Comments Add Comment

‘९५ वर्षसम्म राजनीति गर्छु, युवाले मलाई जिताउँछन्’

'मलाई सिके राउतसँग जोड्नेहरु आफैं नांगिनेछन्'

१ मंसिर, भक्तपुर । भूतपूर्व सभामुख दमननाथ ढुंगाना २३ वर्षपछि भक्तपुरबाट चुनावी भिडन्तमा उत्रेका छन् । नेपाली कांग्रेसले उनलाई भक्तपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।

प्रजातन्त्र प्राप्तिपछि ०४८ सालमा भएको आम निर्वाचनमा काठमाडौंबाट जित्ने ढुंगाना एकमात्रै कांग्रेस उम्मेदवार थिए । त्यतिबेलाको संसदमा बहुमत प्राप्त कांग्रेसले उनलाई सभामुख बनाएको थियो । सभामुखको रुपमा ढुंगानाको कार्यकाल स्मरणीय मानिन्छ ।

तर ०५१ सालको मध्यावधि चुनावमा काठमाडौं २ बाट विद्या भण्डारीसँग पराजित भएपछि ढुंगाना राजनीतिबाटै टाढिए । यसबीचमा उनले नागरिक समाजको अगुवा एवं मानवअधिकार अभियन्ताका रुपमा आफूलाई उभ्याए ।

पछिल्लो समय ढुंगानाका विरोधीहरुले भारतीय नाकाबन्दीका पक्षमा अभिव्यक्ति दिएको र सिके राउतको रिहाईका लागि विज्ञप्ति निकालेको भनेर उनको खरो आलोचना गर्ने गरेका छन् ।

ढुंगानाको अन्तरवार्ताका लागि पुरानो ठिमी पुगियो । एउटा चियापसलमा उनी स्थानीय नेता कार्यकर्ताहरुबाट घेरिएका थिए ।

‘एमाले एकदम एग्रेसिभ भएर आएको छ, हाम्रो गति सुस्त भयो,’ एकजना कांग्रेस कार्यकर्ता ढुंगानासँग भन्दै थिए, ‘घरदैलो अलि बढाउनुपर्‍यो ।’

ढुंगानाले मुन्टो हल्लाए मात्र । त्यसपछि केहीबेर उनले कार्यकर्ताहरुलाई पन्छाएर अनलाइनखबरकर्मी चिरञ्जीवी पौडेलसँग संक्षिप्त कुराकानी गरे ।

प्रस्तुत छ कुराकानीको प्रमुख अंश:

२३ वर्षपछि संसदीय चुनाव लड्दै हुनुहुन्छ, कस्तो अनुभव भइरहेको छ ?

एकदम उत्साहित छु । एकता बढो प्रभावकारी छ ।

एकता भन्नाले ?

म कांग्रेस पार्टीको उम्मेदवार भएकाले पार्टीभित्रकै एकता भनेको हो ।

काठमाडौंवासी भएर भक्तपुरका मतदाताबीच आउनुभयो । तपाईंलाई पाहुना उम्मेदवार मानिन्छ नि ?

प्रतिनिधिसभाका लागि पार्टीको जिल्ला समितिले सिफारिस गरेका जिल्लाभित्रैका व्यक्ति उम्मेदवार हुन्छन् भन्ने विश्वास सबैले लिएका थिए । तर, त्यो सिफारिसभन्दा बाहिर गएर केन्द्रले उम्मेदवार पठाएपछि एक समय प्रत्याशी र मतदाताहरुलाई त्यस्तो लागेको थियो । त्यो स्वाभाविक पनि हो । तर, अहिले त्यो विषयले विश्राम लिइसकेको छ ।

मेरो उम्मेदवारीको व्यापक स्वीकृति भएको छ । कांग्रेस केन्द्रले भक्तपुरमा अनुभवी मानिसलाई ल्यायो, पाको मानिसलाई ल्यायो भनेर स्वागत गरिएको छ । धमाधम मान्छेले कुरा बुझिरहेका छन् । पाहुना वा पर्यटक भन्ने सन्दर्भ सकियो ।

तर, लामो समयदेखि सक्रिय राजनीतिमा नरहनुभएका तपाईंलाई कांग्रेसले एकाएक किन टिकट दियो ? यो विषय त रहस्यमै छ नि ?

संसदको सशक्तीकरणका लागि मलाई ल्याउन खोजिएको हो । संसद प्रभावकारी भयो भने सरकार प्रभावकारी हुन्छ । संसद बलियो भयो भने सरकार बलियो हुन्छ । संसदको नियन्त्रण गर्ने क्षमता बढ्यो भने पूरा राज्य जवाफदेही हुन्छ । भ्रष्टाचार-अनियमितता घट्छ । जनतामा प्रजातन्त्रप्रति र सरकारप्रति विश्वास बढ्छ ।

प्रजातन्त्रमा कि जनताको इच्छा हो, कि संसद हो । त्यसकारण मेरो पार्टी नेपाली कांग्रेसका सभापतिज्यूले संसदलाई बढ्दा जवाफदेही बनाउन मेरो उम्मेदवारी चाहनुभएको हो भन्ने मैले विश्वास गरेको छु ।

अर्को कुरा, म किशोरावस्थादेखि नै राजनीति गरेर आएको व्यक्ति हुँ । सभामुखसम्म भएको । संविधान निर्माण गरेको व्यक्ति राजनीतिबाट कसरी अलग हुन सक्थेँ ? त्यसैले म राजनीतिमा थिइनँ भन्ने होइन । हो, दलीय सक्रिय राजनीतिमा थिइनँ । दलमा नभए पनि दलीय व्यवस्थालाई र प्रजातान्त्रिक व्यवस्थालाई सुदृढ बनाउने काम गरि नै रहेको थिएँ । राजनीतिक काम नै गरिरहेको थिएँ नागरिक भएर । खबरदारी गरिरहेको थिएँ ।

जुनसुकै पार्टीको झण्डामुनि किन नहोस जनताका छोराछोरी प्रजातन्त्रको लागि मरेका छन् । शहिद भएका छन् । ती दिवंगतहरुको सपना पूरा गर्नुपरो भनेर लागि परी गरिरहेको थिएँ ।

बुढेसकालमा चुनाव लड्ने जोस चैं कसरी आयो ?

म रिङ बाहिरको खेलाडी थिएँ । धेरै वर्ष रिङ बाहिर बसेर खेलिरहेको थिएँ । शिवाय सत्ताको खेल । सत्ता र सुविधाचाहिँ खोजिरहेको थिइनँ । म सर्वसाधारण मान्छेजस्तो भएर हिँडिरहेको थिएँ । टेम्पो र मिनिवसकै सयर गरिरहन्थेँ । तर, मैले कहिल्यै पनि म पहिले सभामुख थिएँ भनेर सर्वसाधारणको लाइफ छोडिनँ ।

अहिले विशेष राष्ट्रिय परिस्थितिमा मलाई लाग्यो मैले रिङभित्रै प्रवेश गर्नुपर्छ । विधिवत औपचारिक निकायमार्फत जानुपर्छ । त्यसमाथि पनि जनताको इच्छा-सन्देश लिएर, जनादेश लिएर संसदमा जानुपर्छ भनेर आएको हुँ । विधिवत निकायको खोजी गरेको हुँ । बाहिर बसेर संसद सुदृढीकरणमा लागेको थिएँ । संसदभित्रबाट सुदृढीकरण खोज्न आएको हुँ ।

भनेपछि आफैंले लबिङ गरेर टिकट पाउनुभएको हो ?

दलको इच्छा र मेरो इच्छा मिलेको हो । मैले मात्रै भनेर दलले नमानेको भए पनि काम थिएन । दलले मात्रै भनेर मैले नमानेको भए पनि काम थिएन । दलको इच्छा र मेरो इच्छाको मिलनबिन्दू हो ।

भक्तपुर २ चाहिँ तपाईंले रोज्नुभएको कि पार्टीले पठाएको हो ?

दलले जहाँ पठाएको भए पनि लड्थेँ । पहाड, मधेस, हिमाल जहाँ पनि लड्थेँ । मैले यो निर्वाचन क्षेत्रको माग गरेको होइन । धेरै क्षेत्रहरुको प्रस्ताव आएको थियो । केन्द्रले निर्णय गरोस् भनेँ । केन्द्रले यहीँ दियो, म आएँ । आखिर जनतामा जाने कुरा न हो ।

भक्तपुरका मतदाताका लागि तपाईं अपरिचित हुनुहुन्छ । उनीहरुको भोट कसरी आकर्षित गर्नुहुन्छ त ?

म आफूलाई अपरिचित मान्दिनँ । प्रत्यक्ष जान-पहिचान नहुनु अपरिचित हुनु होइन । पुरानो पुस्ताले त मलाई चिनिहाल्छन् । नयाँ पुस्तासँग पनि यो १५ दिनभित्र ग्याप धेरै नै हटिसक्यो । युवापुस्ताले बुझिसक्यो, एकजना लोकतन्त्रका लागि लडेको निष्ठावान मानिसलाई केन्द्रले पठाएर लोकतान्त्रिक संस्कृतिलाई विकास गर्न खोजेको हो भनेर ।

चुनाव जित्नुभयो भने फेरि सभामुख बन्ने इच्छा राख्नुभएको छ कि ?

कुनै पनि पद लिनलाई म उम्मेदवार भएको होइन । म खाली संसदको सदस्य मात्र हुन आएको हो । संसदलाई सुदृढीकरण गर्छु । मेरो त्योभन्दा अतिरिक्त केही आकांक्षा छैन ।

तर, एउटा सांसदमा मात्रै सीमित भएर त कसरी संसदको सुदृढिकरण गर्न सक्नु होला र ?

मैले अहिले गरेको कुरा हो । भोलि संसदले के जिम्मेवारी दिन्छ, त्यसमा भर पर्छ । अहिले चाहिँ मेरो कुनै त्यस्तो इच्छा छैन ।

२३ वर्ष पहिले चुनाव लड्दा र अहिले लड्दा के-के कुरामा फरक पाउनुभएको छ ?

समाज धेरै बदलिएको रहेछ । युवाहरु धेरै बदलिएका रहेछन् । युवा जेनेरेसनलाई धेरै स्मार्ट र आकांक्षी पाएको छु । र, पहिले इलेक्ट्रोनिक उपकरणको यत्रो व्यापकता थिएन । अहिले त्यो पनि पाएको छु । यो जेनरेसन धेरै अपग्रेड र तन्दुरुस्त भएको छ । सूचनामा, तथ्यांकमा आधारित छ । वस्तुनिष्ठ छ ।

चुनाव खर्च त बेपत्ता बढेको छ नि होइन ?

हो । अहिले चुनाव असाध्य खर्चालु भएको रहेछ । पैसा नभई चुनाव जितिँदैन भन्ने भएको रहेछ । चुनाव भनेको मिसनको रुपमा हुनुपर्ने हो । मिसन भनेको आदर्श, निष्ठा र न्यूनतम खर्चका साथ हुनपर्ने हो । तर, खर्चका आधारमा जित्ने उम्मेदवारको दौड चलिरहेको छ । अनावश्यक खर्च होइन, न्यूनतम खर्च मात्रै गरेर पनि जनताको विश्वास लिन सकिन्छ भन्ने एक प्रकारको परीक्षा गर्न पनि म आएको छु ।

तपाईं निर्वाचन आयोगले तोकिदिएको खर्चको सीमामित्रै बस्न सक्नुहुन्छ त ?

यो सीमा मेरा लागि धेरै अनावश्यक हो । सीमाभन्दा धेरै तल बसेर चुनाव लड्नेछु ।

विरोधीहरुका तपाईंमाथि केही आरोपहरु छन् । एउटा आरोप के छ भने तपाईंले नाकाबन्दीका बेलामा वीरगञ्ज नाकामा गएर आन्दोलनकारीसँग हातेमालो गर्दै भन्नुभयो कि भारतले नाकाबन्दी अझै कडा बनाउनुपर्छ । यो कति सत्य हो ?

त्यो वास्तविकता होइन । मेरा विरोधीहरुले अरु केही कुरा नपाएर मलाई यस्तो आरोप लगाएका हुन् । एउटा सशक्त र पाको उम्मेदवार प्रतिस्पर्धा गर्न आयो भनेर उनीहरु डराएका छन् ।

मैले मधेस आन्दोलनलाई समर्थन गरेको हुँ । नाकाबन्दीलाई के समर्थन गर्न सक्थेँ । म त मधेस आन्दोलनको सत्याग्रह भएको ठाउँमा उनीहरुलाई सम्झाउन गएको थिएँ ।

सम्झाउन कि ऐक्यवद्धता जनाउन ?

होइन, सम्झाउनै गएको । पुलमा बसेर आन्दोलन गर्दा भारतबाट आएका ट्रकहरुको सप्लाई बन्द भइरहेको थियो । त्यसकारण यो खुलाउँ, राजनीतिक एजेन्डाको निम्ति जनतालाई कष्टमा राख्नुहुँदैन भनेर भनेको हुँ ।

तर, तपाईंले नाकाबन्दी कडा बनाउन दुतावास गुहारेको भनेर मिडियामा समेत आयो नि ?

मिडियामा आयो भन्दैमा हुँदैन । त्यसमा मेरो हस्ताक्षर हुनुपर्छ ।

लेखेको कुरामा पो हस्ताक्षर हुन्छ बोलेकोमा हस्ताक्षर कहाँ खोज्ने ?

बोलेको कुराको पनि त प्रमाण केही होला नि । मेरो नाममा कहीँ आएकै छैन । उहाँहरुले बनाउनुभएको प्रोपोगाण्डा हो । उहाँहरु दुष्प्रचार गर्न सिपालु हुनुहुन्छ । यसले उहाँहरुलाई नै नोक्सान हुन्छ । म यसो नगर्नुस भन्ने आग्रह गर्छु । अहिलेको सचेत मतदाता झूटो प्रचारमा विश्वास गर्दैनन् ।

तपाईंका प्रतिस्पर्धी एक उम्मेदवारले हामीसँगको कुराकानीमा तपाईं भारतको एजेन्ट हो र भारतकै दवाबमा तपाईंले टिकट पाउनुभएको हो भन्ने दाबी गर्नुभयो । यसमा के भन्नुहुन्छ ?

उहाँहरुलाई भन्न दिनुस् । उहाँहरुलाई मेरो उम्मेदवारीले गाह्रो परेछ, त्यसैले चाहिने नचाहिने अफवाह फैलाउँदै हुनुहुन्छ । म एक देशभक्त नागरिक हुँ ।

तपाईं सिके राउतप्रति सहानुभूति राख्नुहुन्छ भन्ने पनि विरोधीहरुको आरोप छ । यसलाई चाहिँ कसरी चिर्नुहुन्छ ?

मैले सिके राउतलाई चिनेको, भेटेको छैन । किन नरम हुने ?

तर, सिके राउत पक्राउ पर्दा रिहाईको माग गर्दै विज्ञप्ति जारी गर्नुभएको त हो नि ?

खोई मलाई ठ्याक्कै याद भएन । मैले माओवादी जनयुद्धकालमा पनि कानूनबमोजिम पक्राउ गर, कानूनबमोजिम व्यवहार गर भनेर विज्ञप्ति निकालेको छु । सिके राउतको हकमा पनि मेरो धारणा त्यही हो । बाँकी मविरुद्ध दुष्प्रचार गर्नेहरु आफैं नांगिने छन् । उनीहरुले जे जे भन्छन् भनुन्, मलाई परवाह छैन ।

सिके राउतले चलाएको स्वतन्त्र मधेसको अभियानप्रति तपाईंको दृष्टिकोण के हो त ?

यसमा म अहिले बोल्न चाहन्न ।

प्रसंग बदलौं । आफ्ना प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेदवार महेश बस्नेतलाई कसरी लिनुभएको छ ?

युवा हुनुहुन्छ, स्वागत गर्छु । स्वस्थ प्रतिस्पर्धा गर्न आग्रह गर्छु । उहाँका बारेमा भन्नुपर्दा, खाली पैसाको आधारमा चुनाव जित्छु भनेर हिँडिरहनुभएको छ । त्यो भ्रममा नपर्नुस भन्छु ।

महेश बस्नेतका विरुद्ध तपाईंका कुनै मसला छन् कि ?

उहाँको चरित्रका बारेमा म एक शब्द बोल्दिनँ । त्यो मलाई सुहाउँदैन । म स्वस्थ प्रतिस्पर्धाको निम्ति आग्रह गर्छु । उहाँका बारेमा मलाई कुनै नकारात्मक टीकाटिप्पणी गर्नुछैन ।

नेमकिपाकी उम्मेदवार अनुराधा थापामगरलाई चिन्नुहुन्छ ? उहाँको पनि जित्ने दाबी छ नि ?

एकजना उत्साही महिलाको रुपमा, भविष्यमा नेतृत्वका लागि योग्य महिलाका रुपमा उहाँलाई चिन्छु । म उहाँलाई शुभकामना पनि व्यक्त गर्छु । हामीलाई योग्य कुशल महिला नेतृत्व चाहिएको छ । त्यसका लागि उहाँको भविश्य राम्रो छ ।

तपाईं एमाले र नेमकिपामध्ये कुन पार्टीसँग बढी डराउनुभएको छ ?

म कसैसँग डराएकै छैन । म प्रतिस्पर्धामा विश्वास गर्छु । जनताको शक्तिमा विश्वास गर्छु । डराउने प्रश्न नै उठ्दैन । डराउने भए उम्मेदवार नै हुने थिइनँ ।

तपाईंले जित्ने आधार के छन् ?

युवा मतदाताहरु नै मेरा जितका आधार हुन् । उनीहरुसँग मेरो सम्वाद भइसक्यो ।

युवा मतदाताले त युवा उम्मेदवार नै रोज्लान् नि ?

हेर्नुहोला, परिणामले के देखाउँछ । युवा र यहाँका कार्यकर्ताको पूर्ण समर्थन मलाई प्राप्त भइसक्यो । उहाँहरु उत्साहित हुनुहुन्छ । युवाहरुलाई नै भविष्य दिन मेरो उम्मेदवारी हो । उहाँहरुलाई सुरक्षित प्रजातन्त्र सुम्पन उम्मेदवार भएको हुँ । त्यसकारण मेरो सबैभन्दा ठूलो आधार नै युवा हुन् ।

भक्तपुर २ मा तपाईंका एजेन्डा के छन् ?

भक्तपुरलाई रोजगार युवाहरुको क्षेत्र, पर्यटन र सांस्कृतिक राजधानी बनाउने मेरो संकल्प छ । अनि, अव्यवस्थित घरहरुले भक्तपुरको मुहार बिगारिरहेको छ । घर, बास त चाहिन्छ । घरबासको क्षेत्र र खेतीपाती, पार्क, बालउद्यान क्षेत्रको प्लानिङ राम्रो हुनुपर्छ भन्ने पनि मेरो एजेन्डा हो । त्यो म प्रदेश र स्थानीय सरकारसँग मिलेर गर्नेछु ।

बुढेसकालमा राजनीतिमा कमब्याक गर्नुभयो, कति वर्षमा रिटायर्ड हुने अब ?

म बाँचें भने ९५ वर्षसम्म राजनीति गर्न सक्छु ।

त्यो त अति भएन र ? बुढाहरुले युवाहरुलाई स्पेस छोड्नुपर्छ भन्ने आवाज उठिरहेका बेलामा झन् ?

देशले अभिभावक खोजेका बेलामा शारीरिक र मानसिक रुपमा स्वस्थ छ भने मजस्तो उमेरको पनि आउनुपर्छ । अभिभावकत्व लिनलाई पाकै उमेरकै चाहिन्छ ।

चुनावी प्रचारमा सामाजिक सञ्जाललाई खासै उपयोग गर्नुभएको देखिँदैन, किन ?

सामाजिक सञ्जालसँग म त्यति सुपरिचित हुन पाएको छैन । मेरा बारेमा आएकै कुरा पनि थाहा पाउन सकेको छैन । तर, कहीँ न कहीँ मिडियाले मेरा बारेमा सकारात्मक सन्देश दिएका छन् भन्ने मलाई विश्वास छ ।

आफ्नो जितमा कति प्रतिशत विश्वस्त हुनुहुन्छ ?

यो प्रश्नै नसोध्नुस् । तपाईं कति वर्ष बाँच्नुहुन्छ भन्न सक्नुहुन्छ ? जनताले विश्वास गर्न लायक उम्मेदवार मै हुँ, यत्ति मलाई थाहा छ ।

मतदाताहरुलाई केही सन्देश ?

सुन्दर नेपालमा सुखद भविश्य सुरक्षित छ भन्ने म सबै मतदातालाई आश्वस्त गर्न चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment