Comments Add Comment

‘नाति जर्नेल’ को फाइनल ब्याटलः ह्याट्रिक रोक्न ५ घण्टाको म्याराथन (भिडियोसहित)

पशुपति शमसेरलाई कांग्रेसको भर, कार्यकर्तालाई थैली नखुल्ने डर

३० कात्तिक, बरुवा (सिन्धुपाल्चोक) । श्री ३ मोहन शमसेरका नाति पशुपति शमसेर जबरा पहिलो पटक सिन्धुपाल्चोकमा चुनाव लड्न जाँदा ३० वर्षका नौजवान थिए । त्योबेलाका उनका दौंतरी, जसले सिन्धुपाल्चोकबाट उनलाई पटक–पटक चुनाव जिताएर पठाए, तीमध्ये अधिकांश अहिले छैनन् । भएकाहरु पनि वृद्ध भइसकेकाले अब पशुपतिलाई भोट माग्दै हिँड्न सक्दैनन् ।

तर, ७६ वर्षको उमेरमा पनि राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर भने ऊबेलाकै जस्तो ठमठम हिँडेर आफ्ना पालाका सहयोगीहरुलाई भेट्न हिमाली क्षेत्रका गाउँहरुमा पुगिरहेका छन् । पुराना पुस्ताका सिन्धुबासीले पशुपति शमसेरलाई ‘बाबु साहेब’ भन्छन् ।

बाबु साहेबलाई जिताउँदै आएका पुराना मतदाताहरु घट्दैछन् भने नयाँ पुस्ताको बाहुल्य बढिरहेको छ । पशुपति शमसेरको मुख्य चुनौति पनि यिनै नयाँ पुस्ताका मतदाताको मन जित्नुपर्ने देखियो । त्यसैले त उनी यो बुढेसकालमा पनि ठमठमी हिँडेर नयाँ पुस्तासँग संवाद गर्न विकट पहाडी गाउँको यात्रामा निस्किएका छन् ।

भोट माग्न ५ घण्टा पैदल

अनलाइनखबर टिम उत्तरी सिन्धुपाल्चोकको भोताङ पुग्दा पशुपतिसमशेर राणा बोलगाउँ जाने तयारीमा थिए । भोताङबाट बोलगाउँ जाने सडक छैन । त्यसैले बाबु साहेब ट्राउजर, डाउन ज्याकेट र छत्रे टोपी लाएर पैदल बाटोमा अघि बढे ।

केहीपर पुगेपछि उनले ज्याकेट खोले । उकालो लाग्दालाग्दै थाकेर रुखको छहारीमा सुस्ताए ।

बोटलमा पानी बोकेर उनलाई पछ्याइरहेका सहयोगीले एक मुठी पानी पिउन सुझाए । तर, धपेडीका बेला पानी पिउनुहुँदैन भन्दै राणाले केहीबेर थकाई मारेपछि मात्रै एक घुट्को पानी पिए ।

कार्यकर्ताले लौरो टेक्न दिएको सल्लाह उनले स्वीकार गरेनन् । करीव ५ घण्टाको उकालो र तेर्सो बाटो पार गर्ने क्रममा बाबु साहेबले भने, ‘उकालो र तेर्सोमा त मलाई कसैले भेट्दैन । ओह्रालो चाहिँ अलि गाह्रो हुन्छ । त्यसैले उताबाट (थाङपालधाप) तिरबाट यता आइयो ।’

जन्मिँदै नाति जर्नेलको उपाधि पाएका र काठमाडौंको सुखसयलमा हुर्केका बाबुसाहेब यो उमेरमा पनि विकट पहाडको उकालो चढेर सुस्ताउँदा सँगै हिँडेका कार्यकर्ताको मुहारमा सहानुभूतिको भाव देखिन्थ्यो ।

‘यस्तो विकट उकालोमा यो उमेरमा पनि उकाली ओह्राली गर्नुपर्ने नपुग्दो के थियो र उहाँलाई ? आज त उहाँलाई देखेर रुनै मन लाग्यो’ सँगै हिँडेका प्रकाश बस्नेतले भने, ‘सिन्धुपाल्चोकबासीका लागि यसरी दुःख गर्ने नेतालाई माया नगरे त पापै लाग्ला ।’

हारको ह्याट्रिकबाट जोगिन निर्णायक कसरत

पञ्चायतकालभरि र बहुदलीय व्यवस्था स्थापनापछि पनि सिन्धुपाल्चोकबाट लगातार ३ वटा चुनाव जितेका राणा पछिल्लो दुई संविधानसभा चुनावमा चिर परिचित क्षेत्रबाटै पराजित भएपछि उनका चुनौति थपिएका छन् । हारको ह्याट्रिक रोक्न उनले यसपटक धेरै नै मेहनत गरिरहेको पाइयो ।

बिहान ७ बजेदेखि राति १० बजेसम्म राणा विकट बस्तीका घरदैलोमा भेटिए । उनी बरुवा पुग्दा केही कार्यकर्ता खसी भुत्ल्याउँदै थिए । बाबुसाहेब भने सरासर अघि बढे, जहाँ स्थानीय बासिन्दाले स्यालगर (सगुनसहितको घडा) थापेका थिए । स्यालगरको नाङ्लोमा एक हजारको नोट राखेर उनी पुराना चिनजानका मतदातासँग गफ गर्न थाले ।

‘यो क्षेत्रका जनताले मलाई माया गरेका छन् । दुईपटक मैले हार्दा उनीहरुले दुःख पाए, यसपटक मैले नयाँ पुस्तासँग संवाद गर्नुपरेको छ’ बाँसखर्क पुगेपछि राणाले अनलाइनखबरसँग भने ।

अनुहारमा चमक, अभियानमा उत्साह

बाँसखर्क कुनैबेला पशुपति शमसेरको व्यक्तिगत आधार क्षेत्र मानिन्थ्यो । अहिले पनि उनी त्यो प्रभाव क्षेत्र फिर्ता गर्न प्रयत्नरत छन् । राणाले आफ्नो मतदाता नामावलीसमेत लिसंखुबाट सारेर बाँसखर्कमै लगेका छन् । किनकि बाँसखर्क उनले चुनाव लड्ने क्षेत्र नम्बर २ मा परेको छ ।

पशुपति समशेर पहिलो चरणको घरदैलो सकेर बुधवार काठमाडौं फर्किए । बृद्ध उमेरमा विकट गाउँबस्तीमा हिँड्दा पनि उनको अनुहारमा जुन चमक देखिन्छ, चुनाव जित्नेमा पनि उनी आशावादी देखिएका छन् ।

खर्चमा पनि यसपटक उनले कञ्जुस्याइँ नगरे चुनाव जित्न सकिने अपेक्षा उनको चुनाव अभियान चलाइरहेका नेताहरुको पाइयो ।

पशुपतिले चुनाव जित्ने दुई आधार

पशुपतिसमशेर तेस्रोपटक पराजित हुनबाट रोकिने जम्माजम्मी दुईवटा आधार देखिन्छन् । पहिलो आधार भनेको कांग्रेसको समर्थन र दोस्रो चाहिँ उनको व्यक्तिगत प्रभाव र बृद्ध उमेरको दौडधूप ।

नत्र पछिल्ला दुई चुनावको नतिजा र स्थानीय तहको मतलाई आधार मान्ने हो भने वामपन्थी गठबन्धनका उम्मेदवार एमाले नेता शेरवहादुर तामाङ निकै बलिया देखिन्छन्, राणाभन्दा ।

सिन्धुपाल्चोक–२ मा एमालेपछिको दोस्रो जनमत कांग्रेसकै छ । र, कांग्रेसले पशुपतिशमसेरलाई जिताउनैपर्ने प्राथमिकतामा राखेको छ ।

जतिबेला पशुपति शमसेर बाँसखर्कबाट मेलम्चीतिर झर्दै थिए, त्यति नै बेला कांग्रेसले पत्रकार सम्मेलन गरेर पशुपति शमसेरको जित निश्चित भएको दाबी गरिरहेको थियो ।

पशुपतिको चुनावी अभियानमा पनि कांग्रेसका युवा कार्यकर्ताको संख्या उल्लेख्य देखिन्छ । दुईपटक पशुपति शमसेरसँगै पराजित भएका कांग्रेस नेता कान्छा लामा यसपालि राणाकै लागि भोट माग्दै हिँडेका छन् । कांग्रेस र पशुपतिको दोस्ती यसपटक सिन्धपाल्चोकमा राम्रोसँग जमेको छ ।

राणाको क्षेत्रका पाँच स्थानीय तहमध्ये मेलम्ची नगरपालिका र पाँचपोखरी थाङपालाधाप गाउँपालिका एमालेले जितेको छ । कांग्रेसले हेलम्बु र इन्द्रावती गाउँपालिका जितेको छ भने साँगाचोकगढी चौतारा नगरपालिका माओवादीले जितेको छ । चौतारका केही वडामात्रै यस क्षेत्रमा पर्छन् ।

पाँचपोखरीमा राप्रपा दोस्रो भएको थियो । पशुपति शमसेरको अहिलेको सम्पूर्ण प्रयत्न भनेको कांग्रेसको सबै मत आफूतिर तान्ने र राप्रपाको सांगठानिक मतमा आफ्नो व्यक्तिगत प्रभावको मत थपेर जित्ने देखिन्छ ।

‘स्थानीय चुनावमा अरु लडेका थिए, अहिले त पशुपतिसमशेर आएको छ, त्यो चुनावको भोटमा मेरो दोब्बर भोट थपिन्छ’ उनले अनलाइनखबरसँग भने ।

पशुपतिसमशेर स्थानीय चुनावको गणितमा भन्दा पनि कांग्रेसको थपिने भोट र आफ्ना पुराना सम्बन्धका भोटहरुका कारण जितप्रति आशावादी छन् ।

हामीले उनको निर्वाचन क्षेत्रमा उनका परम्परागत मतदातासँग पनि कुरा ग¥यौं । उनीहरुको प्रतिक्रिया मिश्रित पाइयो ।

परम्परागत मतदाता अन्यौलमै

हेलम्बु गाउँपालिकाको महांकालमा तामाङ समुदायका दुई अधवैंशे पुरुष छाप्रोमा राप्रपा प्रजातान्त्रिकको झण्डा सिउरिँदै थिए । उनीहरुले अन्योल मिश्रित स्वरमा भने– ‘दुईपटक हारे बाबु साहेब, खै यसपालि पनि के हुने हो ।’

पटक–पटक पशुपतिसमशेरलाई भोट दिएका यहाँका पुराना मतदाता यसपटक के गर्ने भन्ने दोधारमा छन् । पशुपतिसमशेरको ‘अन्तिम चुनाव’ भन्ने प्रचार यहाँ भइरहेको छ । यसको प्रभाव पनि दुई थरी देखिन्छ । एक थरी पुराना मतदाता अन्तिम पटक न्याय गर्नुुपर्छ भन्नेमा देखिएका छन् भने अर्काथरि चाहिँ अब जितेपछि आउने होइनन्, किन भोट दिने भन्ने पनि देखिएका छन् ।

बाबुसाहेबलाई ‘थैली खोल्न’ दबाव

पशुपतिसमशेरको चुनावी जित–हारमा आर्थिक परिचालन पनि निर्णायक हुने विभिन्न सम्वादहरुबाट पुष्टि भयो । ०७० सालको चुनावमा २५ लाख रुपैयाँ खर्च थप खर्च नगर्दा चुनाव हारिएको निष्कर्ष सुनाउँदै राप्रपा प्रजातान्त्रिकका क्षेत्रीय अध्यक्ष फणिन्द्र दाहालले यसपटक कञ्जुस्याई गर्न नहुने बताए ।

तामाङ समुदायको बाहुल्य रहेको यो क्षेत्रमा एमालेका उम्मेदवार तामाङ नै भएकाले पनि मन फुकाएर खर्च गर्नुपर्ने राणालाई आफूहरुले सुझाव दिएको कांग्रेस नेता तथा १ नम्बर क्षेत्रका उम्मेदवार मोहन बस्नेतले बताए । मन्त्री बस्नेतले भने– ‘यसपालि थैली खोल्नुस् भनेको छु ।’

पशुपतिसमशेरका वरिपरि हिँड्नेहरु पनि केही पाइन्छ कि भन्ने आशामै धेरै हिँडेका पाइयो । बाँसखर्कमा ल्याण्डक्रुजर गाडीको अगाडि सिटमा बसेका एक बाहुबली युवक भन्दै थिए– ‘यसपालि त भोटको दिन बिहानै एमालेहरुलाई लखेट्ने हो, तर केटाहरुलाई पैसा त चाहियो नि । बिना पैसा को लड्छ ? हाम्रो जिम्मा कसले लिन्छ ?’

७६ वर्षको उमेरमा चुनावी प्रतिस्पर्धा गरिरहेका राणा अब ५ वर्षपछिको चुनावमा ८१ वर्ष पुगिसक्ने छन् । त्यसैले सम्भवतः यो उनको अन्तिम चुनावी प्रतिस्पर्धा हो ।

राणाले पहिलो चरणमा ३८ वडामा कार्यक्रम गर्नका लागि भनेर एक एक लाख दिएको भए पनि दैनिक परिचालन खर्चबाहेक अरु कुरामा पैसा निकालेका छैनन् । राणा अहिलेसम्म मितव्ययी देखिएका छन् । तर, कार्यकर्ताहरुमा पैसा पाइन्छ कि भन्ने आश देखिन्छ ।

पैसाले बिगारेको सम्बन्ध

पशुपतिसमशेरलाई निरन्तर भोट हाल्दै आएका मतदाताहरुको गुनासो भने राणासँग भन्दा पनि उनका कार्यकर्ताहरुसँग रहेछ । कार्यकर्ताले राणाबाट पैसा लिने तर आफूहरुले नपाउने गरेको उनीहरुको बुझाइ देखिन्छ ।

‘बाबुसाहेब त मान्छे राम्रा हुन्, तर उनका लाउकेहरुले पैसा पाउँछन्, हामीलाई दिँदैनन, पैसा उनीहरुले खान्छन्, हामीले भोटमात्रै दिनुपर्छ ।’ बरुवाका सोनाम लामाले भने ।

तर, यसपटक राणाले यस्ता गुनासाहरुको पनि सम्बोधन हुने गरी कांग्रेस र राप्रपाका स्थानीय अगुवा नेताहरुको संयुक्त टिम बनाएका छन् । र, उनको ध्यान माथिल्लो तामाङ बस्तीमै केन्द्रित छ ।

तीन दिनसम्म पशुपतिसमशेरको निर्वाचन क्षेत्रका केही गाउँहरुको भ्रमणपछि हामीले निकालेको निष्कर्ष के हो भने उनको अझै पनि ती क्षेत्रमा जबर्जस्त प्रभाव छ । तर, उनको व्यक्तिगत प्रभावबाहेक राप्रपाको सांगठानिक अवस्था भने निकै कमजोर भइसकेको छ ।

राणाले यसपटक चुनाव जित्न कांग्रेसको भर पर्नुपरेको छ । र, कांग्रेससँग केही संगठनात्मक प्रभाव पनि छ ।

जीवनको उत्तरार्धको चुनाव भएकाले यसपटक राणाका लागि यो जीवन मरणको लडाइँ पनि हो । सम्भवतः राणाले चुनाव जित्नका लागि कुनै कमजोरी वा गुनासो रहन दिने छैनन्, तर अन्तिम निर्णयकर्ता त फेरि पनि सिन्धुपाल्चोकवासी नै हुन् ।

तस्वीरः कमल प्रसार्इ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment