Comments Add Comment

डेनमार्कको स्थानीय चुनावमा नेपालीको उम्मेदवारी


डेनमार्क । आगामी मंगलबार हुने डेनमार्कको स्थानीय निर्वाचनमा एक नेपाली उम्मेदवार बनेका छन् ।

चितवनका हरि न्यौपानेले डेनमार्कको राजधानी कोपनहेगन कम्युन (नगरपालिका ) मा उम्मेदवारी दिएका हुन् ।

उनी डेनमार्कको सबैभन्दा ठूलो सोसल डेमोक्र्याट पार्टीबाट उम्मेदवार बनेका छन् ।

न्यौपानेले उनी बसोबासरत स्थान कोपनहेगनको बिस्पिबिया क्षेत्रबाट उम्मेदवारी दिएका हुन् ।

न्यौपानेले आफ्नो क्षेत्रको विकासका लागि उम्मेदवारी दिएको बताए ।

उनलाई जित्नका लागि करिब २ हजार भोटको आवश्यता पर्छ । नेपालीहरुको एकता, पार्टीको भोट, सोमालियन र बंगालीहरुसंगको सहकार्यका कारण न्यौपाने जित्नेमा ढुक्क छन् ।

हरेक चार वर्षमा यहाँ हुने स्थानीय निर्वाचनमा कानुनी रुपमा तीन वर्षदेखि बसोबास गरिरहेका जुनसुकै नागरिकले भोट दिन पाउँछन् ।

नोभेम्बर २१ तारिख (मंगलबार ) हुने निर्वाचनमा भोट दिन सम्पूर्ण नेपालीहरुलाई आग्रह गर्दै उनले सकेसम्म अफूसंगै आफ्ना विदेशी साथीहरुलाई पनि ल्याइ सहयोग गरिदिन अनुरोध गरेका छन् ।

निर्वाचन मंगलबार (नोभेम्बर २१) मा हुने भए पनि मतदाताहरुको व्यस्ततालाई ध्यानमा राख्दै सरकारले दुई साता अघिदेखि ‘प्री इलेक्सन’ को व्यवस्था गरी भोट दिने काम भइरहेको छ । नगरपालिकाको कार्यलय, विभिन्न पुस्तकालयलगायतका स्थानमा राखिएको ‘प्री इलेक्सन’ मा पत्रमार्फत भोट दिइरहेका छन् । यसमा एउटा पत्र उपलब्ध गराइन्छ र त्यहाँ पार्टी र उम्मेदवारको नाम लेखेर मतपत्रलाई खाममा बन्द गरी मत पेटिकामा खसालिन्छ ।

मुख्य निर्वाचनका दिन भने स्कुलहरुमा लामो लाइनमा बसेर लामो मतपत्रमा उम्मेदवारलाई खोजेर भोट हाल्नु पर्छ । मतगणना भने सबै निर्वाचन सकिएपछि एकै पटक हुनेछ ।

अध्ययनका लागि १० वर्षअघि डेनमार्क आएका न्यौपानेले अन्तर्राष्ट्रिय बिजनेश एण्ड म्यानेजमेन्टमा स्नातकोत्तर गरेका छन् । अत्यन्तै गाह्रो मानिने डेनिस भाषा सिकेर उनी सन् २०१२ मा सोसल डेमोक्र्याट पार्टीको साधारण सदस्य बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment