Comments Add Comment

लमजुङमा देव गुरुङ र दिलबहादुर घर्तीको कडा टक्कर

यस्तो छ चुनावी अंकगणित

१ मंसिर, लमजुङ । धुलो उडाउँदै झण्डावाला गाडी घ्याच्च रोकियो । पार्टीको झण्डा फरफराउँदै रोकिएको गाडीको ढोका अर्कैले खोल्यो र माओवादी नेता देव गुरुङ हात हल्लाउँदै झरे ।

लमजुङको चिति गाउँस्थित तिलाहार बजारको दृष्य हो यो । वाम गठबन्धनका उम्मेदवार गुरुङ अलि हतारमा देखिन्थे । त्यसैले १/२ जनाको भाषणपछि उनले बोल्ने पालो मागे ।

‘गाउँसम्म बाटो वामपन्थीकै कारण आएको हो । जनताले विकासको स्वाद चाख्न पाएको वामपन्थीकै कारण हो,’ उनको दाबी थियो । कांग्रेसले जित्दा लोकतन्त्र र गणतन्त्र धरापमा पर्ने उनको भनाइ थियो ।

भाषणपछि गुरुङ गाडी राखेको ठाउँतिर सोझिए । गाडी नजिकै रहेको एक समूह उनीतिर बढ्यो ।

उक्त समूहको आग्रह थियो, ‘सर, अहिले धेरै केही गर्नु पर्दैन, यो बाटो धुलो नउड्ने बनाइदिनु पर्‍यो ।’ गुरुङले टाउको हल्लाउँदै ‘हस्, हुन्छ’ भने ।

खुट्टा खोच्याउँदै अर्का व्यक्ति आएर नमस्कार गर्दै भने, ‘हेर्नोस् म त अहिले यस्तो भएको छु । हामीले नै खनेर बनाएको हो यो बाटो । अब तपाईंले पिच गरिदिनुभयो भने हामीलाई हाइसञ्चो हुन्थ्यो ।’

यसअघिका नेताहरु चुनाव जितेपछि फर्केर नआएको गुनासो मतदाताको थियो । उनीहरुमध्येका एकले भने, ‘हामी भोट तपाईंलाई नै दिउँला तर जिताएपछि आफैं हराउने काम नगर्नुहोला ।’ चुनावपछि नबिर्सिदिए आफूहरुलाई पुग्ने उनको भनाइ थियो ।

गुरुङसँग मतदाताका एजेन्डा छन्, सडक, स्वास्थ्य, शिक्षालगायत विकास पूर्वाधार । जसले ती क्षेत्रमा काम गर्ने ग्यारेन्टी गर्छ, उसैलाई भोट दिने उनीहरुको भनाइ रहने गरेको छ ।

पहिलो संविधानसभामा कास्की र मनाङबाट निर्वाचित भएका थिए, गुरुङ । अहिले प्रतिनिधिसभाको एक मात्र सिट रहेको लमजुङबाट उम्मेदवार बनेका छन् ।

कम्युनिस्टबाट मात्र विकास सम्भव रहेको उनले मतदातालाई बताउने गरेका छन् । उनी भन्छन्, ‘अरु दलबाट विकास र समृद्धि सम्भव भएन । त्यसको नेतृत्व कम्युनिस्टले लिनुपर्छ भनेर म चुनावी मैदानमा होमिएको छु ।’

२०४८ सालमा लमजुङबाटै चुनाव लडेका थिए गुरुङले । २६ वर्षपछि फेरि मतदाताको घरमा पुगेका छन् । ‘जन्मथलो मनाङ भए पनि कर्मथलो मेरो लमजुङ नै हो । लमजुङवासीले मलाई जिताउँछन् । म उत्साही छु,’ गुरुङ भन्छन्, ‘दीलबहादुर घर्तीलाई कांग्रेसले उठाएको छ । कांग्रेसबाट विकास सम्भव छैन ।’

प्रदेशसभा ‘क’मा कांग्रेसका गर्जबहादुर गुरुङ र वाम गठबन्धनबाट एमाले जिल्ला अध्यक्ष धनञ्जय दवाडीबीच प्रतिस्पर्धा हुँदैछ । गुरुङलाई मतदाताले नचिनेका र जिल्ला नफर्किने नेताको आरोप लगाएका छन् । गुरुङको बाहुल्यता रहेकाले कारण आफ्नो मत पनि गर्जमानले काट्ने डर धनञ्जयलाई छ । गुरुङ भूपू सैनिक हुन् ।

प्रदेश ‘ख’मा एमाले सचिव पृथ्वीसुब्बा गुरुङ र कांग्रेसका कृष्णप्रसाद कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ । गुरुङ प्रदेश ४ को मुख्यमन्त्रीका दाबेदार पनि हुन् ।

२०४२ सालमा जनपक्षीय उम्मेदवार बनेयताका सबै निर्वाचनमा गुरुङ उम्मेदवार बन्दै आएका छन् । ०६४ को संविधानसभामा विजयी भएका उनी अन्य चुनावमा पराजित भएका थिए । कोइरालालाई टिकट दिएकामा कांग्रेसभित्र असन्तुष्टि छ ।

यस्तो छ अंकगणित

माओवादी नेता गुरुङ र कांग्रेसका घर्तीबीचको चुनावी प्रतिस्पर्धालाई रोचक मानिएको छ । घर्ती ०६४ को निर्वाचनमा लमजुङ-२ मा पराजित भए भने ०७० मा समानुपातिक सभासद् बने ।

गुरुङ भने ०६४ मा कास्की र मनाङबाट चुनाव जितेपछि कानुन र स्थानीय विकासमन्त्री भएका थिए । यसअघिका निर्वाचनमा पनि एमाले र माओवादीले जित हासिल गरेको लमजुङमा अहिले दुवै पार्टी एक भएर चुनाव लड्दैछन् । कांग्रेसलाई राप्रपाले साथ दिएको छ ।

कांग्रेसले ०६४ को संविधानसभामा लमजुङको दुवै क्षेत्र गुमाएको थियो । क्षेत्र नम्बर १ मा तत्कालीन माओवादीका बुद्धिराम गुरुङ र २ मा एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी भएका थिए । ०७० मा २ बाट कांग्रेसका चन्द्रबहादुर कुँवरले चुनाव जिते भने १ मा एमालेका जमीन्द्रमान घले निर्वाचित भए ।

एमाले र माओवादी ०६४ सालको इतिहास दोहोर्‍याउने रणनीतिमा देखिन्छन् ।

स्थानीय तह निर्वाचनमा देशभर कांग्रेस र माओवादीले तालमेल गरेका थिए । लमजुङमा भने त्यतिबेला पनि एमाले र माओवादीबीच तालमेल थियो । सुन्दरबजार नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका असन्तुष्ट द्वारिकाप्रसाद मिश्रले यसपालि पनि प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् ।

लमजुङमा एक लाख १५ हजार चार सय ४९ मतदाता छन् । प्रदेशसभा ‘क’ मा ५४ हजार आठ सय ९७ र ‘ख’मा ६० हजार सात सय ५२ मतदाता छन् । स्थानीय तह चुनावमा एक लाख पाँच हजार नौ सय ९२ मतदाता थिए ।

अहिले नौ हजार चार सय ५७ मतदाता थपिएका छन् ।

विकास नै एजेन्डा

प्रतिनिधि र प्रदेशसभाका उम्मेदवारहरुले जलविद्युत, सडक र पर्यटनलाई मुख्य चुनावी एजेन्डा बनाएका छन् ।

‘लमजुङ जलविद्युतको अथाह सम्भावना रहेको जिल्ला हो । त्यसैले जलविद्युतबाटै लमजुङलाई समृद्ध बनाउन सकिन्छ,’ कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार घर्ती भन्छन्, ‘सडक सञ्जाल विस्तार र स्तरोन्नति अर्को महत्वपूर्ण एजेन्डा बनाएको छु । लमजुङमा पर्यटनको पनि धेरै सम्भावना भएकाले प्राथमिकतामा राखेको छु ।’

वाम गठबन्धनका उम्मेदवार गुरुङले विद्युत र पर्यटनमार्फत् समृद्ध बनाउन सकिने देखेका छन् । ‘यहाँ समस्या पनि छन् । थुप्रै सम्भावना छन् । हामी समस्या चिर्दै सम्भावनालाई उजागर गर्दै जानेछौं । जलविद्युत, सडक, पर्यटन, खानेपानीलगायत पूर्वाधारको खाँचो छ ।’

लमजुङबाट राष्ट्रिय प्रसारणमा एक सय ३८ दशमलव पाँच मेगावाट विद्युत जोडिएको छ । यहाँ ७० मेगावाटको मध्यमर्स्यााङ्दीदेखि सय किलोवाटको मिदिमखोला लघु जलविद्युतसम्म राष्ट्रिय प्रसारणमा जोडिएका छन् ।

निर्माण सम्पन्न भएका नौ, निर्माणाधीन सात र अध्ययनको चरणमा करिब आधा दर्जन आयोजना छन् । सडक सञ्चालले लमजुङका सबै गाउँलाई जोडेर बृहत्तर विकास गरिने उम्मेदवारहरुको एजेन्डामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment