Comments Add Comment

माधव नेपालको ‘भोल्टेज’ घटाउने ‘स्टेबलाइजर’

साझा विवेकशीलका सूर्यराज भन्छन्- हामी 'स्टेबलाइजर' हौं

३० कात्तिक, काठमाडौं । आशन्न चुनावमा राजधानीका ‘हेभीवेट’ उम्मेदवारलाई केही नयाँले चुनौती दिँदैछन् । काठमाडौं १ मा प्रकाशमान सिंहलाई  विवेकशील साझा पार्टीका रविन्द्र मिश्रले हाराभारा खेलाउँदैछन् भने क्षेत्र नम्बर २ मा पूर्वप्रधानमन्त्री माधव नेपाललाई विवेकशील साझाकै डा. सूर्यराज आचार्यले अप्ठ्यारो  पार्न थालेका छन् ।

काठमाडौं क्षेत्र नम्बर ४ मा कांग्रेसका युवा नेता गगन थापालाई विवेकशील साझाकी सुबुना बस्नेतले धावा बोलेकी छिन् । त्यसैगरी काठमाडौं ५ मा एमाले महासचिव ईश्वर पोखरेललाई विवेकशील साझाकै शीर्षनेता उज्वल थापाले चुनौती दिन खोजेका छन् ।

रविन्द्र मिश्र बाहेक अरु चुनाव क्षेत्रका विवेकशील साझाका उम्मेदवारहरु वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन भन्दा पछाडि नै रहने अनुमान गर्न सकिन्छ । तर, दुई ठूला गठबन्धनको हारजितलाई काठमाडौंका यी चारवटा चुनाव क्षेत्रमा साझा विवेकशील पार्टीले काट्ने मतले राम्रैसँग प्रभाव पार्ने देखिन्छ ।

यसै सिलसिलामा हामीले काठमाडौं २ मा माधव नेपाल र कांग्रेसका दीपक कुइँकेलसँग टक्कर गरिरहेका विवेकशील साझा पार्टीका उम्मेदवार डा. सूर्यराज आचार्यसँग अन्तरसम्वाद गरेका छौं ।

चर्चित पूर्वाधारविद डा. आचार्यले अनलाइनखबरसँग भने- ‘भोल्टेज ३०० भयो भने स्टेबलाइजरले २४०/ २३० मा ल्याउँछ । कम भयो भने पनि तानेर बढाउँछ । भोलि जति संख्यामा हामी पार्लियामेन्टमा जान्छौं, हामी स्टेप्लाइजर हुनेछौं, स्थिरताका लागि पनि र लोकतन्त्रको रक्षाका लागि पनि ।’

काठमाडौं क्षेत्र नम्बर दुईको चुनावी स्थिति र साझा विवेकशीलको तयारीबारे प्रश्नोत्तर गर्नुभन्दा अगाडि माधव नेपाल र दीपक कुईकेलसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका डा. सूर्यराज आचार्य को हुन् ? यसबारे चर्चा गरौं ।

अस्कल क्याम्पसको त्यो एक वर्ष !

काठमाडौं २ मा विवेकशील साझा पार्टीका उम्मेदवार डा. सूर्यराज आचार्यको जन्म ०१९ साल कास्कीमा भएको हो । उनी एक वर्षको हुँदा उनको परिवार चितवन पटियानीमा बसाइँ सर्‍यो । उनले त्यहीँबाट सरकारी स्कुल पढेर एसएलसी पास गरे ।

मैले राजनीतिमा आउँछु भन्ने सोचेको थिइँन । हामीले यसरी बन्छ नेपाल भन्ने बहस गरिरहँदा रविन्द्रजी मिश्रजीले फोन पत्ता लगाएर मलाई बोलाउनुभयो । दुई/चारचोटिको भेटमा मैले रविन्द्रजीलाई साच्चिँकै यो देश बिग्रिँदाखेरि भित्रैबाट मन रुने नेपालीका रुपमा पाएँ । त्यसबाट प्रभावित भएर म राजनीतिमा आएको हुँ

आचार्य पटियानीबाट काठमाडौंको अमृत साइन्स क्याम्पस, अस्कलमा आइएस्सी पढ्न आउँदा देश ०३६ सालको पञ्चायतविरोधी जनसंघर्षको राप र तापमा सेलाइसकेकै थिएन ।

यही क्रममा आचार्यले करिब एक वर्षजति तत्कालीन मालेसमर्थित अनेरास्ववियुको प्रारम्भिक कमिटीका काम गरे । सामाजिक न्याय, समानता र गरीबका पक्षमा बोल्न र गम्भीर बन्न आफूलाई त्यो एक वर्षको अनुभवले सिकाएको आचार्य बताउँछन् ।

आफ्नो विगत सम्झँदै डा. आचार्य भन्छन्- ‘स्कुलदेखि नै बाहिरी किताबहरु पढ्ने बानी थियो, अस्कलमा आएपछि वामपन्थीहरुको संगतमा आइयो । पछि मास्टर्स र पीएचडीको रिसर्च गर्दा प्लेटोको किताब पढियो । ग्रिक दार्शनिकका किताबहरु पढियो । आइएस्सी पढ्दा द्वन्द्ववाददेखि लिएर बीपीका किताव, गृष्मबहादुर देवकोटाको इतिहास पढें । यसले राजनीतिको दृष्टिकोण बनाउने चाख बढ्यो । मास्टर्स गर्दा पीएचडी गर्दा ती पढेका कुराहरु जोडिए ।’

डा. आचार्य भन्छन्- ‘त्यो एक वर्ष राजनीतिमा लाग्दा त्यसले मलाई आलोचनात्मक चेतना दियो । र, त्यो एक वर्ष मेरो जीवनका लागि अत्यन्त महत्वपूर्ण रह्यो ।’

बुर्जुवाको आरोपसँगै अखिलमा मोहभंग

‘संगठनमा लागेको एक वर्षभित्रै अनावश्यक राजनीतिकरण र गैरजिम्मेवारीपन देखेर मलाई वितृष्णा भयो,’ आचार्य भन्छन्, ‘भोलि पञ्चायती निरंकुशता ढालेर जनताको सरकार आयो भने देश चलाउने डाक्टर इञ्जिनियर चाहिन्छ, जो हामी नै हौं । तर, अहिले पढ्ने बेलामा हामीलाई यसरी राजनीतिमा मात्रै लगाएर कसरी देश चलाउने ? यस्तो प्रश्न राख्दा नेताहरुले मलाई निम्नपुँजीवादी बुर्जुवा सोच भएको भनेर स्पष्टीकरण लिनुभयो । विद्यार्थी नेताहरु पढाइमा भन्दा हुलदंगामा जाने गर्न थालेपछि यहीँबाट मेरो मोह भंग भयो ।’

डा. आचार्यको वैयक्तिक अनुभव छ- ‘विद्यार्थीहरुलाई राजनीतिमा प्रतिबन्ध लगाइनुपर्छ भन्न खोजेको हैन, विद्यार्थीले राजनीति जान्नुपर्छ, राजनीतिक भाष्यका कुरा पढ्दाखेरि प्रदीप गिरी र घनश्याम भुसालहरुलाई मात्रै पढ्नुपर्ने स्थिति हुनुहुँदैन, तर विद्यार्थीलाई पढाइ नै छाडेर अतिशय राजनीतिमा लगाउनु उचित होइन ।’

जापान टोकियो ! जागिरे जीवन झयाप्पै रोकियो !

आचार्यले अस्कलको पढाइ सकेपछि छात्रवृत्ति पाए । उनले भारतबाट सिभिल इञ्जिनियरिङमा स्नातक गरे । त्यसपछि एआइटी बैंककबाट स्रोत व्यवस्थापनमा स्नातकोत्तर पूरा गरे । त्यसपछि उनले जापानको टोकियो विश्वविद्यालयबाट ‘पूर्वाधार र क्षेत्रीय विकास’ विषयमा पीएचडी गरे ।

पीएचडीको अध्ययन सकेपछि डा. आचार्यले टोकियोमा ‘इन्स्टिच्युट फर ट्रान्सपोर्ट पोलिसी स्टडिज’ मा लामो समय काम गरे । त्यहाँ काम गर्दा उनले शहरी विकास, पूर्वाधार एवं यातायातको क्षेत्रमा दक्षता हासिल गरे । र, यही कारणले नेपालमा उनलाई पूर्वाधारविदका रुपमा चिन्ने गरिएको हो ।

इञ्जिनियर पढेर आएपछि आचार्यले नेपालमा करिब ५ वर्ष सरकारी सेवामा पनि काम गरे । सिञ्चाइ विभाग र शहरी विकास मन्त्रालयमा काम गर्दाखेरि नै उनलाई लागि सकेको थियो, इञ्जिनियरको भन्दा महत्वपूर्ण काम त योजना तर्जुमा र नीति निर्माण नै रहेछ ।

‘त्यसबेला विभाग र मन्त्रालयका मिटिङहरु हेर्दा नीति निर्माणमा अलमल भएको हो कि जस्तो लाग्यो,’ आचार्य त्यसबेलाको जागिरे जीवन सम्झन्छन्- ‘म एउटा वर्कसपमा गएको थिएँ, त्यहाँ हाम्रो सिँचाई सम्बन्धी राष्ट्रिय नीति कसरी बनाउनुपर्छ भन्दा त एडीबीको कन्सल्ट्यान्टबाट हामीले हाम्रा किसानको आवश्यकता के हो भन्ने प्रवचन सुन्नुपर्ने ! मलाई कता कता अप्ठ्यारो लाग्यो । मलाई त्यहीँदेखि यो पूर्वाधार विकासको नीतिगत प्राथमिकता हामी आफैंले रोज्नुपर्छ भन्ने लाग्न थाल्यो । विदेशी परामर्शदात्रीहरुले हाम्रो प्राथमिकता नै खल्बल्याइदिएका हुन् कि भन्ने लाग्यो ।’

सरकारी जागिर खाँदा भोगेको यही अनुभूतिका कारण नीतिगत मामिलामा अलिकति जान्ने धोको जागेको र टोकियो विश्वविद्यालयका सिनिययर प्राध्यापकसँग भाग्यवसले संगत हुन पाएको आचार्य सुनाउँछन् ।

डा. आचार्य अगाडि भन्छन्- ‘त्यसैले पूर्वाधार नीति सम्बन्धमा पीएचडी गरें । त्यसपछि त्यहाँको भौतिक पूर्वाधार मन्त्रालयसँग सम्वद्ध स्वतन्त्र थिंक ट्यांकमा बसेर काम गर्ने मौका पाएँ । र, विश्वविद्यालयमा सिकेको ज्ञानलाई अझै विस्तारित गर्ने मौका पाएँ ।

जापान बसुञ्जेल एशियाको पूर्वाधार विकासको नीतिबारेमा रिसर्च कमिटीहरुको नेतृत्व तहमै रहेर काम गरेपछि आचार्य नेपाल फर्केकोे लगभग ५/६ वर्ष मात्रै भएको छ ।

नेपाल फर्केपछि पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा अतिथि प्राध्यापक भएर आचार्यले केही महिना अगाडिसम्म प्राध्यापन गरिरहेका थिए । सक्रिय राजनीतिमा होमिएपछि केही महिनायता उनको जागिरे कदम झ्याप्पै रोकिएको छ ।

डा. आचार्यका दाह्री कपाल तिलचामले भइसकेका छन् । उमेरले ५५ तिर हिँड्दैछन् । तर, एउटा युवक जसरी राजनीतिमा जोसिएर होमिएका छन्, भर्खरै ।

‘युवासँग संगत गर्न पाउँदा मैले आफूलाई भाग्यमानी ठान्छु, युवाहरुसँग बस्न रुचाउँछु,’ हँसिलो मिजासका डा. सा’बले अनलाइनखबरसँग भने, ‘मेरो दाह्री कपाल फुलेकाहरुसँग बसेर कफी खाँदा दिक्क लाग्छ, युवाहरुले मलाई रिफ्रेस गरिदिनुहुन्छ ।’

बुढेसकालमा राजनीति किन ?

‘मैले राजनीतिमा आउँछु भन्ने सोचेको थिइँन । हामीले यसरी बन्छ नेपाल भन्ने बहस गरिरहँदा रविन्द्रजी मिश्रजीले फोन पत्ता लगाएर मलाई बोलाउनुभयो,’ डा. आचार्यले भने, ‘उहाँ अहिले हाम्रो पार्टीको नेता भएकाले भनेको हैन, दुई/चारचोटिको भेटमा मैले रविन्द्रजीलाई साच्चिँकै यो देश बिग्रिँदाखेरि भित्रैबाट मन रुने नेपालीका रुपमा पाएँ ।

डा. आचार्यले फेरि रविन्द्र मिश्रकै बारेमा थप टिप्पणी गरे- ‘ हो, प्रोफेसनल राजनीतिज्ञ उहाँ हुनुहुन्न ।, राजनीतिका कुरा खारखेर नै गर्नुभयो भने उहाँलाई धेरै शास्त्रीय कुरा नआउला । तर, उहाँसँग इमान र निष्ठा छ । यो देश बिगि्रँदाखेरि उहाँ रुने मान्छेभित्र पर्नुहुन्छ । त्यसबाट प्रभावित भएर म राजनीतिमा आएको हुँ । ‘

आफू दुईवटा कुराले राजनीतिमा तानिएको डा. आचार्य बताउँछन् । उनले राजनीतिमा प्रवेश गर्नुको कारणबारे थप व्याख्या गर्दै भने- ‘म दुईवटा कुराले राजनीतिमा आएको हुँ । एउटा- पूर्वधार विकास र आर्थिक विकासमा काम गर्न मलाई हुटहुटीले भएको हो । विकास र पूर्वाधारको हुटहुटीले गर्दा राजनीतिमा आएको हुँ ।

हामी नयाँ पार्टी छौं । हामीसँग सदभाव हुँदाहुँदै पनि पार्टीप्रति प्रतिवद्ध कार्यकर्ताहरुले हामीलाई भोट दिन सक्नुहुन्न । त्यसैले स्विङ भोट हामीलाई चाहिन्छ । काठमाडौंको २ मा स्विङ भोट बढी छ

र, दोस्रो- मैले इमान्दारितापूर्वक भन्नैपर्छ, रविन्द्रजीको अठोट देखेर हो । रविन्द्रजीलाई सघाउनका लागि हो । त्यसैले मैले धर्म गरेको हो ।

बुढेसकालमा देवघाटमा गएर ध्यान गर्दाखेरि आफूलाई पश्चाताप नहोस् भनेर आफूले देश र अहिलेको पुस्ताका लागि केही योगदान गर्न खोजेको डा. आचार्यले बताए ।

आचार्यले अलिकति भावुक हुँदै भने- ‘हामी प्राज्ञहरुलाई सम्पत्ति आर्जन गर्ने लालसा छैन । हामीलाई के छ भने यो समाजलाई रुपान्तरण गर्न सक्यौं भने भोलि देवघाटमा जीवनको अन्तिम समयमा गएर ध्यान गर्दा खरर यिनै कुराहरु आउन् । हाम्रो सन्तोष यही हो । देश परिवर्तन भयो भने हाम्रो स्वर्णपदक त्यही हो । भोलि म देवघाटमा हुँदा पश्चाताप गर्ने ठाउँ नहोस् हामीले त देश नबिगि्रयोस भनेर प्रयास त गरेका हौं है भनेर सन्तोष गर्ने ठाउँ होस् भनेर कर्म गरेको हुँ । समाजप्रतिको दायित्वले मलाई राजनीतिमा धकेलिदिएको हो । ताकि भोलि वृद्ध भएर देवघाटमा बस्दा मैले पश्चाताप गर्नु नपरोस् ।’

परिवर्तन सम्भव छ, हाम्रै पालामा !

डा. आचार्य राजनीतिमा लागेर देश बदल्न सकिने विश्वासमा छन् । उनले आफूभित्रको विश्वास यसरी प्रकट गरे- ‘मेरो एकदमै आत्मविश्वास के हो भने पार्लियामेन्टमा गएर दुई/चारवटा नीतिमात्रै पनि सच्याउन सक्यौं भने देशमा सकारात्मक परिवर्तन हुन्छ । जस्तो-अहिले कुलमान घिसिङले गर्नुभयो । उहाँ त व्यवस्थापकमात्रै हो, नीति पनि चेञ्ज गर्नुभएको होइन । उहाँले त भएकै नीतिमा काम गर्नुभएको हो ।’

पूर्वाधारविद आचार्यले अगाडि भने- ‘पूर्वाधार क्षेत्रको विकासका लागि म राजनीतिमा आएको हुँ । ३/४ वर्षमा परिवर्तन गर्न सकिन्छ । मैले काल्पनिक कुरो गरेको होइन । विदेशमा यस्तो सम्भव भएको छ ।’

अचाक्ली पार्टीकरणबाट वाक्क !

विद्यार्थीकालमा बढ्ता पार्टीकरण देखेर विरक्तिएका आचार्य अहिले पनि देशमा अति पार्टीकरणका कारण राजनीति विषाक्त बनेको र विकासले गति लिन नसकेको गुनासो गर्छन् ।

आचार्य अगाडि भन्छन्- ‘हाम्रा नेताहरु कोही जेल बसेर आउनुभयो, संघर्ष गरेर आउनुभयो, आफ्ना जहान परिवार सबै सर्वस्व गरेर आउनुभयो । यो स्तुतीय कुरो छ । तर, राज्यसत्ता सञ्चालन गर्ने त अलिअलि प्राविधिक कुरो, व्यवस्थापकीय कुरो र प्राज्ञिक कुरो पनि हो । त्यहाँ उहाँहरुलाई जुन फिडब्याक हुनुपर्ने हो, त्यहाँ आफैंले पर्खाल लाइदिनुभो । यो बुद्धिजीवी यो दलको, ऊ बुद्धिजीवी ऊ दलको । मैले अखबारमा लेख्दाखेरि पनि धेरैले भन्नुभयो, तपाईहरु कुन दलको हो ? कहिले फलानोलाई समर्थन गर्नुहुन्छ, कहिले फलानोलाई छाला काढ्नुहुन्छ, कस्तो अस्थिर बुद्धिजीवी ?’

बुढेसकालमा युवा जोश बोकेर राजनीतिमा हेलिएका डा. आचार्यसँग अनलाइनखबरले काठमाडौं क्षेत्र नम्बर २ मा केन्द्रित भएर गरेको कुराकानीः

पूर्वप्रधानमन्त्री माधव नेपालजस्ता हेभीवेटका उम्मदेवार उठेका छन् भनेर जान्दाजान्दै तपाई किन जोरी खोज्दै काठमाडौं- २ मै चुनाव लड्न जानुभएको ? माधव नेपाललाई जित्छु भन्ने लागेको छ ?

हामी नयाँ पार्टी छौं । हामीसँग सदभाव हुँदाहुँदै पनि पार्टीप्रति प्रतिवद्ध कार्यकर्ताहरुले हामीलाई भोट दिन सक्नुहुन्न । त्यसैले स्विङ भोट हामीलाई चाहिन्छ । काठमाडौंको २ नम्बर क्षेत्रमा हेर्ने हो भने तीनै चोटि तीन फरक पार्टीका नेताहरुले जितेका छन् । यहाँ स्विङ भोट बढी छ ।

यहाँ मैले के पाएँ भने बत्तीसपुतली, सिनामंगल, कोटेश्वर, पेप्सीकोला, गोठाटार, मूलपानी, थली, डाँछी, साँखु हुँदैमाथिको फेदी र नाङलेभारेसमेत हेर्दा यो त मिनी नेपाल रहेछ । मैले विकास, पूर्वाधार र शहरी विकासका बारेमा जे ज्ञान छ, त्यो लागू गर्ने हो भने त यो क्षेत्र त नमूना बनाउनलाई लागू गर्ने ठाउँ त यही रहेछ भनेर यसले मलाई आकषिर्त गर्‍यो ।

यहाँको बाटोका अवस्था हेर्नुहुन्छ भने बर्बाद छ । यहाँको ठेक्का व्यवस्थापनदेखि करारदेखि सुशासनसम्म सबै कुराहरु यही बाटोमा देखिएको छ । एयरपोर्ट पनि यहीँ छ । एयरपोर्टका कारणले पेप्सीकोला, गोठाटारमा बाटो बनाउनुपर्‍यो भने पनि समस्या छ ।

तर, मैले के भनेको छु भने हाम्रो प्रतिव्यक्ति आय १० हजार डलर पुग्दासम्म काठमाडौंमा यो एयरपोर्ट नै रहँदैन । प्लेनै उड्दैन । जस्तो- रेल्वे २५ सय किलोमिटर बनाउन सक्यौं भने माउन्टेन फ्लाइट एक दुईवटा होलान्, तर हाम्रोमा डोमेस्टिक एभिएसन भन्ने हुँदैन । डोमेस्टिक उडान हामीले फेजआउट गरिदिए हुन्छ । निजगढबाट रेलले जोडिएपछि राजधानी आधा घण्टाको बाटो हो । मैले गोठाटारमा भएको छलफलमा भनें १० /२० वर्षपछि यहाँ एयरपोर्ट नै हुँदैन, पार्क हुन्छ ।

म अस्ति गोठाटार गएँ, त्यहाँ एमालेको सरकार हुँदा मदन आश्रति कलेज खोलिदिनुभएछ, त्यहाँ पर्ती जग्गा रहेछ । ठूलो एरिया भएको त्यो ठाउँमा पार्क पो बनाउनुपर्छ त । पर्ती जग्गा सरकारले दिएको निर्णय गरेर उहाँहरुले टेक्निकल कलेज बनाइदिनुभयो । काठमाडौंको विकासबारे हामीसँग सोच नै भएन । खुल्ला ठाउँ भनेको त सीटीको फोक्सो हो, यसलाई बचाउनुपर्छ ।

मैले भन्न खोजेको के हो भने, शहरका यी समस्याहरु समाधानका लागि मेरो ज्ञान सीप सबै लगाएर म काम गर्छु । यसैका लागि मैले २ नम्बर क्षेत्र रोजेको हुँ ।

तर, माधव नेपालजस्तो ‘हेभीवेट’ प्रतिस्पर्धीलाई जित्न सक्नुहुन्छ ?

कतिपयले मलाई माधव नेपालसँग किन निहुँ खोज्न उठेको भनेर पनि सोध्नुभयो । निहुँ भन्ने शब्दको कुरा नगरौं । यहाँ माधव नेपाल हुनुहुन्छ, हामीले जितेनौं भने हामी बर्बादै हुन्छौं भन्ने हाम्रो मानसिकता छैन । हाम्रो यो एउटा अभियान हो । यो पार्टीमात्रै होइन, यो राष्ट्रिय अभियान हो । यसलाई सामाजिक अभियान भन्नोस्, अथवा राजनीतिक सुधार अभियान भन्नुहोस् ।

यो चुनावमा हामीले केही टुहुरा भएका र बहसमा आउन नसकेका राष्ट्रिय एजेण्डाहरुलाई बहसमा ल्याउन खोजेका हौं । यी एजेण्डाहरुलाई राजनीतिज्ञले बहस गरिदिए न तपाई मिडियाकर्मीहरुले पनि बहसमा ल्याउने हो । राजनीतिज्ञहरुले अप्ठ्यारा कुराहरु बहसमा ल्याउनुहुन्न । माधव नेपालजीको उपस्थिति हुँदा यसलाई बहसमा ल्याउन सहज हुनेछ भन्ने मेरो बुझाइ हो ।

माधव नेपालसँग चुनाव लड्दा तपाईलाई सहज भइरहेको छ कि असहज ?

मलाई थाहा छ, उहाँ ‘हेभीवेट’ हुनुहुन्छ । २ नम्बर क्षेत्रबाट मलाई सूचना पनि आएको थियो कि यहाँ ६० प्रतिशत वामपन्थीहरुको भोट बैंक हो । तर, यति हुँदाहुँदै हामी विवेकशील साझालाई राष्ट्रिय पार्टी बनाउने लक्ष छ । चुनाव हो, भोलि स्विङ भोटले गर्दा म आशावादी छु ।

माधव नेपालजी यस्तो व्यक्तित्व हुनुहुन्छ, म विद्यार्थी हुँदा उहाँको जीवनको पूर्वाद्धबाट (उत्तरार्धबाट होइन) मैले प्रेरणा लिएको हुँ । वीपी, किसुनजी, गणेशमान, पुष्पलाल, मदन भण्डारी, मनमोहन, उहाँकै हाराहारीको मान्छे हो माधव नेपालजी । सीपी मैनाली नै भन्नोस्, हामी अस्कलमा पढ्दा उहाँ तिलस्मी नायकजस्तो हुनुहुन्थ्यो । त्यसैले माधवजीप्रति अत्यन्त श्रद्धा छ मेरो ।

म यहाँलाई भनौं, भोलि मैले चुनाव जितें र माधवजीले हार्नुभयो भने पार्लियामेन्ट जानुभन्दा पहिले म उहाँसँग आशिर्वाद लिएर जान्छु । हामी मर्यादित राजनीतिको पक्षमा छौं ।

त्यसैले निहुँ होइन, एउटा बरिष्ठ राजनीतिज्ञ, जो २५/३० वर्षदेखि अविछिन्न राजनीतिमा हुनुहुन्छ । उहाँ प्रधानमन्त्रीसमेत भइसक्नुभएको छ । ठूला मान्छेसँग चुनावी प्रतिस्पर्धा हुँदाखेरि राष्ट्रिय एजेण्डाहरुलाई बहसमा ल्याउन सजिलो हुन्छ ।

त्यसैले म निहुँ खोज्नलाई उठेको होइन, सकारात्मक हिसाबले एउटा ‘चुनावी मुद्दा भर्सेस राजनीति’का लागि हो ।

चुनावी अभियान क्रममा माधव नेपालसँग भेट भएको छ कि छैन ?

उहाँसँग मेरो प्रत्यक्ष भेट भएको छैन, कार्यकर्ता र शुभेच्छुकहरुसँग भेट भएको छ ।

चुनावी अभियानमा हिँड्दा कस्तो अनुभूति भइरहेको छ त ?

सुरुमा मलाई वामपन्थीहरुको एकता भएका बेलामा उहाँहरुको संगठित भोट भएका ठाउँमा मैले जोखिमपूर्ण निर्णय पो लिएँ कि भन्ने लागेको थियो । तर, यहाँलाई भनौं, १०/१२ दिनयता ग्राउण्ड लेबलमा जाँदा सरप्राइज्ड भएको छु । नेपालीमा शायद यसलाई ‘शुखद चमत्कार’ भन्छ ।

कसरी भयो सुखद चमत्कार ?

एमालेकै कतिपय कार्यकर्ता, जो अघिल्लो चुनावमा माधव नेपाललाई जिताउन मरेर लाग्नुभएको थियो, उहाँले भन्नुभयो कि देशले परिवर्तन चाहेको छ, तपाईको म टि्वटरमा फलोअर छु । अखबारमा तीन वर्षदेखि तपाईका लेखहरु पढिरहेको छु । तपाईलाई मैले सहयोग गरिनँ भने मलाई पाप लाग्छ । खुलेर त म कति गर्न सक्छु तर तपाईलाई सहयोग गर्छु । यसो भन्ने शुभेच्छुकहरु एमालेमा पाएँ । त्यस्तै कांग्रेसतर्फको स्विङ भोटहरु पनि मलाई आउँछ ।

एउटै कुरा के छ भने हाम्रा शुभेच्छुकहरुसँग आफ्नो चुनावचिन्ह र हाम्रो सूचना नै कति पुर्‍याउन सक्छौं भन्ने मुख्य कुरा हो । कतिपय ठाउँमा त साझा पार्टी भन्नेवित्तिकै क्यामेरा हो नि तपाईहरुको चुनाव चिन्ह ? भन्नुभयो । हाम्रो चुनावचिन्ह तराजु हो भन्ने सूचना पनि हामीले पुर्‍याउन सकेका छैनौं । हामीसँग स्वयंसेवकहरु हुनुहुन्छ, कार्यकर्ता अझै हुनुहुन्न । किनभने हामीले संगठनको समय नै पाएका छैनौं ।

त्यसैले ग्राण्डबाट जुन रेस्पोन्स आइरहेको छ, म त जित्नेमा एकदमै आशावादी छु । चुनाव हो, जित्ने हार्ने सम्भावनाको खेल हो । त्यसैले अहिले नै म जित्छु भनेर दाबी गर्दिनँ । मैले जितिसकें भनेर अहिले नै भन्दिनँ ।

यसको मतलव, सुरुमा तपाई जसरी सशंकित हुनुहुन्थ्यो, फिल्डमा गइसकेपछि जितिने रहेछ भन्ने उत्साह जागेको हो ?

साँच्चि नै । उत्साह बढेको छ । अब तीन हप्ता बाँकी छ, म जितको नजिक पुगेको छु । ठाउँठाउँबाट बुद्धीजीवीहरुले, स्थानीयहरुले तपाईहरु आइदिनोस् भनिरहनुभएको छ । हामी नै स्पोन्सर्ड गरेर अन्तरक्रिया राख्छौं, तपाईका कुरा सुन्छौं भनिरहनुभएको छ ।

तपाई के भनेर भोट माग्दै हुनुहुन्छ ?

अस्ति मैले कोटेश्वरको एउटा कार्यक्रममा भनें, हामी मतदातालाई तर्साएर भोट माग्दैनौं । हाम्रो बारेमा जानकारी लिइदिनोस्, खारखेर गर्नोस् । तपाईहरुको विवेक प्रयोग गर्दिनोस् । यो पो हो त राजनीति ।

हामीलाई भोट दिनुभएन भने भोलि सिडिओ अफिसमा काम पर्दैन ? पुलिस अड्डामा काम पर्दैन ? नगरपालिकामा को छ मेयर ? त्यस्ता फुच्चे पार्टीलाई भोट नदिनोस् भन्ने किसिमको तरिका हामी सोच्न पनि सक्दैनौं । तर, ठूला पार्टीहरुको शैली अझैसम्म त्यही नै छ । उहाँहरु कार्यकर्तालाई परिचालन गरेर जनतालाई आफ्नो चुनावी मौजा बनाउन खोजिरहनुभएको छ ।

काठमाण्डौं २ मा कांग्रेसलाई चाहिँ जित्छु भन्ने लागिसक्यो ?

अस्ति बिहान एकजना प्रवुद्ध मतदाताको घरदैलोमा थियौं । मैले पम्प्लेट दिएँ । उहाँले ‘ए हुन्छ’ भन्नुभयो । हामी गेट बाहिर निस्केपछि फेरि बोलाउनुभयो र १५ मिनेटजति कुरा गर्नुभयो ।

उहाँले भन्नुभयो- काठमाडौं महानगरपालिकामा किशोर थापाजीलाई मैले सहयोग गरेको हुँ । यहाँका १५/२० भोट पनि मैले मागिदिएको हुँ । तर, अहिले हामी कन्फ्युजनमा छौं डाक्टरसाहेब ।

मैले सोधें किन ? उहाँले भन्नुभयो- किनकि वामपन्थी गठबन्धनले त कम्युनस्टिै ल्याउने भो । तपाई राम्रो व्यक्ति हुनुहुन्छ, तपाई राष्ट्रलाई चाहिने हो । तर, यहाँ त व्यक्तिभन्दा पनि व्यवस्था जोगाउनुपर्ने कुरो आयो । त्यसैले हामी कन्फ्युजनमा छौं ।

तपाईले के जवाफ दिनुभयो त ?

मलाई यो अलि असजिलो प्रश्न लाग्यो । तर, तत्कालै मभित्र जवाफ फुर्‍यो । मैले उहाँलाई भनें- ‘जहाँसम्म लोकतन्त्र धरापमा पर्छ कि भन्ने कुरो छ, केही गरी वामपन्थी गठबन्धनले निरंकुश सर्वसत्तावादी अधिनायकवादी व्यवहार नै देखाए भने पनि संसदको फगत गणितले अब नेपालीको लोकतान्त्रिक अधिकारलाई खोस्न सक्दैन । र, कथंकदाचित आएछ भने त्यसलाई प्रतिरक्षा गर्न रुखचिन्हबाट चुनिएका सांसदले मात्रै सक्नुहुन्न । त्योबेला संसदमा सांसदको बोलीले नेपाली जनतालाई उद्धेलित गर्न सक्नुपर्छ । त्यो उद्धेलित बोली बोल्ने नैतिक साहस हामीसँग छ । यसमा तपाईहरु कत्ति पनि शंका नगर्नोस् । त्यसबेला कांग्रेसका सांसदको बलभन्दा हाम्रा सांसदको बल १० गुणा बढी हुनेछ ।

वहाँहरुले शंका गरेजस्तो वामपन्थी गठबन्धनले लोकतन्त्र मास्छ भनेर हामी डराएका छैनौं । बाग्मतीमा धेरै पानी बगिसकेको छ । अहिलेको संविधान त्यति कमजोर छैन । वामपन्थीले लोकतन्त्र मास्छन् भन्ने कांग्रेसको डरमात्रै हो । डर देखाएर जनताको भोट लिने शैलीमात्रै हो । यता वामपन्थीले के भन्नुहुन्छ भने हामी भएनौं भने स्थिर सरकार हुँदैन, उता कांग्रेस नेताहरुले हामी भएनौं भने लोकतन्त्रै रहँदैन भन्नुहुन्छ । दुईटैले डर देखाइरहनुभएको छ । यो चाहिँ नचाहिने डर हो ।

हामी यो दुईवटै डरको स्टेबलाइज्ड गर्ने शक्ति हौं । भोलि जति संख्यामा पार्लियामेन्टमा जान्छौं, हामी स्टेबलाइजर हुनेछौं, स्थिरताका लागि पनि र लोकतन्त्रको रक्षाका लागि पनि । किनभने हामीले मेचीदेखि महाकालीसम्मका जनताको भावनालाई पक्डेका छौं । र, जनताको ऊर्जालाई उद्धेलित गर्ने हामीसँग एजेण्डा छ । त्यसैले हामीलाई भोट दिँदा खेर जान्छ कि भनेर पीर नगर्दा हुन्छ ।

तपाईले यस्तो जवाफ दिइरहँदा ती मतदाता कन्भिन्स हुनुभयो त ?

उहाँले के भन्नुभयो भने बहस गर्दै गरौं । तपाईले राम्रो शिराबाट मेरो प्रश्नको जवाफ दिनु भो । सम्पर्क गरौं । उहाँले मेरो टेलिफोन नम्बर लिनुभो र छलफल गर्दै गरौं भन्नुभो । उहाँको के थियो भने मेरो क्षेत्रबाट नेपाली कांग्रेस र तपाईको भोट काटिएर वामपन्थीले नजितुन् भन्ने उहाँको चिन्ता थियो । मैले भनें, ठीक छ यसमा तपाईहरु आफ्नो ब्रह्म विवेक प्रयोग गर्नुहोस् ।

मलाई के लागेको छ भने १०/१५ मिनेटको हाम्रो कुराबाट उहाँको कन्फ्युजन अलिकति क्लियर भयो कि ।

कांग्रेसजस्तै माओवादीका कार्यकर्तासँग पनि तपाईको भेट भएको छ ? भेट हुँदा उनीहरु के भन्छन् ?

भेट हुन्छ । उहाँहरुसँग त एकदमै रमाइलो भइरहेको छ । अस्तिमात्रै हामी एक ठाउँमा गयौं । विगतमा झक्कु सुवेदीलाई जिताउन सक्रिय एकजना अगुवासँग भेट भयो । एकजना वौद्धिकले सानो अन्तरक्रिया राखिदिनुभएको थियो । ३०/४० जनाका वीचमा हामीले दुई घण्टाजति अन्तरक्रिया गर्‍यौं । त्यहाँ उहाँ एकदम शंकालु भएर स्रोताका रुपमा आउनुभएको थियो । हाम्रा कुरा सुनेपछि उहाँले खाना त मेरै घरमा खानुपर्छ भन्नुभयो । हामीले समय छैन, पछि खाऔंला भन्यौं । उहाँले भन्नुभयो, सर, तपाईहरु सुकिला मुकिलाको पार्टीका मान्छे हो भनेर हाम्रा नेताहरुले भनेको सुनेको थिएँ । म पनि माओवादीसँग अलिअलि मोहभंग भएको मान्छे हुँ । देश बनाउनुहुन्छ भनेर उहाँहरुको पछि लागेको थिएँ, तर यो हालत भयो । तपाईहरुको कुरा सुनेपछि अब परिवर्तन चाहियो । तपाईहरुको कुराले म कन्भिन्स भएँ, मेरो पृष्ठभूमि माओवादी हो, मेरो परिवारै माओवादी हो । अब म सक्दो यहाँका युवालाई तराजुमा भोट हाल्नका लागि सहयोग गर्छु ।

उहाँले भन्नुभयो, म माओवादी भएको भनेको म परिवर्तनवादी हुँ । हामीले नयाँ कुरा ल्याउन खोजेको हो । अरु पार्टीले गरेनन् भनेर हामीले विकल्प मागेको हो । अहिले माओवादीले के गरिराखेको छ भने माथि नेताहरु खुशी हुनुहुन्छ, यहाँ हामी असन्तुष्ट छौं ।

तर, यतिकै आधारमा चुनाव जितिएला त डा. साहेब ?

हुन त यो ‘इलेक्सन इञ्जिनियरिङ’को कुरो हो, एउटा/दुईवटा कुराले मात्रै ‘ओभर कन्पिmडेन्ट’ हुने कुरो हुँदैन । यी छिटफुट घटना हुन् । यहाँभित्र पार्टीका संगठन छ । भोटको ब्लक छ । तर, हाम्रो पक्षमा एउटा माहौल बनेको हामीलाई अनुभूति भइरहेको छ ।

साझा विवेकशील पार्टीबाट भोट माग्न जाँदा कसैले गाली चाँहि गरेका छैनन् ?

अस्ति सिनामंगलमा एकजनाले भन्नुभो । खासगरी ठूला पार्टीकाहरुले हामीलाई यस्तो भन्नुहुन्छ- यी फुच्चे पार्टीहरु आएका छन्, जागिरेहरु, रिटायर्ड भइसकेका, विदेशमा बसेर टन्न कमाए अनि त्यसपछि फेरि यिनीहरु मन्त्री हुन खोजिरहेका छन्, यस्ताको भ्रममा पर्ने हो ? देश बनाउन यिनले राजनीति बुझेका छन् ? यस्तो फेसबुके पार्टीहरुको भ्रममा पर्ने हो ? यस्तै-यस्तै प्रश्नहरु राख्नुहुन्छ उहाँहरुले । यीबाहेक कुनै अपि्रय कुराहरु भएका छैनन् ।

यस्ता प्रश्नको जवाफ के छ तपाईहरुसँग ?

कतिपय हाम्रा साथीहरुले डा. सा’ब यो चुनाव हो, यसबेला जेन्टल भएर हुँदैन, गतिलो जवाफ दिनुपर्छ पनि भन्नुहुन्छ । तर, हामीले भनेका छौं, ठीक छ हामी यस्ता कुराहरुको प्रतिवाद गछौर्ं ।

यसमा मेरो भनाइ के हो भने ठूला पार्टीहरुप्रति मेरो इज्जत छ । उहाँहरुले देशलाई दिनुभएको योगदानको कत्ति पनि तलमाथि नगरिकन हामी उहाँहरुको सम्मान गर्छौं । त्यति विवेक हामीसँग छ । तर, अब उहाँहरुले यो देशलाई कहाँ लैजाने भन्ने मार्गनिर्देशन हामीलाई होइन, जनतालाई गर्नोस् । जनतालाई सन्तुष्ट बनाउनुभयो भने उहाँहरु नै अगाडि आउनोस् ।

त्यसैले एउटा विचार, आइडिया, सोच र योजनामा बहस गरौं । तर, यस्ता किसिमका गालीगलौच नगरौं ।

अहिले म ५५ वर्षको भएँ । हामीले राजनीतिमा हस्तक्षेप गरेर सकारात्मक काम गर्न खोज्नु अपराध हो ? हो, हामी जेल बसेनौं । उहाँहरुजस्तो यताउता ठूला शीर्षनेताहरुको बैठकमा बसेनौं होला । बालुवाटारका बैठकमा हाम्रो हैसियत थिएन ।

तर, सामान्य नागरिक भए पनि हामीले यो देशलाई घात हुने काम गरेका छैनौं । हामी खुल्ला कागजजस्तै छौं । देशभित्र र देश बाहिरै हुँदा पनि आफ्नो देशको नाम उच्चै गर्‍यौं । विदेशमै बस्दा पनि नेपालको नाममा धब्बा लगाउने काम हामीले गरेका छैनौं । त्यसैले आउनोस् न विचारमा बहस गरौं । देशलाई कसरी उँभो लगाउने भन्ने एजेण्डामा बहस गरौं । हाम्रो घोषणापत्रका बारेमा हामीलाई खारखेर गर्नोस् ।

तपाईको विचारमा नेपाल किन बनेन ? नेताहरु बेइमान भएर हो ?

नेताहरुको नियतमै त म शंका गर्दिनँ । तर, उहाँहरुले राजनीतिलाई विषाक्त बनाइदिनुृभयो । उहाँहरुलाई म बेइमानै त भन्दिनँ । यति लामो इतिहास भएका नेताहरुको सम्मान गर्नुपर्छ । तर, उहाँहरुको अक्कल पुगेन ।

मेरो बुझाइ के हो भने राज्य सञ्चालनमा रहेका नेताहरु लालमोहोरिया बुद्धिजीवीको घेरामा पर्नुभयो । नयाँ कुरा आउनलाई त आलोचनात्मक चेत हुनुपर्छ । राज्यसत्ता सञ्चालनमा राजनीतिक त्याग चाहिन्छ, राजनीतिक दर्शन चाहिन्छ, निष्ठा चाहिन्छ, आस्था चाहिन्छ, संघर्ष चाहिन्छ ।

सँगसँगै राज्यसत्ता सञ्चालन गर्ने ज्ञान चाहिन्छ, सीप चाहिन्छ । नयाँ सोच चाहिन्छ । प्राज्ञिक क्षमता चाहिन्छ । इन्टरपेनियरशीप चाहिन्छ । व्यवसायिकता चाहिन्छ । व्यवस्थापकीय सीप, सबै मिलेपछि बल्ल राज्य तन्दुरुस्त भइदिने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
अरूण बराल

अरूण बराल अनलाइनखबर डटकमका सम्पादक हुन् ।

ट्रेन्डिङ

Advertisment