Comments Add Comment

प्रेस रिभ्यूः कर्जा लिएर खर्च चलाउँदै सरकार

सार्कका सबै देशसँग व्यापार घाटा


१ मंसिर, काठमाडौं । राजधानीबाट प्रकाशित हुने राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा आज पनि प्रदेश र प्रतिनिधिसभा निर्वाचनकै विषय परेको छ । पत्रपत्रिकाहरुले प्रदेश र प्रतिनिधिसभा निर्वाचनकै सेरोफेरोमा रहेर सामग्रीहरु पस्केका छन् । कर्जा लिएर सरकारले खर्च चलाएको विषयलाई पनि पत्रपत्रिकाहरुले लेखेका छन् । यसका अलावा पश्चिम सेती निर्माणको बाटो खुलेको, रोक्का भए पनि ३ वर्षमा २ सय म्यानपावर दर्ता भएकोलगायतका समाचार पनि पत्रिपत्रिकाका पहिलाे पृष्ठमा छन् ।


चुनावले जोड्यो समुदाय

मधेस आन्दोलनपछि विभिन्न समुदायबीच बढेको दूरीलाई चुनावले नजिक्याएको छ । प्रदेश–२ का मतदातामा झगडा गरेर होइन, मिलेर मात्रै देश बन्छ भन्ने भावना जागृत भएको समाचार कान्तिपुरले लेखेको छ ।

‘जोडिए समुदाय’ शीर्षक दिएर कान्तिपुर लेख्छ– उम्मेदवार र नेताहरु अर्को समुदायमा गई घुलमिल हुनुपर्ने भएकाले रहलपहल मनमुटाव हटाइ सामाजिक सदभाव विकास गर्न यो निर्वाचन उपयोगी बनेको छ ।

समाचार अनुसार, मधेसी समुदायका उम्मेदवारले पहाडी समुदायको बस्तीबाट र थारु समुदायका उम्मेदवारले मधेसी समुदायको गाउँबाट आफ्नो चुनावी अभियान सुरु गरेका छन् ।

नेताका आफ्नै डम्फु

प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणको चुनाव नजिकिँदै गर्दा दल र तिनका नेताहरुले आश्वासन बाँड्न थालेका छन् । मतदातालाई आफ्नो पक्षमा तान्न प्रमुख दलका मुख्य नेताहरु नै यस्तो आश्वासन दिन तछाड मछाड गरिरहेका छन् ।

आजको नागरिक दैनिकले ‘नेताका आ–आफ्नै डम्फु’ शीर्षक दिएर नेताले बाँडेको आश्वासन र दाबीलाई छापेको छ । माओवादी अध्यक्ष प्रचण्डले बिहीबार मात्रै ५० वर्षसम्म कम्युनिस्टले शासन गर्ने दाबी गरेका थिए भने प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू सातपटकसम्म प्रधानमन्त्री बन्ने अभिव्यक्ति दिएका थिए । यही विषयलाई जोड्दै नागरिकले आज समाचार लेखेको छ ।

मौसमी कारबाही, कमजोर गुप्तचरी

गृह मन्त्रालयले कात्तिक पहिलो साता नेत्रविक्रम चन्द विप्लव र सीके राउत समूह अस्तित्व जोगाउन संघर्षमा रहेकाले चुनावी सुरक्षामा ठूलो प्रभाव पार्न नसक्ने निष्कर्ष निकाले । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको ब्रिफिङलाई आधार बनाएर निकालिएको यो निष्कर्ष २ सातामै असफल भयो ।

नागरिक दैनिक लेख्छ– आधा दर्जन जिल्लामा उम्मेदवारलक्षित बम बिस्फोट गराइएपछि सुरक्षा निकायले बल्ल विप्लवनिकट नेता–कार्यकर्ता खोज्न थालेको छ । अहिले सुरक्षा निकायको ध्यान गोरखामा केन्द्रित छ ।

कर्जा लिएर खर्च चलाउँदै सरकार

सरकारले आर्थिक वर्षको सुरुमै ७३ अर्ब ७८ करोड रुपैयाँ आन्तरिक ऋण उठाएर खर्च चलाएको छ । सुरुमै ऋण उठाएको यो धेरै वर्षपछिको घटना हो ।

‘कर्जा लिएर खर्च चलाउँदै सरकार’ शीर्षक दिएर नागरिकले लेखेको छ– संविधान अनुसार मुलुक संघीय संरचनामा गएकाले स्थानीय तहका लागि वर्षको सुरुमै अर्बौं रुपैयाँ दिनु परेको, राजस्व संकलनमा कमी आएको र यही बेला चालु खर्च पनि बढेकाले सरकारले स्रोत जुटाउन आन्तरिक ऋण उठाएको हो ।’

समाचार अनुसार साउनमै स्थानीय निकायलाई ७५ अर्ब रुपैयाँ निकासा दिएको छ । स्थानीय तहलाई ठूलो रकम दिएका बेला साउन–भदौमा आएको बाढी र पहिरोका कारण सरकारको राजस्व संकलन पनि घटेको समाचारमा उल्लेख छ ।

सार्कका सबै देशसँग व्यापार घाटा

सार्कमा आवद्ध सबै देशसँग नेपालको व्यापार घाटामा रहेको समाचार अन्नपूर्ण पोस्ट दैनिकले आर्थिक पृष्ठमा छापेको छ ।

समाचार अनुसार, गएको वर्ष भारतसँग ५ खर्ब ९९ अर्ब ७५ करोड व्यापार घाटामा नेपाल छ । नेपालको कुल व्यापारको २ तिहाई हिस्सा भारतसँग हुने गरेको छ ।
बंगलादेशसँग ३ अर्ब १८ करोड, पाकिस्तानसँग २८ करोड २ लाख, भुटानसँग ४५ करोड ४० लाख, श्रीलंकासँग १६ करोड ९६ लाख, अफगानिस्तानसँग ११ लाख घाटामा छ ।

यी हुन् मुख्य मन्त्रीका दावेदार

नयाँ पत्रिका दैनिकले प्रदेशका मुख्य मन्त्रीका दाबेदारको सम्भावित अनुहारबारे चर्चा गरेको छ । त्यसमा अधिकांश जिल्लाकै नेताको दाबी छ । तर, प्रदेश नम्बर २ मा पूर्व राष्ट्रपति रामवरण यादवको छोरा डा. चन्द्रमोहन र कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवको छोरा डा. सुवासचन्द्र यादवसमेत छन् ।

त्यस्तै एमालेबाट स्थायी समिति सदस्य तथा पार्टी प्रदेश संयोजक सत्यनारायण मण्डल र प्रदेश सहसंयोजक नागेन्द्र चौधरी दावेदार छन् ।

माओवादीको तर्फबाट भरत साहको चर्चा छ ।

प्रदेश नं. १ मा एमाले सचिव भीम आचार्य, पोलिटव्युरो शेरधन राई मुख्य मन्त्रीका सम्भावित अनुहारका रुपमा हेरिएका छन् । ३ नम्बरमा कांग्रेसका चितवनका दिनेश कोइराला, काठमाडौंका लोकेश ढकाल, काभ्रेका कञ्चनचन्द्र वादे र सिन्धुलीका श्याम घिमिरेलगायत मुख्य मन्त्रीका दाबेदार छन् ।

प्रदेश ५ मा माओवादीबाट कुलप्रसाद केसी आकांक्षी छन् तर वामगठबन्धनले एमालेका शंकर पोखरेललाई मुख्य मन्त्रीको रुपमा अघि सारेर चुनाव प्रचारप्रसार गरिरहेको छ ।

गौचन हत्यामा बाहुन डन समूहसमेत संलग्न

नयाँ पत्रिका दैनिकमै निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा रमेश पौडेल ‘बाहुन’ डन समूहको समेत संलग्नता खुलेको खबर छ । गौचनको हत्यामा संलग्नमध्ये बोका भनिने गंगा लिङ्देन बाहुन समूहका व्यक्ति हुन् ।

गौचनको गत असोज २३ गते बानेश्वरको प्रयाग मार्गमा गोली हानी हत्या गरिएको थियो ।

घरदैलाेमै नमस्कार, फेसबुकमा लाइभ !

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारहरूले भिन्न भिन्न प्रचारशैली अपनाउँदै मतदातासँग भाेट मागेकाे समाचार नागरिक दैनिकले छापेकाे छ । उम्मेदवारले घरदैलाे गर्नेदेखि सामाजिक सञ्जालमार्फत अन्तरक्रिया गर्नेसम्मकाे प्रचारशैली अपनाएका छन् ।

कतिपय उम्मेदवार मतदाताकाे घरघर पुगिरहेका छन् भने कतिपय काेठाभित्र बसेरै सामाजिक सञ्जालमार्फत भाेट मागिरहेका छन् । नयाँ राजनीतिक दलले प्रविधिकाे अधिकतम प्रयाेग गरेका छन् । उनीहरूले फेसबुक र युट्युवमा लाइभ गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment