+
+

पर्यटक भेषमा अपराधः बाल यौन दूराचारीको फन्दामा नेपाली बालबालिका

कमजोर कानुनको आडमा स्वच्छन्द विदेशी

गौरव पोखरेल गौरव पोखरेल
२०७४ कात्तिक ३० गते १८:१८

३० कात्तिक, काठमाडौं । पर्यटक भिसामा नेपाल आएका नेदरल्यान्ड्सका नागरिक हेनरिक एड्रियानस जोसेफस क्रुइजेनले काठमाडौंका एक बालकलाई पढाइ खर्च र मोबाइल दिने प्रलोभन देखाए ।

७५ वर्षे उनका चिल्ला कुरा सुनेर ती बालक लोभिए । र, उनले भनेको ठाउँमा जान राजी भए ।

क्रुइजेनले खाजा र खाना खुवाउने बताउँदै ती बालकलाई कोटेश्वरको एक होटेलमा लगे । तर, त्यहाँ पुर्‍याएर उनले बालकलाई पढाइ खर्च र मोबाइल दिनुको साटो अप्राकृतिक मैथुन गराउन थाले ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विशेष सूत्रबाट घटनाबारे जानकारी पायो । र, २४ कात्तिकमा उनी पक्राउ परे ।

समाजसेवीको आवरणमा यौन दूराचार

गत भदौमा ४५ वर्षीय अस्ट्रेलियाली नागरिक मार्कुस केन्डलर समाजसेवीको भेषमा धादिङ पुगे । त्यहाँ उनले नाबालकहरुलाई विभिन्न प्रलोभन देखाएर आफूप्रति आकर्षित गराए ।

मार्कुसले परिवारलाई समेत जानकारी नदिई नाबालकहरुलाई सुटुक्क काठमाडौंस्थित एक होटेलमा ल्याए । र, पटक–पटक यौन दूराचार गरे ।

सीआईबीको टोलीले उनलाई २४ भदौमा पक्राउ गरी मानव बेचविखन तथा ओसारपसार एवं बाल यौन दूराचारको कसुरअन्तर्गत् मुद्दा चलाएको छ ।

उनी नेपाली बालकहरुसँग पटक–पटक अप्राकृतिक यौन गतिविधिमा संलग्न हुने गरेको अनुसन्धानबाट खुलेको छ । सन् २०१४ देखि उनी धादिङका गरिब बालकहरुसँग अप्राकृतिक यौन गतिविधिमा संलग्न हुन पटक–पटक नेपाल आएकोसमेत पत्तो लाग्यो ।

४ असोजमा काठमाडौं जिल्ला अदालतले उनलाई कारागार चलान गर्ने आदेश दियो । अहिले उनी जगन्नाथदेवलस्थित केन्द्रीय कारागारमा सजाय भोगिरहेका छन् ।

त्यसअघि १५ असारमा जर्मनीका ६३ वर्षीय अल्बर्ट फ्रेड क्लिनिक काठमाडौंमा बालकहरुलाई यौन दूराचार गर्ने गरेको उजुरीका आधारमा पक्राउ परे ।

उनी कलिला बालबालिकासँग यौन प्यास मेटाउन काठमाडौंमा कोठा भाडामा लिएर बसेका थिए । ११ साउनमा काठमाडौं जिल्ला अदालतले दोषी ठहर गर्दै अल्बर्टलाई कारागार चलानको आदेश दियो ।

कमजोर आर्थिक अवस्थाका बालबालिका निशानामा

प्रहरीका अनुसार नेपालमा बाल यौन दूराचारमा संलग्न विदेशी नागरिकको संख्या बढ्दो छ ।

बालबालिकाले हिनताबोध र लाजका कारण अरुलाई नसुनाउने हुँदा कतिपय यस्ता घटना बाहिर आउँदैनन् ।

तर, पछिल्लो समय बढ्दो जनचेतना र प्रहरीको सक्रियताका कारण बाल यौन दूराचारका घटना बाहिर आइरहेका छन् ।

विदेशी बाल यौन दूराचारीको निशानामा कमजोर आर्थिक अवस्था भएका तथा सडक बालबालिकाहरु पर्ने गरेको सीआईबीका प्रमुख डीआईजी पुष्कर कार्की बताउँछन् ।

बाल यौन दूराचारको आरोपमा पक्राउ परेका विदेशी नागरिकहरु अधिकांश पर्यटक भिसामा नेपाल आएको प्रहरी अनुसन्धानबाट देखिएको छ ।

कमजोर कानुन

डीआईजी कार्कीका अनुसार नेपालमा बाल यौन दूराचारको सजाय अन्यत्रभन्दा कम छ । यौन दूराचारीले नेपाल रोज्नुको कारण पनि त्यही भएको उनी बताउँछन् ।

‘नेपाल आएर बस्न आर्थिक हिसाबले पनि सस्तो र सहज हुने भएकाले विदेशीहरुको नजर पर्ने गरेको छ,’ डीआईजी कार्की भन्छन् । उनका अनुसार बाल यौन दूराचारीहरुको अन्तर्राष्ट्रिय सञ्जाल नै रहेको पत्ता लागेको छ ।

सोही सञ्जालबाट अग्रिम सूचना लिएर उनीहरु नेपाल प्रवेश गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

नेपालमा सडक बालबालिका धेरै भेटिने र उनीहरुलाई फकाउनसमेत सहज हुने अग्रिम अध्ययन गरेर बाल यौन दूराचारी नेपाल छिर्ने गरेका छन् ।

विदेशीलाई विश्वास गर्दा दूराचारमा

पश्चिमा देशहरुमा विद्यालयको पाठ्यक्रममै यौन शिक्षा समावेश गरिएको छ । त्यहाँका विद्यार्थीलाई कहाँ–कहाँ छुनु हुन्छ, कहाँ हुँदैन भन्ने सानैदेखि सिकाइएको हुन्छ ।

नचिनेको मान्छेसँग बोल्नु हुन्छ कि हुँदैन भन्ने पनि उनीहरुलाई बच्चाबाटै सिकाइएको हुन्छ । तर, नेपाली समाजमा अतिथिलाई देउता मान्ने संस्कार छ ।

नेपाली समाजमा एकअर्काबीच भेटघाट हुनेबित्तिकै दाजु–भाइ, काका–काकीलगायत साइनो गाँसिइहाल्छ । त्यो नौलो मान्छे कस्तो मनसायले नजिकिँदैछ भन्ने सोचिँदैन ।

विदेशी नागरिकले त नेपालीलाई एक वचनमै फकाउने गरेका छन् । विदेशीको फुस्रा आश्वासनमा नेपाली चाँडै लोभिन्छन् ।

‘विदेशी भन्नेबित्तिकै हाम्रो समाज सकारात्मक भइहाल्छ । उनीहरु के उद्देश्यले नजिकिँदैछन् भन्ने बुझ्दैन,’ नेपाल बाल मजदूर सरोकार केन्द्र (सिविन)का अध्यक्ष माधव प्रधान भन्छन्, ‘यही संस्कारका कारण पनि गलत मनसाय बोकेर आएका विदेशीलाई अपराध गर्न सहज भएको छ ।’

उनका अनुसार एक व्यक्तिले बालक वा बालिकलाई लिएर जाँदा किन लगिएको भनेर नसोधिने गरेका कारण पनि बाल यौन दुव्र्यवहार बढेको छ । बालबालिका आफैंले रिपोर्ट नगर्ने हुँदा समस्या भएको उनी बताउँछन् ।

सरकारले शुरु गरेको बाल हेल्पलाइन १०९८ को काठमाडौंमा सिविनले संयोजन गरेको छ । उक्त हेल्पलाइनमा पनि त्यस्ता उजुरी बेलाबेलामा आउने गरेका छन् ।

बालबालिकालाई कुन हदसम्म माया र कोठामा जान दिने कि नदिने भन्ने कुरामा सबैले ख्याल गर्नुपर्ने उनी बताउँछन् ।

ऐन के भन्छ ?

विदेशी बाल यौन दूराचारी पक्राउ परे पनि लामो समय जेल बस्नु नपर्ने भएकाले बालबालिकामार्फत् यौन प्यास मेट्न नेपाल छिर्ने गरेका छन् ।

आखिर कानुनमा चाहिँ के छ त ?

मुलुकी ऐनको महल १४ जबर्जस्ती करणीको ९ (क) मा उल्लेख छ, नाबालकलाई यौन दूराचार गरेमा जबर्जस्तीकरणी गरेको मानिनेछ ।

उक्त व्यवस्थाअन्तर्गत् पीडित १० वर्षभन्दा मुनिको भए १० देखि १५ वर्षसम्म जेल, १० देखि १४ वर्षभित्र भए आठदेखि १२ वर्ष, १४ देखि १६ वर्षको भए ६ देखि १० वर्ष, १६ देखि २० वर्षका भए पाँचदेखि आठ वर्ष र २० वर्ष वा त्यसभन्दा बढी उमेरको भए पाँचदेखि सात वर्षसम्म जेल सजाय हुने व्यवस्था छ ।

बाल यौन दूराचारमा भने त्यो व्यवस्थामा थप एक वर्ष जेल सजाय हुने कानूनी व्यवस्था छ । र, त्यसवापतको क्षतिपूर्तिसमेत पीडकबाट भराउने व्यवस्था छ ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?