइरहेको अवस्थामा भेटिए । पूर्वसभासद समेत रहेका चौधरीले भने, ‘बदर मत घटोस् भन्ने हाम्रो उद्देश्यले मतदातालाई यसैगरी सिकाइरहेका छौं ।’

पहिलो संविधानसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर १ बाट कांग्रेस नेता खुमबहादुर खड्कालाई हराएर चर्चामा आएका इन्द्रजित चौधरी यसपटक प्रदेश सभाको उम्मेदवार बनेका छन् ।

माओवादी केन्द्रलाई मालेको चुनाव चिह्न टाउको दुखाइ बन्ने गरेको छ । माओवादीको गोलाकारभित्र हँसिया हथौडा चुनाव चिह्न छ भने मालेको हँसिया । स्थानीय तह निर्वाचनमा गढवा गाउँपालिका २ महदेवामा करिब साढे ३ सय भोट हँसियामा परेको थियो भने गाउँपालिका अध्यक्षमा माओवादी उम्मेदवार लुमाकान्त न्यौपाने एमालेका सहजराज यादवसँग करिब त्यत्तिकै मतान्तरमा पराजित भएका थिए । त्यसैले पनि माओवादीलाई आफ्नो चुनाव चिह्न चिनाउन चुनौती हुने गरेको छ । महदेवामै घर भएका इन्द्रजित यसपटक पनि इतिहास दोहोर्‍याउने दाउँमा छन् र उनी आफ्नो पार्टीको चुनाव चिन्हमा भोट हाल्न मतदातालाई सिकाइरहेका छन् ।

दाङ क्षेत्र नम्बर १ (क) मा वाम गठबन्धनबाट प्रदेशसभा उम्मेदवार इन्द्रजित चौधरी

दाङ प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर १ का वाम गठबन्धनका उम्मेदवार मेटमणी चौधरी मंगलबार लमही नगरपालिका वडा नं. ९ अमेलियाका थारु समुदायलाई भोट हाल्ने तरिका सिकाइरहेको भेटिए । उनले थारु भाषामै बोलेर भोट हाल्ने तरिका सिकाइरहेका थिए । ‘आफ्नै भाषामा सिक्न पाउँदा मतदाता दंग छन्, चासो लिएर सिकिरहेका छन्,’ चौधरीले भने, ‘हाम्रो यो अभियानले निर्वाचन आयोगलाई पनि सहयोग पुगेको छ ।’

उम्मेदवारहरुबाट भोट हाल्ने तरिका सिक्न पाउँदा खुसी लागेको राप्ती गाउँपालिका सिसहनियाँका देवनारायण चौधरील बताए । प्रदेशसभातर्फ दाङ क्षेत्रनम्बर १ (क) का उम्मेदवार इन्द्रजीत चौधरीबाट मतदाता शिक्षा पाएपछि उनले भने, ‘यसपटक पहिलेकोभन्दा फरक रहेछ । चार ठाउँमा स्वस्तिक छाप हान्नुपर्ने रहेछ ।’

नेपाली कांग्रेसले पनि दाङमा मतदाता शिक्षालाई जोड दिएको छ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ (ख) का निर्वाचन परिचालन समिति संयोजक मधु न्यौपानेले आफूहरुले प्रत्येक भेटघाटमा मतदान गर्ने तरीकाबारे जानकारी दिने गरेको बताए ।

मतदाता शिक्षा प्रभावकारी नबन्दा धेरै मतपत्र बदर पनि हुने गरेका छन् । चुनाव चिह्नमा स्वस्तिक छाप लगाउनुपर्नेमा कतिपय मतदाताले औंठाछाप लगाउने गर्दछन् । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको अन्तिम समयमा अलग-अलग मतपत्र छाप्नुपर्दा मतदाता शिक्षा झनै प्रभावकारी बन्न सकेको छैन भने निर्वाचन आयोगका कर्मचारीहरु पनि सबै मतदातासम्म पुग्न सकिरहेका छैनन् । कतिपय कर्मचारीलाई स्थानीय भाषाको ज्ञान नहुँदा बुझाउन समस्या हुने गरेको छ । त्यसैले गाउँ शहरमा चुनावी सभा सकेका राजनीतिक दलका उम्मेदवारहरु यतिबेला गाउँ, टोलमा केन्द्रित हुँदै स्थानीय भाषामा बोल्दै भोट हाल्ने तरिका सिकाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment