Comments Add Comment

रोकिएनन् जबर्जस्ती करणीका घटना

पीडक १० वर्षे किशोरदेखि ५२ वर्षका पुरुषसम्म

१ मंसिर, सिमरा । एक अशक्त महिलालाई धम्क्याएर जबर्जजस्ती करणी गरेका बाराको जितपुर–सिमरा–१६ का ५२ वर्षीय कृष्णप्रसाद भट्टराई तीन महिनापछि पक्राउ परे ।

२ जेठको घटनाबारे ती महिला गर्भवती भएको खुलेपछि १४ भदौमा मात्र प्रहरीले जानकारी पाएको थियो । आँप दिने बहानामा आफ्नै घरमा लगेर बलात्कार गरेका थिए, भट्टराईले । अपराध प्रमाणित भएपछि अहिले उनी जेलमा छन् ।

४ साउनमा जितपुरसिमराकै नौ वर्षे बालिका करणी प्रयासमा परिन् । नजिकको साथीको घरमा सुत्न गएकी उनलाई राति पिसाब फेर्न निस्केका बेला साथीका काकाका १४ वर्षे छोराले करणी प्रयास गरेका थिए ।

उनी चिच्याएपछि छिमेकीको उजुरीका आधारमा ती किशोरलाई प्रहरीले पक्राउ गर्‍यो । तर, १६ वर्ष मुनिका भएकाले अभिभावकको जिम्मा लगायो, प्रहरीले ।

मिस्त्रीको काम गरी सिमरामा बस्दै आएका वीरगञ्जका ४५ वर्षीय देउकी यादवले एक १० वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको खुलेको छ । अम्बा र पैसा दिने बहानामा बालिकामाथि उनले यौन दुव्र्यवहार गरेका थिए ।

घटनाबारे बालिकाकी साथीमार्फत् परिवारले थाहा पाएपछि प्रहरीमा उजुरी गरिएको थियो । अहिले यादव पूर्पक्षका लागि कारागार चलान भएका छन् ।

यस्तै, बाख्रा चराउन जंगल गएकी २७ वर्षीया युवती पनि ४ भदौ दिउँसो तीन बजे करणीको प्रयासमा परिन् । सुस्त मनस्थितिकी उनलाई जितपुर सिमरा–२२ का ४७ वर्षे प्रितिबहादुर पाख्रिनले जबर्जस्ति करणीको प्रयास गरेका थिए ।

दुवै हात समातेर मुख थुन्न लागेपछि ती युवतीले पाख्रिनलाई दाउराले हिर्काएकी थिइन् । भागेर रुँदै घर आएकी उनले परिवारलाई खबर गरेपछि पाख्रिनलाई प्रहरीले पक्राउ गरेको छ । हाल उनीविरुद्ध जबर्जस्ति करणी उद्योगमा मुद्दा चलाइएको छ ।

यस्ता घटनामा भइरहेको बढोत्तरीको कारक प्रविधिको सहजता देखिएको महिला तथा बालबालिका कार्यालय प्रमुख अञ्जु ढुंगाना बताउँछिन् । मोबाइलमै अश्लिल भिडियो हेर्न सकिने हुनु यौन हिंसाका घटना कम नहुनुको मुख्य कारण रहेको उनको भनाइ छ ।

यद्यपि, पछिल्ला वर्ष महिलाहरु हिंसाविरुद्ध उजुरी गर्न हिच्किचाउन छाडेका छन् ।

अधिकारकर्मी विदुर खड्का फितलो कानूनी व्यवस्थाका कारण पनि यस्ता घटना कम हुन नसकेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment