Comments Add Comment

खेतान समूहलाई सञ्चालक बनाउन नसक्ने कारण पेश गर्न हिमालयन बैंकलाई अदालतको आदेश


१ मंसिर, काठमाडौं । उच्च अदालत पाटनले खेतान समूहबाट प्रस्ताव गरिएका सञ्चालकलाई नियुक्त दिन नसक्नुको कारण पेश गर्न हिमालयन बैंकलाई १५ दिनको आदेश दिएको छ ।
शुक्रवार न्यायधीश शेखरप्रसाद पौडेलको एकल इजलाशले यस्तो आदेश दिएको हो ।  खेतान समूहको लगानी रहेको म्युचुअल ट्रेडिङ कम्पनीले भदौं पहिलो साता प्रसाद ज्ञवाली सञ्चालकमा नियुक्ति दिन सिफारिश गरेको थियो ।
तर, बैंकले राष्ट्र बैंकले सञ्चालक समितिमा प्रतिनीधित्व गर्ने सदस्यको संख्यामा कटौती गरेकोले हाललाई थप सञ्चालक नियुक्त गर्न सकिने उल्लेख गरेको थियो ।

मंसिर ८ गते बहसको लागि दुवै पक्षलाई अदालतमा उपस्थित हुन समेत आदेश दिइएको छ ।  बैंकमा ११.८५ प्रतिशत सेयर स्वामित्व म्युचुअल टे«डिङ कम्पनीको रहेको छ । सन् २०१२ मा पनि यस्तै विवादको कारण बैंकको सञ्चालक समितिबाट बाहिरीएको खेतान समूहले अहिले प्रतिनिधित्व खोजेको हो ।

गत बैशाखमा बाफिया २०७४ ले बैंकको सञ्चालक समितिमा कम्तिमा पाँचदेखि बढिमा सात जना सञ्चालक रहन पाउने व्यवस्था गरेको छ । यसमा पनि एक जना स्वतन्त्र सञ्चालक हुनै पर्ने व्यवस्था समेत छ । त्यस्तै, सेयर स्वामित्वको आधारमा बैंकहरुमा सर्वसाधारण समूहबाट समेत सञ्चालक नियुक्ति हुने गर्छन् । बैंकहरुमा १५ प्रतिशत सेयर स्वामित्व सर्वसाधारणको हुँदा १ जनाले र त्यसभन्दा बढिमा यही दरमा यो समूहबाट सञ्चालक नियुक्त हुने व्यवस्था छ ।

यसअघिको बाफियामा बैंक तथा वित्तीय संस्थामा अधिकत्तम ९ जनासम्म सञ्चालक नियुक्त हुन सक्ने व्यवस्था रहेको थियो । हाल हिमालयन बैंकमा ८ जना सञ्चालक रहेका छन् ।

२० प्रतिशत सेयर स्वामित्व रहेको हबिब बैंक पाकिस्तानबाट १ जना, १४ प्रतिशत सेयर रहेको कर्मचारी सञ्चय कोषबाट पनि १ जना, १२.७१ प्रतिशत सेयर रहेको एन ट्रेडिङ कम्पनीबाट १ जना सञ्चालक रहेका छन् ।

त्यस्तै, संस्थापक लगानीकर्ता हिमालयन शमशेर जबराको राण समूहको आभा इन्टरनेशनलको बैंकमा ११.३८ प्रतिशत सेयर स्वामित्व रहेको छ । यो समूहबाट पनि १ जना सञ्चालकमा प्रतिनीधि रहेका छन् । ८.८९ प्रतिशत सेयर रहेको छाँया इन्टरनेशनलबाट पनि १ जनाले समितिमा १ जना सञ्चालक छन् । अन्य दुईमा सञ्चालकमा एक स्वतन्त्र र एक सर्वसाधारण समूहबाट रहेका छन् ।

बैंकले साधारण सभापछि प्रबन्धपत्र संशोधन सँगै ७ जना सञ्चालक रहने व्यवस्था गरिने र त्यस क्रममा खेतान समूहबाट समेत कसरी प्रतिनिधित्व गराउने प्रयास रहने बैंकले उल्लेख गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment