Comments Add Comment

सरकार ! नोट चल्ने, भोट चाहिँ नचल्ने ?

प्रिय एलिसा !

रातिको सपना सम्झेर अहिले पनि मुटु काँपी रहेको छ । ऐठन पर्दा पनि कहिल्यै यस्तो भएको थिएन । तिमीलाई थाहा छँदैछ, म सधैँ सकारात्मक सोंच राख्ने केटी हूँ । तर एलिसा आज मैले तिम्रोबारे सारै नराम्रो सपना देखें । सुनाउन पनि डर लागिरहेको छ । प्रिय साथी ! तिमी सन्चै त छौ नि ?

समय पनि कति छटो दगुर्छ है ! पत्तै नपाई । जसले समयलाई कैद गर्न खोज्छ, अन्तत: ऊ आफैँ समयको कैदी बन्न पुग्छ । तिमीले औंला भाँचेर दिन, महिना गनेकी छौ ? तिमी इजरायल उडेकी आज ठीक छ महिना पुगेछ । सपनाबाट ब्यूँझेपछि मैले औंला भाँचेर गनिहेरें । तिमी गएदेखि फेसबुक पनि बन्द गर्यौ । कि अर्कै एकाउन्ट खोलेकी छौ ? आजसम्म न त एक कल फोन गर्यौ, न त एउटा इमेल गर्यौ, न त अरू कुनै माध्यामबाट समाचार छाड्यौ ? के गरेकी एलिसा तिमीले यस्तो ?

कार्तिक लाग्न नपाउँदै चिसिने काठमाण्डौं यसपालि त चुनावले गर्दा होला खासै चिसिएकै छैन । साँच्ची,तिमीलाई थाहा छ कि छैन, हाम्रो देशमा पहिलो पटक प्रदेश सभाको चुनाव हुन लागिरहेको छ नि ! गज्जब रमाइलो ! सात प्रदेशमा सात जना मुख्यमन्त्री बन्ने भए । अँ, प्रदेश सभासँगै प्रतिनिधि सभाको पनि चुनाव हुँदैछ नि मंसिर १० र २१ गरी दुई चरणमा । स्थानीय तहको त अस्ति नै भइसक्यो । एलिसा ! देश त साँच्चै चुनावमय भएको छ ।  देश पुरै तात्दै छ चुनावी माहौलले ।

सत्तरीको चुनावमा सूर्य छापमा भोट मात्र हालिएन, भोटै माँगेर हिँडियो । प्रचार प्रसारमा हिँड्दा कति छाक भोकभोकै बसेको कुरा त बिर्सेकी छैन हौली नि ? यसपालि त कुनै पनि पार्टीको प्रचारमा हिँड्दिन । दल र नेताहरूको ताल देखेर भित्रैदेखि फ्रस्टेसन सुरू भएको छ । देश कुनै वादको संकीर्ण सोंच राख्ने दल र नेताहरूबाट होइन, फराकिलो सोंच बोकेका, सही भिजन अनि देश र जनताप्रति समर्पित सहासी नेताहरूले बनाउने रहेछ । म त आजकल त्यस्तै नेताहरूको खोजीमा छु ।

नेतागण यो भ्रष्टाचार गर्न वाध्य पार्ने निर्वाचन प्रणाली परिबर्तन गर्नुस् । अनि मात्रै पत्याउँला सुशासन र सदाचारका कुरा

प्रिय साथी ! आज रातिको सपनापछि त मभित्रको फ्रस्टेसन झन यति बढेको छ कि भो कुरै नगरौं । पहिला तिमीलाई सपनैको कुरा सुनाउँछु है त !

उमेरले ६० टेक्न लागेको एउटा पुरूष तिम्रो २६ बर्षे बैंसालु शरीरमाथि आफ्नो पुरूषत्व प्रदर्शन गर्न आतुर थियो । तिमी बिभिन्न बहानामा त्यस यमराज पुरूषसँग बच्ने उपाय खोज्दै थियौ । तिमी त्यस पुरूषको बिरूद्ध घरी रून्थ्यौ, घरी चिच्याउँथ्यौ, घरी रिसाउँथ्यौ, घरी फकाउँथ्यौ । तर पनि तिमी उसको सामु निरिह बन्दै गइरहेकी थियौ । बगरेसामु बोका झैं । अन्तिममा उसले तिम्रो अनुनय विनयको वेवास्ता गर्दै तिमीमाथि झम्टियो । चिलले चल्ला झम्टे झैं ।

उसले तिम्रो शरीरबाट एकएक गर्दै कपडा उतार्न  थाल्यो । मेरो आँखा अगाडि तिमी सर्वांग नग्न भयौ । तिम्रा सुडौल शरीरमा त्यस हिंस्रक पुरूषले निर्ममतापूर्वक चावुक चलायो । पहरामा पानी रसाएसरी तिम्रो शरीरको बिभिन्न अंगबाट रातो रगत रसाउन थाल्यो । तिम्रो प्रतिरोधी क्षमता सायद अन्त्य हुँदै थियो । तैपनि तिमी अर्धमूर्छित अबस्थामा प्रतिरोध गरिरहेकी थियौ । तिम्रो त्यस्तो अबस्थामा पनि त्यस पापी पुरूष तिम्रो लासमाथि आफ्नो पुरूषत्व देखाउन आतुर थियो ।

प्यारी सखी ! हेर्दाहेर्दै तिमी मेरो आँखा अगाडि त्यस इजरायली पुरूषबाट बलात्कृत भयौ । तिमीलाई लागेको होला, अब त सपना टुंगियो । अहँ, छैन अझै टुंगिएको । त्यसपछि तिमीले आफ्नो ३ बर्षे पुतली जस्ती छोरीलाई सम्झियौ र मुटु फुटाएर भक्कानियौ । अनि लगतै सम्झियौ देवतासमान आफ्नो पतिदेवलाई । त्यसपछि के गर्यौ तिमीले थाहा छ ? त्यसपछि पतिदेवसँग माफी माँग्यौ, छोरीलाई मुटुभरीको मायाँ गर्यौ र फटाफट अघि बढ्यौ ३५ तले भवनको झ्यालतिर । त्यसपछि…त्यसपछि म सपनाबाट चिच्याउँदै ब्युँझिएँ ।

मेरो मुटुमा १० रेक्टरको भूकम्पको कम्पन पैदा भइरहेको थियो । शरीर पसिनाले लछप्प भिजेको थियो । म आँखा खोल्न सक्ने अबस्थामा थिइनँ । तैपनि बिस्तार बिस्तार जबर्जस्ती आँखा खोलें । जिरो वाटको बल्वले कोठामा मधुरो प्रकाश छरिरहेको थियो । झ्याल खोलेर बाहिर हेर्ने आँट आएन । किनकि, भर्खरै तिमी झ्यालबाट…..। एलिसा ! त्यस भयानक सपनापछि न त मेरो मनबाट डर हटेको छ, न त आँखामा निँद नै आएको छ ।

मेरी प्यारी एलिसा ! मेरो यो सपना केवल सपना मात्रै हो नि ? तिमी ठिकठाक त छौ नि ?? भगवानसँग प्रार्थाना गर्दछु- केही नहोस् मेरी एलिसालाई ।

चुनावमा पैसाको खोला बगाउन सुरू गरिसकेका छन् नेताहरूले । अहिले चुनावमा खर्च भएको पैसा भोलि भ्रष्टाचार नगरी कसरी असुल उपर हुन्छ ? के जनताको नाममा मिनाहा गरिदेलान् त नेताहरूले ?

एलिसा ! जान्नेहरूले सपना विपनाकै प्रतिबिम्ब हो भन्छन् । मलाई पनि त्यस्तै लाग्छ । आजकल बैदेशिक रोजगारीमा गएका महिलाहरू अपमानित भएको, लुटिएको, बलात्कृत भएको, मारिएको खबरहरू सामाजिक सन्जाल र बिभिन्न सन्चार माध्यामहरूमा दिनहुँजसो आइरहन्छ । त्यसैको प्रतिबिम्बन त होइन आज रातिको सपनामा ? हुन त आफ्नै देशमा पनि हामी महिलाहरू कहाँ सुरक्षित छौं र ? लैंगिक विभेद र त्यसले निम्त्याउने बिविधखाले असुरक्षाहरू कदमैपिच्छे भोगि त रहेका छौं ।

सबभन्दा बढी समानताको कुरा गर्ने राजनीतिक पार्टीहरूले यसपाली चुनावमा टिकट बाँड्दा आफ्नो सक्कली अनुहार छ्यांग देखाए । महिलाहरूले चुनाव जित्दैन भनेर टिकटै दिएन एलिसा दलहरूले । भन्नेबेलामा आधा आकास आधा धर्ती, रथका दुई पांग्रामध्ये एक पांग्रा, नारा लाउने बेला महिला पुरूष बराबरी अनि ब्यबहारमा यत्रो अन्याय ? अनि यस्ता दलहरूको पछि लागेर के गर्नु ? बेकार समयको बर्बादी ।

दलहरूको चुनावी घोषणा-पत्र पढ्दा सपनाको पुलिन्दा जस्तो लाग्छ । पाँच बर्षमा प्रतिब्यक्ति आय पाँच हजार अमेरिकी डलर पुर्याउने रे ! गरिबी, बेरोजगारी छु मन्तर गर्ने रे ! नेतागण ! कसरी पुर्याउनुहुन्छ प्रतिब्यक्ति आय पाँच हजार डलर अनि कसरी छु मन्तर गर्नुहुन्छ गरिबी र बेरोजगारी ?

एलिसा ! एक करोड ५४ लाख मतदातामध्ये तिमीहरू जस्ता ५० लाख युवा मतदातालाई बिदेशमा बेचेर प्राप्त बिप्रेषणबाट देश चलिरहेको छ । ती ५० लाख मतदाताको बिप्रेषण आउन बन्द भएको भोलिपल्ट देशको हालत के होला ? सोचेका छन् नेताहरूले । सरकार ! जसको नोटले देश चलिरहेको छ, आज उनीहरू कै भोट चाहिँ नचल्ने ? नेताहरूलाई खुब डर छ यी ५० लाख मतदाताहरूको ? नहोस् पनि कसोरी ? ती ५० लाख मतदाताले मत हाल्न पाएको दिन उनीहरूको सत्ता ढल्नेछ । किनकि, उनीहरूले आफ्नो विवेक प्रयोग गर्नेछन् ।

सके आफ्नै दलभित्रबाट, नसके दलबाहिरबाट, त्यतिले पनि नसके देशबाहिरबाट सरकार बनेको दिनबाट सरकार ढलाउने षड्यन्त्र सुरू हुने देश हो नेपाल । माननीय सांसदज्यूहरू भेडाबाख्रा झैं किनबेच हुने देश हो नेपाल । अनि कसरी देशमा राजनीतिक स्थिरता कायम होला ? स्थिर सरकारविना देशलाई समृद्ध र स्वर्ग बनाउने नेताहरूको कबुल कसरी पुरा होला ? टाउको दुखेको औषधि नाभीमा दलेर खोई कसरी रोग निको होला र नेतागण ?

नेताहरूले भ्रष्टाचार रोक्ने, सुशासन र सदाचार कायम गर्ने वाचा गरेका छन् आ-आफ्नो घोषणा-पत्रमा । तर, चुनावमा पैसाको खोला बगाउन सुरू गरिसकेका छन् नेताहरूले । अहिले चुनावमा खर्च भएको पैसा भोलि भ्रष्टाचार नगरी कसरी असुल उपर हुन्छ ? के जनताको नाममा मिनाहा गरिदेलान् त नेताहरूले ? असंभव । त्यसैले नेतागण यो भ्रष्टाचार गर्न वाध्य पार्ने निर्वाचन प्रणाली परिबर्तन गर्नुस् । अनि मात्रै पत्याउँला सुशासन र सदाचारका कुरा ।

एलिसा ! बढी नै बहकिएँ कि के हो म त ? नेताहरूलाई बढी नै गाली गरेँ कि के हो ? आक्रोश कहाँ पोखौं भइरहेको थियो । यहीँ पोखेँ । अन्यथा नठान ल । नेता गतिला भएका भए देश गतिलो हुन्थ्यो, देश गतिलो भएको भए तिमीलगायत ५० लाख युवाहरू बिदेशिनु पर्दैनथ्यो ।

एलिसा ! जहाँ रहे पनि सुखी रहनु, खुसी रहनु, प्रगतिपथमा लम्किरहनु । तिमीलाई मेरो शुभकामना ! मेरो यो मनको वह पढ्न पायौ भने तुरुन्त इमेल लेख्नु । यतिसारो निष्ठुरी चाहिँ नबन्नु ल । बाई…!!

उही तिम्री राधा ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
राधा पोखरेल

अनलाइनखबरमा नियमित स्तम्भ लेख्ने युवापुस्ताकी लेखिका राधा पाेखरेल सामाजिक-राजनीतिक विषयमा केन्द्रित रहेर विशेषतः नारी एवं बालबालिकाकाे पक्षमा कलम चलाउँछिन्

ट्रेन्डिङ

Advertisment